फ्युकुरी, नेपालको नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नं १ मा रहेको छ । 'फ्युकुरी' तामाङ समुदायको बोन्पो, बौद्ध तथा स्थानीय तामाङ समुदायको धार्मिक, सांस्कृतिक र ऐतिहासिक संगमस्थल हो ।
–अजितमान तामाङ
‘फ्युकुरी (फ्युकुरी/ फ्युगरी/फ्यीकुरी/फ्युकुरी/ फिकुरी)‘ लाई स्थानीय जनसमुदायहरूले मनोआकांक्षा पूरा गरिदिने, मागेको कुरा दिने तीर्थस्थलका रूपमा विश्वास गर्दछन् । बोम्बो परम्परामा आमा पासाङ रानी, आमा डोल्मो रानी तथा सेर्कु रानी र मार्कु रानी कसैकसैले मार्कु (मार–कु) डोल्मो अर्थात् नौ धनधान्यकी साक्षात् देवी रहेको स्थानका रूपमा विश्वास गरिन्छ ।
यसैगरी बौद्ध परम्पराको विश्वास दोमाङकुयी दाबो, दोमाङकुयी दामो भनेर बोम्बोहरूले समेत पुकार्ने गरिन्छ । दोमाङ भनेको बुद्ध वचन, बौद्ध शुत्र हो । दोमाङ बुद्ध वचन प्रतिको श्रद्धा व्यक्त गर्न जाने तीर्थस्थल हो । ‘फ्युकुरी’ म्हानेको फेदमा रहेको शिलालाई धार्मिक दृष्टिले फ्युकुरीलाई स्थानीय समुदायका पुराना पाका मानिसहरू, तीर्थाटनमा पुग्ने तामाङहरू र जङ्गलमै आफ्ना पशु-चौपायासँग रमाउने गोठालोहरूले देखाउँदै यस्तो बताउने गर्दछन् ।
‘फ्युकुरी’ को टाकुरोमा रहेको पुरानो माने/कुङकारको फेदमा रहेको ठुलो दोमाङ शिला (बौद्ध सूत्रको ग्रन्थ) हो । यो दोमाङ शिलालाई विभिन्न समयमा गोठालो तथा अरू कसैले आफ्नो गोठमा लगेर राख्दा भोलिपल्ट आफैं नै त्यो दोमाङ शिला फेरि माने भएकै पहिलेकै ठाउँमा पुगेको देखेछ । यो घटना पटक-पटक भएको बताइन्छ ।
यस्तै, जङ्गलमा गोठालोहरूले वस्तुभाउको आवाज सुनिने तर नदेखिने, दुई तीन दिनसम्म हराउने हुँदा पनि यहाँ आएर पूजा आराधना गरे भेटिने गरेको बताउँछन् ।
‘फ्युकुरी’ लाई दुइसुमसाङग्ये त्रिकालदर्शी बुद्ध गुरू पद्मसम्भवको बार्छ्येलामसेल मार्गबाधा निवारण प्रार्थनामा नेपालका तीर्थहरूसँगै नुवाकोट जिल्ला रहेको चाङ्खा ल्ह कविलेश्वर कविलासको लेक तथा डाल्ह भनेर ‘फ्युकुरी’ लाई र देवीघाट समेतलाई उल्लेख भएको साधक लामा गुरूहरू बताउनुहुन्छ । धार्मिक शास्त्रमा यसरी लेखेका छन्-
गाङलागाङदुल कुरत्यननेःचाङखाल्हायील्हथोगतुः
डाल्हाही गेञेन दाम्ला तागःयुलनी छावायी छा श्योद् दुः
सिङल्हयी गेञेन डेक्पा च्यनः ञिश्युचाचिग दाम्ला तागः
माङयुलदेयीज्यामटीनदुः गेलोङश्यीला ङोइडुप नाङः
अनुवाद:
जस्तालाई तदनुरूप विनीत गर्ने रूप देखाई, चङ्खा नामक लेकको शिरमा पुग्नुभयो ।
युद्धका देव (डाल्ह) सँगको मित्रताको वाचाबन्धन गर्मी देश (देवीघाट) मा सम्पन्न भयो ।
सिङगाल्हका २१ अभिमानी धर्मचारी मित्र शत्रुहरूसँग पनि वाचाबन्धन बाँध्नु भयो ।
माङयुलको महाकरूणामयिक ज्ञानका कारण चार भिक्षुहरू सिद्धत्व प्राप्त हुनु भयो ।
यी बार्छेलामसिलका वृत्तान्तले डाल्हा धर्माचारी आदर्श कुशल शक्तिशाली, बलशाली पेकार ग्याल्बोको देश रहेको तिब्बती इतिहासका स्रोतबाट ज्ञात हुन्छ । जसको कारण मनले चिताएको पूरा हुने देवस्थान तीर्थाटन क्षेत्र, ‘फ्युकुरी’ मानिदै आएको छ ।
यसरी नै प्राकृतिक स्रोतका दृष्टिमा पनि ‘फ्युकुरी’ वन क्षेत्रमा, विभिन्न प्रजातिका बार्लु साङ, स्युक्पा, पामो स्युक्पा साङ (धुपी), गुराँस अर्थात् पाटाम्हेन्दो, तामर म्हेन्दोका साथै अनेकन जडीबुटीहरू पाइने, डाँफे, मुनाल, कालिज आदि पन्छी अनि घोरल मृग, बँदेल लगायतका वन्यजन्तुहरू पाइने, असाध्यै मनोरम घना-जङ्गलको टाकुरोमा रहेको हुनाले यस महत्त्वपूर्ण तीर्थस्थलको नाम स्थानीय तामाङ भाषामा फ्युक्पेःरी अर्थात् संवृद्ध र सम्पन्न पर्वतका नामले फ्युकुरी भनेर चिनिएको हो । शास्त्रीय तामाङ भाषामा ‘༼ཕྱུག་།༽’ फ्युग् भन्नाले धनी धनवान्, सम्पत्तिवान् र संवृद्धिलाई बुझाउँछ भने ह्री वा री ले वन-उचो-पर्वत, सर्वोच्च र सम्मानित, उँचो या प्रमुख भन्ने बुझाउँछ । त्यसकारण गुरु री-म्पोर्छे, गाङ–री–म्पोर्छे, ल्ह–री, पाल–री भनिए जस्तै यो टाकुरोलाई फ्युकु–री, नामले चिनिन्छ ।
यो पवित्र धार्मिक वन-पर्वतीय क्षेत्रमा प्राकृतिक र वनस्पति तथा जैविक विविधतायुक्त संवृद्ध हरियाली रही-रहने हुँदा यहाँ पशु चौपाया सम्पत्ति गाई, भैँसी देखि भेडा, च्याङ्ग्रा, याक आदिका गोठहरू राख्ने गरी आएको छ । तसर्थ पशुपालनका दृष्टिले पनि यो क्षेत्र सम्पन्न भएकाले शास्त्रीय तामाङ भाषामा फ्युग्रीक्योङह्युल ‘༼ཕྱུགས་ཀྱི་ཕྱུག་།༽ ༼ཕྱུག་རིགས་སྐྱོང་ཡུལ་།༽’ भनिन्छ । तसर्थ यस फिकुरी वन क्षेत्रले देशको महत्त्वपूर्ण प्राकृतिक संरक्षण क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जलाई समेत छोएको छ ।
यो समुन्द्री सतहदेखि ३,५५० मिटर उचाइमा रहेको छ । यहाँबाट बेलुकीको समयमा काठमाडौंमा झिलिमिली बिजुली बलेको देखिनुको साथै नजिकैको पाबिल, पाल्दोर, गणेश, लाम्टाङ आदि हिमशृङ्खलाहरू देखिन्छ र त्रिशूली, तादी आदि नदीले बनाएको समथर खेतीयोग्य भूमि, अनि वरिपरिका लेकाली खर्क फाँटहरू पनि हेर्न सकिन्छ । मौसम खुलेको बखत देखिने यी मनोरम्-दृष्यहरुले जो-कोहीलाई आनन्द र मनोरमता प्रदान गर्दछ ।
फ्युकुरी तीर्थमा छिमेकका म्यागङ गाउँपालिका किमताङ, बर्सुन्चेत, बोमताङ, देउराली, दोलेप, सावाङ लगायत किस्पाङ गाउँपालिकाकै साङ्गाम, बाल्ची, काउले, मानेगाङको साथै धादिङका कोही-कोही र रसुवा जिल्लाका ठूलोगाउँ, डाँडागाउँ आदिका स्थानीय तामाङ समुदायले परापूर्व कालदेखि नै हरेक ठुलो एकादशीमा लामा तथा बोम्बो सहित मेला भर्न तथा तीर्थाटन गर्न जाने गर्दछन् । तसर्थ यो अलि प्रकाशमा ल्याउन नसकेको ऐतिहासिक, धार्मिक, तथा सांस्कृतिक पर्यटकीय स्थल हो ।
यहाँ पुग्न पहिलो दिन, काठमाडौं बालाजु बाइपास बस स्टण्डबाट ४-५ घण्टाको यात्रामा किस्पाङ गाउँपालिकाको काउले बजार या बाल्चि (भाल्चे) जाने बसमा चढेर ताजी नाम्सा सम्म पुग्न सकिन्छ । दोस्रो दिन काउले बजारमा वास बसेमा त्यहाँबाट ताजीनाम्सा हुँदै लगभग ६-७ घण्टाको उकालो पैदल यात्रा (अघिपछि हिंडने नगरेकाहरूका लागि) पछि ‘फ्युकुरी’ पुग्न सकिन्छ । फिकुरीमा पुगेर टेन्ट, खाने कुरा आदिको जोहो (व्यवस्था) गरी वास बस्नु उपयुक्त हुन्छ ।
‘फ्युकुरी’ पुग्नु अघि थुप्रै ऐतिहासिक पुरातात्त्विक माने कुङकर, सेरकाङ, दिम्साकु (नौ घडेरी) को नजिक हुँदै ज्याकुदा पवित्र पोखरी हुँदै गुराँसको सुन्दर वनै-वन भएर पुगिन्छ ।
किस्पाङ ग्याछो
नेपालमा सङ्घीय गणतन्त्र स्थापनापश्चात् साबिकका मनोकामना, फिकुरी, काहुले, बाल्ची (भाल्चे) र साङ्गाम (साल्मे) पाँच गाविसहरू मिलाएर किस्पाङ गाउँपालिका बनेको हो । फिकुरी, मनोकामना पूरा गर्ने तीर्थस्थलको एक अभिन्न अङ्ग किस्पाङ ग्याछो किस्पाङ पोखरीकै नामबाट गाउँपालिकाको नाम रहेको हो । यो नाम ऐतिहासिक भाषा विज्ञानको व्युत्पत्तिको सिद्धान्त अनुसार हेर्दा तामाङ भाषाको कि साङपी पाङ सङ्लो पानीको मैदानबाट किस्पाङ भएको देखिन्छ ।
शास्त्रीय तामाङ भाषामा ग्या शब्द ग्याल्बो वा राजकीय परम्परासँग जोडिएको भन्ने अर्थ दिएको हुन्छ । यसै पालिकाको नजीकैको बाल्ची गाउँमा यस्तै ग्याल्छयु राजकीय पानीको स्रोत रहेको छ । शास्त्रीय तामाङ भाषामा छ्यु भनेको पानी हो, भने छो शब्दले पानीको ताल वा पोखरीलाई बुझाउँछ । त्यसकारण किस्पाङ ग्या छो पोखरीलाई कसै-कसैले किस्पाङ ग्याम्छो किस्पाङ सागरका रूपमा पनि लिने गरेको पाइन्छ । अहिलेको यथार्थ भौगोलिक वस्तुस्थितलाई हेर्दा यहाँ पहिलेदेखि नै सङ्लो पानीको ताल (पोखरी) र धार्मिक महत्त्वको मैदानसँगै जोडिएको छ । जहाँ, सदियौँदेखि तामाङ समुदायले तीर्थाटन तथा जात्रा मेला भर्दै आएका छन् । यहाँको यो भौगोलिक अवस्थाले तामाङ भाषाको की साङपि पाङ र यसको व्युत्पत्ति किस्पाङ को सार्थकतालाई सिद्ध गरेको देखिन्छ ।
यो किस्पाङ ग्याछो पोखरीको वरिपरि यसको संरक्षण गर्दै हजारौँ वर्ष देखि बसोबास गर्दै आएकाले तामाङ समुदायलाई ग्याछो भनेर भनिन्छ ।ग्याछो यहाँको एक तामाङ थर हो । यिनीहरूको दाजुभाइ रसुवा जिल्लाको आमाछोदीङमो गाउँपालिकाको गलाङका छेक्पाल, नोर्याङ र तेबा थरका तामाङहरू हुन् । यिनीहरूको पनि सम्बन्ध छो-दीङ-मो पोखरीसँग रहेको विश्वास गरिन्छ । किस्पाङ ग्याछो पोखरी आसपासको सम्पूर्ण जमिन तथा क्षेत्र पनि ग्याछो थरका तामाङ समुदायकै अधीनस्थ हक भोगमा रहेको छ । यहाँ यी ग्याछोहरूको नजिक मानिनेले अरू थरका तामाङ दाजुभाइ पनि छैन ।
किस्पाङमा हरेक बोइतापालाछेपागी मङ्सिर महिनाको ठुलो एकादशीमा ठुलो मेला लाग्ने गर्दछ । धादिङ, रसुवा र स्थानीय अरू पालिकाहरूबाट पनि मेला तथा तीर्थ भर्न आउने गर्दछ । किस्पाङ र ‘फ्युकुरी’ मा एकै दिन मेला जात्रा लाग्ने भए पनि यहाँ आउने बोम्पोहरू र लामाहरूले दुवै तीर्थ एकै साथ जाँदैनन् । यहाँ आउने लामा तथा बोम्पोहरू फिकुरी उक्लँदैन भने फिकुरी उक्लेकाहरू पनि फिकुरीबाट झरेर किस्पाङ ग्याछोमा मेला भर्न नजाने परम्परा रहेको छ तर सर्वसाधारणहरूले भने दुवै तीर्थ पुग्ने र पूजा आजा सहित तीर्थाटन र मेला भर्ने गर्दछन् ।
यो बोइतापालामा लाग्ने किस्पाङ र ‘फ्युकुरी’ तीर्थको मेला तीन दिनसम्म चल्ने गर्दछ । पहिलो दिन, एकादशीको एकदिन अगावै साँझ बोम्पोहरू किस्पाङ पुगेको हुन्छ । त्यसै दिन ‘फ्युकुरी’ जानेहरू ज्याकुदासम्म पुगेका हुन्छन् । अन्य स्थानहरूबाट किस्पाङ पुगेका सर्वसाधारणहरू पनि एकादशीको एका बिहानै १-२ बजे तिर अँध्यारो छँदै उज्यालो नहुँदै किस्पाङको ल्हा–छेन (महादेव)लाई दूध चढाएर ‘फ्युकुरी’ पुगेर तीर्थाटन गरी बेलुकी किस्पाङमा जात्रा भर्न आइपुगेको हुन्छन् । किस्पाङमा अघिल्लो दिनदेखि एकादशीका रातभरी बोम्पोहरू, लामाहरूले पूजा आराधना गरी रहेका हुन्छन् भने सर्वसाधारणहरू म्हेन्दोमाया गीत, नृत्य तथा अन्य मनोरञ्जन गरेरै रात काट्ने गर्दछ । एकाबिहानै सबै तीर्थालुहरू आ-आफ्नो गाउँतिर फर्कने गर्दछन् । यसरी किस्पाङ ग्याछोसँगैको किस्पाङ मैदानमा तीन दिनसम्म स्थानीयहरूले व्यापारिक प्रयोजनले सुत्ने व्यवस्था, खानाको पसल, खाजा, चिया अन्य स्थानीय लत्ताकपडा आदि बेच्न दोकानहरू राखेका हुन्छन्।