शुक्रबार , जेठ ८, २०८३

चुनावको रमाइलो आयो बरी लै

विद्यालयहरूमा अहिले नयाँ भर्नापश्चात् पढाइ बन्द छ । प्रायः विद्यालयहरूमा मतदान केन्द्र रहेको छ । यो अवसरमा विद्यार्थीहरूले उम्मेद्वारको पछि लागेर मासुभात दन्काएकै छन्, सानाले टोल वा वडा तहमा अनि ठुलाले पालिका तहमा हसुरेकै छन् ।

image

सरकारले आगामी वैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म स्थानीय तह निर्वाचन घोषणा गरेको छ । अन्तिम तयारीमा जुटेको छ । छिटपुट बाहेक शान्तिपूर्ण रहेको छ । देशमा निर्वाचन माहौल तातिएको छ । मतदान अधिकृतहरू मतदानका आवश्यक सरसामग्री बोकेर मतदान स्थलमा पुगिसकेका छन् । सर्वदलीय बैठक बसाएर निर्वाचनका आचार संहिता सम्झाएका छन् । सुरक्षा निकाय पनि लागिपरेका छन् । होस्टेमा हैसे मिलाइरहेका छन् ।

देश निर्वाचनमय भएको छ । आफ्ना प्रतिनिधि छान्न मतदान गर्ने प्रयोजनका लागि गाउँ फर्किने क्रम चलिरहेको छ । चाड पर्वमा खचाखच हुने सवारी साधनहरू अचेल खचाखच भएका छन्, बहुराष्ट्रिय कम्पनीका मालसामान खोसाखोस गरिरहेका छन् । चाउचाउ, बिस्कुट, कोक, पेप्सी फालाफाल छन् । मादक पदार्थ बेचबिखनमा निषेधको सूचना टाँसिए पनि सबैभन्दा बढी बिक्ने माल नै अचेल रक्सी बनेको छ, चाहे त्यो सिल प्याक होस् वा खुल्ला ।

एउटै गाउँ, टोल र परिवारमा नै अनेक उम्मेद्वारहरू छन् । उनीहरूको आरोप प्रत्यारोप बडा गजब गजबका छन् । कार्यक्रमहरू दलगत, समूहगत र उम्मेद्वारगत छुट्टा छुट्टै छन् । आफ्नै समूहलाई धोका दिँदै व्यक्तिगत मत मागेर हिँडेका छन् । पछ्याउनेहरूका अनेक आशा छन् । समग्र गाउँ विकासको लागि दलको प्रतिबद्धता पत्रको आधारमा हिँड्ने सैद्धान्तिकहरू अलि विशिष्ट खालका होलान् नभए अरू त व्यक्तिगत मागहरू छन्, जस्तै: रोजगारी, ठेकेदारी । अरू प्रकारका पनि छन् नारा लाउनेहरू, खानका लागि । अलग अलग दलमा सधैँ निश्चित व्यक्तिहरू हिँडिरहन्छन् भन्ने छैनन्, व्यक्तिहरू जुनसुकै झन्डा मुनी ओत लागेका छन् । दैनिक फेरिरहन्छन्, त्यसको हिसाब गरिसाध्य छैन ।

यो निर्वाचनमा प्रचारको शैली भने देशभर एउटै रह्यो । सामाजिक सञ्जालमा पोष्ट्याउने अनि कमेन्टमा समर्थकहरू र असमर्थकहरूको दोहोरी तटस्थहरूको रेडिमेड बधाई तथा शुभकामना । गीत बजाउने, नाच्ने अनि मतदाता रमाइलो हेर्न आएको मौकामा भोट माग्ने । ग्रामीण भेगमा भने गाना बजानासँगै नाना र खानाको पनि व्यवस्था भए । दिनभर मजदुरी गर्दा नपाउने सुविधा पाएपछि सबैले काम गर्न छाडेर नारा लाउन हिँडे । घरदैलो गर्न जाँदा उम्मेद्वारको लागि सगुन राख्ने, माला वा खादा लगाइदिने गरे । उम्मेद्वार टोलीले पनि दक्षिणा दिए । बाटोमा घर पर्नेहरूले प्रायः सबै दललाई सगुन राखे, जितोस् वा नजितोस् तर दक्षिणा पाओस् भनेर ।

विद्यालयहरूमा अहिले नयाँ भर्नापश्चात् पढाइ बन्द छ । प्रायः विद्यालयहरूमा मतदान केन्द्र रहेको छ । यो अवसरमा विद्यार्थीहरूले उम्मेद्वारको पछि लागेर मासुभात दन्काएकै छन्, सानाले टोल वा वडा तहमा अनि ठुलाले पालिका तहमा हसुरेकै छन् । यसरी हेर्दा निर्वाचनले सबैलाई रमाइलो बनाइदिएको छ । मेलामय, पर्वमय र जात्रामय बनाइदिएको छ । समग्रमा गाउँ सहर चलायमान बनाइदिएको छ । यसले अर्थतन्त्रलाई पनि सकारात्मक मोडमा लगिदेलान् कि ?

सही र सक्षम नेतृत्व छान्ने यो मौकामा पनि एजेन्डामा बहस भने कसैले गरेको देखिएन । सबैले आश्वासन बाँडेका छन् । मोडालिटी बाँडेकै छैनन् । भोट मलाई भन्नेहरूसँग ‘किन’ भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ नै छैनन् । हाइ हाइ र हुइ हुइ गर्दै हिँडेका छन् ।

आजसम्ममा सबैले हात जोडेर मत मागे । अब अन्तिम समयमा सबै उपायहरू अवलम्बन गर्दछन् । त्यस क्रममा डर, धम्की देखाउने देखि नगदमा मत खरिद गर्दछन् । त्यसका लागि सबै उम्मेद्वारले टोलगत प्रतिनिधि खटाएका हुन्छन् । सबैभन्दा जात्रा त त्यतिबेला हुन्छ जब फरक फरक उम्मेद्वारको लागि एकै जनाले टोल वा गाउँको जिम्मा लिन्छन् । उनीहरूले खतरनाक खेल खेलेका हुन्छन् । त्यस्तैमा जीत र हारको सिलसिला निश्चित गर्दछ । सोचेकोभन्दा कम मत आउने कारण नै त्यही हो । अन्तर्घात अर्को डरलाग्दो खेल हुन्छ, निर्वाचनमा । सधैँ सँगै रहने तर घर परिवार र साथी सङ्गीलाई अन्यत्र भोट हाल्न लगाउने वा आन्तरिक योजना अर्को उम्मेद्वारलाई जानकारी दिने खेल पनि हुन्छन् ।

जनलहर हुँदा हुँदै पनि मत उपयोग गर्न नसक्ने अवस्था सिर्जना गर्दछन् । होहल्ला गर्ने, झगडा भयो रे भनेर मतदाता रोक्ने आदि ट्याक्टिस पनि प्रयोग गर्दछन् । दिउँसोखेर तात्कालिक रणनीतिहरू बन्दछन्, त्यसैले बिहानै मतदातालाई मतदान केन्द्रमा पुर्‍याउने व्यवस्था गर्दछन् ।

मतदाता परिचयपत्रको दुरुपयोग गर्ने पनि अवसरको खोजीमा रहन्छन् । कर्मचारीसँग फर्जी मत हाल्ने प्रयास गर्दछन् । कर्मचारी नमानेमा भोटर कार्ड ल्याएर अर्को व्यक्तिलाई भोट हाल्न लगाउन पनि सक्दछन् । तराइको हकमा महिला भेषमा आएमा अनुहार हेर्न नमिल्ने सामाजिक प्रचलनको आडमा साडी लगाएर पुरुष नै आउने सम्भावना पनि रहेको छ ।

तर, सबैले विचार नपुर्‍याएको पक्ष भनेको मतदाता शिक्षा हो । मतदाताले मत त दिन्छन् तर बदर मतको गणना हुँदैनन् । बदर नहुने गरी सही ढंगले छाप लगाएको मत पत्र मत पेटिकामा नपरेसम्म उम्मेद्वार जित्न सक्दैनन् । त्यसैले प्रत्येक उम्मेद्वारले मतदाता शिक्षा दिने स्वयंसेवक घर घरमा खटाउनु पर्दछ ।

यो वैशाख महिना वास्तवमा नै चुनावी माहौलमा बित्ने भयो । निर्वाचन असल र खराब बिचको लडाइ हुनु पर्नेमा भोजभतेर, नाचगानको आधारमा मत प्रकट गरेमा दुर्भाग्य हुनेछ । केही चोक्टा मासु, रमझम, आश्वासन र नगदमा भोट बेचेमा पाप लाग्नेछ । अझ पाँच वर्षको लागि अर्को अँध्यारो युगको थालनी हुनेछ ।

त्यसैले,
हामीलाई पनि चुनाव आयो बरी लै
छानी रोजी मतदान गरौँ बरी लै
असल उम्मेद्वारलाई छानौँ बरी लै
अधिकारको सदुपयोग गरौँ बरी लै ।

सम्बन्धित समाचार