शनिबार , बैसाख २६, २०८३

थारु संस्कृति : कुरुक्षेत्रको लडाइँको झल्को दिने ‘बर्का नाच’ (अंक- २)

image

समय आफ्नै गतिमा अगाडि बढिरहेको छ । समयसँगै हाम्रा मौलिक कला, संस्कृति तथा संस्कार परिवर्तन हुँदै गएका छन् । संस्कृति समयानुसार परिवर्तन हुनु स्वाभाविक हो तर, कैयौँ मौलिक संस्कृतिहरू पूर्णरुपले लोप हुने अवस्थामा पुग्दा भविष्यमा यसले केकस्तो प्रभाव पार्ला भन्ने चिन्ता रहेको छ ।

हामी, ‘हाम्रो संस्कृति निकै धनी छ’ भनेर भन्छौँ । ‘हाम्रो संस्कृति’ भनेर गर्व पनि गर्छौँ । तर, हाम्रो मौलिकता ह्रास हुँदै गएको कुराप्रति गम्भीर नहुनु ठूलो विडम्बना हो । यसको एउटा कारण बाह्य संस्कृतिको प्रभाव हो । अहिले हामी आफ्नो भनिएको संस्कृतिप्रति त्यत्ति चाँसो राख्दैनौँ तर, अरूको संस्कृतिप्रति भने अत्यन्त चाँसोका साथ अनुसरण गर्छौँ । हामी हाम्रै संस्कृतिप्रति रुचि नराख्नु पनि हामी दोषीको भागीदार हौँ । अहिले, नेपालमा विभिन्न जाति, समुदायको मिश्रित बसाई छ । जसका कारण हाम्रो संस्कृति पनि मिश्रित संस्कृतिको रूपमा रूपान्तरित हुँदै छ । मिश्रित संस्कृतिभित्र पनि संवृद्ध संस्कृतिको विकास हुन सक्छ । तर, रूपान्तरणका नाममा अत्यन्त खर्चिला, महँगा र अन्धविश्वासी रूढ हुनुहुँदैन ।

हामीभित्र अरूको संस्कृतिप्रति हेय दृष्टिले हेर्ने र आफ्नो मात्रै ठीक भन्ने प्रवृत्ति छ, यसले अतिवाद जन्माउँछ । अतिवादले विभेद, अहङ्कार र द्वन्द्व निम्त्याउन सक्छ । कतिपय संस्कृति त अरूको पनि राम्रा हुन सक्छन् । तर, अरूको मात्रै राम्रो देख्ने संस्कार भने राम्रो होइन । हामी अहिलेसम्म यही नियत भोगिरहेका छौँ । हामी हाम्रै संस्कृतिभित्र राम्रो र गलत कुरा केलाउन सक्ने क्षमता राख्न सक्नुपर्छ । हाम्रो संस्कृतिभित्र रहेका मौलिकता हाम्रो निजी पहिचान हो, जहाँ हाम्रो कला, रीतिरिवाज, चालचलन, लवाईखवाई, संस्कार र जीवन पद्धतिसँग सम्बन्धित हुन्छन्।

‘बर्कीमार’ थारु भाषा साहित्यको पहिलो रचना हुनसक्छ

यहाँ थारु जातिको ‘बर्का नाच’ को बारेमा चर्चा गर्न खोजिएको छ । यो नाच थारु जातिको ‘हरेरी’ पूजापछि नाचिन्छ र तिहारपछि विधिवत् पूजा गरेर अन्त्य गरिन्छ । यो नाचले किसानले लगाएको बालीनाली सप्रियोस्, किरा फट्याङ्ग्रा नलागुन्, जमिनमा उर्वरा शक्ति बढोस् र उत्पादनमा वृद्धि होस् भन्ने जनविश्वास रहेको छ ।

‘हरेरी’ पूजा प्रायः भदौ महिनामा हुन्छ । यो पूजाभन्दा पहिले ‘बर्कानाच’को नाममा गीत गाउन र मादल, झाल–कस्टार बजाउन नपाइने परम्परागत नियम छ । नियम उलङ्घन गरी कसैले बजाए अशुभ हुने जनधारणा छ (कोपिला, २०७१ : २०) । महाभारत कथामा आधारित थारु पुराण ‘बर्कीमार’ गीतमा नाचिने यो नाच पुरुषहरूले नाच्ने सामूहिक नाच हो । प्रारम्भिक चरणमा यो नाच मादलको २२ तालमा नाचिन्थ्यो । तर, अहिले सीमित तालमा मात्र नाच्ने गरेको पाइन्छ । मादल बजाउने मादलेहरू नै बजाउने ताल बिर्सिएर अथवा रूपान्तरण हुन नसक्नुका कारण यो समस्या देखापरेको हो ।

यसको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने दाङको देउखुरी (स्थानीय भाषामा द्यौखर) को गोबरडिहा गाविस अन्तर्गत पर्ने महदेवा गाउँबाट सुरु भएको पाइन्छ । वि.स.१९७८ सालमा नारायणप्रसाद चौधरीको नेतृत्वको टोलीको प्रयासमा पहिलो अभ्यास गरिएको थियो । यो नाच महाभारत कथालाई अध्ययन गरी मुङ्ग्रा (गडा) लिएर नाचियो र यही परम्पराले नै अहिलेसम्म निरन्तरता पायो । नाचमा ‘बर्कीमार’ गीत गाएर नाचिन्छ । तर ‘बर्कीमार’ कसले रच्यो र कहिले रचना गरियो भन्ने विषयको भने अहिलेसम्म आधिकारिक जानकारी फेला परेको छैन (कोपिला, २०७१ : २) । त्यसो त थारु समुदायका अधिकांश सिर्जनाहरू मौखिक रूपमै पुस्तान्तरण हुँदै आए । यसरी मौखिक सिर्जनाहरू पुस्तान्तरण हुँदै आउँदा वास्तविक सिर्जनाकार ओझेल पर्ने गरेको देखिन्छ ।

नेपाली साहित्य प्रकाशनको सुरुवात नेपाल एकीकरणपछि भएको मानिन्छ । त्यसैताका वि.सं. १८२५ सालमा प्रकाशित सुवानन्द दासको ‘पृथ्वीनारायण शाह’ शीर्षकको कवितालाई पहिलो औपचारिक साहित्य मानिन्छ । थारु भाषा साहित्यको औपचारिक साहित्य लेखनको तथ्य जानकारी बाहिर आएको छैन । यद्यपि विषयवस्तुको हिसाबले हेर्ने हो भने यो गीत पनि त्यसै समयको सेरोफेरोमा रचिएको अनुमान लगाउन सकिन्छ किनकि प्रकृतिपुजक थारु जातिको पूजापाठ, चाड पर्व, रीति, संस्कृतिलाई हेर्ने हो भने प्रायः हिन्दू संस्कृतिसँग मेल खाँदैन । उनीहरूको आफ्नै मौलिक संस्कृति छ । त्यसो त प्रकृतिप्रति अत्यधिक विश्वास गर्ने हुनले ‘प्राकृत’ धर्म नै थारु जातिको प्राचीन धर्म हो भन्ने धारणा पनि जनमानसमा छ ।

नेपाल एकीकरणपछि ‘एक भाषा, एक धर्म र एक नीति’ लाफू भएसँगै यहाँका थारु लगायत अन्य आदिवासी जनजातिहरूको संस्कृतिमा हिन्दूकरण भएको देखिन्छ । थारु जातिलाई पूजापाठको आधारमा हेर्ने हो भने हिन्दू संस्कृतिभन्दा धेरै भिन्न छ । अहिलेको अवस्थासम्म आइपुग्दा उनीहरूको व्यवहारमा प्राकृत (प्रकृतिपूजक), स्वभावमा बुद्ध र आवरणमा केही हिन्दू संस्कृति भेटिन्छ । यसरी त्रिकोणात्मक संस्कृतिको प्रभाव देखिन्छ थारु जातिमा । जेजस्तो भएपनि थारु जाति प्रकृतिपूजक नै हुन् । तर, पछिबाट बुद्ध दर्शन र हिन्दू संस्कृतिको अनुसरण गरिएका हुन् भन्ने कुरामा शङ्का छैन ।

बुद्ध जन्मिनुभन्दा पहिले पनि थारु बस्ती थियो

नेपालको इतिहासलाई हेर्ने हो भने बुद्ध जन्मिनुभन्दा पहिले पनि थारु जातिको बस्ती थियो भन्ने कुरा धेरै इतिहासकारहरूको भनाई रहेको छ । हिन्दू संस्कृतिको प्रभाव त झन् १२औँ शताब्दितिर मात्रै परेको देखिन्छ । तत्कालीन राज्यको लामो समयदेखि एक छत्र हिन्दू संस्कृतिको दबाबका कारण थारुहरू पनि सुस्त–सुस्त हिन्दू संस्कृतिको अनुसरण गरे र, आफू हिन्दू भन्न थाले । त्यसो त अहिले पनि थारु जातिहरू धर्मलाई खासै महत्त्व राख्दैनन् र, कुनै धर्मप्रति विभेद पनि गर्दैनन् । सबैको धर्म र संस्कृतिलाई सम्मान गर्छन् । उनीहरू पूजापाठभन्दा नितान्त कर्ममा विश्वास गर्छन् । हरेक काम प्रकृतिमाथि नै निर्भर गर्ने भएकोले प्रकृतिमाथि विश्वास गर्छन् । सूर्य (अग्नि), जल, भूमि लगायत प्रकृतिलाई पुज्छन् । त्यसैले उनीहरूलाई भूमिपुत्र, प्रकतिपूजक भनिएको हो । तर, थारु जातिहरू आफ्नो संस्कृति सँगसँगै अरूको संस्कृतिलाई पनि स्विकारी रहेको अवस्था छ । सायद यसैले होला बाह्यसंस्कृतिले थारु समुदायमा नराम्ररी प्रभाव जमाइरहेको छ ।

‘बर्कीमार’ महर्षि वेदव्यासद्वारा रचित हिन्दू धर्मग्रन्थ महाभारतको भाव अनुवादित ‘पुराण’ हो । त्यसैले ‘बर्कीमार’ पनि नेपाली साहित्यको प्राथमिककाल (वि.सं. १८०१–१९४०) मा रचना गरिएको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

एकीकरण अघिको अवस्थालाई हेर्ने हो भने थारु समुदायमा हिन्दू संस्कृतिको खासै प्रभाव देखिँदैन । अहिले पनि थारु गाउँमा हिन्दुहरूका मठ–मन्दिर हुँदैन । एकाध रूपमा भएपनि तत्कालीन हुनेखानेहरूले आफ्नो व्यक्तिगत प्रयोजनका लागि मात्र बनाएको पाइन्छ । ती मन्दिरहरू पनि १८औँ शताब्दीपछि बनाइएका हुन । थारुहरू विशेष परिस्थिति बाहेक मन्दिर पनि जाँदैनन् । उनीहरूको आफ्नै कुलदेउता पुज्ने मौलिक ‘मर्वा’ हुन्छ । जहाँ वार्षिक कम्तीमा तीन पटक सामूहिक पूजा गरिन्छ ।

एकीकरणपछि भने पृथ्वीनारायण शाहको एक धर्मको नीतिले अझ हिन्दू संस्कृतिले मलजल पायो, जुन थारु समुदाय पनि प्रभावमा पार्यो । यसैको प्रभाव हो थारु समुदायमा पनि हिन्दू ग्रन्थ र मिथकसँग सम्बन्धित केही गीतहरू सिर्जना भएको पाइन्छ । ‘बर्कीमार’ पनि महर्षि वेदव्यासद्वारा रचित हिन्दू धर्मग्रन्थ महाभारतको भाव अनुवादित ‘पुराण’ हो । त्यसैले ‘बर्कीमार’ पनि नेपाली साहित्यको प्राथमिककाल (वि.सं. १८०१–१९४०) मा रचना गरिएको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

कुरुक्षेत्रको लडाइँको झल्को दिने बर्का नाच

जेजस्तो भएपनि यो नाच अहिले थारु समुदायको मौलिक नाच भइसकेको अवस्था छ । बर्कानाचमा गीत भन्दा मादलको प्रधानता हुन्छ । गीत गाइए पनि मादलको तालमा गडा जुधाउने र शरीरको हाउभाउ पनि यसले निर्धारण गर्छ । गडा (गजा) लिएर नाच्ने भएकोले यो नाच महाभारतमा उल्लेखित कुरुक्षेत्रको लडाइँको झलक दिन्छ ।

यो नाच अत्यधिक खर्चका कारण निरन्तरता पाउन सकेन । पछि दाङ नारायणपुर गाविस अन्तर्गत जलौरा निवासी रुपलाल चौधरीले वि.स. २०१० सालमा आफ्नै गाउँ पुनः सुरु गराए । उनले नाचको सबै विधि प्रक्रिया महदेवाबाट सिकेर आफ्नो गाउँमा नचाएका हुन । चौधरीको यो कामले पुनर्जागरण ल्याएको मानिन्छ । पछि २०१६ सालमा योगी नरहरिनाथ, बद्रीनाथ योगीको सहयोगमा ‘बर्कीमार’ पुस्तक पनि प्रकाशित भयो, जसले हिजो मौखिक रूपमा गाइने बर्कीमार प्रकाशनपछि दस्तावेजीकरण भयो र सुरक्षित भयो । यही पुस्तकबाट धेरैले गाउन पनि सिके ।  अहिले यो पुस्तक प्रायः दुर्लभ भइसकेको छ ।

नाचको सन्दर्भमा कुरा गर्दा अहिले यो दाङको जलौरामा मात्र सीमित छ । बर्दियाको उल्टनपुरमा पनि यो नाच नाचिने गरेको कुरा बाहिर आए पनि पङ्क्तिकारलाई आधिकारिक जानकारी छैन । जलौराको बर्कानाचको अगुवाई भने रुपलाल चौधरीका छोरा चन्द्रप्रसाद चौधरीले गर्दै आएका छन् । यो पनि अहिले नियमित छैन । यो नाच हेर्नका लागि कुनै महोत्सव या कार्यक्रममा पर्खिनु पर्ने अवस्था छ । अहिले यो नाचले कला पुस्तान्तरणको ठूलो चुनौती भोगिरहेको छ । नयाँ पुस्ताहरू यसप्रति साँचो नदेखाएको अवस्था छ । यसका धेरैजसो कलाकारहरू ५० वर्ष माथि उमेर समूहका मात्रै छन् । त्यसकरण यसको विकल्प नखोजिए हाल नाचिरहेको पुस्ताको अन्त्यसँगै यो नाचको पनि प्रायः अन्त्य हुने निश्चित देखिन्छ ।

राजा युधिष्ठिर, रानी दूर्पती र कौरव राजा जिरिजोधनको टाँरवान

यस नाचप्रति चासो नहुनुको अर्को प्रमुख कारण खर्च पनि हो । यसको तयारीको लागि ठूलो खर्च लाग्ने गर्छ । त्यसकारण खर्च योजनाको तयारी पछि मात्र नाच थालिन्छ । आर्थिक रूपमा धेरै खर्चिलो भएकोले यो कमजोर हुँदै गएको सहजै स्विकार्न सकिन्छ । नाचको सुरुवातमा रजावर मर्वा (भूँइह्यार थान) को कुनै एक कुनामा पाण्डव र केही कौरव पात्रहरूको प्रतिकात्मक ध्वजा गाडिन्छ । नाच सकिएपछि यसरी गाडिएको ध्वजा र मर्वामा विशेष पूजा गरिन्छ । पूजामा अत्यधिक सङ्ख्यामा पशु–पन्छीहरूको बली चढाइन्छ । सुरुवात भने सामान्य छाँकी (रक्सी र जल) चढाएर गरिन्छ । पूजा रजावर मर्वामा आफ्नो मौलिक रीति–प्रक्रिया अनुसार गरिन्छ । जसमा दुइटा बोका, एउटा भेडा, दुइटा पाठी, सुँगुर चार वटा र झन्डै एक सय दश वटा चल्ला पुजिन्छ ।

पूजा गर्नुभन्दा पहिले बीचमा सबैभन्दा अग्लो टाँरवान (बाँसको अग्लो लिङ्गो) जसमा कालो खोल र कालो सूरही गाईको पुच्छर जोडिएको हुन्छ । त्यसैगरि राजा युधिष्ठिरको टाँरवान पनि गाडिन्छ । त्यसैको पूर्वतिर रानी दूर्पती (द्रोपति)को टाँरवान रातो र टुप्पमा लोटा बाँधिएको हुन्छ । ह्यौटाको टाँरवानको पश्चिमतिर र कौरव राजा जिरिजोधन (दुर्योधन)को टाँरवान सेतो खोल र कालो सूरही गाईको पुच्छर बाँधिएको हुन्छ । (दहित, २०५७ : ४६) र अन्त्यमा सबैभन्दा पश्चिम सैनिकवृक्षको टाँरवान कालो खोल र कालो सूरही गाईको पुच्छर जोडिएको हुन्छ ।

पूजामा सबै कलाकारहरू मिलेर एउटा ठूलो जोंजा (मसाल) बाल्ने गर्छन् । त्यही ठाउँमा गुर्वालाई बसालेर चल्लाको टाउको हातले निमोटेर गुर्वाको टाउकोमा चढाउँछन् । सँगै जल–रक्सीको छाँकी पनि चढाउँछन् । अन्त्यमा, सबै टाँरवान उखेलेर एउटा रुखमा (बर, पिपर या सीमल आदि) बाँध्ने गर्छन् । रुखको मुनतिर पश्चिमतिर मुख फर्काएर गाईको गोबरले लिपपोत गरिन्छ र ‘बघेश्री’ देवीलाई खाल्डो खनेर अण्डा (फुल) चढाइन्छ अनि त्यहीँ एउटा चल्ला पनि पुजिन्छ । आजैका दिन नाचको डिवाँ राख्ने (यति वर्ष नाच्ने भनेर समय निर्धारण गर्ने) पनि गरिन्छ । डिवाँ तीन, पाँच, सात वर्षको हुन्छ । डिहाँ राख्नको लागि गुर्वाद्वारा मनौटा (भाकल) गरिन्छ । डिवाँ अनुसार नाच हुन्छ । यसरी बर्का नाचको सबै पूजा–पाठ सकिन्छ ।

यो सामूहिक नाच हो । यसको लागि पाँच जना जामा, पाँच जना लहँगा र पाँच जना धोटीवाल गरी १५ जना हुन्छन् । त्यस मध्ये पाँच जना मुङ्ग्रा लिएर नाच्छन् भने अरू मजिराले नाच्छन् । तीन जना मादले र दुई जना जोक्कर पनि हुन्छन् । यसैगरी बर्कीमार गाउने ‘मोर्हिया’ (गीत उठाउने व्यक्ति) सहित अरू छ जना पनि हुन्छन् । परम्परागत नाच उल्लेखित सङ्ख्यामा कलाकार रहने भने पनि कलाकारको उपस्थिति अनुसार कमबेसी पनि हुन सक्ने अभियन्ताहरू बताउँछन् । यो नाच खास गरे पुरुषहरू मात्रै नाचिन्छ । तर, पछिल्लो समयमा महिलाहरू पनि नाच्ने गरेको पाइन्छ । महिलाहरू नाच्ने बर्का नाच माथि उल्लेखित नाच भन्दा भिन्दै हुन्छ । तर त्यही नाचबाट प्रभावित भएको मानिन्छ ।

यो नाचको सुरुवात देउखुरीको लमही नगरपालिका–४ रनियापुर गाउँबाट भएको भनाइ छ तर कुन मितिमा गरिएको हो भन्ने कुरा यकिन छैन । सोही गाउँका पृथ्वीमान चौधरीले नाच्न सिकाएको भनाइ छ । महिलाहरू आफ्नो मौलिक पहिरनमा मादलको तालमा मजिरा बजाएर नाच्छन् । यो नाचमा बर्कीमार गीत हुँदैन । यसलाई ‘मंजिरा नाच’ पनि भन्छन् । पैइयाँ लगैना पनि यसै अन्तर्गतका नाचमा पर्छ । पछि यही नाच सखिया नाचको रूपमा विकसित भयो । सखिया नाच गीत गाएर नाचिन्छ । तर, बर्का नाच जस्तै गीतको भूमिका यसमा पनि गौण हुन्छ, मादलको नै प्रधानता हुन्छ । यो ‘सखिया गीत’ गाएर नाचिने भएको हुनले यसलाई सखिया भनिएको हो । यो गीतमा प्रेम, नारी संवेदनाको बारेमा चर्चा गरिएको पाइन्छ, जुन कृष्णको जीवनीसँग सम्बन्धित छ । तर यो कृष्णाष्टमीमा न नाचेर विशेषतः दसैँ तिहारमा नाचिन्छ । कृष्णाष्टमीमा कृष्णको जन्म र अन्य जीवनगाथा लयान्तर गरेर सखियामा गाइने कुरा केही जानकारहरू सुनाउँछन् ।

त्यसैगरी पुरुषहरू पनि केही भिन्नै किसिमले नाचेको पाइन्छ । मादलको उही तालमा पुरुषहरू (कठपुतली लिएर नाच्थे । तर, आजभोलि यो नाच पूर्ण रूपमा लोप भइसकेको छ । महिलाहरू भने मंजिरा लिएर नाच्छन् । पछि पुरुषहरू लट्ठी लिएर नाच्न सिके । यो नाच पनि देउखुरीकै गोबरडिहा गाउँबाट सुरु भए हो । लट्ठीले नाच्ने भएर यसलाई ‘लठ्ठिहवा नाच’ भनिएको हो । अहिले पनि यो प्रचलनमा छ । जे जस्तो भए पनि बर्का नाचकै देखासिकी नाच हो अथवा बर्का नाचकै परिमार्जित स्वरुप हो भन्न सकिन्छ

बर्का नाच ‘सुम्रौती’बाट सुरु हुन्छ । सुम्रौती भनेको आफ्नो देवी देउताहरूलाई निम्ता गर्ने अर्थ लाग्छ । नाच आफ्ना सम्पूर्ण देवी देउताहरूलाई निम्तो गरिसकेपछि सुरु हुन्छ (चौधरी, २०६७ः ७६) ।

सुम्रौती यसप्रकारको हुन्छ:

सरसटि सुमिरौं जिउकै जोटि
अपडरप सुमिरौं गजमोटि
पन्डो कठा कहाँ लैजाउँ
जहाँ सुनाउँ वहाँ वासुक नाग
भगमटि सरन लेबुँ टोर नाउँ
डेखि ढरमडेवि बन्ढन बा ।

सुम्रौती गाएर देउताहरूलाई छाँकी चढाइन्छ । त्यसपछि गाउँको ककन्डरवा (महट्वाँ, बरघरिया, प्रधान) घर जान्छन् । नाच्ने समुहलाई ककन्डरले ठूलो सम्मान गर्छन् । सगुनको रूपमा ककन्डरकी गधुनियाँ (स्वास्नी) उनीहरूको शुभ साइतका लागि सेतो टीका (पीठो या चामल) लगाएर छाँकी दिन्छिन् । त्यसपछि नाच गर्दै अन्य ठाउँमा पनि जान्छन् । यो नाचले सुबिकाल हुन्छ, शान्ति हुन्छ, भूत–प्रेत आउँदैन, जमिनमा उर्वराशक्ति आउँछ र बालीनाली राम्रो हुन्छ भन्ने जनविश्वास छ । नाचमा विभिन्न थारुहरूका आफ्नै मौलिक देवी देउताहरूलाई निम्तो गरिएको हुन्छ । नाचमा विशेषतः करैयाकोट, घोड्डग्रैया, कन्डरा, बाइसमाथा, कोटिया, भगतभार, डुमडुमवा र ठाउँ अनुसार अन्य मठ–देवालयका देउताहरूलाई निम्तो गरिएको हुन्छ । उनीहरूलाई गुर्वाले आफ्नो मन्तरको माध्यमबाट निम्तो गर्छन् । अदृश्य रूपमा नाच हेर्ना आएका देवी देउताहरूको छायामा पर्दा नाच्ने वा हेर्नेहरू मूर्छा पर्ने डर हुन्छ । त्यसैले कलाकारहरू गुर्वाले दिएको साजेको चामल (अक्षता) र पानी मात्रै पिउँछन् । नाच्ने ठाउँमा समय–समयमा अक्षता छिटिरहन्छन् । यो नाच नाच्दा डेशबँढिया गुर्वालाई बोलाइएको हुन्छ । गुर्वा सुरही गाइको पुच्छर लिएर सुरक्षार्थ चारैतिर अक्षता छर्दै घुम्छ । कलाकारहरूलाई दिसा–पिसाब लाग्यो भने साथमा एक जना गुर्वा र हातमा अक्षता लिएर मात्र जान्छन् । फर्केर पुनः लिएर गएको चामल डेशबँढिया गुर्वालाई दिन्छन् । यसो गर्दा भूत–प्रेत, बोक्सीहरू कलाकारहरूमाथि आँखा लगाउन पाउँदैन ।

यसरी कहिलेकाहीँ नाच हेर्दा वा नाच्दा मूर्छा परे भने शान्त ठाउँमा लगेर गुर्वाले साजेको पानी छर्कने र सुरही गाइको पुच्छरले हम्किने गरिन्छ (चौधरी, २०६६ः १०) । यसरी पानी छर्कने र हम्के पछि मूर्छाबाट छुटकारा पाइन्छ भन्ने जनधारणा छ ।

यसरी यो नाच देवी देउताहरूको स्तुतिगानमा नाचिने महाभारतको बेजोड प्रस्तुति हो । यसको नृत्यशैली र क्रियाकलापले कुरुक्षेत्रको लडाई प्रतिबिम्बित गर्छ । त्यसकारण यसलाई पौराणिक नाचको रूपमा पनि लिइन्छ । बर्कीमार, महाभारत ग्रन्थको भाव अनुवादित गीतिग्रन्थ भएपनि यसका विभिन्न सन्दर्भ र घटनाहरूमा थारु जातिको मौलिकता झल्किन्छ र त्यही मौलिकताभित्र पहिचान लुकेको छ । तर, अहिले बर्का नाच ठूलो चुनौतीको सामना गर्दैछ र सदाका लागि लोप हुने अवस्थामा पुग्दैछ । यसको भविष्य र अस्तित्व रक्षाको लागि ‘जलौरा’ले एक्लो दुष्प्रयास गरिरहेको छ । युवापुस्ता मौन हेरिरहेका छन् । यसरी पुस्तान्तरणमा देखिएको दुरी पनि एउटा कारण हो । पुराना पुस्ताले दिन नसक्नु र नयाँ पुस्ताले लिन नचाहनु गम्भीर समस्या यही छ । नयाँ पुस्ताले चाँसो लिनै पर्छ । यदि यसको समाधान नखोजे भोलिको दिनमा यसलाई बचाउन सक्ने कुरा प्रायः असम्भव नै देखिन्छ ।

अर्को समस्या आर्थिक पनि हो । पूजामा अत्यधिक खर्च लाग्ने हुनले खर्चको जिम्मेवारी कसले लिने भन्ने पनि हो तर, यसलाई समयसँगै कम खर्चमा गर्न सकिने वातावरण तयार गर्न सक्नु पर्छ । सधैँ पराम्परा टेकेर काम गर्न सकिने अवस्था हुँदैन । त्यसकारण समय अनुसार परिमार्जन र कम खर्चमा पनि गर्न सकिन्छ । संस्कृति अलौकिक वस्तु होइन । यो पनि मान्छे नै आफ्नो अनुकूल र मौलिकतामा चल्दै आएका चलनहरू हुन् । त्यसैले मानव निर्मित संस्कृतिलाई स्वयम् मानवले नै समयानुकूल बनाउन सक्नुपर्छ । यसको लागि थारु समुदाय स्वयं आफै लाग्नु पर्छ र सरकार पनि सहयोग गर्नु पर्ने देखिन्छ ।

सन्दर्भ सामग्री : 
दहित, अयोध्याप्रसाद, (२०५७) थारु पहिचान लोप हुइटी रहलक बर्का नाच । बिहान । काठमाडौँ : थारु युवा परिवार । वर्ष–१२, अङ्क–९ ।
चौधरी, कृष्ण, (२०६६) थारु समुदायके बर्का नाच । लावा लौझी । द्यौखर : थारु भाषा तथा साहित्य उत्थान समुह । वर्ष–३, अङ्क–५ ।
चौधरी, शेरबहादुर (२०६७) थारु भाषक महाकाव्य बर्कीमार । बिहान । काठमाडौँ : थारु युवा परिवार । वर्ष–२२, अङ्क–१५ ।
कोपिला, छविलाल (२०७१) महाभारतको प्रारुप : बर्का नाच । हमार संस्कृति । ललितपुर : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
कोपिला, छविलाल (२०७१) महाभारतको प्रारुप थारु जातिको ‘बर्का नाच’ । नेपालगञ्ज : नागरिक दैनिक (पश्चिमेली) । वर्ष–३, अङ्क–१८३ ।

सम्बन्धित समाचार