बुधबार , भाद्र १०, २०८३

नेपाली भाषाको जननी सिञ्जाक्षेत्रको महत्वपूर्ण शैक्षिकभूमि : रल्लिङ्ग गुम्बा

रल्लिङ्ग गुम्बा' भौगोलिक रुपमा हिमालको छानो नै हो । यो स्थानसँग अनेकौं प्रकारका लोककथन, स्मृति, लोकलहरी, भनाई, पडेली र जनविश्वासहरू सामाजिक धरातलमा छरिएर रहेका छन् ।

image

Photo by: Himal Darpan

‘हुम्ला’ आफैमा संस्कृति र प्रकृतिको संगमस्थल हो । यसलाई प्रमाणित गर्ने गराउने अनेकौं प्रकारका उदाहरणमध्ये एक “रल्लिङ्ग गुम्बा” पनि हो । नेपालको उच्चस्थानमा रहेको सदरमुकाम सिमकोटको पूर्वोत्तर काखमा यो गुम्बा रहेको छ ।

यसलाई हुम्ली भोटेभाषामा ‘रोङकाई सेल्मुकाङ’ भनिन्छ । यो चाङला हिंमशृङखलाको काखमा रहेको छ । यसको वरपर विभिन्न प्रकारका उच्च हिमालचुली र पखेराहरू पनि अँकमाल गरेर बसेका छन् । स्थानीय खश भाषामा ‘रोङकाई सेल्मुकाङ’को शाब्दिक अर्थ ‘पारिलो पाखामा रहेको सेतो पारदर्शी हिमाल’ हुन्छ ।

रल्लिङ्गको आसपासमा बस्ने बासिन्दाहरूलाई ‘रोङवा’ भनिन्छ । त्यो स्थानभन्दा तल बस्नेहरूलाई ‘मोन्वा’ भनिन्छ । यसले जसरी पानीको ठोस रुप हिमरेखाले भूगोल र संस्कृतिको आचारविचारलाई सीमाबद्ध बनाएको हुन्छ । त्यस्तै यहाँका विभिन्न प्रकारका सांस्कृतिक र प्राकृतिक कुराहरूले पनि हिन्दु र बौद्ध धर्मदर्शनलाई तरलमय बनाएका छन् । यसैले भन्न सकिन्छ की रोङवाहरू भोट-बर्मेली भाषिक परिवारका वक्ता हुन् भने मोन्वा खश-आर्य भाषिक परिवारका प्रयोगकर्ता मानिएको हुम्ली भाषिकाको शब्द संग्रहमा स्नातकोत्तर गरेका धर्मजीत शाहीको शोधपत्रमा उल्लेख भएको छ ।

अहिलेसम्म पनि कर्णालीको भाषा, धर्म, संस्कृति, परम्परा, सम्पदा, प्राकृतिक स्रोत र भाषिक विविधताहरूमा पनि अतिक्रमित भइरहेका छन् । यसैले कालान्तरमा शासन सत्ताका लागि अति महत्वपूर्ण भूमिका निभाएका यहाँका भौगोलिक तथा सांस्कृतिक सम्पदाहरूमध्येको एक रल्लिङ्ग गुम्बा पनि हो ।

इतिहासको कालखण्डमा गौरवमय इतिहास बोकेको कर्णाली क्षेत्रले वि.सं. १८४५ पछिको गोरखाली शाहवंशीय शासकहरूको राज्य विस्तार अभियानलाई अवरोध पारेको भुक्तमान अहिलेसम्म राज्यपक्षबाट व्यहोरिरहेको छ । यसैले पनि कर्णाली क्षेत्रबाट समय समान्तरमा प्राकृतिक स्रोतलाई अत्यधिक दोहन गर्दै दुर्गम, पिछडिएको, एकान्त, असभ्य, विकट जस्ता उपमा दिएर पन्छाउने प्रवृति देखिएको कर्णालीका खोजकर्ता डा.दिपेन्द्र रोकायाको मत रहेको छ ।

खश साम्राज्यका शासकहरू ‘नागराज, चाप, चापिल्ल, क्राशिचल्ल, क्राचल्ल, अशोकचल्ल, जितारीमल्ल, रिपुमल्ल, आदित्यमल्ल, पुण्यमल्ल, पृथ्वीमल्ल, सूर्यमल्ल र अभयमल्ल हुँदै मलयबर्मा, सुमेरुवर्मा, पिताम्बरबर्मा, ससारवर्मा हुँदै बलीराज’ सम्मका शासकहरूबाट समेत मान्यता पाएको एक अति महत्वपूर्ण स्थान रल्लिङ्ग गुम्बा हो । यसको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रणनीतिक, सामरिक तथा प्रशासनिक महत्व मानिएका प्रमाणहरू विभिन्न दस्तावेजहरूमा पाए पनि सबभन्दा गतिलो प्रमाण डा.राजाराम सुवेदीद्वारा लिखित ‘कर्णाली प्रदेशको मध्यकालीन इतिहास’ नामक पुस्तकलाई मान्न सकिन्छ ।

‘रल्लिङ्ग गुम्बा’ भौगोलिक रुपमा हिमालको छानो नै हो । यो स्थानसँग अनेकौं प्रकारका लोककथन, स्मृति, लोकलहरी, भनाई, पडेली र जनविश्वासहरू सामाजिक धरातलमा छरिएर रहेका छन् । यसैले पनि यो तिर्थस्थल ‘हिन्दु र बौद्ध’ धर्मावलम्बीहरूको पवित्रस्थल पनि हो । यहाँ वर्षभरी नै दैनिक तीन पटक पूजाआजा अनिवार्य रुपमा गर्नु पर्छ । मुख्यतः जेठ पूर्णिमा, साउन पूर्णिमा र भदौरै पूर्णिमाका समयमा भक्तालु तथा तिर्थालहरूको ठूलो भीड जम्मा हुने गरिएको छ । यो समयमा विभिन्न प्रकार वर मागिन्छ । पाप पनि काटिने जनधारणा रहेको छ ।

विशेषतः देवपुरी हुम्लो भन्ने कथनलाई साक्षात्कार गर्ने गराउने देवाधीदेव महादेवसँग अन्तरघुलित ‘नाथ सम्प्रदाय’को बाहुल्यतामा सञ्चालित भएको थियो । पछिल्लो समय बौद्ध धर्मभित्रको बज्रयान सम्प्रदायभित्रका चार उपसमुहहरू शाक्यापा, निङमापा, गेलुक्पा र कग्युपामध्ये शाक्यापा र निङमापाका आचारविचारहरू लागु भएको सिमकोट ३ बरगाउँका वयोवृद्ध छिरिङ्ग लामाले बताए ।

सिञ्जाक्षेत्रको महत्वपूर्ण शैक्षिकभूमि

तत्कालिन बृहत खश साम्राज्यको आधारखण्ड, प्रवेशमार्ग, जैविक स्रोतको भण्डार, लामाऋषिहरूको तपोभूमि, रेशमी राजमार्गको सहायक पथ र उत्तरदक्षिण राजमार्गको प्रवेशविन्दुको मूलभुमिको काखैमा यो गुम्बा विराजमान भएको छ । यसले बाँच र बचाऊको सन्देश दिएको छ । यो गुम्बा गुम्बा मात्र नभएर नेपाली भाषाको जननी सिञ्जाक्षेत्रको महत्वपूर्ण शैक्षिकभूमि पनि हो । यसैले पनि नेपाली भाषाको शुद्ध लेखोटमध्येका ऐतिहासिक लिखत यो गुम्बाबाट प्राप्त भएको जानकारी नेपाली इतिहासका अध्येता मोहनप्रसाद खनाले वि.सं. २०३५ सालमा गोरखापत्रमा आलेख प्रकाशन गरेर नेपाली मानसलाई जानकारी गराएका थिए ।

यो ऐतिहासिक लिखतलाई स्वामित्व ग्रहण गर्नका लागि तत्कालीन समयमा शैक्षिक केन्द्रहरूका आधारस्तम्भ ‘खोचेरनाथ, रिन्छेलिन, छार्का र रल्लिङ्गगुम्बा’का जिम्मेवार लामाभिक्षुहरू बीच मनोमालिन्य हुँदा उक्त ताम्रपत्रलाई तीन टुक्रा गरिएको स्थानीय कथन रहेको छ । यो धातु लिखत वि.सं. १३१२ मा खश साम्राज्यका शक्तिशाली सम्राट ‘अशोक चल्ल’को पालामा उत्कीर्ण गरिएको थियो । यसको उद्धरण नेपाली भाषा इतिहास सम्बद्ध धेरै लिखतहरूमा गरिए पनि यसको श्रेय मोहनप्रसाद खनाल, बालकृष्ण पोखरेललाई जान्छ । यसैले पनि नेपाली भाषाको कालावधि गणनामा तुलनात्मक भाषाविज्ञानका सुप्रशिद्ध विज्ञ बालकृष्ण पोखरेल संकलित तथा लिखित ‘पाँच सय वर्ष’ र नेपाली इतिहासका खोजकर्ता मोहनप्रसाद खनाल संकलित तथा लिखित ‘नेपाली भाषाका एक हजार वर्ष’ पुस्तकहरूलाई रल्लिङ्ग गुम्बा र अशोकचल्लको सम्बन्ध दिने अब्बल उदाहरणहरू मानिएका छन् ।

हुम्लाको ‘रल्लिङ्ग गुम्बा’को इतिहाससँगको साइनो गाँसिनु हुम्ला र हुम्लीका लागि गौरवको विषय हो तर, पनि यसको संरक्षणमा समस्या रहेको छ । हालसम्म हिड्डन ट्रेजर मात्र छ, यसलाई राष्ट्यि-अन्तराष्ट्रिय व्यापारक प्रचारप्रसार गर्नु मुख्य चुनौति र अवसर भएको सिमकोट ३ तोर्पागाउँका राजनीतिकर्मी छिरिङ्ग दम्डुल लामाको भनाई रहेको छ ।

भौगोलिक अवस्था :

समुन्द्री सतहबाट १६ हजार फिटभन्दा माथि यो गुम्बा रहेको छ । यो हिमालको काखमा रहेको एक सानो उच्चसमस्थलि पनि हो, जसलाई विभिन्न प्रकारका जैविक निधि विधिहरूले सुशोभायमान बनाएका छन् । जताततै मग्मग बास्नादार बुकीरुगीको लहर छ । काखैमा सुगन्धित धुपीको धुप छ । कलकल र सलसल बग्ने पानीको शुद्धता छ । शुद्ध र चिसो हावाको मन्द मुस्कान छ । अनेकथरी पशुपन्छीहरूको गस्ती र रस्तीबस्ती छ । ध्यानमग्न गुफाहरूले पाषाणयुक्त कलालाई प्रर्दशनी गरेका छन् ।

स्थानीयहरूले प्राकृतिक, सामाजिक, मनोवज्ञानिक, भाषिक, जैविक, सम्मोहन र शारीरिक रुपमा समेत शान्त र शान्तिको सन्देश प्राप्त गर्न सकिने अनुभव सँगालेका सिमकोट ५ खाद्दकगाउँका तुलसिंह रोकाया पनि हुम्ली समाजका एक प्रतिनिधि पात्र हुन् ।

पछिल्लो समय भूगोल, जातजाति र राजनीतिक रुपमा पिछडिएकाहरूको आवाज सम्बोधन गर्नका लागि स्थापना भएको संघीय शासन प्रणालीले यस्ता कुराहरूलाई नीतिगत र विविधगत रुपमा सम्बोधन गर्नुपर्ने मर्म हो । यस्ता आचारविचारलाई लागु गरी विकासको मोडेल लागु गर्न सकेमा शासनसत्ता बलियो हुनसक्छ । तर, आ’फ्नो हात जगन्नाथ’ भन्ने मान्यता बोकेका नेपाली शासनसत्ताका छोटे शासकहरूबाट यस्ता कुराहरूको आशाभन्दा पनि निराशाका संकेत र प्रकम्पहरू धेरै रहेका छन् ।

जेभए पनि ‘रल्लिङ्ग गुम्बा र अशोकचल्ल’ हुम्ला कर्णालीको मानसिकतामा अवस्मरणीय छन् । यसको खोजी गर्न गराउन सकेको खण्डमा नयाँ-नयाँ तथ्य फेला पर्नेछन् । नेपाली भाषाका खुडकिलाहरू पनि थपिने छन् । जय शम्भो रल्लिङ्गनाथ ! थुक्जी छे रोङकाई सेल्मोकाङ्ग !! थुक्जी छे ग्याल्बु अशोकचल्ल !!! (यो लेख समाचारपाटीमा प्रकाशित छ।)

कर्णबहादुर रोकाया

सम्बन्धित समाचार