काठमाडौं । हानामारु जापानिज भाषा स्कुलका प्रिन्सिपल दाइसाकु हानागिहाराले नेपालमा कृषि फर्म खाेल्ने बताएका छन् । स्काईट्री एजुकेशन प्रा.लि.ले “नेपाल–जापानको आधुनिक कृषि शिक्षामा नेपाली युवाहरूको अवसर र चुनौती” विषयमा आइतबार आयोजना गरेको एक दिने सेमिनार बाेल्दै दाइसाकुले यस्ताे बताएका हुन् ।
नेपाल पर्यटन बोर्डमा भएको उक्त सेमिनारमा प्रिन्सिपल दाइसाकुले सेमिनारकाे मुख्य विषयवस्तुबारे प्रस्तुति दिएका थिए । उनले नेपाल र जापान प्राकृतिक हिसाबले मिल्दो जुल्दो भएको बताए ।
“यहाँको गाउँ, खोला, बस्ती र खेतीपातीका लागि भएको खेत उस्तै हो । खेतबारीमा काम गर्नुपर्छ । जापानको जनसङ्ख्या बिस्तारै घट्दै छ”, “उनले भने, “यस कारण नेपालका विद्यार्थीहरूका लागि जापान सम्भावना नै सम्भावना भएको मुलुक हो ।”
उनले जापानको खेती प्रणाली, उत्पादन, काम गर्ने शैली, बजारसँगै आम्दानीको विषयमा समेत प्रस्ट गरेका थिए । नेपालीहरूको स्वभाव र काम गर्ने शैलीको समेत उनले चर्चा गरेका थिए ।
जापानमा उपलब्धि मूलक काम गर्नका लागि पहिलो विषय भाषा प्रमुख भएको दाइसाकु हानागिहाराको भनाई थियो । जापान उड्नु मात्रै ठूलो सपना नभएको भन्दै जापान पुगेर के गर्ने ? कसरी सफलताको गोल हान्ने विषय प्रमुख भएको हानागिहाराको प्रस्तुतिमा थियो ।
जापानमा गएर नेपालीहरूले शिक्षा, सीप, दक्षतासँगै आर्थिक रूपमा सक्षम हुने गरी नेपाल फर्कन सुझाव दिए । नेपाल फर्किएपछि स्वदेशमा उद्यमी बन्नका लागि समेत उनको आग्रह थियो ।
जापानमा लगानी गर्नका लागि सुरक्षित र तनावरहित देश भएको दसाइकुले बताए । जापान सिस्टम, अनुशासन र मेहनतको मुलुक भएकाले युवा पुस्ताले जापानमा थुप्रै अवसरहरू लिन सकिने दाइसाकु हानागिहाराको दाबी थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व कृषि मन्त्री चन्द्र लामाले दाइसाकु हानागिहाराको प्रस्तुति हेरेपछि नेपालमा यसको प्रयोग गर्न सकिने बताए ।
उनले नेपाल र जापानको कृषि नीति फरक भएकाले युवा पुस्ताका लागि जापान उपयुक्त गन्तव्य हुने धारणा राखेका थिए ।
नेपालमा कानुनी झन्झट र विभिन्न कार्यविधिका कारण खास किसानसँग कृषिको कार्यक्रम पुग्न नसकेको लामाको दाबी थियो । नेपाल आफैँमा कृषि प्रधान देश भएता पनि उत्पादन सोचेजस्तो हुन नसकेको लामाले बताए ।
नयाँ जोस जाँगर र ऊर्जा भएका युवाहरूका लागि जापानको शिक्षा र कृषि फर्म जीवनकै अर्को सफलताको पाटो हुने उनको भनाई थियो ।
स्काईट्री एजुकेसनका अध्यक्ष सन्तवीर लामाले आफू जापानसँग लामो समयदेखि परिचित भएकाले युवाहरूको क्षमता दक्षताको प्रवर्द्धनका सहकार्य गर्न तत्पर रहेको बताए ।
जापान र नेपाल असल मित्र राष्ट्र भएकाले यहाँको युवाहरूलाई जापानको कृषि फर्ममा रोजगार दिने अवसरका लागि सेमिनार राखिएको लामाले जानकारी दिए ।
उनले भने, “जापान र नेपालको कृषि क्षेत्रको प्रवर्द्धनका लागि कृषि विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ । यो पहिलो चरणको कार्यक्रम हो । सम्भवतः धुलिखेल नगरपालिकासँग भगिनी सम्बन्ध राखेर काम गर्ने लक्ष्य छ ।”
कार्यक्रममा स्काईट्री एजुकेसनका निर्देशक पदम दुलालले नेपाल र जापानको सम्बन्ध विगतदेखि नै बलियो भएकाले शिक्षा, अवसर र सफलतामा व्यक्तिको मेहनतमा भर पर्ने धारणा राखे ।
“जापान यतिकै जापान भएको होइन । यहाँको अनुशासन, मेहनत र आत्मीयताले विकास भएको देखिन्छ”, दुलालले भने, “यस कारण नेपाली युवाहरूले जापान जाने मात्रै होइन योजनासहित जापान पुगेर सफलता हासिल गर्ने दूरदृष्टि राख्न आवश्यक छ ।”
उनले स्काईट्री अन्य एजुकेशनभन्दा फरक भएकाले विद्यार्थीलाई भ्रममा नपर्न अपिल गरेका थिए । “हामी स्पष्टसँग काम गर्छौ । नेपाली विद्यार्थीको भविष्यलाई अझ उज्यालो बनाउन चाहन्छौँ”, निर्देशक दुलाले भने,“पहिलो कुरा भाषा पढौँ, बुझौँ र पास गरेर मात्रै आवश्यक प्रमाणित कागजात पेस गरेर सफलताको साथ जापान पटाउँछौँ ।”
कार्यक्रममा जिल्सा एन्ड म्यानेजिङ डाइरेक्टर अफ युनाइटेड को.लि, इन्टरनेश्नल पेड इम्प्लोइमेन्टका अध्यक्ष काजूमि साटो र याम्बु टाइम्सका सम्पादक उर्मिला छ्युमी समेत सहभागी थिए ।