यतमान सिं भन्छन्, 'कंकालीदेवीको आशिर्वाद नपाएको भए गोरखाली फौज नेपाल उपत्यका प्रवेश गर्नै नपाई फर्किनुपर्ने थियो । गोरखा राज्यको विस्तार त्यत्तिकैमा राेकिने थियो । नेपाल एकीकरण हुने थिएन ।'
नेपाल एकीकरण अभियानमा रहेका गोरखाका राजा पृथ्वीनारायण शाहले वि.सं. १८१४मा कीर्तिपुरमाथि पहिलोपटक आक्रमण गरे । कीर्तिपुरवासी र गोरखाली फौजबिच ‘बल्खु खोला’मा घमासान युद्ध भयो । कीर्तिपुरलाई उपत्यकाका अन्य राज्यहरूको पनि साथ थियो ।गोरखाली फौज कीर्तिपुरसँग पराजित भयो ।
त्यसपछि वि.सं. १८२१ को भाद्र महिनामा शूरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा कीर्तिपुरमाथि दोस्रो आक्रमण भयो । दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुरमाथि आक्रमण गर्यो । गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि आक्रमण गरेका थिए । पृथ्वीनारायण शाह आफैँले आक्रमणको कमान्ड गरेका थिए । सानो राज्य कीर्तिपुर करिब तीनसय सेनाको भरमा प्रतिकार गरिरहेको थियो । त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन् । उसले काठमाडौं, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो ।
गोर्खाली सेनाले तीनथानातिरबाट आक्रमण गर्दा बल्खु खोलाको तीरमा काटाकाट चल्यो । दुई पक्षबिच घमासान युद्ध भयो । युद्ध करिब छ घण्टा चल्यो । धेरै गोरखाली सैनिकको मृत्यु भयो । पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरवासीको कब्जामा परे । तर, राजवध गर्न नहुने नैतिक नियमका कारण मात्र उनी बाँचेर मुक्त भएका थिए । सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाण्डे मारिए । पृथ्वीनारायण शाहका भाइ शूरप्रतापको आँखा समेत फोडिदिए । गोरखाली सेनाले कीर्तिपुरको युद्धमा दुवै पटक नराम्रो हार व्योहोर्नुपर्यो ।
यहाँ तपाईँलाई नेपाल एकीकरणको इतिहासको वृत्तान्त सुनाउन खोजिएको चाहिँ होइन । नेपाल एकीकरणसँग जाेडिएकाे तर इतिहासमा नलेखिएको धार्मिक विश्वास, मन्दिर र देवीको चर्चा गर्दै छाैँ ।
जब मानिस अप्ठ्यारोमा पर्छ, तब उसले भगवानसँग गुहार माग्छ । आफूलाई सङ्कटबाट बचाउन अथवा आफ्ना काम, लक्ष्य, उद्देश्य पुरा गराउनका लागि मानिसले देवीदेवतासँग सहयोग माग्दछ । भाकल गर्दछ । पूजा आराधना गर्दै भक्ति भाव प्रकट गर्दछ । यो मानिसको सामान्य स्वभाव नै हो । पहिले जङ्गली युगका मानिसले पनि गर्थे अहिलेको एक्काइसौँ शताब्दीका मानिसले पनि गरिरहेका छन् । गरिरहनेछन् ।
कीर्तिपुरसँगको दोस्रो पटकको आक्रमणमा आफ्ना कुशल सेना नायक कालु पाण्डे मारिएपछि राजा पृथ्वीनारायण शाह निराश बने । दुवै पटकको आक्रमणमा कीर्तिपुरसँग लज्जास्पद हार व्यहोर्नुपरेपछि नेपाल एकीकरणको अभियानमा रहेका पृथ्वीनारायण शाहले पनि भगवानसँग गुहार माग्न थाले । देवीदेवताको पूजा आराधना गर्न थाले ।
उनले हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा पर्ने पुरानो नैकापमा कंकालीदेवीको थान स्थापना गरे । कंकालीदेवीको पूजा आराधना गर्न थाले । कंकालीदेवीको पूजा आराधना गरेकै कारण गाेरखाली फाैजले तेस्रो पटकको आक्रमणमा कीर्तिपुरमाथि विजय हासिल गरेको पुरानो नैकापवासी विश्वास गर्दछन् ।
कंकालीदेवीको आशिर्वादकै कारण गोरखाली फौजले कीर्तिपुरमाथि विजय हासिल गरेको स्थानीय यतमान सिं बस्नेत दाबी गर्छन् । उमेरले आठ दशक नाघिसकेका यतमानले मात्रै नभएर त्यस क्षेत्रका स्थानीयले पनि यसमा विश्वास गर्दछन् । कंकालीदेवी आफूहरूको संरक्षक भएको स्थानीयको जनविश्वास छ ।
नेपाल एकीकरण अभियानमा कंकालीदेवीको महत्त्वपूर्ण भूमिका रहेपनि यसलाई इतिहासमा कतै नलेखिनु दु:खद भएको ८१ वर्षिय यतमानको दुखेसाे छ ।
‘पृथ्वीनाराणले त्यत्रो दुई-दुई चोटी आक्रमण गर्दा पनि कीर्तिपुरलाई जित्न सकेन । दोस्रो पटकको लडाईँमा सेना नायक कालु पाण्डे नै मारिए । राजा (पृथ्वीनारायण शाह)का आफ्नै भाइ शूरप्रतावको आँखा फोडियो । लडाइँमा लज्जास्पद हार भयो । त्यसपछि माथि इन्द्रथानबाट कंकालीदेवीलाई यहाँ (मन्दिरतिर देखाउँदै) ल्याएर पूजा आराधना गरेपछि गोरखाली फौजलाई शक्ति मिल्यो । वि.सं. १८२२ चैत्र ३ गते पुन: किर्तिपुरमाथी आक्रमण गरी विजय हासिल गरे’, यतमानले भने, ‘कीर्तिपुरमाथि विजय हासिल भएपछि उपत्यकाको कान्तिपुर र भादगाउँ जित्ने बाटो खुल्यो । लडाईँ गर्नै नपरी विजय भयो । नेपाल उपत्यका गोरखाली फौजको कब्जामा गयो । वास्तविक नेपालको एकीकरण भयो । यति ठूलो शक्ति प्रदान गर्ने कंकालीदेवीलाई सबैले बिर्सेका छन् । इतिहासकारहरूले पनि खोजेनन् । कतै लेखिएनन् ।’
कंकालीदेवीकाे दिएकाे शक्तिकै कारण नेपाल एकीकरण सम्भव भएकाे उनकाे दाबी छ । ‘कंकालीदेवीको आशिर्वाद नपाएको भए गोरखाली फौज नेपाल उपत्यका प्रवेश गर्नै नपाई फर्किनुपर्ने थियो । गोरखा राज्यको विस्तार त्यत्तिकैमा राेकिने थियो । नेपाल एकीकरण हुने थिएन ।’ यतमान भन्छन्, ‘सायद अंग्रेजहरूले नियन्त्रणमा लिने थियो । टुक्रा-टुक्रामा विभाजित भएको हुनाले नेपाल भन्ने देश नै नरहने थियो ।’
नेपाल एकीकरणको समय (अहिलेभन्दा २५० वर्षअघि)का मानिसहरू अहिलेका मानिसभन्दा बढी धार्मिक विश्वास राख्ने भएकाले युुद्ध र लडाइँमा होमिएका पृथ्वीनारायणले शाहले पनि विभिन्न देवीदेवताको थान, मन्दिर आदि स्थापना गर्ने र पूजा आराधना गर्ने गरेको इतिहासिक तथ्यहरू फेला परेता पनि तिनलाई इतिहासमा नलेखिनु दु:खद भएको यतमानको ठम्याइ छ ।
‘त्यत्तिबेलाका मानिस धर्ममा बढी विश्वास गर्थे । देवीदवताको भाकल गर्थे । आफै देउथानको स्थापना गर्थे । पृथ्वीनारायणले शाहले पनि त्यसै गरे । कंकालीदेवीकाे थान स्थापना गरे । पूजा गरे । उनलाई शक्ति पनि मिल्यो तर, इतिहासमा कतै लेखिएको छैन’, उनले भने ।
धार्मिक मात्रै नभएर इतिहासिक महत्त्व समेत बोकेको मन्दिरको संरक्षणमा भने पर्याप्त ध्यान नपुगेको उनको गुनासो छ । मन्दिरमा वर्षमा एकपटक सामूहिक पूजा गर्दै आएका छन् । पूजा गर्न दुई तीन लाख रुपैयाँ खर्च लाग्ने तर, कतैबाट स्रोत नभएपछि स्थानीय बासिन्दाबाट चन्दा उठाएर पूजा सम्पन्न गर्दै आएको उनले बताए ।
मन्दिरको वरिपरी बस्नेत, अधिकारी र तामाङ समुदायको बसोबास रहेको छ । बस्नेतहरू पृथ्वीनारायणसँगै फौज बनेर आएको र त्यस क्षेत्रमा बसोवास गरेको यतमानले सुनाए ।
यो मन्दिर चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ स्थित पुरानो नैकापमा अवस्थित छ । मन्दिर श्री कंकाली माध्यमिक विद्यालयको प्राङ्गणमा विराजमान रहेको छ । कंकालीदेवीकै नामबाट विद्यालयको नामकरण भएको हो । २०४० सालमा स्थापना भएको यो विद्यालय अहिले नेपालकै नमुना विद्यालय बनेको छ । कंकालीदेवीकै आशिर्वादले विद्यालयको उन्नति र प्रगति भएको स्थानीयको विश्वास छ । विद्यालयलाई कंकालीदेवीले रक्षा गरिरहेको उनीहरू विश्वास गर्दछन् । कंकालीदेवी दक्षिणकाली माताकी कान्छी बहिनी भएको विश्वास पनि रहेको छ ।
पृथ्वीनारायण शाहको गोरखाली फौज यसै क्षेत्रमा बसेरका कीर्तिपुरको आक्रमण गरेका थिए । नैकाप, बलम्बु, स्युचाटार, दहचोक लगायत क्षेत्रमा बसेर कीर्तिपुरमाथि आक्रमण गरेका थिए । कंकाली माध्यमिक विद्यालयको भवन निर्माणको लागि जग खन्ने क्रममा गोरखाली फौजले बनाएको बंकर समेत फेला परेको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पनेरूले बताए ।
यो मन्दिर समुन्द्री सतहबाट १५६५ मिटरको उचाइमा अवस्थित छ । मन्दिरबाट काठमाडौं उपत्यकालाई अवलोकन गर्न सकिन्छ । मन्दिरभन्दा अलिमाथि इन्द्रथान, इन्द्रदह, कालु पाण्डेको समाधिस्थल, स्वीजरल्याण्ड पार्क, मनकामना मन्दिर लगायतका धार्मिक, इतिहासिक एवम सुन्दर प्राकृतिक पर्यटकीय स्थलहरू रहेका छन् । कंकालीदेवी मन्दिरको बाटो हुँदै ती पर्यटकीय स्थलहरूमा दैनिक सयौँको संख्यामा पर्यटकहरू पुग्दछन् । तर कंकालीदेवीको दर्शन गर्न भने छुटाउँछन् ।
याे पनि: प्र.अ. विष्णु प्रसाद पनेरु: जसले बिताए एउटै विद्यालयमा ३८ वर्ष, बनाए नमुना विद्यालय