हामी किन यहाँ छौँ ? जीवन जिउनुको अर्थ के हो ? निर्माण भएको कुनै पनि कुराको उद्देश्य के हो ?' लगायतका प्रश्नहरू नाटक वेटिङ फर गोडोटले गरेको छ ।
Photo by: Himal Darpan
शमूएल बकेट (आयरिश नाटककार, उपन्यासकार एवम् कवि) को २० औँ शताब्दीको एक साहित्यिक कथा छ- वेटिङ फर गोडोट, जसको पटकपटक चर्चा-परिचर्चा भइरहन्छ । कथाको चर्चा गर्नुपूर्व बकेटसँग सामान्य परिचय गरौँ ।
सन् १९०६ मा आयरल्यान्डको डब्लिनमा जन्मेका बकेटले ट्रिनिटी कलेजमा पढेका हुन् । इस्वीको १९३०र १९४० को दशकमा उनले आफ्नो पहिलो उपन्यास र छोटो कथाहरू लेखेपछि उनी साहित्य समूहमा चिरपरिचित भइसकेका थिए । दोस्रो विश्वयुद्धको दौरान, शमूएल बकेटको आयरिश नागरिकताले उनलाई तटस्थ देशको नागरिकको रूपमा पेरिसमा रहन भन्यो । उनी १९४२ सम्म प्रतिरोधको आवाज भएर आन्दोलनमा लडे । बकेटले आफ्नो श्रीमतीको साथ युद्धको अन्त्यसम्म खाली क्षेत्रमा भाग्दै समय बिताए ।
विश्व युद्धपछि, बकेटलाई फ्रान्सेली प्रतिरोधको समयमा बहादुरीका साथ शान्तिको पक्षमा उभिएको बताउँदै ‘क्रोइक्स डे पुरस्कार’ले सम्मानित गरियो । त्यसपछि उनले बसेरा पेरिस नै रह्यो । पेरिसमै बसेर उनले एक लेखकको रूपमा आफ्नो सबैभन्दा उत्कृष्ट अवधि सुरु गरे । पाँच वर्षमा उनले ‘एलेउथेरिया’, ‘वेटिङ फर गोडोट’, ‘एन्डगेम’, ‘मालोय (उपन्यास)’, ‘मालोन डाइज’, ‘द अननामेबल’, र ‘मर्सियर एट क्यामियर’ सहित लघु कथाका दुई पुस्तकहरू र आलोचनाका पुस्तकहरू लेखे ।

Samuel Beckett in London, 1984. Picture by John Minihan, courtesy of UCC
उद्देश्यहीनता पनि जीवनको एक अंश हो
उनको जीवनमा एउटा महत्त्वपूर्ण घटना, पेरिसमा घटेको थियो । उनी पेरिसको सडकमा एक बिहान हिँडिरहेका थिए । परबाट एक जना मानिस छुरा हातमा बोकेर आइरहेको थियो । बेकेटले सामान्य अवस्था जसरी नै, उति ध्यान नदिएर हिँडिरहे । सो व्यक्ति नजिकै आइसक्दासम्म उनले सो व्यक्तिलाई चासो दिएनन् । एक्कासि एउटा अपत्यारिलो घटना घट्यो, त्यो मान्छेले बकेटमाथि छुरा प्रहार गर्यो । सो आक्रमणपश्चात् बकेट मृत्युको करिब पुगे । चक्कुले आक्रमणले बकेटको फोक्सोमा गम्भीर घाउ बनायो । बकेटले सो अपरिचित व्यक्ति विरुद्ध आरोप दर्ज गरे । छातीमा घाउ भएकाले उनी केही दिन अस्पताल बस्नु पर्यो । केही दिन अस्पतालमा बिताएपछि स्वास्थ्यलाभ लिई उनी आफूलाई छुरा हान्ने व्यक्तिलाई भेट्ने प्रस्तावसहित प्रहरीसामू पुगे ।
बकेटले छुरा हान्ने व्यक्तिलाई प्रश्न गरे, ‘मलाई चिनेको छ ?’
छुरा हान्ने व्यक्तिले एक वाक्यमा जवाफ फर्कायो, ‘छैन ।’
बकेटले फेरि सोधे, ‘उसो भए मलाई किन छुरा हानेको त ?’
“मलाई थाहा छैन सर, मैले तपाईँलाई किन छुरा हाने ? मलाई माफ गर्नुहोस् ।’
बकेटलाई सो व्यक्तिको मानिसको प्रतिक्रिया मन पर्यो । उनीहरूबिच कुराकानीको शृङ्खला बाक्लियो । थप कुरा गर्दै जाँदा बकेटलाई सो व्यक्तिका विचार मनमोहक एवम् आकर्षक लाग्यो ।
यस घटनापश्चात् बकेटको लेखन करियरमा ठूलो फेरबदल आएको पाइन्छ । छुरा हान्ने व्यक्तिको ‘किन गरे मलाई थाहा छैन’ भन्ने विचारबाट प्रेरित भएर बकेटले अस्तित्वको अर्थ र जीवनको सत्य कसरी निर्माण भएको हुन्छ भन्ने कुरा बुझ्न थाले । यसपछिका दिनहरूमा बकेटको कथा लेखाइले मूलतः ‘अस्तित्वको उद्देश्यहीनता पनि जीवनको एक भाग हो, जसलाई छोड्न असम्भव छ’ भन्ने कुरालाई जोड दिएको पाइन्छ ।
‘वेटिङ फर गोडोट’को सान्दर्भिकता ?
‘हामी किन यहाँ छौँ ? जीवन जिउनुको अर्थ के हो ? निर्माण भएको कुनै पनि कुराको उद्देश्य के हो ?’ लगायतका प्रश्नहरू नाटक वेटिङ फर गोडोटले गरेको छ । नाटकका दुई पात्र भ्लादिमिर र एस्ट्रागन दुवैलाई थाहा छैन, किन तिनीहरू शीर्षक पात्रको लागि पर्खिरहेका छन्, जो कहिल्यै आइपुग्दैन ? जीवनमा धेरै कुराको सत्य यसरी नै निर्माण भएको हुन्छ, जसको अर्थ पछ्याउँदै मानिसको जीवन सकिन्छ तर केही हात लाग्दैन भनेर बेकेटले आफ्नो नाटकको अन्त्य गरेका छन् ।
बकेटका लेखाइलाई एकै ठाउँमा ल्याएर हेर्ने हो भने तत्कालीन समयको विभिन्न पक्ष र सम्भावनासँग सम्बन्धित रहेको पाइन्छ। उनी मान्दछन् कि ‘कुनै पनि मानिस समयको अन्तहीन बहावबाट बच्न सक्तैन ।’ समयका फरकफरक पक्षहरू हुन्छन् र यी विभिन्न पक्षलाई बकेटले आफ्ना उपन्यासहरूमा अन्वेषण गरेका छन्, जस्तै: समयको अपरिहार्यता, यसको अन्त्य, भूत र वर्तमानको मिश्रित सत्यले जीवनमा केकस्तो अर्थ राख्दछ ? भन्ने कुराहरू ।
वेटिङ फर गोडोटमा, बकेटका पात्रहरू (भ्लादिमिर र एस्ट्रागन) ले समय कसरी बित्यो भनेर फर्केर हेर्दा एस्ट्रागनले औँल्याएर भन्छ, “यो समय कुनै पनि अवस्थामा बित्ने थियो र बित्यो ।” यसप्रकार ‘समय बित्छ’ भन्ने कुरा एकदम सान्दर्भिक हुन आउँछ तर, समयको पर्खाइमा बस्नु अथवा कसैको पर्खाइमा हुनु भनेको आफ्नो समय बरबाद गर्नु हो, समयलाई सक्काउनु हो भन्ने कुरा पनि यसले देखाउँछ । बकेटले स्पष्ट रूपमा एउटा बिन्दुमा बसेर पात्रद्वारा के बताउन खोज्छन् भने जीवनको अर्थ वास्तविक रूपमा हुँदैन/भेटिँदैन तर, संसारका वस्तुहरूको एकरूपतामा कुनै पनि अर्थलाई मानिसले बाँच्नको लागि प्रयोग गर्न सक्छन् ।

उनले एक व्यक्तिको लागि विगत के हो ? वर्तमान के हो ? विगत-वर्तमानबिचको रेखा-सम्बन्ध कस्तो हुन्छ अथवा हुनुपर्छ भन्ने कुरालाई प्रस्ट पार्न खोजेका छन् । अगाडि उनी फेरि यो पनि मान्दछन् कि, विगत र वर्तमानबिच नजिकको अन्तरसम्बन्ध छ । यी दुई परस्परमा यति धेरै नजिक छन् कि, धेरैले यस अन्तरसम्बन्धलाई आधार मानेर वास्तविक रूपमा ‘मानिस अतीतमा बाँचिरहेको हुन्छ’ समेत भन्ने गरेका छन् ।
जब मान्छेको समय सकिन्छ अर्थात् मान्छे मर्दछ, तब केही पनि महत्त्वपूर्ण हुँदैन । समय कहिल्यै अस्तित्वमा थिएन जस्तो हुन्छ । त्यसैले, अन्तिममा अस्तित्वको वास्तविक अर्थ केही पनि हुँदैन भन्ने कुरा बकेटले अगाडि सारेका छन् । यद्यपि समयका तिनै विषयवस्तु (भूत, वर्तमान र भविष्य) लाई स्पष्ट रूपमा हेर्दा समय भन्नु नै कुनै पनि कार्यहरूको आकार हो भन्ने प्रस्ट हुन् आइपुग्छ ।
यी सबै विचारहरूको संश्लेषणको माध्यमबाट के भन्न सकिएला भने, ‘समय लगातार बितिरहेको छ । भूत वा वर्तमान सबै परिप्रेक्ष्य हो । यद्यपि, यो सबै अन्तमा कहीँ न कहीँ महत्त्वपूर्ण छ किनभने जीवनको अर्थ नभए पनि बाँच्नलाई कहिँकतै अडिन आवश्यक हुन्छ ।’
बकेटको धेरै लेखाइमा सबैभन्दा प्रमुख विषय भनेको उनको मानवताप्रतिको शब्द र भाषाको प्रयोग हुनुपर्छ । उदाहरणका लागि, बकेटले वेटिङ फर गोडोटमा भाषाको बारेमा आफ्नो विचार व्यक्त गर्छन् । उनले कसरी मानिसहरूले प्रथमतः शब्दहरूसँग कुनै वास्तविक अर्थ व्यक्त नगरी भाषा प्रयोग गर्छन्, जहाँ विचार वा दृष्टिकोण दोस्रो तहको रूपमा रहन्छ भन्ने कुरा बताएका छन् । उनको यो तर्कलाई अर्थहीनता, निस्सारवाद अथवा विसंगतिवादको रूपमा पनि हेर्ने गरिएको छ, जसले ‘ब्रह्माण्ड तर्कहीन र अर्थहीन छ । जीवनमा अर्थको खोजीले व्यक्तिलाई ब्रह्माण्डसँग द्वन्द्वरत बनाउँछ’ भन्ने विश्वास प्रसारित गर्दछ ।
वास्तवमा, दोस्रो विश्वयुद्धको समय तिर (१९४०) मानिस निराशाले भरिएका थिए । जताततै युद्धको गन्धमा थियो, त्यो समयमा बकेटको यो विचारले मानिसलाई तर्कसङ्गतता (Rationality), उद्देश्य, जीवनको मूल्य जस्ता कुराबाट पर सारेर कुनै कुराको अर्थ (meaning ) खोज्न भन्दा बाँच्नु महत्त्वपूर्ण हो भन्ने कुरालाई जोड दिएको थियो । यसैकरण बकेटlलाई ‘आधुनिकतावादको अन्तिम र उत्तर आधुनिकतावादको पहिलो लेखक’ पनि भन्ने गरिन्छ ।
छुरी आक्रमणपश्चात् बकेट थप ५१ वर्ष बाँचे र साहित्यिक जगतको महत्त्वपूर्ण व्यक्तिको रूपमा उभिए । बकेट इस्वीको २२ डिसेम्बर १९८९ मा इहलीलाको खारेजीमा परे । उनलाई इस्वीको १९६९ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।