मानिस आफ्नो जङ्गली अवस्थामा नै रहँदा यस्तो किसिमको अदृश्य शक्तिबाट बच्न अनेक आकार- प्रकारका वस्तुहरुको निर्माण गर्ने गर्दथ्यो । पछि, मानिस सभ्य हुँदै गएपछि उसले अनेक रुपमा देवदेवीहरूको मूर्ति बनाएर पूजा गर्ने परम्परा विकसित गरेको हो ।
परिचय
सामान्यतया: मूर्ति शब्दले कुनै देवता वा कलामा प्रस्तुत गरिएको मानव रुपको प्रतिकृति बुझाउँछ । प्राचीन संस्कृत साहित्यहरूमा मूर्ति बुझाउन अर्चा, वेर, विग्रह, रुप, बिम्ब, प्रतिकृति, प्रतिबिम्ब तथा प्रतिभाजस्ता शब्दहरुको प्रयोग गरिएको छ । यी सबै शब्दहरुको अर्थ लगभग एकै किसिमको हुन्छ । अंग्रेजी भाषामा मूर्ति बुझाउन इमेज (Image) तथा आइकन् (Icon) शब्दको प्रयोग भएको पाइन्छ ।
इमेज शब्द ल्याटिन भाषाको ‘इमेगो (Imago)’ शब्दबाट बनेको हो, जसको अर्थ पनि प्रतिकृति नै हुन्छ । आइकन शब्द भन्ने ग्रीक भाषाको ‘इकन (Eikon)’ शब्दबाट बनेको हो, यस शब्दले पनि पूजा गर्न निर्माण गरिएको देवता वा ऋषि मूनिको मुर्ति वा प्रतिमाको अर्थ बकेको छ ।
कलामा प्रस्तुत गरिएका यस्ता मूर्तिहरूलाई यिनीहरूको बनावट, शैली, निर्माणका साधन वा समय आदिको आधारमा कलाकारिताको दृष्टिकोणले अध्ययन गर्दा अंग्रेजीमा आइकोनोग्राफी (Iconography), संस्कृत भाषामा प्रतिमा-विज्ञान तथा नेपाली भाषामा मूर्तिकला शब्द प्रयोग गर्ने गरिन्छ ।
मूर्तिपूजाको परम्परा
मूर्तिपूजाको परम्परा कहिलेदेखि सुरु भएको हो भन्ने बारेमा स्पष्ट रुपमा केही भन्न सकिदैन र युरोपका विभिन्न प्राचीन गुफाहरू दोर्दोग्ने, आल्तामिरा, क्यास्टिलो, क्यान्टोव्रिया आदि विभिन्न गुफाहरुको अध्ययन गर्दा ढुङ्गेयुगकै मानव समूहले साधारण रुपमा प्रस्तर कलाको विकास गरेको देखिन्छ । यसरी हेर्दा त अत्यन्तै प्राचीन समयदेखि नै कुनै-कुनै रुपमा मूर्ति बनाइने गरेको तथा पूजा हुने गरेको बुझ्न सकिन्छ । प्राचीन मिश्र तथा बेबिलोनियाबाट पनि प्राचीन नमुनाहरूबारे जानकारी पाइएको छ ।
यहाँ भारतीय उपमहाद्बीपमा भएको मूर्तिपूजाको परम्पराबारे संक्षेपमा वर्णन गरिएको छ ।
सिन्धु घाटीको सभ्यता: सिन्धु घाटीको सभ्यता वैदिक युगभन्दा प्राचीन मानिन्छ । आधुनिक समयमा यो सभ्यताको समय इ.पू. २,८०० -२,००० मान्ने चलन छ । देवभक्ति वा पूजाको परम्पराबाट सिन्धु घाटीका वासिन्दाहरू अनभिज्ञ थिएनन् भन्ने तथ्य, प्राप्त विभिन्न कलाका नमुनाहरूबाट बुझ्न सकिन्छ ।
मोहन्जोदडोको उत्खननबाट पाइएका पूजारीको शरीरको माथिल्लो भागको प्रस्तर मूर्ति र नर्तकीको काँस्य मूर्ति तथा हरप्पाबाट पाइएको एक नृत्य मूर्ति र अर्को एक प्रस्तर मूर्ति; त्यस युगका उत्कृष्ट कलाका नमुना हुन् । त्यहाँकी नर्तकीको मूर्ति दाहिने खुट्टामा उभिएर देब्रे खुट्टा अगाडिपट्टि उठाएको सजीव र गतिशील मुद्रामा प्रदर्शीत छ । यहाँ मातृदेवीका मृण्मय मूर्तिहरू पनि पाइएका छन् । यहाँ पाइएको माटोको एक छापमा योगमुद्रा त्रिमुखधारी शिव पशुपतिको चित्र अङ्कित गरिएको छ । शिवलिङ्गका रुपमा विभिन्न प्रस्तरका आकृतिहरू पनि यहाँ पाइएका छन् । यी सबै तथ्यहरुबाट सिन्धु सभ्यतामा नै मूर्तिपूजा भारतीय महाद्बीपमा प्रख्यात भइसकेको तथ्य स्पष्ट हुन्छ ।

Seal, 2500–2400 B.C.E., steatite, Mohenjodaro, Indus Valley Civilization (National Museum Delhi)
ऋग्वैदिककाल: ऋग्वेदमा वर्णित समाज नै ऋग्वेदिक युग वा प्राचीन वैदिक युगको नामले चिनिन्छ । यसको सर्वमान्य समय इ. पू. २,०००- १,००० मानिएको छ । ऋग्वेदको अध्यनन विभिन्न भारतीय तथा पश्चिमका विद्बानहरूले गरेका छन् । ऋग्वेदका विभिन्न मन्त्रहरूले विभिन्न देवी-देवताहरुको प्रार्थना गरेका छन् । पृथ्वीका, आकाशका, अन्तरिक्षका भनेर विभिन्न देवी-देवताहरूको नाम ऋग्वे दका मन्त्रहरुले उल्लेख गरेका छन् । तर ,सो युगमा मूर्तिपूजा हुन्थ्यो कि हुँदैन्थ्यो भन्ने बारेमा भने विद्बानहरुमा मतभेद पाइन्छ ।
प्राचीन वैदिक साहित्यको ज्यादै सूक्ष्म ढङ्गले अध्ययन गर्नै म्याक्समूलर (Maxmuller), म्याक्डोनल (Macdonell), एच्. एच्. विल्सन (H.H Wilson) जस्ता विद्बानहरुले वैदिक आर्यहरू मूर्तिको निर्माण गर्न जान्दैनथे भन्ने विचार व्यक्त गरेका छन् । उनीहरुको भनाइमा तात्पर्य के हो भने वैदिक साहित्यहरुमा मूर्तिकलाको कुनै सङ्केत पाइँदैन । यस भनाइप्रति कतिपय भारतीय विद्बानहरुले आपत्ति जनाएका छन् । उनीहरूले र ऋग्वेद तथा अन्य विभिन्न वैदिक साहित्यहरूको उद्धरण दिएर मूर्तिपूजा आर्य समाजमा अत्यन्तै प्राचीन समयदेखि नै विद्यमान थियो भन्ने विचार व्यक्त गरेका छन् । ऋग्वेदमा उल्लेख भएका मूर्ति बुझाउने केही वाक्यहरु निम्नबमोजिम छन्,
दिवोनरश् (आकाशको मानव) तथा नृपेशस् (मानिसको आकार भएको )- जस्ता शब्दहरूले मानवीय रुपका देव प्रतिमाको सङ्केत गर्दछन् । ऋग्वेदमा नै उल्लेख भएको स्थिरेभिरङ्गै पुरुरुपउग्रो बश्त्रु: शुक्रभि: पिपिशे हिरण्यै वाक्यबाट रुद्रको सङ्गठित रुपको सुनौलो रङ्गबाट रंगाएको प्रतिमा भन्ने बुझिन्छ भने इन्द्रस्य कर्ता स्वपस्तमो भूतबाट इन्द्रलाई बनाउने वाला निकै सिद्धहस्त कालिगड भएको भन्ने तथ्य स्पष्ट हुन्छ । अझ एक ठाउँमा त स्पष्टरुपमा क इमाम् दकभिर्म मेन्द्रमं क्रीणाति धेनुभि: कसले मेरो इन्द्रलाई (इन्द्रको मूर्तिलाई) दस गाईमा किन्छ भनेर स्पष्टरुपले इन्द्रको मूर्तिको बारेमा जानकारी दिइएको छ ।
ऋग्वेदमा उल्लेख भएका उपर्युक्त तथ्यहरूबाट तत्कालीन समाजमा देव प्रतिमाहरूको निर्माण गर्ने तथा मूर्तिपूजा गर्नै चलन थियो भन्ने तथ्य स्पष्ट हुनआउँछ ।

Left: A yakshi and yaksha at Bharhut stupa, 1st century B.C.E., Madhya Pradesh (photo: public domain); Right: Mithuna, Karle Caves, Maharashtra, 2nd century (photo: Photo Dharma, CC BY-2.0).
यजुर्वेद: ऋग्वेदपछिको यजुर्वेदमा पनि देव प्रतिमाहरूका बारेमा उल्लेख भएको पाइन्छ । यजुर्वेदको ठाउँमा देवताको मूर्तिलाई लक्ष्य गर्दै एक व्यक्तिले स्वया तन्वा तनुमैरायत (तिम्रो आफ्नो वास्तविक शरीरका साथमा यसमा प्रवेश गर) भनी प्रार्थना गरेको पाइन्छ भने यजुर्वेदमा नै प्रतिमा शब्दको उल्लेख पनि गरेको छ ।
ब्राह्यण साहित्यहरू: विभिन्न ब्राह्यण साहित्यहरूबाट मूर्तिपूजा सम्बन्धी थुप्रै उदाहरण पाइन सकिन्छ । तैत्तिरीय ब्राह्यणमा तिस्रोदेवी हिरण्यमयो भारती महती मयी भनेर स्पष्टरुपले तीन देवीहरुका सुवर्ण प्रतिमाहरूको उल्लेख परेको छ । षड्विंश ब्राह्यणमा विभिन्न रुपका (हाँसिरहेका, रोइरहेका, उफ्रिरहेका, खाइरहेका ) देव- प्रतिमाहरूको वर्णन गरिएको छ ।
उपनिषद् साहित्यहरू: विभिन्न उपनिषद् साहित्यहरूबाट पनि थुप्रै प्रकारका प्रतिमा पूजाको उदाहरण पाइन्छ । श्वेताश्र्वर उपनिषदमा न तस्य प्रतिमा अस्ति यस्य नाम महद् यश: (जसको नाम यश ठुलो छ, उसको मूर्ति नै बनाइरहनु पर्दैन) उल्लेख छ भने ज्वालोपनिषदमा अग्निको मूर्तिको उल्लेख आएको छ ।
आरण्यक साहित्यहरू: विभिन्न आरण्यक साहित्यहरुले पनि विभिन्न देव प्रतिमाहरूको उल्लेख गरेका छन् । ईन्द्रमपकरितन्वं ममे (इन्द्रको मूर्ति मैले बनाएको हो) तथा प्रतिमाऽसि (तिमी मूर्ति हौ) जस्ता शब्दहरूका साथै देव-देवीले लगाउने गहना र पोसकहरूको वर्णन पनि आरण्यक साहित्यहरुमा परेको छ ।
सूत्र साहित्यहरू: विभिन्न गृहसूत्रहरूबाट त्यस बेला मूर्तिपूजा गर्न परम्पराबारे जानकारी पाइन सकिन्छ । यस युगमा आएपछि यज्ञ यज्ञादिको महत्त्व कम हुँदैगयो र पूजापाठको परम्परा विकसित भयो । अब आएर घर- घरमा देव प्रतिमाहरूको स्थापना हुनथाल्यो । गृहाय गृहदेवताभ्य वास्तुदेवताभ्य जस्ता मन्त्रहरू बढी उच्चरित हुन थाले । यस युगमा मूर्ति खरीद बिक्री हुने गरेको, तर समाजले यसप्रति त्यति राम्रो धारण नराखेको कुरा पनि केही प्रसङ्गहरूबाट बुझ्न सकिन्छ ।
विभिन्न स्मृतिहरूले त देव प्रतिमाहरुको पूजाविधिबारे पनि वर्णन गरेका छन् । देव प्रतिमाहरूलाई दाहिने पारेर घुम्नुपर्ने तथा देवस्थलहरूमा जाँदा रथबाट निकै परै ओर्लेर जानुपर्ने नियमहरु बनाइयो ।

Vishnu as the avatar Varaha rescuing Bhudevi, the goddess earth, Udayagiri cave no. 5, 5th century, Gupta period, Madhya Pradesh (photo: Asitjain, CC BY-SA-3.0)
महाकाव्यहरू: रामायण तथा महाभारत जस्ता महाकाव्यहरूबाट पनि प्रतिमा विज्ञानको विकासबारे बुझ्न सकिन्छ । रामायणमा उल्लेख भएका प्रसङ्गहरूबाट हेर्दा उत्तर भारतको अपेक्षा दक्षिण भारतमा बढी संख्यामा मन्दिरहरू भएको तथा लङ्कामा समेत प्रतिमोपासना हुने गरेको बुझिन्छ । रावण स्वयं शिवको स्वर्णलिङ्ग स्थापित गरेर पूजा गर्दथे । स्वययं रामले बालुवाको शिवलिङ्ग बनाएर स्थापित गरेका रामेश्वरको मन्दिर तथा अयोध्यामा अश्वमेघ यज्ञ गर्दा स्थापना गरिएको सीताको स्वर्ण प्रतिमा पनि यहाँ उल्लेख्य छ ।
महाभारतका विभिन्न प्रसङ्गहरूबाटै पनि प्रतिमा उपासनाबारे जानकारी पाइन सकिन्छ । महाभारतमा उल्लेख भएका नन्दीश्वरस्य मूर्ति तु दृष्ट् वा मुच्यते किल्विषै: (नन्दीश्वरको मूर्तिको दर्शन गर्नाले सबै पापबाट मुक्त होइन्छ) तथा ‘जेष्ठिल तीर्थमा भएको विश्वेश्वरको पत्नीसहितको प्रतिमा’ वाक्यबाट त्यस बेला मूर्तिपूजा निकै व्यापक भएको बुझ्न सकिन्छ । ब्रह्माको प्रतिमाको दर्शन र पूजन गर्नाले राजसूर्य यज्ञ तथा अश्र्वमेध यज्ञ गरेको फल प्राप्त हुन्छ भन्ने उक्ति पनि महाभारतमा नै परेको छ ।
महाकाव्यहरूपछि लेखिएको विभिन्न पुराणहरू तथा अन्य वर्णनहरूबाट पनि मूर्तिपूजाका विविध पक्षहरुबारे जानकारी पाइन सकिन्छ ।
ऐतिहासिक युगको आरम्भ भएपछिका मूर्तिहरू त अद्यापि विभिन्न संग्रहालयमा सुरक्षित छन् । इसापूर्व तेस्रो/चौथो शताब्दीको समय तोकिएका विभिन्न यस्ता नमुनाहरू भारतका विभिन्न क्षेत्रबाट उपलब्ध भएको छ । नेपालमा पनि इसापूर्व पहिलो शताब्दीदेखिका यस्ता कला नमुनाहरू उपलब्ध भएका छन् ।
यी सबे यथार्थहरुबाट के स्पष्ट हुन्छ भने मानिसले निकै प्राचीन समयदेखि नै प्रतिमाको निर्माण गर्ने तथा उपासना गर्ने परम्परा विकसित गरेको थियो । धर्मको एक प्रमुख आधार भय वा त्रास हो । मानिस आफ्नो जङ्गली अवस्थामा नै रहँदा यस्तो किसिमको अदृश्य शक्तिबाट बच्न अनेक आकार- प्रकारका वस्तुहरुको निर्माण गर्ने गर्दथ्यो । पछि, मानिस सभ्य हुँदैगएपछि उसले अनेक रुपमा देवदेवीहरूको मूर्ति बनाएर पूजा गर्ने परम्परा विकसित गरेको हो । (नेपालको कला र पुरातत्त्वबाट)

Tenth-century Nepalese stone sculpture of Vishnu seated on the anthropomorphic sunbird, Garuda, the Patan kings, as Vishnu incarnate, were borne by the Garuda of the gilded throne. Photograph Mary Slusser.