सन् २०१९ मा धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर–४ मा अवस्थित चालिस गाउँलाई नयाँ गन्तव्य घोषणा गरिएको थियो ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले यही माघ १८-२० गते ‘गन्तव्य रुबी भ्याली अध्ययन अवलोकन भ्रमण’ नामक कार्यक्रमका लागि पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमलाई धादिङकाे उत्तरी भेगमा अवस्थित “रुबी भ्याली” लिएर गएको छ ।
सन् २०१९ मा धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर–४ मा अवस्थित चालिस गाउँलाई नयाँ गन्तव्य घोषणा गरिएको थियो । सोही चालिस गाउँमा पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकन गर्न उक्त भ्रमण लगिएको हो । रुबी भ्यालीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षाले यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पुगेका पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, भिटोफका अध्यक्ष गोपाल थापा, गणेश हिमाल पर्यटन विकास समितिका उपाध्यक्ष टेक बहादुर खकुरेल, टानका सदस्य आदि व्यक्तिले चालिस गाउँको आतिथ्य निकै रुचाएका छन् । साथै सो क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदासँग साक्षात्कार हुन पाउँदा सबैजसो प्रफुल्लित बनेका छन् ।
रुबी भ्यालीलाई बिदा दिँदा दिँदै गणेश हिमाललाई पृष्ठभूमिमा राखेर काठमाडाैं फर्कँदै गर्दा भिटोफका अध्यक्ष गोपाल थापासँग कार्यक्रम र यसैको सेरोफेरोमा रहेर हिमाल दर्पणका लागि सुरज पराजुलीले गरेकाे कुराकानीकाे सम्पादित अंशः
भिटोफले हिजोको दिनमा के कस्तो कार्य गर्यो ? तपाईँहरूले यो ठाउँलाई किन रोज्नुभयो ?
विगत २४ वर्षदेखि भिटोफ नेपालले धेरै ठाउँमा ग्रामीण पर्यटन प्रवर्धनका लागि काम गर्दै आइरहेको छ । उदाहरणको रूपमा मकवानपुरको चित्लाङ, कास्कीको ल्वाङ घले, स्याङ्जाको सिरुवारी, काउले पानी, लगायतका धेरै गाउँहरूलाई लिन सकिन्छ ।
भिटोफ नेपालले गरेको प्रवर्धनका कारण ती गाउँहरूले लाभ लिइरहेका छन् । स्थानीयहरूले यसको उचित प्रतिफल पाएका छन् ।
यो गाउँ रोज्नुको उद्देश्यको कुरा गर्दा हामीले २०१९मा यहाँ ‘गाउँ गन्तव्य सम्भावना’ छ भनेर घोषणा गरेका थियौँ । किनभने काठमाडौँबाट नजिकै रहेको यो गाउँ बत्ती मुनिको अँध्यारो भने जस्तै थियो । प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा थियो । विभिन्न कारणले पछि परेको यस गाउँलाई भिटोफ नेपालले केही गर्न सकिन्छ भनेर रोजेको हो ।
एक किसिमले भन्ने हो भने यहाँ सुन छ । हिमाल यहीँ छ, धार्मिक स्थल छन्, सेतो दह-कालो दह, गौरी कुण्ड आदि प्राकृतिक तथा मनोरम ठाउँ छन् । पद पर्यटकको हिसाबले हेर्दा सिङ्ग्ला पास, पाङसाङ पास म आफैँले पनि पदयात्रा गरेको छु । यस्ता धेरै सम्भावना देखेर रोजिएको हो ।
सांस्कृतिक हिसाबले विविध जातजातिको बसोबास रहेको छ । गुरुङ, तामाङ, घले, शाक्य तथा दलित समुदाय मिलेर बसेको यो ठाउँलाई होमस्टे (घरबास) मार्फत अथवा बाह्य पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ भनेर अनुसन्धान गरेर काम गर्न सकियो भने पर्यटक तथा स्थानीय समुदाय दुवैले लाभ लिन सक्नेछन् ।
यहाँ आउनुको उद्देश्य निकै फलदायी साबित भयो । हामीले जस्तो सोचेका थियौँ कार्यक्रम सोही अनुरूप भयो । प्रकृतिले पनि साथ दियो र स्थानीयले गरेको सत्कारले पुलकित बनायो ।
तपाई आफैँ पनि पर्यटन व्यवसायी अहिले भिटोफको नेतृत्व गर्नु भएको छ । कतिपय ठाउँमा तपाईँहरू एक पटक जाने र पछि पर्यटक नपठाउने जस्ता कार्य भएका छन् नि । यो ठाउँमा कसरी विकास गर्नुहुन्छ ?
केही ठाउँमा तपाईँले भने बमोजिम भएको छ, म मान्छु । म कार्यान्वयन हुने किसिमले काम गर्ने मान्छे हो । विगतमा केही गाउँहरू गाउँ गन्तव्य छनौटमा परे तर पछि गएर ती गाउँमध्ये कतिपयमा त्यहाँको स्थानीय सरकार र स्थानीयमा पनि भर पर्ने हुँदा असर गर्यो ।
कतिपय ठाउँमा घोषणा गरेर पनि विविध कारणले पुग्न सकिएन । विशेष गरी हामीले गरेको गाउँ गन्तव्यमा स्थानीय पर्यटनलाई ध्यान राखिने हुँदा स्थानीय पर्यटनको उचित प्रचार हुन नसक्दा अलिकति छोडेको जस्तो देखिएको हो तर छोडेकै भने होइन ।
यसलाई हामी छोड्ने छैनौँ । मैले भनेको छु म पुनः तालिम लिएर आउनेछु । यहाँ तालिमको खाँचो मैले देखेको छु ।
त्यसैगरी हामीले नेपालमा भएका भोलेन्टियर बाह्य पर्यटकलाई ३ देखि ४ दिनसम्मको ट्रेकिङ हुने गरेर ल्याउने प्रयत्न गर्नेछु । मेरो अझै डेढ वर्षको कार्यकाल बाँकी रहेको छ, त्यो कार्यकालमा म यहाँ पुनः भ्रमण गर्नेछु ।
सुन्दर ६० गाउँ छोडेर ४० गाउँ जानुभयो भन्ने जनगुनासो छ नि, छनौट प्रक्रियामा पारदर्शिता नभएको हो कि ?
निकै गम्भीर प्रश्न सोध्नु भएको छ । मैले यो कुरालाई गम्भीरता पूर्वक लिएको छु । २०१९ मा म उपाध्यक्ष हुँदा हामीले गाउँ गन्तव्य भनेर एउटा सानो ठाउँलाई तोक्यौँ । यो हाम्रो कमजोरी भन्नु पर्छ । त्यो बेला हामीले यहाँको स्थानीयवासीलाई समन्वय गर्नु पर्ने थियो ।
अब कारणहरूको कुरा गर्ने हो भने पहिलो चाहिँ ट्रेकिङ हिँड्दा यो बाटो थिएन । म स्वयम् नआएको ठाउँ हो ६० गाउँ । तलबाट ट्रेक गर्दै पाङसाङ पास, सिङ्ला पास तलतल बाटै जान्थ्यौँ । त्यसैले यो गाउँ भएर जाँदैन थियौँ ।
अहिले माथि ल्याइएको हुनाले नै यहाँ आइएको हो । त्यसैगरी यो ३ नम्बर र ४ नम्बर जोडिएको वडा हो त्यसैले त्यसको लाभ यता पनि अवश्य मिल्नेछ ।
त्यहाँ धेरै पर्यटन व्यवसायी समेत रहेकाले हामी त्यहाँ बस्यौँ । पाहुनाहरूलाई खानपानको व्यवस्था समेत गर्नुपर्ने हुनाले र यहाँ घर मात्र भएकाले र होमस्टे नभएको कारणले हामीले त्यो चालिसलाई रोज्यौँ ।
अब यो ठाउँको पनि प्रचार-प्रसार गरिनेछ । यो ठाउँलाई गाउँ गन्तव्य घोषणा गरेर अगाडी बढाउने काम हामी गर्छौँ ।