'चारु चर्चा' को चर्चा भने खासै हुँदैन, छैन । कृति राम्रो हुनु र चर्चा नहुनुको एउटा प्रमाण यो पनि एउटा हो । कवि घिमिरेको कविताको बुझाइ, लेखन र अनुभवको, दृष्टिकोण र यात्राको एउटा प्रतीक हो, सङ्ग्रह ।
Photo by: हिमाल दर्पण
~ मन्तव्य ~
सम्पादक दाजुलाई म राजुको दाजु राजु ( राजु झल्लु प्रसाद ) सम्बोधन गर्छु बेलाबखत । हामी बेला बेला कुरा गर्छौँ । केही समय पहिले कुरा हुँदा उहाँले भन्नू भएथ्यो, “भाइ आख्यानमा पनि केही समीक्षा/पाठक प्रतिक्रिया लेख न ।” अब लेख्ने भनेपछि साहित्यिक विधा सबैमा लेख्नु त पर्यो नै ! यसो आफूले पढेको गैरआख्यान कृतिको सुची तिर आँखा लगाएँ ! पाँच-छ वटा पढिएछ, अहिलेसम्म । (अध्ययन यताको बढाउनुपर्छ भन्ने पनि अवगत भयो, कहिलेकाहीँ आफू तिर पनि आफ्नो दृष्टि फर्काउनु पर्ने रहेछ बुझेँ र मुस्कुराएँ आफैँ सित । )
अनि यसो सोचिल्याएँ, देवकोटा प्रायःजसोले पढ्नु भएकै होला, लामिछाने पनि पक्कै पढ्नु भएकै होला (दुवैलाई निबन्धको पर्याय नै मानिन्छ !) नयाँघरे पढ्नु भएकै होला । अरू पनि छन् कृति । यसो हेरेँ र सोचेँ कतिलाई थाहा छ ? माधव घिमिरेको निबन्ध लेखनबारे ? र मनमनै निर्णय गरेँ – माधव घिमिरेको निबन्धको केही कुरा लेख्ने । तर आज समीक्षा या प्रतिक्रिया नलेख्ने !
गर्ने के त ?
आज घिमिरेको कविता, कवित्वपन, कविताको महत्ता र कवि प्रतिको दृष्टिकोण बुझिल्याउने !
घिमिरेको निबन्ध सङ्ग्रह दुईवटा छन्, मैले पढेको एउटा मात्र- “चारू चर्चा । ”
जसमा उनको अन्तर्वार्ता, सभाका मन्तव्य, लेखहरूको सङ्कलन छ । कविको कविताप्रतिको दृष्टिकोण बुझ्न र केही सहायक बन्न सक्छ लेखनमा भर्खरै लागेकालाई पनि र लेखिरहेकालाई लेखनमा सुधार गर्न, समाज र संवेदना छाम्न अत्यन्तै मद्दतगार हुनसक्छ, मेरा बुझाइमा ।
लेखकलाई हामी पाठकले नै हो सल्लाह दिने, स्थापित गराउने । पाठक नै हो समालोचक, आलोचक समीक्षक र पाठक । हामीले लेखकलाई सुझाव पनि दिन पाउँछौँ र आदेश पनि ! तर अहिले लेखकहरूमा मपाईँ छ ! समस्या भने हामी नै खत्रामा ! पुरै टोली आइलागेर आपत ! वाद र वादीहरूका टोली छन् रे नि त ! (हल्ला होइन यो चाहिँ हल्लैहल्लाको देशमा !) तपाईंलाई थाहा नै छ । कुनै दिन गोप्य कुरा गरौँला – हेहे..।
तपाईंलाई थाहा छैन ? ठीक छ । गजब कुरा । ती मध्य यदाकदा तपाईंले धेरै सम्मान/इज्जत गर्ने लेखक पनि हुन सक्ने सम्भावना धेरै छ ! भएको सम्मान र गरिरहेको इज्जत नगएको राम्रो । तपाईंलाई पनि, लेखकहरूलाई पनि ।
राष्ट्रले सम्मान गरेको कवि, ‘राष्ट्रकवि’को सल्लाह सुझाव केही हदसम्म पक्का नै ग्रहण गर्नु हुने छ सबैले । राष्ट्रकवि उपमा सँगै समस्या हुने बुद्धिजीवी वर्गको र उहाँहरूको तर्कको बारेमा कुनै दिन कुरा गरौँला- केही जायज तर्क पनि भएकाले कुरा गर्नु मुनासिब नै हुनेछ तर पछि गरौँला आवश्यकता परे । अहिले यात्रामा लागौँ “चारु चर्चाको” ।
=============================
प्रिय लेखक ,
निराशाजनक कुरा साहित्य, कविता र लेखनमा के हुँदैछ ? यो लेख्न सिकिरहेको मान्छेलाई थाहा नभए राम्रो हुने अवस्था छ । तपाईंले लेखिरहेको समयमा के थियो ? उत्तर कतै इतिहासको पाना होला नै तर जान्ने इच्छाले सताएको दिन लागौँला । वर्तमानमा अहिलेको अवस्था नै भरपुर छ निराश हुन र त्यो समयमा प्रसन्नता नै थियो होला भन्ने कुरामा म विश्वस्त छैन । अझ निराश हुने चाहना ममा तत्काल छैन ।
श्रद्धा सुमन !
वर्तमानबाट अतीत तिर …
=============================
कृति : चारु चर्चा
लेखक : माधव घिमिरे
विधा : निबन्ध सङ्ग्रह ।
“चारु चर्चा” को चर्चा भने खासै हुँदैन, छैन । कृति राम्रो हुनु र चर्चा नहुनुको एउटा प्रमाण यो पनि एउटा हो भन्दा फरक पर्दैन । हुन त यो दृष्टि सापेक्ष कुरा पनि हो ! कवि घिमिरेको कविताको बुझाइ, लेखन र अनुभवको, दृष्टिकोण र यात्राको एउटा प्रतीक हो यो सङ्ग्रह । जहाँ छन् केही थान प्रश्न, केही उत्तर, केही मार्ग दर्शन, केही दर्शन सुत्र, धेरै पूर्वीय दर्शन र सिद्धान्तको जरो कुराको एक उत्खनन ! र लेखकले धेरै स्थानमा उपनिषद् र वेदका सूक्ति आदि उद्धृत गरेका छन् । जहाँबाट थाहा हुन्छ ज्ञान, दर्शनको र काव्य धाराको गहनता ! रसको मादकता र सौन्दर्यको समगान ।
घिमिरे लेख्छन् :
“दर्शनको सत्य चिन्तनको निम्ति हो भने साहित्यको सत्य सिर्जनाको निम्ति हो ।”
यो उपनिषद्को अध्ययनबाट आएको सूक्ष्म दृष्टि हो । शास्त्रलाई नकार्नमा व्यस्त अग्रजहरूको जमातलाई पढ्ने फुर्सद कसले दिने र ? स्मृतिलाई शास्त्र मानेर / भनेर अर्काले दिएको तर्क तेर्साएर आफूलाई बेच्नमा उन्मुख । हुन त आफूले पनि कति नै पढेको छु र – हेहे..।
(अरूलाई दोष दिनमा मजा अर्कै रहेछ !)
कवि हुनु प्रेमी हुनु पनि हो र घृणा गर्ने हुनु पनि हो । लेखक बोल्छन् : “प्रेम अद्वैत हो भने घृणा द्वैत हो ।”
प्रेमी, कवि र ध्यानी एकै भएपछि कस्तो हुन्छ उसको बोली / लेखन ? – प्रखर प्रमाण : टेगोर, लेखनाथ, घिमिरे, देवकोटा आदिलाई हेर्न सकिन्छ।
(- लेख्दै थिएँ बत्ती गइदियो । किताबबाट सबै सुत्रको सूची बनाउँ भनेको त !
समस्या अपर्झट नै आउँदो रहेछ ! कविलाई कविता फुर्ने समयको पत्तो नभए जस्तो ! ) कारण पछि भन्छु , एकछिन विश्राम गर्नुस् …!
केही खण्ड बनाएर शिर्षक दिँदै अघि जाने तयारी गर्दा कसो होला ? लागौँ है त …
खण्ड -१
। जीवन र साहित्य ।
लेखकको सूत्रीय उक्तिहरू तिर आँखा लगाउँ :
१) साहित्य भन्नू उत्तम मानव सिर्जना हो ।
२) आमा पहिलो सन्तानलाई समग्र रुपले प्यार गर्छे र अर्को सन्तानलाई पनि समग्र रुपले नै प्यार गर्छे । मातृत्वको मूल नसुकिन्जेल वात्सल्य सधैँ परिपूर्ण नै रहन्छ ।
३) राष्ट्र हामीमा बाँच्छ, हामी राष्ट्रमा बाँच्छौँ ।
४) जातित्वको बोध र साझा संस्कृतिबाट नै राष्ट्रिय एकता सबल बन्छ ।
५) राष्ट्रिय व्यक्ति राष्ट्रकै केन्द्रमा उठ्छ ।
६) कृषि हाम्रो संस्कृति पनि हो ।
७) लोकधर्म विश्वधर्मको आधार बन्न सक्छ ।
८) रचनाकार आफ्ना रचनाभित्र अमर रहन्छ ।
९) सत्य उद्घाटित हुन्छ, निर्मित हुन्न ।
१०) मानिस मन हो, शरीर हैन ।
११) जेले दिल छुन्छ, त्यही कविता हो ।
१२) वनस्पति हाम्रो मनस्पति र जीवनस्पति हो ।
१३) साहित्यको निम्ति ममता मात्र हैन, निर्ममता पनि चाहिन्छ ।
१४) जहाँ प्रश्न शिल्प बन्छ, त्यहीँ उत्तर आनन्द बन्छ ।
उदाहरण (गाउँखाने कथा)
– सानो सानो रुख चढ्नको दुःख – के हो ?
(यहाँ कथा हालिन्छ उत्तर भन्ने बेला कथा नहालौँ, अहिले तपाईंलाई आउँछ भने हालेर उत्तर दिनु । गाउँ खानु । यो क्रम अति सुन्दर हुन्छ । ) गाउँ खाएपछि उत्तर मीठो खाने कुराको स्वाद कल्पिँदै उत्तर – सिस्नु ।
१५) नाम रुप बन्छ, रुप नाम बन्छ ।
१६) स्रष्टाले आफैँलाई ढाँट्न सक्तैन ।
( उक्तिहरू के कसो लागे तपाईँलाई ? मीठा ? गहन ? बोधगम्य ? दर्शन युक्त ? के कस्ता लागे त ?
– अवश्यम्भावी सबै लागे नै होला ।
स्तम्भकार तपाईंको मस्तिष्कबाट यो खबर प्रसारित गर्दैछ !
– कुरा नि … हि हि । )
सुचना ! सुचना !! सुचना !!!
पाठकलाई स्तम्भकारले छल गरेको सुचना ।
तपाईं लाग्यो होला – “के छल गर्यो हँ ? “
स्तम्भकारको उत्तर – माथिका उक्तिहरू सबै शीर्षक मात्र हुन् । आश्चर्य छ नि शिर्षकमै एकएक सूक्ति छन् ! गहन कुरा र दर्शन छ । घिमिरेको बोध र चेतको एउटा ग्रन्थ हो यो “चारु चर्चा” यति भन्न चाहिँ मिल्छ । सूत्रहरूको व्याख्या म नगरौँ कि भन्ने सोच्दै छु । अब व्याख्या नगरि भागेँ पनि तर सूत्र तपाईंको जिम्मामा छोडेर । कारण, व्याख्या तपाईंको भए तपाईं आफूसँग आफ्नै तर्कले असन्तुष्ट नहुनु होला कि न ! सन्तुष्ट बनाउनु होस् आफूलाई :):
अब भित्र खोत्लौँ ग्रन्थको 🙂
खण्ड -२
। समय र साहित्यको यात्रा ।
” वास्तवमा काव्यसिद्धान्त पढेर त्यत्ति सिकिन्न, जति आफैँ कविता रच्दारच्दै सिकिन्छ । …..
….पहिले जेमा कवितै हुन सक्दैन भन्ने मानिन्थ्यो, आजभोलि त्यसैमा शक्तिशाली कविता लेखिन्छन् – कुण्ठामै धर्तीको वैकुण्ठ रचिन्छ ।”
[ कविता हराए नेपाल जानू – बाट ]
“सिर्जनाको तल्लीनतामा साहित्य साहित्यकार त्यहिँ तन्मय हुन्छ । आफैँलाई बोलाउने आमन्त्रणमा सबैलाई बोलाउने मन्त्र हुन्छ ।”
[ स्रष्टाले आफैँलाई ढाँट्न सक्तैन – बाट ]
मानवीय एकात्मभावको अनुभूतिबाट नै मानवीय मूल्यको संवर्द्धन हुन सक्छ । साहित्यको शङ्खध्वनिले हृदयको प्रथम ध्वनि जगाउन सक्छ ।
[ हृदयको प्रथम ध्वनि जगाउने ध्वनि – बाट]
…प्रेम एक चौथाइ मात्र गरिन्न , गरिन्छ भने सम्पूर्ण गरिन्छ । …
वास्तवमा कलाको भित्री भाव यही हो भनेर स्वयम् कलाकारले पनि भन्न सक्तैन । …
…आफैँलाई आखिर नबिर्सिन्जेलसम्म सिर्जना पूर्ण हुन्न ।…
… मुस्कान हृदयको दिव्य दान हो , त्यो हृदयले अनुभव गर्न सके स्वयम् प्राप्त छ ।
[ ऊ आफूभित्र हाम्रै अमरता रचिरहेको हुन्छ – बाट ]
( स्तम्भकारको हस्तक्षेप :
– “ऊ आफूभित्र हाम्रै अमरता रचिरहेको हुन्छ ।” हेर्नुस् त शिर्षक मै गजबको कुरा छ नि है त ? )
खण्ड -३
। कवित्व बोध ।
कवि घिमिरे “लय योग” शब्द प्रयोग गर्दथे, कविताको लागि । कविता आफैँमा ध्यान हो, योग हो उनको मान्यता थियो । यही कुराको प्रमाण दिन्छन् धेरै ठाउँमा तर्क र व्याख्याले पनि … अध्यात्मिक रुझान पनि लेखनमा प्रशस्तै छ । हेरौँ केही उक्ति उनकै भाषामा…
“काव्यात्मक तृप्तिले आखिर आध्यात्मिक तृप्तितिर लैजान्छ ।” साथै बोल्छन् : “लय कविता हो । सौन्दर्य कविता हो । हृदय (संवेदना) कविता हो । कविको अन्तर्दृष्टि कविता हो ।”
[ पृष्ठ -३१४ , ३१५ ]
कविको आत्मा नै कविताको पनि आत्मा हो । …
… व्यक्ति वैयक्तिकतालाई पार गरेपछि कवि बन्छ, आफ्नो आत्मालाई कविता राख्छ र अरूले बोलाउँदा त्यसैभित्रबाट बोल्छ ।
[ पृष्ठ – ३२५ ]
काव्य भन्नू कविता, कथा र चिन्तनको त्रिवेणी हो । त्यहाँ कविताकी गङ्गा , कथाकी यमुना र चिन्तनकी सरस्वती सङ्गम हुन्छ ।
[ पृष्ठ – २२४]
जीवन्त राष्ट्र आफैँभित्रबाट रचिइरहन्छ – रचना नै उसको जीवन हो र जीवन नै उसक रचना हो ।
[ पृष्ठ – २२७]
खण्ड -४
। लेखकको अध्ययन र वैदिक बुझाइ ।
घिमिरे आफू दर्शनशास्त्रका विद्यार्थी थिए । अवश्य नै पाश्चात्य र पूर्वी दर्शन साथै सिद्धान्तको ज्ञान त थियो नै । उनमा सुक्ष्म अध्ययन दृष्टि रहेछ भन्ने कुराको प्रमाण पनि यो ग्रन्थ हो । “वैदिक ऋषिको दृष्टिमा कविता” यो लेखक उनको अनुवाद र बुझाइको एउटा बलियो प्रमाण हो ।
यो खण्डमा हेरौँ केही सूत्रहरू बुझाइका …
– कविता संवेदनशील अन्तर्दृष्टि हो ।
– कविता जगत् र जीवनको महिमागान हो ।
– कविता रहस्यको अनुभूति हो ।
– कविताले कविलाई नै उछिन्छ ।
– सृष्टि स्वयम् नै परमेश्वरको शाश्वत कविता हो ।
[ “वैदिक ऋषिको दृष्टिमा कविता” बाट ]
यही सूत्रको व्याख्यानको लागि लेखकले धेरै वेदको मन्त्र र कहीँ पुरै सूक्त कै पनि प्रयोग गरेका छन् । र कहीँ कतै उपनिषद्को मन्त्रहरूको पनि सहायता लिएका छन् । मुख्य कुरा के भन्दा लेखनको भाष्य सहज र सरल छ बुझ्न चाहनेले मजाले बुझिन्छ । कवि दृष्टिले पनि भाषा मीठो छ “चारु चर्चा” को । उनको कविता जस्तै सहज छ लेखन गद्यमा पनि यो मीठो / स्वादिलो कुरा ।
खण्ड – अन्तिम ।
अरू थप सूक्ति तिर दृष्टि लगाउँ फाइदाजनक नै हुनेछ ।
“वस्तुको नामबाट त्यसका गुण , धर्म र स्वभावका भिन्नभिन्नै बिम्ब बन्न जान्छन् ।”
[ नाम रुप बन्छ , रुप नाम बन्छ । – बाट ]
“सिर्जनशील नाभिको धागोमा झुन्डिने माकुरालाई बतासले हल्लाउँदा झन् फैलिएर जाल बुन्न मौका मिल्छ । ”
[विद्यार्थी र गुरु कस्तो हुनुपर्छ -बाट ]
“जीवन कविता हो, कविता जीवन हो । जुन जीवनमा निर्माण हुन्न त्यसमा कविता हुन्न । जुन कवितामा जीवनको स्पन्दन हुन्न , त्यो निष्प्राण हुन्छ।” [“कविता र जीवन” बाट ]
एउटा सहमति गरौँ है त हामी चाहिँ , लेखकले जहाँ जहाँ कविता-कविता लेखेका छन् त्यहाँ त्यहाँ तपाईंलाई मन पर्ने साहित्यिक विधा राख्नुस् । कथा , निबन्ध , उपन्यास यस्तैयस्तै अर्थ तपाईंको साथ हुनेछ ।
तपाईं मध्य कोहीको लागि …
*जीवन कथा हो, कथा जीवन हो । जुन जीवनमा निर्माण हुन्न त्यसमा कथा हुन्न । जुन कथामा जीवनको स्पन्दन हुन्न, त्यो निष्प्राण हुन्छ ।*
*जीवन उपन्यास हो, उपन्यास जीवन हो । जुन जीवनमा निर्माण हुन्न त्यसमा उपन्यास हुन्न । जुन उपन्यासमा जीवनको स्पन्दन हुन्न , त्यो निष्प्राण हुन्छ ।*
[ *स्तम्भकारको चलाखी* बाट… यो चाहिँ ]
केही लामा अरू सूत्र पनि छन् महत्त्वपूर्ण कुरा पनि छन् तर लेख लामो भइसकेको छ । नथपौँ अब ! बाध्यता नि क्या गर्नु र !
===========================
प्रिय पाठक ,
माथिको सहमतिलाई अझ दृढ बनाउँ र जहाँ जहाँ लेखमा कविता प्रयोग भएको छ त्यहाँ तपाईंको प्रिय विधा राख्नुस्, यो लेख तपाईंको र लेखकको हुनेछ । यो पत्र मार्फत प्रतिलिपी अधिकार पनि हस्तान्तरण !
यात्रा जारी नै रहनेछ । साथ साथ चलिरहौँ …
मेरो तर्फबाट साधुवाद ।
===========================
पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवाव शिष्यते ।।
[ बृहदारण्यक उपनिषद् ]
यो पूर्ण , त्यो पनि पूर्ण , पूर्ण नै पूर्ण रच्तछ ।
पूर्णले पूर्ण लैजान्छ, पूर्ण नै बाँकि बच्तछ ।।
[ अनुवाद – माधव घिमिरे ]
। ॐ तत् सत् । इति / अस्तु ।