बुधबार , जेठ १३, २०८३

नेपालमा पर्यटनकाे  विकासमा सरकार नै ‘बाधक’ बन्याे -सरिता लामा, महासचिव (टान) -(भिडियाेसहित)

पर्यटन व्यवसायीमैत्री ऐन बनाएको छैन । हामीले ऐन संशोधनको माग राखेका छौँ । आशा छ, सरकारले हाम्रो माग पूरा गर्ने छ ।

image

सन् २०१९ को अन्त्यतिर शुरु भएको विश्वव्यापी कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो, पर्यटन । कोभिड  महामारीका कारण बन्दाबन्दी(लकडाउन) भएपछि मानिसहरूको आवतजावत ठप्प भयो । पर्यटन क्षेत्र सुनसान बन्यो । पर्यटकीय गतिविधि शून्य भयो । पर्यटन क्षेत्र अभूतपूर्व सङ्कटमा पर्‍यो । महत्त्वपूर्ण आर्थिक क्षेत्रको रूपमा रहेको पर्यटन क्षेत्र डामाडोल भएपछि यस क्षेत्रले ठुलो आर्थिक क्षति बेहोर्नुपर्‍यो ।

नेपाल भ्रमण २०२० वर्षको तयारी अन्तिम चरणमा पुगेको बेला कोभिड–१९ महामारी शुरु भएपछि नेपालको पर्यटन क्षेत्रले अभूतपूर्व क्षति बेहोरे । भ्रमण वर्षको तयारीमा मात्रै करोडौँ रुपैयाँ खर्च भएको थियो । त्यसपछि झन्डै दुई वर्ष पर्यटन क्षेत्र ठप्प भयो । सन् २०१९ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएकोमा सन् २०२१ मा जम्मा डेढ लाख पर्यटक नेपाल भित्रिए ।

पछिल्लो समय कोभिड–१९ महामारी मत्थर हुँदै गएपछि विश्वकै पर्यटन क्षेत्र चलायमान हुन थालेको छ । महामारीले थला पारेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिन थालेको छ । पर्यटन क्षेत्र चलायमान हुन थालेसँगै पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । नेपाल आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । नेपालको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गरेको छ ।

नेपाल साहसिक एवम् पर्वतीय पर्यटनको अथाह सम्भावना भएको मुलुक हो । साहसिक एवम् पर्वतीय पर्यटनका लागि विश्वका १० उत्कृष्ट गन्तव्य मुलुक मध्येमा पर्दछ- नेपाल । विश्वका ८ हजार भन्दा अग्ला १० हिमालमध्ये ८ वटा नेपालमै रहेका छन् । यस हिसाबले पनि पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भन्दा अत्युक्ति नहोला ।

कोभिड–१९ महामारी मत्थर हुँदै गएपछिकाे नेपालको पर्यटन क्षेत्रको अवस्था, पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का गतिविधि र कोभिड–१९ महामारीमा यसले गरेका कार्यहरू, पर्वतीय पर्यटन र यसका गतिविधि, नेपालमा पर्वतीय पर्यटनका चुनौती र सम्भावना, लगायत समसामयिक पर्यटकीय गतिविधिका बारेमा (टान)की महासचिव सरिता लामा सँग सहकर्मी चन्द्र तामाङले गरेको कुराकानीको सम्पादित अंश:

१. विश्वव्यापी कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेत्र तङ्ग्रिन थालेको छ, पदयात्रा तथा पर्वतीय पर्यटनको अवस्था चाहिँ कस्तो छ अहिले ? 

पर्यटन क्षेत्र के भयो भन्दा पनि यो दुई वर्षको अवधिमा हामी बाँच्नु नै ठुलो कुरा हो । त्यो कहालीलाग्दो समयबाट बाँचेर आएर यसरी बोल्न पाउनु नै ठुलो कुरा हो जस्तो लाग्छ मलाई । हाम्रो पर्वतीय पर्यटनको कुरा गर्दा र पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा यस वर्ष करिब ३५ प्रतिशत पदयात्रीहरू फर्किनु भएको छ । तर यस बिचमा कोरोना सँगसँगै युक्रेन र रसियाको युद्धले गर्दा इन्धनको भाउ बढ्यो, अन्तर्राष्ट्रिय हवाई भाडा बढ्यो, जसका कारण नेपालमा पदयात्राका लागि आउन चाहने पर्यटकहरू आउन सकेका छैनन् । यस वर्षको वसन्त ऋतुमा हामीले अनुमान गरेको जति पर्यटक आएनन्  तर, आगामी शरद ऋतुमा चाहिँ पर्यटक बढ्ने हामीले आशा गरेका छौँ । यस वर्ष ५० प्रतिशत रिकभर भयो भने २०२३ सम्ममा पहिलाकै अवस्थामा फर्काउन सकिने  प्रक्षेपण गरेका छौँ ।

२. कोरोना महामारी मत्थर हुँदै गएको छ, यस वर्ष पदयात्रा पर्यटनमा कस्तो सुधार आयो ? 

पर्वतीय पर्यटन वास्तवमा कोरोना महामारीको बिचमा पनि राम्रै थियो । मैले अघि  नै उल्लेख गरिसकेको छु कि यस वर्ष ३५ प्रतिशत पदयात्रीहरू फर्किएका छन् । लकडाउनको समयमा पनि इरानी राजकुमारीको टोलीसहित अन्य थुप्रै पर्वतीय पर्यटकहरू नेपाल आए । पर्यटनका अन्य क्षेत्रहरू बन्द भए पनि हिमाल चढ्ने, चढाउने र त्यहाँसम्म पुर्‍याउने हाम्रो ट्रेकिङ व्यवसाय आंशिक रूपमा खुल्ला नै थियो । त्यस्तो अवस्थामा पनि सरकारले हाम्रो व्यवसायको लागि चाहिँ खुल्ला  गरिदियो । यस अर्थमा चाहिँ नेपाल सरकार धन्यवादको पात्र हो । त्यस वर्ष, सन् २०२० र २०२१ को सरकारी डाटा हामीले हेर्ने हो भने पनि पदयात्रा, पर्वतारोहण क्षेत्रबाट ७० करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन भएको देखिन्छ । यसबाट पनि पुष्टि भयो कि यदि हामीले व्यवस्थित ढङ्गले पर्यटन व्यवसायलाई चलाउने हो भने डलर भित्र्याउने पहिलो स्रोत पर्यटन नै हो ।

३. लकडाउनको समयमा पनि पर्वतीय पदयात्री पर्यटक नेपाल आएको र व्यवसाय चलायमान भएको भन्नुभयो । विश्वव्यापी सङ्क्रमणको बेला पर्यटकहरूलाई नेपाल आउन कसरी प्रेरित गर्नुभयो ?

नेपालका हिमाल पर्वतहरू पर्वतीय पर्यटकहरूका लागि खुल्ला र सुरक्षित नै छन् भन्ने सन्देश हामीले विभिन्न माध्यमबाट प्रचार गर्‍यौँ ।  यसमा नेपाल सरकार, पर्यटन बोर्ड, पर्यटन विभाग, हामी(टान) लगायत अन्य पर्यटन सम्बद्ध सङ्घ-सङ्गठनहरूले पनि भूमिका खेले । हामीले भिजिटली प्रचार गर्‍यौँ । नेपाल  सरकारले बनाएका प्रोटोकलहरूको बारेमा जानकारी दियौँ । उनीहरू आउने, बस्ने होटेलदेखि गन्तव्य स्थलसम्मको सम्पूर्ण जानकारी डिजिटल माध्यमबाट दिएर पर्यटकहरूलाई सहज बनायौँ । पर्यटकहरूलाई हामीले त्यही अनुसार व्यवस्थापन पनि गर्न सक्यौँ ।

४. कोरोना महामारी सुरु भएपछि पर्वतारोहण, पदयात्रा क्षेत्रमा कार्यरत कर्मचारी मजदुरहरूले रोजगारी गुमाएका थिए । उनीहरूको अवस्था कस्तो छ अहिले ? रोजगारी पाएका छन् ?

पक्कै पनि, कोरोना महामारीले लकडाउन भएपछि धेरै मजदुरहरूको रोजगारी गयो । कति मजदुरहरू बिदेसिए । तर, अहिले पर्यटन क्षेत्र ब्युँतिन थालेसँगै उनीहरू पनि स्वदेश फर्कन थालेका छन् । पर्यटकको आगमन बढेसँगै रोजगारी पनि पुनः सिर्जना भएको छ । वास्तवमा भन्ने हो भने अहिले हामीलाई दक्ष कामदारको अभाव नै छ । हामीले अब भएकै जनशक्तिलाई कसरी अझै दक्ष बनाउने भन्ने योजना पनि बनाइरहेका छौँ । हामी तालिमहरूको आयोजना गर्दै छौँ ।  जे होस्, अब यस क्षेत्रमा काम गर्ने कामदारहरूले अब रोजगारीको लागि बिदेसिनु नपर्ला !

५. महामारीको समयमा रोजगारी गुमाएका श्रमिकहरूका लागि केही गर्नु भएन ? 

हामीले सकेसम्म रोजगारी सिर्जना गर्ने कोसिस गर्‍यौँ । उहाँहरूका लागि फन्ड कलेक्सन गरेर राहत प्याकेज पनि दियौँ । हामीले उहाँहरूलाई पनि रोजगारी सिर्जना होस् भनेर त्यस समयमा पनि चम्पादेवी, नगरकोट लगायत ठाउँमा साइकल रुट बनायौँ । नारायणहिटी राज दरबारको सरसफाइ पनि हामीले गर्‍यौँ । अरू विभिन्न सम्पदाहरूमा पनि सरसफाइको काम गर्‍यौँ । यसले गर्दा एकातिर रोजगारी सिर्जना भयो भने अर्कोतिर टानले राम्रो काम गरेको सन्देश पनि गयो ।

लकडाउन भएपछि हाम्रो ध्यान श्रमिकलाई कसरी बचाउने भन्नेमै केन्द्रित थियो । हामीले व्यवसायीको लागि भन्दा पनि श्रमिकको लागि काम गर्‍यौँ । माछापुच्छ्रे बैङ्कसँग तत्काल एमओयु गरेर २६० जना श्रमिकलाई मासिक २० हजार क्रेडिट कार्ड मार्फत दियौँ । उहाँहरूले अहिले त्यो क्लियर गरिसक्नुभएको छ । पछिल्लो समय हामीले फुड बैङ्क स्थापना गरी ३ हजार श्रमिकलाई दियौँ । टानको पोखराको सङ्घलाई पनि ६-७ लाख सम्मको राहत दियौँ ।

६. पर्यटनको प्रवर्द्धनका लागि नेपाल सरकार, प्रदेश सरकार, मातहतका विभागहरूले खेलेको भूमिका कस्तो पाउनुभएको छ ? 

वास्तवमा नेपालमा पर्यटनकाे विकास हुन नसक्नुमा सरकार नै बाधक हाे । सरकारबाट हामी पर्यटन व्यवसायीलाई प्रोत्साहित गर्नुभन्दा पनि निरुत्साहित बनाउने काम भएको छ । हामीलाई सहयोग पुग्ने नीति, नियम तथा ऐनहरू बनाइएका छैनन् । वैशाखदेखि लागू भएको प्रदेश पर्यटन ऐनले हामीलाई झनै गाह्रो बनाएको छ । कर बढाउने, चुक्ता पुँजी, चालू पुँजीको दायरा बढाइदिएको छ । पर्यटन व्यवसायीमैत्री ऐन बनाएको छैन । हामीले ऐन संशोधनको माग राखेका छौँ । आशा छ, सरकारले हाम्रो माग पूरा गर्ने छ ।

७. पदयात्रा सूचना व्यवस्थापन प्रणाली अर्थात् ट्रेकिङ इन्फर्मेशन म्यानेजमेन्ट सिस्टम (टिम्स)को विषयलाई लिएर टुरिजम बोर्ड र तपाईँहरू(टान)बीच विवाद चर्किरहेकै छ, खास कुरो के हो ?

टिम्स पदयात्रीहरूको सुरक्षाकै लागि टुरिजम बोर्ड र टानले संयुक्त रूपमा स्थापना गरेको प्रणाली हो । यो ०७१/७२ देखि नै अल्झिरहेको एउटा समस्या हो । हामीले प्रत्येक वर्ष स्पष्ट डाटा दिएका छौँ । हाम्रो हरेक वर्ष अडिट हुन्छ । यसको व्यवस्थापन र सञ्चालन  गर्न पनि बोर्ड र टान दुवै जिम्मेवार छ । त्यसबाट हुने आम्दानी पनि दुवैले उपभोग गर्ने सम्झौता छ । तर, बोर्डले अनेक कारण देखाउँदै टानले पाउनुपर्ने भुक्तानी रोकिदिएको छ । हामीले हाम्रो जिम्मेवारी निभाएका छौँ । हाम्रो पनि गल्ती हुन सक्ला तर, बोर्डले पनि कमजोरी स्विकार्नु पर्‍यो नि ! एक अर्कालाई दोष दिएर मात्रै त हुँदैन । टिम्स अहिले बोर्ड र टानलाई झगडा गराउने माध्यम बनेको छ । समस्या समाधान गर्न प्रयासरत छौँ ।

८. पर्यटन प्रवर्द्धनको लागि सरकारी पक्षबाट के-के गर्नुपर्ला ? 

सरकारले अहिलेसम्म पर्यटन क्षेत्रको विकास हुँदा सरकारलाई पनि फाइदा पुग्छ भन्ने सोचेकै छैन । खाली हामी व्यवसायीमाथि निगरानी राख्नु, अङ्कुश लगाउनु मात्रै आफ्नो काम हो भनेर बुझेको देखिन्छ । सरकारले पर्यटन क्षेत्रमा गरेको लगानीले राम्रो प्रतिफल दिन्छ भनेर बुझेको देखिँदैन । जस्तो, अहिले हामी पदयात्रा पर्यटन व्यवसायीहरूलाई थुप्रै झन्झटहरू छन् । व्यवसायीहरूले पर्यटन मन्त्रालय र विभागबाट अनुमति  लिएर  जाँदा पनि निषेधित क्षेत्र, संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज जस्ता क्षेत्रहरूमा जाँदा फेरि विभिन्न मन्त्रालय तथा विभागहरूमा अनुमति लिनुपर्छ । पैसा तिर्नुपर्छ । यसले व्यवसायी र पर्यटकलाई पनि गाह्रो बनाएको छ । विभिन्न ठाउँमा भएका पर्यटक चेकपोस्टहरू सञ्चालनमा ल्याएको छैन । यसप्रति सरकार गम्भीर बन्न जरुरी  छ ।

९. अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

हाम्रो देश नेपाल प्रकृतिको अनुपम उपहार हो । हामीले यसको सुन्दरतालाई जोगाउँदै हाम्रा पर्यटकीय गतिविधिहरू सञ्चालन गर्नुपर्छ । हाम्रा हिमाल, पहाड, खोला-नाला, खोँच सबैको संरक्षण हामीले गर्नुपर्छ । प्राकृतिक वातावरणलाई बिग्रन दिनुहुँदैन । यसका लागि सरकारी र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुन आवश्यक छ ।

व्यस्तताको बाबजुद पनि समय दिनुभयो, समय र संवादको लागि धेरै-धेरै धन्यवाद,  

पर्यटन, टानको गतिविधि लगायत विषयमा आफ्ना र सङ्गठनका कुराहरू राख्ने अवसर दिनुभएकोमा तपाईँ र हिमाल दर्पण  टिमलाई पनि धेरै धेरै धन्यवाद ।

हेर्नुहोस् भिडियोमा : 

सम्बन्धित समाचार