शुक्रबार , मंग्सिर २३, २०७९

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तिव्र, रामको डोलासहित सतपाल महराज आउँदै

वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

image

काठमाडौं । मिथिला नगरी जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ । त्रेता युगमा भगवान राम र माता सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

मंसिर ७ गतेदेखि १३ गतेसम्म विधिवत रुपमा सीताराम विवाहपञ्चमी मनाउने तयारी गरिएको जानकी मन्दिरका छोटे (सहायक) महन्त रामरोशन दासले बताए । उनका अनुसार पहिलो दिन मंसिर ७ गते नगरदर्शन, दोश्रो दिन मंसिर ८ गते फूलबारी लीला, मंसिर ९ गते धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव, मंसिर ११ गते मटकोर र मंसिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुनेछ ।

। त्रेतायुगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमासमेत राम जानकीको डोलालाई जनकपुरमा स्वयम्बर गरि वैदिक परम्पराअनुसार विवाह गर्ने प्रचलन रहेको मिथिला नाट्य परिषद् (मिनाप)का अध्यक्ष परमेश झा बताउँछन् । यस अवसरमा मिनापले  जानकी लिला देखाउँदै आइरहेकोमा यस वर्ष रामनवमी मात्रै लिला देखाउने कार्ययोना रहेको  उनले बताए । जानकी लिला जनकपुरधाममा निकै परिचित रहेको पाइन्छ ।

झाका अनुसार, साधुसन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरिन्छ । दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने गरिन्छ । स्वयम्वर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काज सुरु हुन्छ ।

वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दै आइरहेका छन् । यसैगरी, विवाहपन्चमीका दिन सीताराम बनेका कन्या केटा-केटीको विधिवत् रुपमै विवाह हुने हुँदा उनीहरू यसपछि आजीवन श्रीमान् श्रीमतीको रूपमा जीवन बिताउने गर्दछन्  । यसबाहेक यस दिन आउने अन्य केटा-केटिको पनि विधिवत् विवाह हुने गर्दछ । स्यम्वर अघि तिल्कोत्सव हुने गर्दछ, जहाँ दुलही पक्षले ज्वाइलाई तिलक लगाईदिने गरिन्छ ।

यसपटक विवाहपञ्चमी महोत्सवमा भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुनेछन् । प्रमुख अतिथिको रुपमा भारतबाट रामको डोलासहित आउने उनी मंसिर ११ र १२ गतका कार्यक्रममा सहभागी हुने सह महन्त दासले बताए । सतपाल महराज लगायत अयोध्याबाट हजारौं साधुशन्त जन्तीको रुपमा यसवर्ष पनि सहभागी हुन जनकपुर आउने तयारी छ ।

सतपाल महराजको भ्रमणबाट जनकपुरधामको धार्मिक पर्यटन प्रवर्द्धधनमा विशेष टेवा पुग्ने र दुई देशबीचको सम्बन्ध प्रगाढ हुने वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल शाहको भनाइ छ । यसअघि २०१८ मा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आतित्यनाथ विवाहपञ्चमी महोत्सवमा सहभागी भएका थिए ।

Tags:

सम्बन्धित समाचार