बुधबार , जेठ १३, २०८३

प्र.अ. विष्णु प्रसाद पनेरु: जसले बिताए एउटै विद्यालयमा ३८ वर्ष, बनाए नमुना विद्यालय

'जङ्गलको बिचमा कंकालीदेवीको सानो जीर्ण मन्दिर अगाडि एउटा सानो छाप्रो थियो । छाप्रोले घाम र पानी छुट्ट्याउन भने सक्दैनथ्यो । किनकि छाप्रोको छानोमा प्वालै प्वाल थियो । पानी परे पानी, घाम लागे घाम भित्रै छिर्थ्यो । छाप्रोभित्र बस्नु र बाहिर बस्नुमा खासै फरक थिएन ।

image

छेवैमा एउटा रूख र पोखरी पनि थियो । त्यसैले विद्यार्थीहरूलाई कहिले रुखको फेदमा त कहिले पोखरीको डिलमा राखेर पढाउँथे । चार जना विद्यार्थी थिए ।’

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा अवस्थित श्री कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पनेरुले झन्डै चार दशक अघिको इतिहास स्मरण गरे ।

उनको बयानले मस्तिष्कमा प्राचीन गुरुकुल प्रणालीको  चित्र बन्यो । जहाँ गुरुले चेलाहरूलाई रुखको फेदमा बसेर शिक्षा दिने गर्दथे । २०४० साल कार्त्तिक ७ गते कंकाली माध्यमिक विद्यालयको स्थापना हुँदै गर्दा गुरुकुल जस्तै थियो । स्थापनाकालमा यस विद्यालयको कुनै नाम थिएन । कंकाली  मन्दिरको आँगनमा  बेनाम सुरु भएको थियो  । स्थापना भएको झन्डै ६ वर्षपछि २०४६ सालतिर विद्यालयको न्वारन  भयो । नामकरण गर्ने व्यक्तिहरूमध्ये एक हुन्, आइतेमान बस्नेत । जो हाम्रो संवादको साक्षी थिए । ८१ वर्षीय उनी यस विद्यालयको जिउँदो इतिहास हुन् । विद्यालयको स्थापना र विकासमा आइतेमान बस्नेतसहित श्याम बहादुर अधिकारी, विश्वजीत बस्नेत, शम्भुराम पनेरू, वैकुण्ठ अधिकारी, लगायत व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।

स्थापना भएको चार दशकपछि आइपुग्दा कंकाली माध्यमिक विद्यालय देशकै नमुना विद्यालयको दर्जामा पुगेको छ ।  विद्यालयको सुरु हुँदा जम्मा चार जना विद्यार्थी थिए । अहिले ५५ भन्दा बढी जिल्लाका नौ सय भन्दा बढी विद्यार्थीहरू अध्ययन गरिहरेका छन् । ६० प्रतिशत विद्यार्थीहरू स्थानीय र बाँकी ४० प्रतिशत काठमाडौं बाहिरका छन् ।

घाम र पानी नचिन्ने छाप्रोबाट सुरू गरेर आधा दर्जन बढी सुविधा सम्पन्न भवनमा झन्डै एक हजार विद्यार्थीलाई पढाउने नमुना विद्यालयको रूपमा स्थापित हुँदासम्म निरन्तर नेतृत्व गरिरहेका छन् पनेरु । विद्यालयको स्थापना हुँदाताका एसएलसी  पनि पास गरेका थिएनन् । उनकै भाषामा भन्दा उनी अन्डर मेट्रिक थिए । तैपनि उनी प्रधानाध्यापक बने/बनाए । चार दशकपछि पनि उनी प्रधानाध्यापककै रूपमा कार्यरत छन् ।

‘विद्यालयको अवस्था यहाँसम्म पुर्‍याउन तत्कालीन गाउँ पञ्चायत, अहिलेको स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैको साथ छ।’ पनेरू भन्छन्, ‘मेरो निरन्तरको लगाव  र मेहनतले गर्दा पनि विद्यालयलाई यो अवस्थासम्म ल्याउन सकेको हो ।’

कंकाली माध्यमिक विद्यालयलाई देशकै नमुना विद्यालयको दर्जामा उभ्याउन विदेशी नागरिकहरूको पनि ठुलो साथ रहेको छ ।  युरोपका झन्डै आधा दर्जन देशका नागरिकहरूले सहयोग गर्दै आएको हुनाले यो विद्यालय नेपालमा भन्दा युरोपमा चर्चित रहेको प्रधानाध्यापक पनेरुले बताए ।  यस विद्यालयलाई  लक्जेमवर्ग, फ्रान्स, इटाली, बेल्जियम, नेदरल्यान्डस्, हल्यान्ड लगायत देशका नागरिकहरूले सहयोग गर्दै आएका छन् । यस  विद्यालयको रूपान्तरणमा भने लक्जेमवर्गका नागरिक क्लुडिन हेन्गेस र एन्ड्रे लिन्डेनकाे सबैभन्दा ठुलो योगदान रहेको पनेरू बताउँछन् ।

यस विद्यालयमा आवासको सुविधा छ । आवतजावत गर्न बसको सुविधा छ । अंग्रेजी माध्यममा पठनपाठन हुन्छ । कम्प्युटर इन्जिनियरिङको पढाई हुन्छ । आधुनिक पुस्तकालय र प्रयोगशालाको व्यवस्था रहेको छ । विद्यार्थीहरूका लागि छात्रवृत्तिकाे व्यवस्था छ । विद्यालयमा सुन्दर बगैँचा र खेल्ने ठाउँ पनि छ । यो विद्यालय १५ सय ६५ मिटरको उचाइरमा अवस्थित रहेको छ । सुन्दर  प्राकृतिक वातावरण छ । जहाँबाट काठमाडौं उपत्यकालाई नियाल्न सकिन्छ ।

 

छात्रवृत्तिकाे वितरण प्रणालीमा भने पनेरुलाई चित्त बुझेको छ्रैन । छात्रवृत्ति प्रदान गर्दा धेरै विद्यार्थीलाई बाँडेर थोरै-थोरै दिनुभन्दा साँच्चै जेहेन्दार र छात्रवृत्तिको आवश्यक पर्ने विद्यार्थी पहिचान गरेर दिए राम्रो हुने पनेरुको तर्क छ ।

२०५१ सालदेखि एसएलसीसम्मको पठनपाठन सुरू गरेको यस विद्यालयले त्यस बेलादेखि नै शतप्रतिशत विद्यार्थी पास गराउँदै आएका छन् । अहिले एसइईको प्रणाली सुरू भएपछि पनि ९९ प्रतिशत विद्यार्थीले राम्रो ग्रेडमा पास गर्दै आएका छन् ।

सामुदायिक विद्यालय भएपनि सेवा सुविधा, शैक्षिक गुणस्तरमा संस्थागत विद्यालय भन्दा कम छैन । सुविधा सम्पन्न विद्यालयमा सबै आर्थिक हैसियत भएका अभिभावकहरूले पढाउन सक्छन् । कक्षा ७ सम्मका विद्यार्थीहरूले वार्षिक जम्मा सात सय रुपैयाँ विद्यालयलाई तिर्नुपर्छ । त्यसभन्दा माथिका विद्यार्थीले वार्षिक तीन हजारसम्म तिर्नुपर्छ ।

त्यसो त एउटै सामुदायिक विद्यालयमा झन्डै चार दशक समय  बिताएका पनेरुले सामुदायिक विद्यालयका चुनौतीहरूलाई पनि केलाएका छन् । सामुदायिक विद्यालयलाई जागिर खाने थलोका रूपमा मात्रै हेर्ने गरेको पनेरुको गुनासो छ । अभिभावकहरूले आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्न पठाउने अनि जागिर खान चाहिँ सामुदायिक विद्यालय नै ताक्ने गरेको उनको अनुभव छ । सामुदायिक विद्यालयमा संस्थागत विद्यालयको तुलनामा राम्रो तलब सुविधा पाइने र जागिरको पनि सुनिश्चितता हुने भएकाले शिक्षकहरू सामुदायिक विद्यालयमा पढाउन इच्छा गर्ने गरेको उनको अनुभव छ ।

‘राम्रो दक्षता भएका शिक्षकहरू आउनु राम्रो भए पनि कतिपय शिक्षकहरू राजनीतिक वा अन्य पहुँच र शक्तिको आधारमा विद्यालयमा जागिर खान आउनु चाहिँ विडम्बना हो, उनले भने, ‘सामुदायिक विद्यालयलाई आफ्ना कार्यकर्ता तथा नाता आफन्त भर्ती केन्द्र बनाउँदै लानु दुख:द हो । यसको अन्त्य गरिनुपर्छ ।’

भौतिक संरचना, सेवा सुविधा र शैक्षिक गुणस्तरमा संस्थागत विद्यालयको दर्जामा पुर्‍याए पनि सामुदायिक विद्यालयप्रतिको अभिभावकको दृष्टिकोण परिवर्तन हुन नसकेको पनेरूको अनुभव छ ।

‘हाम्रा अभिभावकहरूले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन । उनीहरूले सामुदायिक विद्यालयलाई विश्वास गर्न सकेका छैनन् । सामुदायिक विद्यालयको स्तरोन्नति हुन नसक्नुमा यो पनि वाधा हो ।’ प्रधानाध्यापक पनेरुले भने, ‘हामीले कंकाली माध्यमिक विद्यालयलाई कुनै पनि हिसाबले संस्थागत विद्यालयभन्दा कमजोर हुन दिएका छैनौँ, तैपनि अलिकति एलाइट क्लास (सम्पन्न वर्ग)का स्थानीयले पनि हामीलाई विश्वास गर्न सकेका छैनन् ।’

संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयका लागि गाह्रो भएपनि असम्भव भने नरहेको उनी बताउँछन् । ‘हामी (सामुदायिक विद्यालय) लाई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न गाह्रो छ, तर असम्भव भने छैन । त्यसका लागि हामीले अलि बढी मेहनत गर्नुपर्छ ।’ पनेरुले भने, ‘हाम्रो विद्यालयमा सबै खालका विद्यार्थीहरू पढ्न आउँछन् । संस्थागत विद्यालयमा प्राय: शिक्षित र सम्पन्न परिवारका विद्यार्थीहरू पढ्न जान्छन् । उनीहरूका अभिभावकले आफैँ पढाउन सक्छन् । तर हामी कहाँ पढ्न आउने विद्यार्थीका अभिभावकले होमवर्क गर्‍यो या गरेन भनेर हेर्न पनि सक्दैनन् ।’

आफ्नो विद्यालयमा शिक्षित र सम्पन्न वर्गका अभिभावकहरूले पनि आफ्ना छोराछोरीहरू पढ्न पठाउन् भन्ने उनेको अपेक्षा छ । विद्यालयलाई अत्यन्तै सुन्दर र सफा, सुविधा सम्पन्न बनाउने, औपचारिक शिक्षा लिन नचाहने विद्यार्थीहरूका लागि रोजगारीमूलक शिक्षा दिने प्रधानाध्यापक पनेरुको सपना छ ।

यस विद्यालयले जीवन विकास समाज नामक संस्थाबाट उत्कृष्ट विद्यालयको पुरस्कार पाएका छन् । देशभरिका झन्डै एक हजार विद्यालयहरूमध्येबाट यो विद्यालय सर्वोत्कृष्ट बनेको हो । संस्थाले तीन लाख रुपैयाँ नगदसहितको पुरस्कार केही दिन अघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट हस्तान्तरण गरेका छन् ।

मोरङमा स्थापना भएको संस्थाले विद्यालयकाे सुशासन, पारदर्शिता, विकास, शैक्षिक गुणस्तर, भौतिक संरचना, शैक्षिक वातावरण, सरसफाइ, विद्यालयले स्थानीय अभिभावक, नागरिक समाजसँग गर्ने समन्वय तथा सहकार्य लगायत सूचकहरूलाई आधार मानी सर्वोत्कृष्ट विद्यालय छनौट गर्ने गरेको छ ।

शिक्षाका लागि सरकारले सबैभन्दा धेरै बजेट खर्च गर्दै आए पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा भने सुधार हुन सकेको छैन  भने अर्कोतिर संस्थागत विद्यालयको व्यवसाय बढ्दो छ । संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयसामु थुप्रै चुनौतीहरू छन् । तथापि केही सामुदायिक विद्यालयहरू छन् जसले संस्थागत विद्यालयलाई चुनौती दिएका छन् । तिनै सामुदायिक विद्यालयमध्येका एक हुन् कंकाली माध्यमिक विद्यालय । जसलाई यहाँसम्म डाेर्याउने पात्र हुन्, विष्णु प्रसाद पनेरु ।

याे पनि:कीर्तिपुर युद्ध जित्न पृथ्वीनारायणलाई शक्ति दिएकी कंकालीदेवी, जो गुमनाम छिन् 

सम्बन्धित समाचार