शुक्रबार , जेठ ८, २०८३

स्तन क्यान्सर के हो ? (डा. रिता महासेठसँग कुराकानी)

image

नेपालमा स्तन क्यान्सर बाट बर्सेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ । महिलामा पाठेघरको मुखको क्यान्सर पछिको सबैभन्दा बढी हुने क्यान्सर स्तन क्यान्सर हो । नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरूमा स्तन क्यान्सर बढी देखिएको चिकित्सकहरू बताउँछन् ।

अस्वस्थकर जीवनयापन, विभिन्न खाले औषधिहरूको प्रयोग, बच्चालाई स्तनपान यथेष्ट मात्रामा नगराउने, आन्तरिक रोगबारे खुलेर चर्चा नगर्ने, लाज मान्ने जस्ता कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको छ । प्रारम्भिक चरणमै पत्ता लगाउन सके स्तन क्यान्सरबाट पूर्णरूपमा बच्न सकिन्छ । तर, नेपालमा स्तन क्यान्सर भएका महिला दोस्रो वा तेस्रो चरणमा मात्र अस्पताल पुग्ने गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय संस्था ग्लोबोकनको तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष पाँच हजार जना स्तन क्यान्सरका बिरामी थपिन्छन् । नेपालमा स्तन क्यान्सरबारे जनचेतना फैलाउन विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ । स्तन क्यान्सरबारे हामीले आज डाक्टर रिता महासेठसँग कुरा गरेका छौँ ।

१.क्यान्सर भनेको के हो ?

हाम्रो शरीर साना साना कोशिकाहरूले मिलेर बनेको हुन्छ । यस्ता कोशिकाहरूको आफ्नै खाले जीवनचक्र हुन्छ । सो चक्रमा विविध कारणले असमन्जस्यता आउँदा कोशिकाहरूको अनियन्त्रित वृद्धि हुन पुग्छ, जसलाई हामी क्यान्सर भनेर बुझ्दछौ । क्यान्सर प्राणघातक रोगमा पहिलो नम्बरमा पर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० मा मात्रै करोड भन्दा ज्यादाको ज्यान क्यान्सरका कारणले गएको छ । नेपालका सन्दर्भमा पनि क्यान्सरबाट हुने मृत्युको सङ्ख्या बढ्दै गइरहेको छ ।

२.अनि स्तन क्यान्सर ? 

स्तनमा भएका कोषकोशीकामा असामान्य परिवर्तन भई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

३.यसका लक्षणहरू के-के हुन् ?

स्तन या काखीमा नदुख्ने गिर्खा आउनु स्तन क्यान्सरको मुख्य लक्षण हो । त्यसको साथै स्तनको मुन्टो गाडिनु, स्तनमा भएको घाउ निको नहुनु, स्तनको मुन्टोबाट फोहोर पानी आउनु, स्तनको आकारमा परिवर्तन आउनु, स्तनको बाहिरी छालामा परिवर्तन हुनु यसका लक्षणहरू हुन् । त्यसैले यस्तो केही समस्या भएमा समयमै डाक्टर कहाँ जानू जरुरी छ ।

४.स्तन क्यान्सरका कारणहरू के-के होलान् ?

स्तन क्यान्सरका धेरै कारणहरू छन् । यदि परिवारमा कसैलाई क्यान्सर छ भने जिनबाट सो क्यान्सर सन्ततिमा आउने धेरै सम्भावना हुन्छ । अर्को हर्मोनल कारण पनि हुन्छ जस्तो छिटो महिनावारी भएका महिलाहरूलाई र ढिलो सम्म महिनावारी नसुकेका महिलाहरूमा यसको सम्भावना हुन्छ । साथै, जसले बच्चालाई स्तनपान गराउँदैनन्, उनीहरूलाई पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ । गर्भनिरोधक चक्कीहरूको सेवनले समेत स्तन क्यान्सरको जोखिम बढाउँछ । ढिलो बिहे गर्ने, ढिलो बच्चा पाउने, जङ्क फुडहरू धेरै खाने, बोसो भएको खानेहरू खानाले, कसरत, योगा नगर्ने बानीले पनि स्तन क्यान्सर हुन सक्छ । आजको समाजमा बच्चा नजन्माउने, जन्माए पनि ढिला जन्माउने प्रवृत्ति बढ्दै गैरेको देखिन्छ । यस्तो जीवनशैलीले हार्मोनल डिसअर्डर निम्त्याउन सक्छ, जसले अन्ततः क्यान्सरको रूप लिने हुन्छ । अहिलेको समयमा स्तन बढाउने/घटाउने कस्मेटिक प्रोडकहरूको प्रयोगले समेत क्यान्सर हुन सक्छ । धूम्रपान र मद्यपानको सेवन पनि स्तन क्यान्सरको लागि घातक चिज हो ।

५.पुरुषमा पनि स्तन क्यान्सर हुन्छ ?

हुन्छ, तर निक्कै कम मात्रामा । कुल स्तन क्यान्सरको करिब १% स्तन क्यान्सर पुरुषमा देखिने तथ्याङ्कले बताउँछ । पुरुषहरूमा पनि महिलाहरूमा जस्तै स्तनको आकारमा परिवर्तन आउने, स्तनको मुन्टो गाडिने, गिर्खा आउने जस्ता लक्षणहरू देखा पर्छ ।

६.स्तन क्यान्सर हुनबाट जोगिन के गर्ने ? 

हामीले आफ्नो स्तन घरमै जाँच गर्न सक्छौँ । महिनावारी भएको पाचौं दिन पछि ऐना अगाडि उभिएर आफ्ना स्तनको जाँच आफैँले गर्न सकिन्छ । आफैँले आफ्नो स्तन र काखीमुनि छाम्ने, निचोर्ने, स्तनको आकार बराबर छ कि छैन हेर्ने गर्नु पर्छ । यसलाई ‘सेल्फ ब्रेस्ट एग्जामिनेसन’ भनिन्छ । यसो गर्दा आफुलाई केही असहज महसुस भएमा तुरुन्तै डाक्टरकोमा गइहाल्नु पर्छ । परिवारमा कसैलाई क्यान्सर छ भने परिवारका अन्य सदस्यले नियमित जाँच गराउनु पर्दछ ।

हलिउड नायिका एन्जेलिना जोलीको उदाहरण यहाँ सान्दर्भिक हुन्छ । उनकी आमालाई स्तन क्यान्सर भएको र आफूमा पनि BRCA1 जिन पोजेटिभ देखिएकाले उनले आफ्नो स्तनलाई काटेकी थिइन् । यसरी जिन टेस्ट गराउँदा भविष्यमा हुनसक्ने क्यान्सरबाट बच्न सकिन्छ । समयमै बच्चा जन्माउने, यथेष्ट स्तनपान गराउने, अनावश्यक हर्मोनल औषधिको प्रयोग नगर्ने जस्ता क्रियाकलापले पनि स्तन क्यान्सरबाट बच्न सकिन्छ । साथै, नियमित व्यायाम गर्ने, बोसोरहित खाने कुरा खाने गर्नु पर्छ ।

७.उपचार विधि के-के हुन् ?

स्तन क्यान्सरको उपचार विधि क्यान्सरको स्टेज हेरेर निर्धारण गरिन्छ। उनीहरूको चरण हेरेर आवश्यकता अनुसार शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी र टार्गेटेड थेरापीबाट स्तन क्यान्सरको उपचार गर्न सकिन्छ । रोगको प्रकृति हेरेर डाक्टरले उपयुक्त उपचार विधिको चयन गर्ने गर्दछन्।

८.गर्भअवस्थामा स्तन क्यान्सर भएमा के गर्ने ? 

त्यस्तो अवस्थामा पहिले बच्चा जन्मिन दिइन्छ अनि मात्रै उपचार सुरु हुन्छ ।

९. नेपालीहरू क्यान्सर लाग्ने बित्तिकै डराउने, नेपाली डाक्टरलाई विश्वास नगरी भारत तथा अन्य देश जानेकुरालाई तपाईँ कसरी हेर्नुहुन्छ ? 

रोग लाग्ने बित्तिकै हडबडाएर महँगा बिदेसी अस्पताल धाउने परिपाटी नेपालमा पनि विद्यमान छ । नेपालका डाक्टरसँग परामर्श नगरीकन यसरी हतारो गर्दा धन र जन दुबैलाई असर परिरहेको देखिएको छ । क्यान्सरको उपचारको निमित्त अन्तर्राष्ट्रिय स्तरको गाइडलाइन हुन्छ, जसलाई फलो गरेर नै हामी उपचार गर्ने गर्छौँ । यसबारेमा जनचेतना फैलाउने काम भयो भने उस्तै उपचारकै निमित्त विदेश धाउने परिपाटीको अन्त्य हुन पुग्छ ।

१०.अन्त्यमा ?

क्यान्सर भयो भन्ने बित्तिकै डराउनु पर्दैन । क्यान्सरलाई हामीले आफ्नो-आफ्नो ठाउँबाट जनचेतना फैलाउन जरुरी छ । क्यान्सरको बारेमा एकअर्कासँग कुरा गरौँ । केही समस्या भएमा तुरुन्तै अस्पताल जाऊ । जति छिटो रोग पत्ता लाग्छ, उपचार त्यति नै सजिलो हुन्छ । त्यसैले क्यान्सरको बारेमा बुझौँ । यसका लागि सम्पूर्ण  स्वास्थ्यकर्मीहरूको साथ र सहयोग चाहिन्छ । यो एउटा टिम एफोर्ट पनि हो । हामी सबै मिलेर काम गर्यौँ भने क्यान्सरलाई हराउन सकिन्छ । यसका साथसाथै बिरामीको मानसिक, सामाजिक र अन्य पाटोमा पनि काम गर्नुपर्ने हुन्छ ।

(अन्कोलोजिस्ट डा.रिता महासेठ ‘एनएमसी’,‘नेपाल प्रहरी अस्पतालका’ साथसाथै ‘मेडीकेयर’ अस्पतालमा कार्यरत हुनुहुन्छ।)

सम्बन्धित समाचार