शनिबार , भाद्र १३, २०८३

मन्दिर बनाउँदा-बनाउँदै भाले बास्यो, गजुर हाल्नै भ्याइएन !

किवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल थियो । एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो । त्यही राँगोले देवीको रूप लिए पछि आहाल पुरेर मन्दिर बनाइयो ।

image

हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।

यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा बज्र वाराहीलाई लिन सकिन्छ । उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै विशेषता रहेको पाइन्छ । बज्र वाराहीको मन्दिर ललितपुर चापागाउँमा पर्छ। यो मन्दिर नेपालको एक शक्तिपीठको रूपमा प्रख्यात छ ।

तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्र वाराहीको शिलाको मूर्ति छ । दुर्गा कवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठुलो महत्व रहेको बताइन्छ ।

File:Bajrabarahi Temple Chapagaun Jharuwabasi Godawari Municipility Lalitpur Nepal Rajesh Dhungana (5).jpg - Wikimedia Commons

प्राकृतिक सौन्दर्यले भरिएको यो ठाउँको ऐतिहासिक महत्व पनि उति नै रहेको छ । सानो जङ्गलको बिचमा रहेको यो मन्दिर एक हजार पाँच सय मिटर उँचाइमा रहेको गोदावरी नगरपालिका ११ मा पर्दछ । वाराही शब्द ‘बराह’को स्त्रीलिङ्गी रूप हो ।

यस मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले ने.सं ७८६ चैत्र शुक्ल सुदि ८ सोमबारको दिन निर्माण गर्न लगाएको बुझिन्छ ।  पगोडा शैलीको मन्दिर ने.सं ८५२ मा विष्णु मल्लद्वारा मर्मत गरिएको थियो । यिनै राजाले शिलाको महिष मूर्ति बनाई मन्दिरको ठिक अगाडि पारी ने.सं ८३२ मा स्थापना गरेको कुरा शिलालेखमा उल्लेख गरिएको छ ।

जंगल बीचमा रहेको मन्दिरमा गजुर छैन । मन्दिर एकै रातमा बनाइएको हुनाले गजुर नराखिएको बताइन्छ । किवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल थियो । एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो । त्यही राँगोले देवीको रूप लिए पछि आहाल पुरेर मन्दिर बनाइयो । मन्दिर बनाउँदा-बनाउँदै बिहान भएर भाले बासेपछी गजुर हाल्न नभ्याइको भन्ने कथन रहेको छ ।

करिब ५३ वर्षअघि बज्रबाराहीको मूर्ति चोरि भएको थियो, जसलाई नेपाल प्रहरीले फेला पारेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखेको थियो । अघिल्लो वर्ष मूर्तिलाई सिन्दूर जात्रा गर्दै मन्दिरमा प्रतिस्थापन गरिएको थियो । प्राकृतिक, धार्मिक तथा ऐतिहासिक खोज गर्ने पर्यटकहरू पुग्नै पर्ने यो ठाउँमा बिभिन्न ४८ किसिमका चराचुरुङ्गी र करिब १६६ किसिमका वनस्पति पाइन्छन् ।

पारिवारिक घुमघामका लागि उपयुक्त यो ठाउँमा पुग्न लगनखेल तथा जावलाखेलबाट सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ । हप्तामा आएको एक दिनको छुट्टी रमाइलोसँग बित्ने यो मन्दिर छेउछाउ खानपानको राम्रो सुविधा भएका खाजाघरहरु पनि छन् । ललितपुर नेवारी खाजाका लागि प्रख्यात समेत रहेको छ, यो ठाउँ पुगेपछि पारम्परिक नेवारी स्वादमा रमाउन पनि सकिन्छ । मन्दिरमा दसैँको बेला भक्तजनहरूको विशेष भिड लाग्ने गरेको छ । साथै चैत्रपूर्णिमाको दिन बज्रवाराही माताको जात्रा लाग्ने गर्छ ।  सो मन्दिरमा आफूले पालेका गाई-भैँसीको दूध चढाए, त्यो प्रत्येक वर्ष गर्भवती हुने र प्रशस्त दूध दिने जनविश्वास रहेको पाइन्छ ।

आन्तरिक तथा बाह्य पर्यटनको लागि आकर्षणको बिन्दु रहेको यो ठाउँ उपत्यकामा एक पटक पुग्नै पर्ने ठाउँमध्ये एक हो । तपाइँ आफ्नो छुट्टीको समयमा यहाँ पुगेर आफूलाई खोज्न, भेट्न सक्नुहुन्छ ।

Tags:

सम्बन्धित समाचार