काठमाडौं । वाणिज्य बैंकहरूले कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुर्याएका छन्। बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार ब्याजदर अधिकतम १८ प्रतिशत हाराहारी पुगेको हो।
अधिकांश बैंकको पुँजी लागतसहित गणना हुने आधार ब्याजदर करिब १० प्रतिशत हाराहारी पुगेको छ। बैंकहरूले आधारदरमा ५ देखि ८ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएका हुन्। बैंकहरूले स्थिर दरमा जारी गर्ने कर्जाको ब्याजदर ११.७५ प्रतिशतदेखि करिब १७ प्रतिशतसम्म तोकेका छन्।
परिवर्तित ब्याजदरका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सबभन्दा कम ब्याजदरमा कर्जा पाइने भएको छ। माछापुच्छ्रे, नेपाल एसबिआई लगायत बैंकहरूले उच्च ब्याजदर तोकेका छन्।
स्थिर ब्याजदरका आधारमा सबभन्दा कम कुमारी बैंकको छ भने सिभिल बैंकको ब्याजदर सबभन्दा उच्च छ।
बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर भने बढाएका छैनन्। ब्याजदर बृद्धि गर्दा पनि निक्षेप स्रोत बढ्न नसकेपछि गत महिनादेखि नै बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन्। बैंकहरूले मुद्दति निक्षेपमा अधिकतम ११.३ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गर्दै आएका छन्।
रेमिट्यान्स खातामा भने १२.३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।