धेरै वर्षसम्म एकले अर्काको अनुहार नै नदेखेपछि ती दुवैले आफुहरु आमा- छोरा हौं भनेर चिन्न सकेनन् । दुवै अपरिचित भई एकै ठाउँमा वास बसे । तिनीहरुको बिचमा काम भावना जागरण भयो र सम्भोगसमेत गरे ।
– वासुपासा
धर्मदत्तका राज्यकालमा यहाँ विरुपाक्ष नाम गरेका एकजना किराँति थिए । विरुपाक्ष आफ्ना आमासँग कुरा नमिल्दा झगडा गरि घरबाट निस्के । छोरा वर्षौंवर्ष घर नआएपछि विरुपाक्षकी आमा विरक्त भई तिनी पनि घर छाडी प्रदेशमा यताउता हिँड्न थालिन ।
धेरै वर्ष देशान्तर घुमिसकेपछि एउटा जंगलमा वास बस्दा अचानक आमा छोराको भेट भयो । धेरै वर्षसम्म एकले अर्काको अनुहार नै नदेखेपछि ती दुवैले आफुहरु आमा- छोरा हौं भनेर चिन्न सकेनन् । दुवै अपरिचित भई एकै ठाउँमा वास बसे । एकान्त ठाउँमा एक पुरुष र एक स्त्री मात्र वास बसेपछि दुवै चुम्बकले तानिएझै तानिए र सँगै बस्न पुगे । तिनीहरुको बिचमा काम भावना जागरण भयो र सम्भोगसमेत गरे
सम्भोगपछि एकले अर्काको परिचय लिँदै गएपछि आफुहरु त आमा- छोरा पो रहेछौं भन्ने कुरा अचानक थाहा भयो । दुवैलाई पश्चातप भयो । कामतृष्णाको वशमा परेर आमा- छोराको सम्भोग भयो । यो त साह्रै नकाम भयो, भूल हुन गयो भनी मनमा ताप राखेर आफूले गरेको पापमोचन गर्न पशुपतिनाथको शरणमा गई ‘हे पशुपतिनाथ परमेश्वर तपाईले ममाथि करुणा गरि अज्ञानवश गरेको पाप नाश गर्ने उपाय आज्ञा गरिदिनुपर्यो’ भनी विरुपाक्षले प्रार्थना गरे । ‘तामाका ठूल्ठूला बाह्रवटा डल्ला तताएर पगाली त्यसको रस पिएमा तिम्रो पाप तुरुन्त नाश हुन्छ’ भनी पशुपतिनाथबाट आज्ञा भयो ।
पशुपतिनाथले त्यसरी आज्ञा भएपछि विरुपाक्ष जंगलमा गई तामा पगाल्न थाले । तामा तताउँदा- तताउँदै ‘अब त तामा पग्ल्यो होला’ भनी मनमा सोच्दै यसो भाँडामा हेर्न मात्र के लागेका थिए, उनको दाह्री, जुँगा, आँखीभौं सबै जले । अनुहार के भयो भनी निर्मल पानीमा हेर्न जाँदा अनुहार विरुप भई विरुपाक्ष हुन पुगे । उक्त तामाको झोल नै पिएको भए त म आफैँ पो भष्म हुने रहेछु । पशुपतिनाथले मेरो पाप नाश गर्न खोजेको नभई मलाई नै नाश गर्न लागेका रहेछन्, यो त भएन भनी उनी त्यहाँबाट बुद्धको शरणमा गए ।
बुद्धसामु सबै कुरा बिसाएपछि बुद्धले त्यस विरुपाक्षलाई निर्मल स्फटिकको एउटा माला दिई भने ‘हे विरुपाक्ष ! तिमीले ‘षदं सरी’ मन्त्र पढी यो जपमाला घुमाई जप गर । यो जप माला जप्दाजप्दै खिइएर नसिद्धिएसम्म तिम्रो पाप नाश हुने छैन । जब खिइएर जान्छ, तब तिम्रो पाप नाश भई सद्धे धर्मचित्त उत्पत्ति हुनुका साथै आत्मा पनि शुद्ध भई उद्धार हुनेछ ।’ बुद्धका यस्ता वचन सुनी खुसी हुँदै, जप माला लिई त्यहाँबाट वागमतीको तीरमा आश्रम बनाई बुद्धले दिएका मन्त्र मनमनै जपी माला घुमाउन थाले ।
धेरै दिन बितेर जाँदा पनि माला नखिइएकाले उनी त्यो आश्रम छाडी गए । त्यहाँबाट अलि पर गइसकेपछि एउटा बच्चाले नदीको तीरमा बसी ठूलो फलामको पातामा बालुवा राख्दै ढुंगामा रगड्न लागेको देखेर विरुपाक्षले सोधे, ‘तिमीले त्यो फलामको पाता बालुवा राख्दै ढुंगामा रगडेर के गर्न लागेको ? बच्चाले ‘मैले यो लगाइराखेका लुगा पुराना भई फाट्न लागे, त्यसैले पाताको सियो बनाई लुगा टाल्न खोजेको हुँ’ भन्यो ।
बच्चाको यो कुरा सुनेर विरुपाक्ष दङ्ग भए । ‘यस्तो फुच्चो बच्चाले त यत्रो मेहनत गरिरहेको छ भने म मात्र के कम’ भनी मनमा उत्साह लिएर विरुपाक्ष पुन: एकचित भई जप माला घुमाउन थाले ।
फेरि जप गर्दागर्दै दिक्क लाग्यो र जप गर्न छाडेर गए । एउटा मानिसले रुखमा घोच्दै रुख ढाल्न खोजिरहेको देख्यो । त्यहाँ गई सोधे, ‘यो के गरेको ?’ त्यस मानिसले भन्यो, ‘वृक्षलाई एकैचोटि हानी काट्यो भने रुखलाई ठूलो दु:ख हुन्छ । सियोले घोच्दै ढालेमा त्यसलाई त्यतिको दु:खकष्ट हुँदैन र सजिलैसँग ढल्दछ ।’ त्यहाँबाट विरुपाक्ष सरासर स्वयमम्भूमाथि पुगे । एउटा भंगेराले ढुंगाको ठूल्ठूला भाँडामा रहहेको पानी आफ्नो चुच्चोले झिकी खाली भाँडामा भर्दै थियो । यसले विरुपाक्षको मनमा घोच्यो । ‘एउटा भंगेराको यत्रो साहस छ भने मैले पनि आफ्नो साहास छाड्नुहुन्न’ भन्ने लागेपछि पुनः आफ्नो आश्रममा गई नरोकिइकन जप गर्दै गए ।
जप गर्दागर्दै जपमाला खिइन थाल्यो, खिइँदै गयो । यसबाट आफ्नो कठोर पाप नाश भइदिँदा विरुपाक्ष बुद्धसँग असाध्य खुसी भए । पशुपतिनाथसँग साह्रै रिसाएर पशुपतिनाथकहाँ गई ‘तँलाई कहाँ छाड्छु’ भन्दै लखेट्न थाले । पशुपतिनाथ डरले भाग्दै बुद्धको शरणमा मद्दत लिन पुगे । बुद्धले पनि विरुपाक्षले पशुपतिनाथलाई लखेट्दै ल्याएको थाहा पाई आफ्नो पन्चबुद्ध मुकुट लगाई बुद्धसँग बसिराखेको देखेर विरुपाक्ष एकदम आत्तिएर ‘यो पशुपति त बुद्ध नै पो रहेछ’ भनी प्रार्थना गरेर फर्किए ।
बुद्धले आफ्नो मुकुट लगाई दिएको दिन बखुमल अष्टमी अर्थात् मुख अष्टमी हो । उक्त दिनमा एकपटक पशुपतिनाथलाई पन्चबुद्ध अंकित मुकुट लगाइदिने गरिन्छ । (कान्तिपुर पुस्तकको ‘विरुपाक्ष’ शीर्षकको लेख)