बुधबार , जेठ १३, २०८३

नवीन प्राचीनसँग ‘प्वाँखका कुरा’

पखेटा कि पिँजडा’को बिम्बमा अल्झिएको नेपाली साहित्यलाई ‘फ्याट्ट गुलेली हान्दिम हान्दिम’ जस्तो लाग्दैन दाइ ? कति प्वाँख टिपेर बस्नुहुन्छ भनेर सोधेको नि !

image

हिलोमा थिएँ
मन परिरहेथिएन हिलो
कसोकसो ओभानोमा आइपुगेँ

अहिले थाहा पाउँदै छु 
कमलको बिउ पो रहेछु 

शीर्षक बेगर कविता लेख्ने नवीन प्राचीन दाजूसँग मेरो फिजिकल भेटघाट जुरेको छैन । शाब्दिक भौतिकतामा भने हाम्रो गतिलै सानिन्ध्य्ता छ । दुई-चार कविता बाहेक उति मैले उनलाई पढेको पनि होइन । दुई-चार कविता पढेकै भरमा उनीसँग एक्सपेरियन्सियल भेटघाट फेरी भइरहेकै हो । उहीँ कुरा, सङ्कोच र कौतुहलताबीच टेकु घाटमा पहिलो भेटकै पहिलो लटमा प्रेमिकाज्यूलाई ‘मेरो जीवन त यहि हो’ भनेजस्तै । जलेको लास देखाएर यसो भन्दा प्रेमिकाज्यूले बडो सङ्कोची अन्दाजमा एउटा बात फ्याक्नुभएथ्यो- ‘यसरी टाउकोहरू पड्किन आवश्यक छ, नत्र संसारबस्न योग्य रहदैन ।’ त, यि-य-स्ता एक्सपेरियन्सियल भेटघाटलाई ज्यादै महत्व दिने ‘महत्त्वजीवि रहेछ यो’ भनेर तपाईंले ममाथि आफ्नो पूर्णविराम धस्काइदिए हुन्छ । प्वाँखसँगको मेरो भेटघाट पनि यी-य-स्तै भेटघाट हो ।

अब मलाई पूर्णविरामको कुरा गर्नुछ । अन्तयहीन जीवानाकाशमा कुन चाहि टपरटुइयाले हो पूर्णविरामको आविष्कार गरिमोरेछ ! तान्दातान्दै फुत्किजाने जीवन भोगाईका हरेक वाक्यपिच्छे पूर्णविराम धस्काउनुपर्छ भनेर बताइमोरेछ ! आजसम्म कति पूर्णविराम लगाइयो होला, कतिपटक ‘यो भेट अन्तिम’ भनियो होला तर, त्यस्तो कहाँ भयो र ? तर, ‘गए है भनेर गएकाहरू आइ त गएँ’ भन्दै आइरहेकै छन् ! यसबीच धेरैधेरै कविताहरूले पनि मसँग यस्तै बदमासी गरे ।

यहाँनेर मैले चाहिँ पूर्णविराम धस्काइदिएँ, तर उनले आफ्नो नवीनतम (प्राचीनतम?) कविता संग्रह प्वाँखमा, कविताहरूमा भने कतै पूर्णविराम धस्काएको भेटिएन । ‘वाक्यको पूर्ण रूपमा अन्त्य भएपछि पूर्णविराम चिह्नको प्रयोग गर्नुपर्छ’ भन्ने भाषिक मान्यतालाई ‘ए है, लै लै’ गरिदिएका यस अन्दाजलाई मैले चाख दिएर हेरेकै हो, घत मानेर नियालेकै हो, क्वारक्वार घुरेकै पनि हो । पूर्णविराम नधस्काइदिनु भनेको ‘कविता बाँकी छ है’ भन्न खोजेका हुन् भनेर मैले बुझ्दिएँ । ‘म प्रयत्नरत छु’ भनेका हुन् भनेर ठानिदिएँ । नभए पनि के ? बाँच्नैपर्ने जीवनको सामयिक बाध्यतालाई लौ त कसैले पूर्णविराम लगाएर देखाइदिओस् ! लौ लौ, यी-य-स्ता कुराहरूमा पूर्णविराम धस्काइदिएर अगाडी बढौँ, यतै अड्किजाँदा बात बनिरहन्न ।

मैले प्वाँखसँगको एक्सपेरियन्सियल भेटघाटबारे चर्चा गर्न चाहेको थिएँ । ‘भेट हुनु अगाडिको कुरा भेटेर सुनाउँदा भेट पछि याद रहन्छ भन्छन्’ भन्ने मेरो कुनै कविताको यी वाक्यहरू मलाई यतिखेर याद आयो, सो म यहाँ सोही यादलाई यादगार बनाउन गइरहको छु ।

दाजूको एउटा म्यासेज आइपुगेको रहेछ, “किताब पाउनुभयो रे भन्ने सुनेँ (पूर्णविराम यहाँ पनि छैन) । गाली गर्नुस् न् । कसैले मुख छोडे हुन्थ्यो जस्तो लागेको ।” यो म्यासेजमा कतै न कतै एउटा आग्रह छ । र, आग्रह यसप्रकार छ- ‘मेरो संग्रह पढ्नेहरूले मैले के-कस्तो कविता लेखेछु भनेर मलाई भन्दिनु पर्दैन ? मेरा कविता पढेर एक्लै एक्लै रमाउने, हास्ने, रुन्चे हुने, घुर्माइलो हुने तर, मलाई ढुकढुक बनाइदिइरहने ? मलाई चाहिँ केहि नभन्ने ? अलिकता भन्दिए के जान्थ्यो ? अलिकति बोल्दिए के हुन्थ्यो र आदिआदि !’..

पाठक प्रतिक्रियाको सवालमा मलाई एउटा कुरा याद आइराख्छ, ‘कवि आशा राख्छ  कि उसले आफ्नो रचनामा देखेको गहिरो महत्त्व, कुनै सटीक वर्णन अरूले पनि देख्लान् ।’ यो कसले भनेको कुरा हो भन्ने कुरा चाहिँ याद आएन । अत: कवि (म पनि हू क्यार) भुल्दछ पनि ।

त, प्रशंसा गर्दिएरै जीविका चलाउनेहरूको भिडबाट म भागीरहेकै हूँ, तर आफूलाई कुनै संग्रह मन परेको छ र, पाठकीय प्रतिक्रिया लेखौँ लागिरहेकै बेला संग्रहकारले पनि ‘मन चोरीदिँदा, इशारा गरिदिँदा’ किन नगर्नु भनेर यी कथन वान्ता गरेको हूँ, नत्र यतिखेर खालिखुट्टै कतै दौडिएर पैताला र जमिनको आदिम सम्बन्धलाई केलाइरहकै हुने थिएँ ।

उर्लीऔँ
भलै खहरे
आफ्नै बाँध त भत्काऔँ

मिसीऔँला नदीमा
या सुकिजाऔँला
बगरको तिर्खा पासोमै

आऊ
आज दौडिऔँ खालीखुट्टै
सम्झाइदिऔँ, पैताला र जमिनलाई
उनीहरूको आदिम सम्बन्ध

ज्यादा गन्थने पो हुन् लागेँ क्यार ! निचोड पस्किन खोजौँ, या भनौँ निचोरिन खोजौँ ।

संग्रहमा उतिसाह्रो प्रवाह, शिल्पकारिता या विशिष्ट कुरा छैनन् । संग्रह छरिएको छ, छरपष्ट छ, छताछुल्ल छ, वालछयाल छ, छयालब्याल छ.. । छरिएको चीजलाई बटुल्ने पनि होइन, सजाउने हो । यहाँ सोही ‘कुकर्म’ भएको छ । मलाई लाग्दछ, ‘प्वाँख भुइँसम्म आइपुग्ने कुरा हो, पोखिने कुरा हो । र, प्वाँखको मुहान पखेटा हो, पखेटाको मुहान स्वतन्त्रता र स्वतन्त्रको मुहान एउटा हठ, आँट ।’ नवीन प्राचीनको यो आँट पोखिएको छ, पोखिएर भुइँसम्म आइपुगेको छ । उनीसँग एउटा गजब कुरा चाहिँ के छ भन्दा, उनको विश्लेशणात्मक बुद्धि होसियार र समझदार छ (यो भनेर फेरी मैले उनलाई कुनै प्रमाणपत्र दिएको चाहिँ होइन) । नत्र यी कुरा कता भनिन्थे र ?

कसैकसैले
तिम्रो हृदयमा 
घृणाको अगुल्टो झोसिदीन सक्छ

आफ्नो हृदयको बारुद
सुरक्षित राख्नु

त्यसमा अगुल्टो पर्न नदिनू

ऊ एकछिन धुवाँएर 
आफैँ निभ्नेछ

कविकुन्ज मैतीदेवी फाँटदेखि महाकवी देवकोटाले भनेकै थिए, “साहित्यमा सापेक्षता अवस्वयंभावी छ भन्ने कुरामा जरुर लम्वा बहस उठाउन चाहन्न । हामी सायद धेरैजसो मान्न सक्दछौँ कि बुद्धिपक्षको प्रवलताको रचना शास्त्र हुन्छ, भावनाको आधिक्य छ भने पागलको प्रलाप पनि हुन् सक्तछ; तर संगीतशील छ भने महोच्च कला पनि ।” प्वाँखमा कतै झारपटास कुरा नआएको होइन, कतै पलाँस पनि नआएको होइन ।  उहाहार्णर्थ प्रशस्त पलाँसहरू पस्किसकेको हुनाले ‘थोरबहुत झारपटास’लाई पस्किन अल्छी लाग्यो । भन्नुस न्, मलाई मन नपरेको कविता तपाईंलाई मन पर्न के बेर ? उहीँ, अनन्त अनुरागकै कुरा- ‘लगाउनेलाई धन्यवाद, तिनै दाग बुट्टा भएका छन् ।’

यसर्थ, जिन्दगिले बोकेका कुराहरू असंख्य छन, तिनको गणित गरिन्न । लेख्नुबाट प्राप्त हुने सुखलाई जसरी यतिखेर म बिसाउन सकिरहेको छैन, सोही हाल प्राचिन दाजूको पनि छ । ‘आफ्नै र आफैँले भोगेका कुरा भन्न नसक्नुको पीर सबभन्दा तीव्ररुपले घट्छ’ भन्ने राममणि रिसाललाई सम्झदै म यहिनेर ‘अस्तु’ गर्दिएर फुत्किन्छु किनभने पाठक प्रतिक्रियाको नाम दिएर विसंगत जीवनको स्मृति कथा कता पो फलाक्न थाल्नु ? पत्रकारिताबाट निस्सारिरहेको वर्तमान खेपमा यो लेखिरहँदा ‘म प्वाँख भएको छु !’ अब उडु..अब भुई छुऊ..!!

अस्तित्वलाई जब 
कविता सुन्ने इच्छा हुन्छ 

उसले कवीलाई 
मध्यरातमा ब्युँझाइदिन्छ 

(र, मैले यहाँनेर लेख्नुपर्ने हुन्छ, मुन्याड अन्तर्वार्ताको नाममा जुनकुरा छापिएको छ, त्यो मैले प्वाँख नपढ्दै गरेको हूँ । र, दाजू भन्नुहुन्थ्यो, ‘दुई लाइने कविता लेख्ने मलाई तपाईंका आठ लाइने प्रश्नले तर्साएँ !’ बाँकी त यहि छँदै छन्..!)

नवीन प्राचीनसँग कविताका कुरा

हाउ दाजु, खसी त जानु भयो । ‘प्वाँख त खस्छ पो त, पखेटा हो उड्ने । होइन र ?’ मैले आफ्नो फ्ल्याटको हरेक झ्याल-ढोका बाहिर परेवा-काग-सारौँ र सेतो हाँसको दुई-दुई वटा प्वाँख राखेको छु । अहिले सोचिराछू कि, ती प्वाँखहरूले यो ‘प्वाँख’लाई भेटेपछि के भन्दा हुन् ? के सोच्दा हुन् ?

खसेकै हो ।
थाहा छैन,
तर उनिहरूलाई साथी भेटे जस्तो लाग्यो भने म खुसी हुनेछु ।

उभिएर एक्लै’ नै पढेको छैन । ‘प्वाँख’ पनि कुन्नि । फेरी पनि म तपाईंलाई प्रश्न गर्न तम्सिएको छु । नढाँटी भन्दा आजभोलि म कविता संग्रह पढिरहेको छुइनँ । फुटकर कविता चाहिँ भेटेसम्म छोड्दिन । त्यता नअघाउँदा, कविताकोशतिर भौतारीरहनु मेरो दिनचर्या भएको छ । अलि अगाडी महेश क्षितिजको ‘एक्लो महारथी’, नेत्र एटमको ‘प्रिय मौनता’, असिम सागरको ‘क’ र इश्वर वल्लभको ‘कस्मै देवाय’ पढेको थिएँ । राजा पुनियानी, नवीन अभिलाषी, मुक्तान थेवा र चन्द्र गुरुङको संग्रह मकहाँ आइपुगेकै छैन । तपाईंको सुनाउनुस दाइ, ‘कविता लेख्दालेख्दै छाप्दिम छाप्दिम लाग्यो’ कि ‘छाप्नुछ, यसैले लेख्दिम लेख्दिम लाग्यो ?’

समय सँगै कविताहरु भेला भएछन् ।
अब हामी आफ्नो यात्रा आँफै गर्छौँ भने,
मैले हुन्छ भन्दिएँ ।

‘कहिल्यै जवाफ नआउने प्रश्नहरु तिखा हुँदा रहेछन्’ भन्नुहुन्थ्यो । मलाई एउटा फाल्तु कुरा याद आइराछ । भनौं ? नवीन प्राचीन भन्ने मान्छे (कविता) कति प्राचीन हो ? कति नवीन हो ? छोड्नुस, अरू केहि सोध्छु । ‘जीवनमा अनिश्चितता मात्र सुनिश्चित छ’ भन्ने तपाईं र म ‘मुभी म्यानिएक्स र साइक्लिङ एण्ड टुरीङ क्लबमा’ पनि सँगै रहेछौं । दाजुभाई कीर्तिपुरको भट्टी छिर्ने कुरा पनि थियो । यता अस्ति नवराज पराजुलीको अन्तर्वार्ता माग्दै हुनुहुन्थ्यो । हामीले कोरोना कालमा सँगसँगै इतिहासका केहि पृष्ठ पनि पल्टायौं क्यार । प्रश्न बिर्सियो, बाँकी कुरा तपाईं थप्नुस यार..।

हरेक दिन नयाँको दाबी गरिरहँदा आफूभित्रको कोही अट्टाहस गरिरहन्छ यार ।
मलाई थोरबहुत सबैथोकमा रूची छ।
समय हुँदा म लगातार स्कृन अघी बसेर सकेजति मूभी हेर्थेँ ।
महिनौँ घर बाहिर यात्रामा हुन्थेँ ।

दाजुभाई कुनैदिन किर्तिपुरको भट्टी छिरिएछ भने सँगै तातो पानी पिएर फर्कौँला नि है ?
बाँकी कुरा चाहीँ म तपाईंको यात्राबारे उत्साहित र जिज्ञासु छु ।

यता जगदीश घिमिरेको ‘साबिती’ मन्चन हुने भन्दै छन् । उता कार्की गाउँ पुगेर खहरे खोलामा हाम्फ्याल्नु छ । यता, कमलादीको सेतो गणेशले त्रिभुवनलाई आशिर्वाद दिएपछी नै महेन्द्र जन्म्या हुन् त भनेर थाहा पाउनु पनि छ । आज बिहान बहिनिले भनी, ‘रात ओशो बजाएर को निदाउछ बे ?’ यो सब बीच म तपाइँलाई भन्न खोजिराछु कि ‘मेरो मन तिम्रो त्यहि कहिल्यै नबदलिने तस्बीरसँग प्रेम गर्छ ।’ गर्छ नि यार दाई..।

एक समय म पनि ओशोलाई बोल्न लगाएर निदाइदिन्थेँ ।
धेरै भयो अचेल उनि सँग भेट हुन छोडेको ।
अचेल हामी आ-आफ्नै यात्रामा छौँ ।
घरीघरी उनि सम्झनामा आएर मुस्काउँछन् म परैबाट श्रद्धापूर्वक हात जोडेर बिदा माग्छु।

तर अचेल नि.
म बदलिरहने कुरालाई पनि उत्तिकै प्रेम गर्न सिक्दैछु यार ।

यता ‘चे ग्वभेरा’ बनेर बस्न साह्रो परिराछ हाउ दाजू । अभाव र अवव्यस्थासँग लड्न/जुध्न खोज्दा एउटाले फ्याट्टै भन्दिन्छ, “इपीएस एक्जाम दिँदै छु, म गाइ फर्म स्याहार्न जान्छु हो आबो ।” हरेक चे ग्वभेराहरू स्वतन्त्रता र प्रजातान्त्रिक दिनहरूलाई पिठ्यूँ फर्काइदिएर कुलेलाम ठोक्न खोजिराछन् । यता म लेखिरहेको हुन्छु, “आकाशमा ताराहरू छैनन्, कता हराए ? यार..मैले आफूलाई आकाश किन ठानेको ?” तपाईं क्यानडा गएर के पो लेख्दै हुनुहुन्छ ? प्वाँख बटुल्न कति समय लाग्यो हँ दाजू ?

आकाश एकै समय रित्तो र पूर्ण देखिने भएर होला,
तपाईं लाई आफू आकाश लागेको ।
म क्यानडा आए देखी जिन्दगीले मलाई लेखिरहेको छ।
‘उभिएर एक्लै’ पछि समयले बिस्तारै प्वाँख हालेछ, मैले समेत थाहै नपाई ।

जनता नाङ्गो खुट्टा हिड्दा साहित्य उसको बाटोको काँडा टिप्दै अघिअघि हिड्थ्यो । यसलाई कथा मान्दिऊ । आजभोलि जुत्ता कसेर हिडेका जनताको तुनो फुस्काउन साहित्य लागिपरेको छ । साहित्यकारहरू पूर्ववत् मान्यताका भाटगिरीबाट कहिल्यै नअघाउने रहेछन् क्यारे ! ‘पखेटा कि पिँजडा’को बिम्बमा अल्झिएको नेपाली साहित्यलाई ‘फ्याट्ट गुलेली हान्दिम हान्दिम’ जस्तो लाग्दैन दाइ ? कति प्वाँख टिपेर बस्नुहुन्छ भनेर सोधेको नि ।

तपाईंले भाटगिरी गर्नेहरुलाई साहित्यकार पनि भनेको देख्दा हाम्रो समस्या थाहा भयो ।
गुलेली चाहीँ हाम्रो चेतनामा हान्नुपर्ने होला ।

बौद्धिक, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, जैविक, लैंगिक र भौगोलिक सुगमताको सपना देख्दिरहँदा कहिलेकाही चाहिँ याद हुनेरछ, ‘साहित्य र राजनीति जीविकोपार्जन मेसो भइदियो, यथास्थितिवादिता हाम्रो धर्मै बनिगो ।’ यो संक्रमणकालीन संघर्षसँग जुधिरहदा तपाइँको दायित्त्व के रहन्छ ? कत्तिको भाग्नुहुन्छ ? कति हेर्दिनुहुन्छ र हास्दिनुहुन्छ ?

दायित्वहरू एक कविको रुपमा भनेर सोध्नु भा होला,
हामी सबैको दायित्व यो विराट् क्यानभासलाई अझ सुन्दर र सबैले आफ्नो महसुस गर्न सक्ने बनाउन प्रयास गर्ने हो होला ।

भाग्नु, हेर्नु र हाँस्नु भन्दा पर आफ्नो कर्म गर्नु पो ठिक हो की भन्ने पो लाग्ने नि ।

ठूलापाते अखबारका पातामा भइरहने साहित्यका चर्चा, ठुलागाथे (गाँठ भएका) फेस्टिबलले गरिरहेका बहसहरू र ठुलाठालुलाई घगडान पुरस्कार थमाइरहने थातथलोहरूलाई कसरी हेर्नुहुन्छ ? समालोचनाको स्वरूप विश्वभरि नै अनिश्चित बनिरहेको परिपाटीलाई हामीले पनि समातिसकेका हौँ ? तपाईंको यस कृतिको ‘समालोचना’ हुने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ? यतातिर, ‘सर, समिक्षा गर्दिनुस् न, तपाइँको खल्ती नम्बर मसँग छ’ भन्दा ‘है, ल राम्रो’ भन्नेहरू पनि छन् है दाजू । मसँग तर्किएलान् तर, कुरो पुराउन सकिन्छ । हाहा..

यिनीहरुको आ-आफ्नै महत्व हुँदो हो ।
कोही क्लबमा मस्त मातेर खुसी मनाउँछन्,
कोही भजन,किर्तनमा दुनियाँ भूलिदिन्छन् ।
कोही आँखा चिम्लेरै संसार देखेको दाबी गर्छन् ।
यस्तै आ-आफ्नै सुखका स्रोत होलान् ।
पुरस्कार, उत्सवहरु ।

समालोचना ?
यो भनेको त मैले बुझिनँ
हेहे..।

हप्ता दिन अघि दिनभरजसो म ‘बांगेमुढा’ आसपास एकाबिहानै नाम्लो-बरियो बोकी पूँजीपतिका सामान ओसारपसार गर्न खाली धादिङ- काभ्रेबाट आइपुगेका भरियाहरूलाई पछ्याए ! उनीहरूमध्ये एउटाले फ्याट्टै भनि त हाले, “मेरो फोटो खिचेर तपाईं लाखौँ कमाउने, मलाई एक रुपैया पनि नदिने ? लौ ल्याउनुस, एक लाख, नत्र फोटो डिलिट गर्नुस् !” मैले गरें ! ती भरियाहरूको कथा लेख्दा हामी कति वास्तविक हुन्छौं भन्ने कुरा नि ! तपाईं ‘ममाथि कविता घट्छ’ भन्नुहुन्थ्यो ? यस्ता घटनाहरू कसरी घट्छन् ?

घटनाहरु संयोगका उपज होलान् कि भन्छु ।
बस् घट्छन् ।
अरु त नियमितता भईगए होलान् ।
ति भरियाले ठिक गरेछन् भन्ने लाग्यो ।

भयो दाइ, अब केहि सोध्न मन छैन ! उही के, कहिलेकाही लाग्छ, ‘गफै धेरै गरिएछ !’ फेरी लाग्छ, ‘गफ नै पो गरिएनछ !’ यसपटक के गरियो हाउ दाजू ?

अर्को पटक सोचौँ है,
यसपटक के गरियो भनेर ।

सम्बन्धित समाचार