सोमबार , साउन १८, २०८३

छोरी महिनावारी भएको खुसी मनाउँदा भनियो, ‘तिमी त छाडा भइछेऊ’

मैले कसैलाई आफ्नो कुरा बाँड्न सकिनँ तर, मेरो छोरी महिनावारी हुँदा उफ्रेर नाच्दै आएर 'ममी, म पहिलो पटक पिरियड भएँ' भनेर सुनाई । उसले आफ्नो पिरियड अवस्थाको फोटो इन्स्टाग्राम सेयर पनि गरी । उसलाई हामीले दिएको शिक्षाले काम गर्यो ।

image

– अनिता न्यौपाने

चोरी भो, चोरी भो..
के चोरी भो ?
– यो छोरीको जोवन चोरी भो ।

मैले पहिलोपटक महिनावारी भएपछि गाएको गीत थियो यो । यही गीतपछि हो, मैले आमाको हातको पहिलो पिटाइ खाएको । आमाले उग्र स्वरमा भन्नु भएको थियो- “छोरी मान्छे भएर के गीत गाएको ? समाजले के भन्लान् ? अबदेखि यस्तो गीत गाउने हैन ।”

आमाले फेरी ढाडमा लागेको चोटलाई विस्तारै सुमसुम्याउँदै मलाई सम्झाएको याद आउँछ । पहिलो र दोस्रो महिना म महिनावारी भएको कसैलाई थाहा दिइनँ तर, तेस्रो महिनामा आमाले थाहा पाउनुभयो । त्यसपछि आमा निकै रुनुभयो । किन भन्दा त्यो समयमा म मन्दिर पनि गएको थिएँ, पूजामा पनि गएको थिएँ, सराद्धमा पनि गएको थिएँ । ‘अब पितृहरूले नराम्रोसँग सराप्छन्’ भन्ने आमालाई ठुलो डर थियो ।

म महिनावारी भएको थाहा पाएपछि मेरो घरमा एक खालको ‘कोठे बैठक’ भएको थियो । ‘छोरीले महिनावारी हुँदा कस-कसलाई छोएको थिई, कहाँ-कहाँ गएकी थिई ? सूर्यनारायणले अब यो गल्तीको माफ देलान् त ? सानीमाको छोरोको अनुहार मैले पटकपटक हेरेको थिएँ, के आयूमा कमी आउँला त ?’ यस्ता धेरै विषयको बारेमा छलफल भएको थियो । मलाई कठघरामा उभ्याएर सोधिएको थियो, ‘किन यस्तो गरेकी ?’
मैले आँखामा आँसु दौडाउँदै भनेकी थिएँ– ‘डर लागेर ।’

छोरी १३ वर्ष ७ महिनामा पहिलोपटक महिनावारी भई । मलाई ऊ महिनावारी हुँदा औधी खुसी लाग्यो । मलाई थाहा थियो, एउटा नारी महिनावारी हुनु भनेको जिन्दगीको अनेकौँ उत्सवमध्येको पनि एउटा अमूल्य उत्सव हो । फेसबुकमा पनि स्ट्याटस लेखेँ, छोरीलाई बधाई दिएँ । यो खुसीको कुरालाई सबैको माझमा बाँड्न खोजेँ, धेरैले कमेन्ट पनि गरे, बधाई पनि दिए । धेरैले ‘के नाटक गरेको ?’ पनि भने । सबैको प्रतिक्रियामा आफूलाई पाएँ ।

छोरी बधाई आउँदा निकै रमाएकी थिई । उसको लागि मीठो मीठो खानेकुरा, राम्रो लुगा पाएर ऊ निकै खुसी भई । तर म्यासेज बक्सको म्यासेज पढेर उति नै डराई पनि रहेकी थिई । यो कुरा केही होइन भनेर सम्झाइ रहँदा पनि उसको दिमागमा एक खालको डरले डेरा जमाइरहेको थियो। छोरी भनिरहेकी थिई, ‘ममी मामाघर नजाने, आमाले गाली गर्नु हुन्छ कि ?’, ‘ममी घरमा नजाने, आमाले गाली गर्नुहुन्छ कि ?’

धेरैले भनिरहेका थिए– अब छोरी ठुली भई, अब छोरीको अझै केयर गर्नु । छोरीमा अब वैशालु उमेर सुरु भयो, छोरीलाई जोगाउनु है । बाबाको मुख हेर्न नदिनु -आयु घट्छ । दाजुभाइलाई नदेखाउनु हुँदैन, घाम नदेखाउनु । धेरै दिन नभए पनि सात दिन त घरभित्रै राख्नु ।’

स्ट्याटस राखेको धेरै घण्टापछि एउटा फोन आयो । म्यासेन्जरमा । म उत्सुक भएर फोन उठाएँ । लागेको थियो यो पनि बधाइको नै फोन होला तर, त्यसो भएन । उहाँले मलाई पहिलो शब्द नै ‘के नाटक गरेको’ भनेर भन्नुभयो ।
म अक्क न बक्क परेँ । ‘के भयो र दिदी, छोरी पहिलोपटक महिनावारी भएकी छ ।’
‘उसलाई सात दिनसम्म लुकाउन छोडेर के फेसबुकमा लेख्दै हिँडेकी ? फेसबुक परिवार आफन्तले पनि चलाउँछन् भन्ने बिर्स्यौँ कि क्या हो ? दुनियाँलाई देखाएर के रमिता हो यो…!’
निकै बेर आफै बोलिरहनु भयो उहाँ र अन्तिम वाक्य ‘तिमी त छाडा भइछेऊ’ भनेर फोन राखिदिनु भयो।

म उहाँको कुरा सुनेर प्रतिक्रियाविहीन भएँ । उहाँले सोच्नु भएको थियो होला, म चुप बस्नेमा पर्छु । तर, मैले फेरी फोन गरेर उहाँलाई भने, ‘तपाईँको छोरीमाथि जसरी तपाईँले जे गर्नु भयो, यसको हिसाब यतिबेला नगरूँ तर, मेरो छोरीलाई मैले जे सिकाएँ, त्यो अरूको लागि नराम्रो भए पनि मेरो लागि सबैभन्दा पुण्यको काम हो । मेरो छोरीमाथि मेरो अधिकार छ र मलाई थाहा छ, मैले गलत गरेको छैन । मैले त्यही गरेँ, जुन मलाई ठिक लाग्यो ।’
त्यसपछिका दिनमा उहाँ मसँग त्यति बोल्नुहुन्न । उहाँको भाषामा भन्दा म निकै मुखाले भएकी छु ।

भन्दछन् नि, ‘कुरा सबैको सुन्नु, विचार आफ्नो राख्नु ।’ मैले पनि सबैको कुरा सुनेँ र विचार आफ्नो राखेँ । ती परम्परालाई तोड्नु पर्छ, जसले बच्चाको मानसिकतामा नराम्रो असर गर्छ, त्यस्तो प्रथाहरू समाजबाट हटाउनु पर्छ । बच्चाको संरक्षणको प्रमुख अभिभारा उसको अभिभावकको हो । घरमा अभिभावकले नै उसको लागि सहज वातावरण सिर्जना नगरी दिने हो भने पक्कै पनि बच्चाको स्वास्थ्यदेखि लिएर मानसिक असरहरू देखा पर्छन् । त्यसैले पनि हामीले उसलाई त्यो वातावरण निर्माण गरिदिएका थियौँ । महिनावारी हुँदा के हुन्छ ? कसरी प्याड लगाउने, कसरी आफ्नो स्वास्थ्यको बारेमा ध्यान दिने, कसरी सरसफाइमा विचार पुर्‍याउने आदि बारेमा हामीले उसलाई सिकाइ सकेको थियौँ । त्यसैले पनि उसको लागि हामीले खासै केही गरिदिनुपरेन । उसले आफ्नो व्यवस्थापन आफैँले गरी जसले हामीलाई त सहज बनायो नै, उसलाई पनि अरूसँग हेल्प मागिरहनु परेन ।
हामीले छोरीलाई महिनावारी भएको अनुभव नै गर्न दिएनौँ । म आफ्नो रगत देखेर आफैँलाई अचम्म लाग्ने उमेरमा महिनावारी हुँदा आफैँले कसरी व्यवस्थापन गरेँ होला, सोच्दा अहिले पनि अचम्म लाग्छ । न अहिलेको जस्तो सुविधा सम्पन्न समाज थियो, न परिवार नै । मेरा हजुरआमाले, आमाले, दिदीहरूले, साथीहरुले र समग्रमा छोरी जातिले महिनावारी हुँदा भोगेको पीडाहरूको एउटा छुट्टै डर थियो । त्यसैले पनि मैले कसैलाई आफ्नो कुरा बाँड्न सकिनँ तर, मेरो छोरी महिनावारी हुँदा उफ्रेर नाच्दै आएर ‘ममी म पहिलो पटक पिरियड भएँ’ भनेर सुनाई । उसले आफ्नो पिरियड अवस्थाको फोटो इन्स्टाग्राम सेयर पनि गरी । उसलाई हामीले दिएको शिक्षाले काम गर्‍यो । स्कुलमा पढाइएका कति कुराहरूबाट उसले बुझिसकेकी थिई कि ‘महिनावारी भनेको सामान्य प्रक्रिया हो ।’
रगत बग्नुलाई खासै इस्यू बनाइरहनु पर्ने विषय होइन तर, जति नै हामीले शिक्षा दिए पनि समाजले दिने शिक्षाले बच्चाहरूलाई मानसिक रूपमा असर गरिरहेको हुँदो रहेछ । जुन स्कुलमा पढे पनि घर र समाजले सिकाएको कुरा बच्चाले राम्रोसँग बुझ्ने रहेछन् । घरको संस्कार र समाजको संस्कारले बच्चाहरूलाई यसरी जकडिएर राखेको हुन्छ, उनीहरूले चाहेर पनि आफूलाई दोषी देखाउन पछि हट्दैनन् ।
अहिलेको समयमा सबैभन्दा शक्तिशाली नारी हुनुपर्छ । उनीहरूले नै हो, समाजलाई परिवर्तन गर्ने । धर्म, रीतिरिवाज, परम्परा सबै कुरा नारीले नै धानिरहेका छन् । उनीहरूको दिमागमा यो समाजले संस्कार भन्ने शब्दलाई यसरी यसरी भरिदिएको छ कि उनीहरूले चाहेर पनि आफूलाई बदल्न सकिरहेका छैनन् । बदल्न खोज्नेहरूका लागि यो सबै कुरा एउटा युद्ध बराबर छ । घरका, समाजका, आफन्तका सबैको विरुद्धमा गएर यी कामहरू गरिरहनु पर्छ । अलिकति घरको बिग्रियो भने दोष एउटा नारीको हुन्छ ।
महिनावारी किशोरी तथा महिलाहरूमा हुने एक किसिमको जैविक प्रक्रिया हो । मर्यादित महिनावारीका लागि यस समयमा हुने विभेदको अन्त्य हुनैपर्छ । यो ‘लैङ्गिक सवाल’ पनि हो । सुदूरपश्चिमका अछाम, बाजुरा, डोटी, दार्चुला, बैतडीका ग्रामीण क्षेत्रका महिलाहरूले आज पनि छाउपडी भनेर घरका कुनै सामान नछुने र गोठमा बस्ने प्रथाहरू कायम नै छ । काठमाडौंमा पनि ‘नदेखिने छाउपडी’ जीवित नै छ । यस्ता प्रथाहरूको अन्त्य गरेर महिनावारी हुँदा छोरीलाई लुकाउने हैन, खुसीयाली मनाउनु पर्छ । जति पनि बालबालिकाहरूका लागि प्रथाहरू छन्, यी सबै एक खालको हिंसा हो । यो हिंसाको अन्त्य हुनुपर्छ । त्यसका लागि हामी नारी पुरुष मात्र नभएर सरकारले चालेका कदमहरू अझैँ पूर्णता पाइसकेका छैनन् । त्यसैले नागरिक समाजले यस्तो प्रथाहरूको अन्त्यको लागि केही नयाँ नीतिहरू बनाउनु आवश्यक देखिन्छ ।
 
– कवि अनिता न्यौपाने साहित्य कलापुञ्ज, मकवानपुर र साहित्य सङ्गम मकवानपुरको अध्यक्ष रहेकी छिन् ।

सम्बन्धित समाचार