शुक्रबार , भाद्र १२, २०८३

नेपालका मूल जाति

शक जाति प्राचीन कालका आर्यमूलका भए पनि यायावार र लडाकु जाति भएकाले वैदिक संस्कारहीन थिए । उनीहरूलाई अनार्य वा व्रात्य भनिन्थ्यो । उनीहरूले पश्चिम-भारतमा सत्ता जमाउँदा ब्राह्यमणधर्मको उच्छेदन र उत्पीडन भयो ।

image

– मोहनप्रसाद खनाल

नेपालमा बसोबास गर्ने प्राचीन कालका जाति कुन- कुन थिए यो निश्चय गर्न निकै गाह्रो छ । प्रागैतिहासिक कालका प्राप्त पाषाण-औजारको अध्ययन गर्नै विद्वान्हरुले दुई किसिमका हतियारहरू समसामयिक अवस्थाका फेला परेको सङ्केत गरेका छन् । त्यसपछिको युग अझ अन्धकारमा नै छ । गोपाल-वंशावली आदि वंशावलीहरूले नेपाल- उपत्यकामा आएर स्थायी बसोबास गर्ने पहिलो जातिमा गोपाललाई देखाएका छन् ।

वास्तवमा त्यो युग पशुचारक जातिको यायावरी गोठाले युग अर्थात् नवपाषाणकालको अन्तिम युग थियो । यस युगका मानवहरूले खेती गर्न थालिसकेका थिए । चकर् प्रयोग उनीहरूका लागि नौलो थिएन । सुन्दर र छरिता पाषाण औजार एवम् काला, चिल्ला र चित्रकारीयुक्त पोलेका माटाका भाँडावर्तन तथा संयुक्त परिवारपद्धति नवप्रस्तरयुगीन संस्कृतिका परिचायक हुन् । अझ नव-पाषाणयुगीन मानवसमुदायका कतिपय समूहहरूलाई धातुको समेत ज्ञान भइसकेको थियो । आगो, पानी, हुरी, बतास आदि प्राकृतिक प्रकोप र भूत, प्रेत, पिचासजस्ता अदृश्य भयलाई दैविक शक्तिका रुपमा विश्वास गर्दै पशु धनजनलाई त्राण दिने, निर्जन पाखा- पखेरा वा जङ्गलमा विचरण गर्दै अदृश्य रुपमा डुल्ने पशुका पति यिनीहरूका आराध्यदेव थिए । त्यसैले पशु र जङ्गलका देवता रुद्र वा पशुपतिका स्थापना गोपाल- काल अर्थात् गोठाले युगमा नै भयो ।

यी गोपाल (गोठाला) को थिए ? कता र कहाँबाट यिनीहरू नेपाल उपत्यकामा आए ? यसबारे पनि केही विचार गर्नु आवश्यक छ । हिमालयको काख एवम् पर्वतीय श्रृङ्खला र उपत्यकामा बसोबास गर्ने निवासीहरू मुख्यतः तीन मानववंशका सन्ततिहरू हुन् भन्ने विद्वान्हरुको मत छ ।

  • महाहिमालयको काख एवम् उच्च पर्वतमालाका सेरोफेरोमा बस्ने ताम्रवर्णका मङ्गोलजाति, जसको प्रतिनिधित्व आजका गुरुङ, मगर, शेर्पा, तामाङ, राई र लिम्बूहरूले गरेका छन् ।
  • पहाडको मध्यवर्ती क्षेत्र, पाखा-पखेरा र उपत्यका एवम् काँठका विस्तृत भू-भागमा पाँजिएर बसेका अग्ला एवम् गहुँगोरो जाति, जसको प्रतिनिधित्व अहिलेका ब्राह्यमण, ठकुरी र खस- क्षेत्री आदि पर्वतेहरूले गरिरहेका छन् ।
  • यिनै खस, ब्राह्ममण आदिका नजिकै बस्ने अलि काला वर्णका दमाई, कामी, सार्कीलगायत डुमजाति, जो अछुत वर्णका नामले आज पनि चिनिने गर्दछन् ।

माथि उल्लिखित यी तीन नृवंशमध्ये गोपालहरू खस अर्थात् खस आर्यजातिका देखिन्छन् ।

सुदूर युगदेखि नै खसजातिको प्रभाव एसिया, युरोप र उत्तर अफ्रिकासम्म पनि थियो । यो जातिले लगभग ३००० ई. पू. देखि नै कृषि र पशु चरणमा दक्षता हासिल गरिसकेको थियो, जुन समयमा अन्य कतिपय मानवजातिहरू पाषाणयुगीन संस्कृतिमै अलमलिइरहेका थिए । त्यसबेला नै यो जाति धातुयुगीन संस्कृतिसँग पूर्ण परिचित थियो।

खसजातिको प्राचीनतम उल्लेख २,४०० ई. पू. को पुजुर शिशुनाक युगको अभिलेखमा भएको छ । प्राचीन कालका निवासीहरू यस जातिलाई कस्साई अथवा ‘कस्सी जाति’का नामले पुकार्दथे । भनिन्छ, यस जातिको मूल स्थान तेहरानको उत्तरमा पर्ने क्यास्पियन सागरको तटीय क्षेत्रमा थियो । र, यो जातिको भारत-आगमन पनि ३,००० ई. पू. को लगभगमा नै मानिन्छ । त्यसपछि बिस्तार बिस्तार यो (खस) जाति काश्मीरदेखि नेपालसम्मको सारा पहाडी भूभागमा फैलियो ।

गोपालपछि २८ वा ३२ नाम भएको लामो फिरिस्तसहित किराँतहरूको  उल्लेख पाइन्छ । उच्च पर्वतीय क्षेत्रमा पाँजिएको यो जाति निकै प्रसिद्ध थियो ।

नेपालमा किराँतहरूको अस्तित्व भएताका मगधका राजा अजातशत्रुले उत्तर-भारतका जनसङ्घ- राज्यहरूको अस्तित्वलाई मटियामेट गर्दै थिए । लगभग यसै बेलादेखि सुरु भएको यो जातीय विनाशको पूर्णाहुति कुषाणका समयसम्म आइपुग्दा पनि सकिएको थिएन ।

कुषाणहरू पनि बर्बर जाति थिए । विजित प्रदेशमा लुटमार, हत्या, आगलागी गर्नु, धार्मिक मठमन्दिरको विनाश र संघर्षशील जातिको निर्मूल गर्ने काम शक वा कुषाणहरूको पनि थियो । यो विध्वंसकारी नीति त्यो बेलाको युद्ध कौशलभित्र नै पर्थ्यो । यसरी उत्पीडनले भोगेका ब्राह्यमण, क्षत्रिय आदि जातिहरूको शरण लिन पश्चिम-पहाड वा हिमालयको कछाड भएर चुरे मालाको घाँच हुँदै नेपाल -उपत्यकामा पसेको अनुमान हुन्छ । धेरै ब्राह्यमण र क्षत्रियसमेतका विभिन्न जाति काश्मीरतर्फबाट पश्चिमी हिमालयका काख-जुम्ला, हुम्ला, डोटी, कुमाऊ, गढवाल प्रान्तमा पहिलेदेखि नै पसिसकेका थिए । पश्चिम पस्ने बहुसङ्ख्यक यी जाति र प्रजातिहरू कश्मीर जालन्धरबाट पूर्व पसेको कुरा पश्चिम प्रान्तमा पाइने तिनका अवशेष र भाषाको अध्ययनबाट पनि चाल पाइन्छ ।

कुषाणहरू मध्यएसिया, इरान, अफगानिस्तानका अनुर्वर क्षेत्रबाट विशाल भारतको उर्वराक्षेत्रमा प्रवेश गरेपछि राज्य आय र सुविधाका दृष्टिले शैलप्रदेश र अन्य कुनै विशेषता नभएका हिमाली प्रदेशमा पसेर तहसनहस गर्ने आवश्यकता पनि परेन । साथै, यसै क्षेत्रमा बस्ने खसजातिहरू सम्पन्न पनि नभएका, पशुचारक अवस्थामा नै रहेकाले पनि नेपालको क्षेत्र कुषाणदासताबाट जोगियो ।

मथुरा, कान्यकुब्ज जालन्धर, काश्मीर त्यसैबेला वैदिक धर्मका गढ नै थिए । मगध र उत्तर- प्रदेशका कतिपय ठाउँमा बौद्ध धर्मका बाहुल्य थियो । मथुरा आदि क्षेत्रमा सात्वतहरूको वैष्णव धर्मको प्रधानता भएकाले पनि बौद्ध धर्म दरिलो अवस्थामा थिएन ।

भारतीय क्षेत्रमा जातीय कहरताले ठाउँ ओगटेको थियो भने कुषाणहरूमा जातिप्रथा थिएन । यसकारणले पनि धर्म जोगाउनेहरूले यत्रतत्र लाग्नु स्वाभाविक थियो ।

महाभारत वनपर्वमा नेपालका तीर्थहरूको वर्णन पाइन्छ। यसमा कालीदेखि तिष्टासम्मकै क्षेत्रको वर्णन भएकाले र ती तीर्थस्थल ब्राह्यमणधर्मसँग सम्बन्धित देखिँदा मौर्यकालअगावै यहाँ आर्य-सनातनीहरूको प्रवेश भइसकेको देखिन्छ ।

यसबाट के प्रष्ट हुन्छ भने आर्य वा आर्येतरजातिको घना आबादी पश्चिम-तराई र पश्चिमोत्तर प्रान्तमा नै थियो । बौद्ध कालमा पनि नेपाल-उपत्यकाको दक्षिण-पूर्वमा रहेका विदेह, लिच्छवि, वज्जि, ज्ञानकुलका आवादी चुरेउत्तर काँठसम्म आइपुगेका थिए । अशोकले पनि आफ्नो धर्मशासनपत्र पश्चिम-प्रान्तमा नै राखेका छन् र चन्द्रगुप्त मौर्यको राज्य पनि सुदूर पश्चिमपट्टि नै फैलिएको थियो ।

विद्वान्हरूले आर्यभन्दा पहिलेको यो उपमहाद्वीपमा प्रवेश गर्ने जातिमा खस, अष्ट्रोलाइड र मङ्गोल भनेका छन् । किन्तु मङ्गोलका प्राचीन जातिमध्ये किराँत हुन् । ऋग्वैदिक कालमा यिनीहरू पश्चिमतिर थिएनन् । यजुर्वेदमा किराँत जातिका नामबाट प्राचीन अस्तित्व थाहा पाइन्छ । परन्तु यो बेला आर्यहरू पूर्वी समुन्द्रसम्मका ज्ञाता भइसकेका थिए । यो मूल किराँत शाखासँग पूर्वी क्षेत्रमा नै आर्यहरूको परिचय भएको हुन सक्दछ । इतिहासकालमा यसको केही शाखा गङ्गा-यमुनाको उपल्लो भागसम्म पनि पुग्यो । परन्तु त्यहाँ पहिले नै प्रवेश गर्ने खस जातिसँग सम्मिश्रण भएर विभिन्न जातिको जन्म भयो र ईसाको सुरुतिर नै आफ्नो स्वतन्त्र अस्तित्व लोप गर्यो । आस्ट्रिक जाति प्राचीन निग्रेतोसँगको सम्मिश्रणले कोल, मुण्ड, शवर, भिल्ल आदिमा परिणत भएर भारतीय उपमहाद्बीपको जङ्गली क्षेत्रमा पाँजियो ।

अर्को उपत्यकाको भाषाको पनि प्रश्न छ । यहाँका प्राचीन ठाउँका नाम अनौठा छन् । नेवारी भाषामा  ६० प्रतिशत शब्द संस्कृतका तत्सम तद्भव र प्राकृत छन् । त्यसपछि केही बङ्गालीका, केही पालिपाकृत भाषाका र तिब्बती भाषाका शब्दहरूले यो भाषा बनेको छ । लिपि ब्राह्यमीबाट विकास भएका बङ्गाली र मैथिलीकै समान छ । यसको विश्लेषण गर्नै विषय यो नभएकाले दिग्दर्शन मात्र गरियो । त्यस्तै यहाँका जातिको पनि इतिहास त्यस्तै छ । प्राचीन जाति किराँत नै नेवार होइन, न नृवंश नै नेवार हो । नेपालमा बस्ने श्रेष्ठ, अमात्य, वैद्य, जोशी, प्रधान, रावल, मल्ल, राजवंशीहरूको छुट्टा-छुट्टै इतिहास छ । यसभित्र आर्यमूलका क्षत्रिय जातिको बाहुल्य छ । शाक्य, कोलि, वज्जि जाति पनि यहाँ प्रवेश गरेका थिए । ईसापूर्व तीन चार शताब्दीअघिदेखि नै आभीर लिच्छवि पनि उपत्यकामा आए । वैश्य, ठकुरी, मल्ल, रायठौर, वसु (बङ्गाल), कायस्थ  (मैथिल र बङ्गाल), राजोपाध्याय, ग्वाला, आभीर वा गोपाल, भण्डेल (गोपाल) आदि समष्टि जातिका नाम आज नेवारमा पाइन्छ । भाषागत दृष्टिले एक भए पनि धर्म फरक छ । शैव, बौद्ध तथा कापालिक, वधिक, रजक, नाउँ आदि समस्त नेवारी भाषा बोल्ने समाज भएकाले नेवार कसलाई भन्ने प्रश्न उठ्दछ । नेवारी भाषाभाषी झा, राजोपाध्याय  (ब्राह्यमण),  मल्ल, प्रधान (ठकुरी) पनि यसै समाजभित्र भएकाले र सांस्कृतिक पक्षको सूक्ष्म विवेचना  गर्दा कुलाचारमा कतिपय भिन्नता पनि दृष्टिगोचर हुन्छ । यो विषय सजिलो पनि छैन र मूल निवासी को हो ? भन्ने प्रश्नको जबाफ अद्यावधि निश्चय हुनसकेको पनि छैन ।

तर लिच्छविकालका शिलालेखहरूमा ब्राह्यमण, भट्ट, क्षत्री, गुप्त, सेन, मल्ल, अभीर, शाक्य, कोली, वृजि, वर्मा आदिका प्रचुर सामग्री सुरक्षित छन् । त्यसैले प्रामाणिक रुपमा देखिने यी जातिहरू नै नेपालका मूल जाति वा आदिवासी हुन् भन्नुमा कुनै अत्युक्ति नहोला । परन्तु नेपाली सभ्यता, कला, संस्कृतिका विकासमा भने उपत्यका निवासी समष्टिगत जातिको ठूलो देन छ र विश्वसभ्यताको इतिहासमा यो उपत्यकाले ठूलो महत्त्व राख्दछ।

उपत्यकाभित्रको प्राचीन स्थलहरूको विधिवत् उत्खनन भएपछि मात्र आदिम जाति र सभ्यताका बारेमा केही भन्न सकिएला । तबसम्म भाषाको प्रश्न पनि निश्चय गर्न सकिँदैन । त्यस्तै नेवार जातिमा मङ्गोल- रक्तको सम्मिश्रण भए पनि यसको मूल यही नै हो भन्नचाहिँ सकिएको छैन ।

नेपालको वंशावलीले प्रथम प्रवेश गर्ने जाति गोपाल देखाएको छ । आर्यभन्दा पहिले प्रवेश गर्ने यो जाति खस मूलका गोपाल थिए । उनीहरू खसप्राकृत भाषा बोल्दथे । तिनीहरूका १०/१२ पुस्ताको लगभगमा नै किराँत जाति पूर्वबाट पश्चिम बढ्दै आयो । लडाकु जाति र अलि ठूलो सङख्यामा भएकाले गोपालहरूसँगै पतिस्पर्धा गर्दै यस जातिले आफ्नो बस्ती बसायो । कालान्तरमा आपसी बिहाबारी चल्यो । रक्त- सम्मिश्रणले एउटा नयाँ जातिको जन्म भयो र भाषामा पनि खस- प्राकृत र मङ्गोल -किराँत भाषाको सम्मिश्रणले नयाँ भाषा जन्म्यो । यसैबीच पश्चिममा विभिन्न् जातिको प्रवेशले पीडित आर्यमूलका जातिहरू पनि पश्चिमबाट पूर्व बढ्दै आए र उपत्यकामा बसोबास गरे ।

ईसापूर्व पहिलो सहस्राब्दीको सुरुतिर नै आर्यहरूको प्रवेशले यहाँ धर्म, संस्कृतिको प्रभाव जमायो, तीर्थको महात्म्य बढ्यो, सार्थवाहहरू आफ्ना व्यापारिक कार्यमा बौद्ध कालदेखि केही समयपूर्व छैटौँ शदी ईसापूर्वदेखि नै आउनेजाने गर्थे । साथै, आउने आर्यहरूले व्यापार र खेतीका निम्ति पनि बसोबास सुरु गरे तथा हिन्दुधर्मको प्रभाव मङ्गोल- मूलका जातिमा पनि पर्यो ।

व्यापारीवर्गबाट उपत्यका तथा नेपालको परिचय पाउने अन्य आर्यहरू पनि शक र कुषाणको उत्पीडनपछि यहाँ आए । उनीहरूसँग शिल्पकार मूर्तिकार, धर्मविद् र अन्य समाजका उपयोगी वर्गको पनि नेपालभित्र प्रवेश भयो । उनीहरूको आवागमनपछिका व्यापारीहरूबाट कुषाणकालीन मुद्राहरू पनि यहाँ आइपुगे ।

मध्यएसियादेखि सिन्धु पन्जाब र काशीकोशल मगधसम्म विजय गर्ने कुषाण साम्राज्यको विस्तार तराईका भू-भागमा भयो । यस्तै कपिलवस्तु, कुशिनारा पावासम्म हुनु स्वाभाविक छ । कुषाण सम्राट् कनिष्क बौद्ध धर्ममा दीक्षित भएपछि उनका निम्ति पनि कपिलवस्तु र लुम्बिनी पवित्र तीर्थस्थल भयो । अशोकपछि यो पवित्र स्थलको दर्शनमा कनिष्क पनि आइपुग्नु धेरै सम्भव छ । यसैकारणले पनि कपिलवस्तुमा कुषाणकालीन मुद्रा अधिक सङ्ख्यामा प्राप्त हुनसके ।‍

परन्तु नेपालका प्राचीन पाण्डुलिपिहरूमा र ज्योतिषग्रन्थहरूमा शक संवत्को उल्लेख गर्दा ‘श्री शातिवाहनीय शाके’ भनेर उल्लेख भएको पाइन्छ । यो संवत्लाई भारतीय विद्वानहरूले निकै मान्यता दिएका छन् र ज्योतिषको गणनापद्धतिमा यसैलाई आधार मानेर गणित सारणीको सूत्र तयार गरिएको छ ।

शक जाति प्राचीन कालका आर्यमूलका भए पनि यायावार र लडाकु जाति भएकाले वैदिक संस्कारहीन थिए । उनीहरूलाई अनार्य वा व्रात्य भनिन्थ्यो । उनीहरूले पश्चिम-भारतमा सत्ता जमाउँदा ब्राह्यमणधर्मको उच्छेदन र उत्पीडन भयो । यी शकजातिलाई मालवगणका विक्रमादित्यले एकपटक पराजित गरेर मालव-संवत् चलाए, जसलाई विक्रम-संवत् भनिन्छ । त्यसपछि पनि पश्चिम भारत, मध्यप्रदेश, महाराष्ट्रमा शकको दमनचक्र पुनः चल्यो । यी जातिलाई करारीहार दिएर पुनः वैदिक धर्मको रक्षा गर्ने सात वाहनवंशी गौतमीपुत्र सातकर्णी हुन् । सात वाहनवंशी ब्राह्यमणकुल हो भन्ने नासिकअभिलेखलाई उद्धरण दिँदै सैनार, व्यूलर, डा. राय चौधरी डा. रमाशंकर त्रिपाठी ब्राह्यमणकुल हो भन्नेमा विश्वस्त छन् ।

गौतमीपुत्रले शक, पल्वह, यवन विजय गरेर विशाल साम्राज्य स्थापित गरे । ब्राह्यमणधर्मको पुनरुत्थान गरेर प्रतिष्ठा बढाए । यद्यपि यिनको समय ई. १०६-१३० दिइएको छ । परन्तु यो अकाट्य तिथिमिति होइन । सातकर्णीका बाबु सिमुकको समय ईसापूर्वको मानिन्छ । उनीपछि भाइ कृष्णले राज्य गरे अनि पछि छोरा गौतमीपुत्र सातकर्णीको नाम आउँछ ।

शक -राजाहरू बर्बर भएका र नरसंहार गरेका कथा पुराणमा पाइन्छ । शक, यवन, पल्हव विजय गरेर वैदिक धर्मको पालना गर्ने सातकर्णीको शकविजयलाई लिएर नै सन् ७८ देखि सुरु हुने शक- संवत् प्रारम्भ भयो र यसलाई ब्राह्यमणहरूले शालिवाहनीय शक वा शाके भन्ने नाम दिए र विक्रम- संवत्को भन्दा बढ्दा महत्त्व प्रदान गरे । कुषाणवंशमा न शालि (त) वाहन नामका राजा भए, न कुषाण साम्राज्य भयो । वैदिक धर्मका अनुयायीहरूका निम्ति यो सम्माननीय घटना नै हो । सात वाहनको दिग्विजय हिन्दुका निम्ति कल्की- अवतार नै थियो । यसैलाई आधार मानेर भारतीय गणनापद्धति सुरु भयो, ज्योतिषका अनेक परिभाषा बने ।

नेपालमा विक्रम-संवत् भन्दा सम्मान्य शक-संवत् रह्यो । यो प्रचलन नेपालमा पश्चिमबाट पूर्व आयो । तेह्रौँ, चौधौँ शदीपछि मात्र विक्रम-संवत्को चलन आएको देखिन्छ । ज्योतिषगणनामा शाके संवत्लाई आधार मानेकाले यसको अस्तित्व अक्षुण्ण छ । उपत्यकाका लिच्छवि, पश्चिमका पाल र मल्लहरूले यसैलाई मान्यता दिएका छन् ।

नेपालमा शक-संवत्को महत्ता बोकर आएका आर्यहरू उत्तरान्चलमा पस्नुभन्दा केही शताब्दीअघि नै दक्षिणपश्चिम भेगबाट आएका शिल्पकारहरूले नेपालका आदिबासीहरूसँगै बसी धर्मप्रचारका दृष्टिले पनि पाषण मूर्तिहरूको निर्माण र स्थापना गर्नु आवश्यक थियो । काष्ठशिल्पको विकसित रुप पाषाणशिल्प भएकाले यहाँ दुवै पक्षको विकास भएको हो भन्ने कुरामा सन्देह रहँदैन ।

मौर्यकालीन वास्तुकला तथा शिल्प, शुङ्गकालीन मूर्तिकला एवम् आर्य साहित्यका महाभारत, पुराण, धर्मशास्त्र, ज्योतिष, आयुर्वेद आदि विषयवस्तुहरूको नेपालमा प्रवेश भयो । त्यसको समुचित विकास हुने ठाउँ उपत्यका नै थियो । यहाँ त्यो बेलासम्म बौद्ध धर्मको प्राबल्य थिएन । प्रारम्भिक युगका खस, मङ्गोल जाति पनि शैव थिए । मथुराबाट नेपाल पस्ने आभीरजातिले वैष्णव धर्म ल्याए भने शैव सम्प्रदायको विशेषता पनि पश्चिमभारतमा नै भएकाले त्यो पनि पाशुपत सम्प्रदायका रुपमा नेपाल भित्रियो । वैदिक व्याख्यामा पाइने श्रीलक्ष्मी, गजलक्ष्मीका साथै दक्षिण भारतमा विकसित मातृशक्ति, नवदुर्गा, सप्तमातृका, दशावतारका मूर्तिशिल्पको रचना यहाँ सुरु भयो । (नेपाली कला, पुस्तकबाट)

इतिहासकार तथा पुरातत्वविद् मोहनप्रसाद खनालका नेपाली भाषाका हजार वर्ष, अभलेलखमाला (२०३२) र पश्चिम नेपालका मूर्ति र स्थापत्य लगायत पुस्तकहरू प्रकाशित छन् ।

सम्बन्धित समाचार