जीवनको गुजारा र भोगाईकै क्रममा आसाम पुगेकी योगमायाले तीन पटक विधवा हुँदा, घरबाट निकालिँदा, अपमान र बेइज्जतीपूर्ण व्यवहार, माइतीले बेवास्तापश्चात् समाजिक बहिष्करणमा पर्दा, 'पोइ टोकुइ'को संज्ञामा सारा समाज एकतर्फी हुँदा, गाउँ छिमेकले पर्गेल्न खोज्दा पनि सतिसालझैँ ठिङ्ग उभिएर टिकिरहिन् ।
“महाराज छन् दरबारमा हेर्न आउँदैनन्
दुःखी जनले नियन निसाफ सिधा पाउँदैनन्
जागिरदार लोभी छन् निँया हेर्दैनन्
मर्नु पर्ने शरीर हो विचार गर्दैनन् ! “..
आज भन्दा पचासी वर्ष अघि नै समाजमा सुधारका लागि कुरा उठाउने क्रममा योगमायाले लिपिबद्ध गरेका श्लोकहरू हुन यी ।
योगमाया न्यौपाने भोजपुर जिल्लामा वि.सं. १९१७ देखि १९२५ बिचको अवधिमा जन्मिएकी थिइन । भोजपुरको नेपाले डाँडा सानो सिम्लेको चिसो पानी खाएर दुई विवाह बचाइन तर उनले सुखी जीवन बिताउन पाइनन् । त्यसपछि उनी जीविकाको सन्दर्भमा आसामतिर गइन् र पुनः तेस्रो विवाह गरिन् ।
त्यस बेलाको नेपाली समाज र विधवा भएर जिउने कुरा निकै कष्टकर रहन्थ्यो । अहिले त उमेर गइसकेका (६० नाघेका) महिलाहरू विधवा भएर जीवन बिताउने कुरा निकै अँध्यारो र कष्टकर छ । कलिलो र किशोरावस्था स्वाभाविक रूपमै चञ्चलताले भरिपूर्ण उमेर हो । जीवनको वास्तविकताले भन्छ; ‘मानिसका उमेर अनुसारका मानवीय आवश्यकताहरू हुन्छन् । त्यो चाहे महिला होस या पुरुष, उसका प्राकृतिक गुणबाट अलग हुन कसरी सक्छ र ?’
पूर्वीय दर्शनमा धेरै राम्रा कुरा हुँदाहुँदै पनि महिलाको जीवन र जगतसँग जोडिएर आएका जैविकीय विषयसँग अथवा उपभोगसँग जोडिएर बनेका सामाजिक कानुनहरू अझै पनि निकै निर्मम देखिन्छ । वास्तवमा त्यस बेला त महिलाको जीवन जिउने कुरा, घरभित्रको काम, प्रजनन, पुरुषको यौन चाहानाको पूर्णता, डर र खानदानसँग जोडिएर पुरुषको निजी सम्पत्तिको रूपमा उपयोग या प्रयोग हुने बाहेक अन्य ढङ्गले पढ्न र बुझ्न सकिने अवस्था देखिन्न तर, पनि भूमिकामा अगुवाइ गरेका धेरै इतिहास छन् । यी र यस्ताको कुरा अझै खोजी र लेखिने क्रममै छन् भने अरू महिलाको त कहिले कसले लेखिदेलान् ?

यतिका कष्टकर अवस्था पार गरेपछि योगमायाले आफूप्रति परेको सङ्कट, पारिवारिक जीवनप्रतिको मोह, सुखभोगका सम्पूर्ण कुरालाई चटक्कै त्यागेर जीवनको मोक्षको बाटो समातिन् । उनको लागि मात्रै होइन, यो बाटो सबैका लागि निकै कठोर र निरस यात्रा थियो । जीवनको गुजारा र भोगाईकै क्रममा आसाम पुगेकी योगमायाले तीन पटक विधवा हुँदा, घरबाट निकालिँदा, अपमान र बेइज्जतीपूर्ण व्यवहार, माइतीले बेवास्तापश्चात् समाजिक बहिष्करणमा पर्दा, ‘पोइ टोकुइ’को संज्ञामा सारा समाज एकतर्फी हुँदा, गाउँ छिमेकले पर्गेल्न खोज्दा पनि सतिसालझैँ ठिङ्ग उभिएर टिकिरहिन् । जीवनको देउरालीबाट विना प्रतिक्रिया हेरिरहिन् । मनबाटै यी र यस्ता अन्धविश्वासका विरुद्ध लड्ने आत्मबल बनाएर नअल्मलिइ जीवन यात्रामा लम्किरहिन् ।
सबै नाता सम्बन्ध भित्रको चिसोपना,अँध्यारो गोरेटो, भत्केको मन, रुखिएका व्यवहारहरू भित्र खिया लागेको दया र मानवता पनि नभेट्दा निकै चिन्तित हुन्थिन् । यसको सुधारका लागि मन र मस्तिष्कले निकास खोज्थिन् । यिनै कुराको सहारा लिएर आसाम पुगेकी योगमाया पुन: नेपाल फर्किन् र भोजपुरको मजुवामा नै सुधारको पहिलो स्थल बनाइन् । गाउँमा फर्केपछि पनि गाउँलेहरूले धेरै विरोध गरे तर, उनी जप, तप, ध्यान गर्न थालिन् । तिनीहरू जसले कुरा सुन्थे, उनको छेउमा आउँथे, तिनैलाई कुरा बुझाइन् । आफू नजिक राखिन र अन्याय के हो भन्ने कुरा बुझाइन् ।
उनी यतिमै सिमित भइनन् । अन्यायको किन र कसरी विरोध गर्ने भन्ने कुरामा सामेल गराइन् । उनले राणा प्रधानमन्त्रीहरूलाई पटकपटक भेटिन् र सुधारका लागि भनिन । राणाहरूले माग पूरा गराउने आश्वासन सहित भक्तिपूर्वक बिदा गरे तापनी मागका बारेमा आलटाल र ढिला सुस्ती गरिरहे । उनले पुनः स्मरण गराउने उद्देश्य राखेर आफ्ना प्रतिनिधिहरू राजधानी पठाइन् । यसरी विरोध जनाउने सन्दर्भमा आफ्ना ‘धर्म भिक्षा’ नामका २६८ वटा माग सहित त्यस बेलाका श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरलाई आफ्ना अनुयायीमार्फत ‘सत्य धर्म भिक्षा’ मागपत्र पटकपटक पठाइन् ।
निकै प्रयत्न गर्दा पनि माग पूरा नभएपछि उनले विशाल यज्ञको आयोजना गरी यज्ञ कुण्डको अग्निमा दहन हुने कठोर निर्णय सहित यज्ञको तयारीमा लागिरहेको थाहा पाएर रणहरूले उनलाई गिरफ्तार गरी तीन महिना धनकुटाको जेलमा राखे । तीन महिनापछि जेल मुक्त गरियो । जेलको मुक्तिपछि पुन: उनी मझुवा नै गइन् र आफ्नो समाज सुधारको महाअभियानलाई सुषुप्त तरीकाले संगठित गरिन् । मागहरूको सार्वजनिकीकरण गर्दा समाजमा अन्यायमा परेका ठूलो समूहले राज्यका तर्फबाट (राणाहरूको ) निर्मम यातना पाउने कुराको कारण पछिल्लो चरण त्यसो गरिनन् ।
पछिल्लो चरण राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले उनीकहाँ पठाइएका योगमायाका केहि प्रतिनिधिहरूलाई गोकर्णको उत्तर बाहिनीमा कैद गरे भने केहीलाई मारी नै दिए । जुद्ध शमशेरको पालामा बचेका एक जनालाई अनेक प्रयत्नपश्चात् जेल मुक्त गराउन सफल भइन् । यसरी अनाहकमा अन्य सर्वसाधारणले दु:ख पाउने कुराले उनलाई अझै दु:खी बनायो । अन्तिममा आफ्ना ६८ जना अनुयायीका साथमा हाँसिहाँसी वि. सं. १९९८ असारकोको ठुली एकादशीको दिन वेगले उर्लिएको अरूण नदीमा विद्रोहीको स्वर सहित जल समाधि लिने अठोट गरिन् । योगमायाले संसारलाई धर्मको बाटोबाट पनि सामाजिक जागरण, न्याय प्राप्त गर्न सकिन्छ भन्ने निकै महत्त्वपूर्ण पाठ सिकाएर हामीबाट बिदा भइन् ।
नेपाली इतिहासकी यी सङ्घर्षशील योद्धाले श्री ३ ले दिएको वचनको प्रतीक्षामा ३२ दिनसम्म पानी मात्रै पिएर माग पूरा गर्नका लागि कुरिरहिन् । अन्तिम ज्ञापन पत्रको रूपमा ‘साग, सिस्नो, पिठो फाँका मार्नु औँ लातवात मनोच्छा भिक्षा कार्तिक शुक्ल पुर्णिमासम्म दिनु होला’ भन्ने माग पत्र पठाएको देखिन्छ । उनले त्यस बेला उठाएका मागहरू मध्ये बाल विवाह, अनमेल विवाह, बहुविवाहको विरोध, विधवा विवाहको विरोध, महिला शिक्षा, सरसफाइ, गौचरण, वन/जङ्गल आदीको रक्षा सहित २६८ वटा माग ‘सत्य धर्म भिक्षा’ पत्रमा उल्लेख गरेकी छन् । यस्ता सामाजिक सरोकार सहित जोडिएका विश्वमा कहीँ कतै भेटिनन् ।
अहिले पनि महिलाको अधिकारको कुरा गर्दा आत्तिने नेपाली समाज त्यो समयमा महिलाको अधिकार पनि जोडेर अन्यायको विरुद्ध राजादेखि रङ्कसम्म पुग्ने गरी माग राखेर खरो उत्रनु र अरू धेरैलाई उत्रन प्रेरणा दिनु साथै, आफ्नै अभियानमा सरिक गराउने मात्रै होइन, सामाजिक न्यायको अभियानमा लागेर जीवन नै उत्सर्ग गर्न खोज्नु र जीवन नै चढाउनु गम्भीर प्रकृतिको विरोध हो भनेर हामीले बुझ्न जरुरी देखिन्छ । महिलाको स्थान या पहिचानसँगै सामाजिक आर्थिक सरोकारका धेरै (२६८) वटा माग राखेर बारम्बार राणाहरूलाई भेट्नु, संवाद गर्नु, दूत पठाउनु र झकझक्याई राख्नु त्यो समयको निकै ठूलो र जोखिमपूर्ण अभियान हो भन्ने कुरा हामी सबैलाई जँचेको विषय पनि हो । योगमायाले उठाएका हरेक विषय अहिले विश्लेषण गर्दा विशुद्ध धार्मिक सामाजिक न्यायका पक्षमा देखिन्छन् ।

टंक चौलागाईको निर्देशनमा शिल्पी थिएटर (०१८), योगमायाको भूमिकामा मिथिला शर्मा
सामाजिक न्यायको आन्दोलन समाजसँग सम्बन्धित भएका र रहेका विभेद या अन्याय विरुद्धको अभियान हो भनेर नै अध्ययन गरेको भेटिन्छ । समाजको वा सामाजिकतालाई यथार्थ र निष्पक्ष भएर समाजमा सहजता देखाउने कार्य या व्यवहारलाई नै सामाजिक न्याय हो भनेर गरिएको व्याख्या भित्र समाजको स्वरूपलाई मध्यनजर गर्दै सबै भाषा, धर्म, तह, वर्ग, लिङ्ग, क्षेत्र, वर्ण,जात, उमेरका नागरिकहरूप्रति समान दृष्टिकोणले हेर्नू, त्यही अनुरूप राज्यका सुविधाहरूको लाभ पाउनु या दिनु अथवा व्यक्तिको प्राकृतिक र नैसर्गिक आधिकारको प्राप्ति गर्न सक्ने कुरासँग जोडेर उठाएको देखिन्छ । सामाजिक न्यायसँग जोडिएको Marriam Webster Collegiate Dictionary विषयलाई यहाँ उल्लेख गर्न चाहन्छु।” उपयुक्त दण्ड वा पुरस्कार प्रदान गर्नु या पूर्णतः पक्षपात रहित स्पष्ट र सही ढङ्गले व्यवहार र कार्य गर्नु नै सामाजिक न्याय हो भनेर लेखिएको भेटिन्छन् । यसरी हेर्दा सन १५५२ ताका बेलायतको वेल्स टापुमा भएका आन्दोलनलाई सामाजिक न्यायको आन्दोलन भनेर पढेको कुरा पनि योगमायाको यो अभियानमा जोडिन्छ ।
सामाजिक न्यायलाई अहिलेसम्म दुईवटा धारको अवधारणाबाट अध्ययन गर्ने गरेको पाइन्छ ।
पहिलो अवधारणा संरक्षित न्याय, यसभित्र समाजमा रहेका हरेक व्यक्तिमा सम्बन्ध र जिम्मेवारी, पहुँच, निष्पक्षता,समता र समानताको कुरालाई अग्रस्थानमा राखेको देखिन्छ ।
दोस्रो अवधारणा विपरीत न्याय, जसले नैतिकता र उत्तरदायित्व ,सङ्गठन, समुदाय र समाजमा केन्द्रीकृत रहेको हुन्छ भनिन्छ ।
विश्वको इतिहासको अध्ययन गर्दा बेलायतमा भएका दुई वटा आन्दोलनहरूलाई सामाजिक न्यायसँग जोडेको देखिन्छ । ती आन्दोलनहरू मध्ये एक गरिबको आन्दोलन र अर्को मकैको आन्दोलन अथवा अनाजको आन्दोलनको रूपमा भएका थिए । ती दुवै आन्दोलनहरू मानिसको दुःख मोचनको लागि लिएको पाइन्छ । त्यो आन्दोलनपश्चात् उपलब्धिको रूपमा पूअर ल (Poor Law) स्थापित भयो । त्यसमा दया, भक्ति, बेरोजगारी, फिरन्ते र गरिब/भिखारीहरूको उत्थान र रोजगारी सृजना गर्ने कुरा आदीको व्यवस्था गर्न सक्यो । यी दुवै बेलायतको इतिहासमा सन १६०४ एलिजाबेथ प्रथमको पालामा भएको थिए । त्यसबेला बनाएको गरिबको उत्थानको कानुन पनि विकलाङ्ग र सबलांग गरिब विभाजन गरी ल्याइएको थियो । अनाजको अभावका कारण सन १९१५ देखि १८४६ सम्म भएको अनाजको उचित बजारको व्यवस्थापनको विषयसँग जोड्नु, खाद्यान्नको उत्पादन र वितरण सम्बन्धी न्यायोचित कानुनको निर्माण माग गर्नु जस्ता विषयले सामाजिक न्यायको जग बसाल्यो ।
योगमायाले धर्मसँग जोडेर ल्याएका धर्मसंहिताहरू धेरै अघि बेलायतमा उठेको गरिबी विरुद्धको मागसँग मिल्न जान्छन् । त्यसैले योगमाया मानवतावादी थिइन् । तत्कालीन समाजमा एकल महिला भएर जे प्रयासमा गरिन्, त्यो संसारमा भएका सयौँ आन्दोलन या अभियानभन्दा माथि छ तर, यस्ती विरङ्गनालाई चिनाउन सकेका छैनौँ । योगमायालाई राष्ट्रिय विभूति बनाउन या घोषणा गर्न सकेको छैन । योगमाया नेपाली समाजकी धार्मिक समाज सुधारको पक्षधर विश्वकै पहिलो अभियन्ता हुन् । यो विषयमा सरकारको ध्यान पुग्नैपर्छ । उनको यो अभियानको सम्झनामा हामी सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली सहित नमन !