शुक्रबार , जेठ ८, २०८३

थारु परिकार ‘चिचर’ खान पुग्‍ने हैन त अमलटारी ?

सिलोटको भाँडोमा रहेको तातो पानीको बाफकै सहायताले करिब आधा घण्टामा चामल पाक्छ र तयार हुन्छ, थारु परिकार 'चिचर' ।

image

बिहान सबेरै उठेर अगेना अगाडि नबसी सुखै छैन, नवलपुर अमलटारीकी पवित्रा महतोलाई । झिसमिसेमै ५ बजे उठेर तुनेलो नगर्ने हो भने पाहुनालाई सातै बजे खाजा टक्रयाउन भ्याइन्न । त्यसो त बिहानको खाजाका लागि उनी अघिल्लो रातिदेखि नै तयारीमा लाग्छिन् ।

 

पवित्रा बिहानको नित्यकर्म भ्याइ भान्सामा गएर दाउराको झिँजामा आगो बाल्न थाल्छिन् । कहिले कागजमा आगो बाल्छिन् त, कहिले झिँजामा मट्टितेल खन्याउँछिन् । अगेनो तातेपछि सिलाेटको भाँडोमा पानी भरेर तताउन सुरु गर्छिन् । त्यही भाँडोमाथि माटोको भाँडा राख्छिन्, जसको मुन्तिर प्वाल पारिएको हुन्छ । माटोको भाँडाको प्वाल छोप्न बाँसले बुनेको जाली प्रयोग गर्छिन् । पानी तात्न थालेसँगै अघिल्लो रात नै भिजाएर राखेको अनदीको चामल राखेर केहीबेर माटोकै ढकनीले ढाक्छिन् । चलाउन नि पदैन्, सिलोटको भाँडोमा रहेको तातो पानीको बाफकै सहायताले करीब आधा घण्टामा चामल पाक्छ र, तयार हुन्छ- थारु परिकार ‘चिचर’ ।

थारु परिकार 'चिचर', Photos: Khashing Chadra Rai/Prashata Khanal

थारु परिकार ‘चिचर’,  Photos: Khashing Chadra Rai/Prashata Khanal

चिचर तयार भएपछि पवित्राले अचार बनाउन सुरु गर्छिन् । अचार भने सिजन अनुसार फरक-फरक हुने गर्छ । सबै तयार भएपछि पाहुनालाई डाक्छिन् । पस्किन सुरु गर्छिन, बाफले पाकेको चिचर र आफैंले तयार पारेको अचार । जब पाहुना आएर ‘चिचर क्या मिठो’ भनेर प्रतिक्रिया दिन्छन्, उनको मन चंगा हुन्छ । उनी आफ्नो बिहानदेखिको दु:ख भुलेर पाहुनाको सन्तुष्टिमा खुसी हुन थाल्छिन् ।

‘हाम्रो होमस्टे तराईमा छ, यहाँ पहाडकै पाहुना धेरै आउनुहुन्छ,’ उनले भनिन्, ‘होमस्टेमा आउनुहुने सबैले कति मिठो चिचर भन्नुहुन्छ ।’ तराईको खाना पहाडीले मन पराउँदा ‌औधी खुसी लाग्छ उनलाई । एक ठाउँकाले अर्को ठाउँको भाषा संस्कृति रीतिरिवाज मन पराउनु नै ठुलो भएको उनको भनाई छ ।

थारु परिकार 'ढिकरी', Photos: Khashing Chadra Rai/Prashata Khanal

थारु परिकार ‘ढिकरी’, Photos: Khashing Chadra Rai/Prashata Khanal

पवित्राको घरमा जस्तै नवलपुरको कावासोती नगरपालीका-१५ बाघखोरमा सञ्चालित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको ३१ वटै घरमा चिचर पाक्ने गर्छ । होमस्टेमा जाने पाहुनामध्ये जो कोहीको बिहानको खाजामा हुने गर्छ,  ‘चिचर’ । कुनै बेला जाडोको समयमा थारु समुदायले खाने परिकार आजभोलि ‘होमस्टेको ब्रान्ड’ बनेको छ । पवित्राले उ.. बेला माइतमा हुँदा आमाले र बिहे भएपछि सासुले बनाएको देखेर चिचर पकाउन सिकेकी हुन् । चिचरका लागि अनदीको भन्दा अरु चामलको काम छैन । थारुहरूले विशेष महत्वका साथ खाने चिचर स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मान्ने गरिन्छ ।

चिचर खानाले हाडजोर्नीमा हुने दुखाई कम हुन्छ । चिचरमा प्रोटिन तथा कार्बोहाइड्रेट पाइने हुनाले शरीरलाई शक्ति सञ्चय गर्ने काममा सहयोग पुर्याउँछ ।

मोद (घरपाला रक्सी), Photos: Khashing Chadra Rai/Prashata Khanal

मोद (घरपाला रक्सी), Photos: Khashing Chadra Rai/Prashata Khanal

होमस्टेमा चिचरका साथै सोझुवा रोटी (ढिकरी), नुमैचा, गुन्द्रुक चटनी, लोकल कुखुरा तथा हाँसको परिकार, मोद (घरपाला रक्सी), भतकुन, अनदी चामलबाट बनेको निजई, गदाला (जाँड) लगायत परिकार पनि पाइन्छ । विभिन्‍न परिकार साथै माछा (फ्राई/झोल)को साथमा घोंगीको स्वाद पनि लिन पाइन्छ ।

थारु परिकार 'घोंगी', Photos: Khashing Chadra Rai/Prashata Khanal

थारु परिकार ‘घोंगी’, Photos: Khashing Chadra Rai/Prashata Khanal

परिकार मात्र नभएर पहिचान झल्किने रीतिरिवाज संस्कृति पनि होमस्टको अर्को विशेषता हो । स्थानीय आदिवासी तथा जनजाति थारु, बोटे तथा मुसहर समुदायको स्थानीय कला संस्कृति नजिकैबाट नियाल्न पाइन्छ । जसमा थारु समुदायको लाठी नाच, झुमरा नाच, झर्रा नाच, जोगेडा नाच र थारु रिमिक्स नाच, बोटे समुदायको गोलेनी नाच साथै मुसहर समुदायको हुर्का नाचको मज्जासँगै आधा रात बिताउन सकिन्छ ।

हात्ती सफारी तथा जिप सफारी, नारायणी नदीमा बोटिङ, सामुदायिक वनमा पैदलयात्रा, आदिवासी जनजाति संग्रहालयको अवलोकनको मज्जा होमस्टे जानेका लागि महत्वपूर्ण हुन सक्छ । यसका अलवा छुट्टै प्याकेजमा माछा पोखरीमा फिसिङ, चरा अवलोकन, थारु, बोटे तथा मुसहर गाउँमा बयल गाडा सयर, थारु गाउँ अवलोकन (भिलेज वाक), नारायणी नदीको काखबाट सुन्दर सूर्यास्त दृश्य अवलोकन र हात्ति बाथ पनि गर्न सकिन्छ ।

कसरी सुरु भयो होमस्टे ?

बाहिरी दुनियाँसँग कुनै साइनो नभएको बाघखोरका स्थानीयको आफ्नो छुट्टै संसार थियो । वनजगंलका बिचमा समूह बनाएर कृषिमा औधी रुचि राख्ने जातिको रुपमा परिचित छ, थारु समुदाय । कृषिको काम सकेपछि वनजगंल र खोलामै रमाउने गर्थे । बालबच्चाहरु स्कुल जाँदैनथे । विद्यालय टाढा थियो । महिलाहरु नयाँ मान्छेसँग बोल्न लजाउँथे । युवाहरू कामको खोजीमा भौँतारिएका हुन्थे । समयक्रमसँगै स्थानियको चेतनामा वृद्धि हुँदै गयो ।

विश्व वन्यजन्तु कोषको २०औं जन्मदिनको अवसरमा २०७० जेठ ५ गतेदेखि सुरु भयो, अमलटारी मध्यवर्ती होमस्टे । सुरुमा १८ घरबाट सुरु भएको होमस्टे दोस्रो पटकमा थप्दा २४ घर पुग्यो र, अहिले ३१ घरमा फिँजारिएको छ । आदिवासी जाती थारु र नेपालकै सिमान्कृत जाति बोटे समुदायले मात्र बाघखोरमा अमलटारी होमस्टे सञ्चालन गरेका छन् ।

नेपाल सरकारले ३७औं विश्व पर्यटन दिवसका अवसरमा गन्तव्य होमस्टे गाउँका रुपमा घोषणा गरी प्रवर्द्धन गरेको छ ।

कसरी पुग्ने अमलटारी मध्यवर्ती होमस्टे ?

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती र डण्डा बजारबाट करिब ७ किलोमिटर दुरी पार गरेर अमलटारी होमस्टे पुग्न सकिन्छ । अमलटारीसम्म पुग्ने सडक कालोपत्रे छ । होमस्टे भएका घरहरुमा २ कोठा जसमा ४ जना पाहुनामात्रै बस्न मिल्छ । अट्याच बाथरुमसहित २४सै घण्टा पानीको व्यवस्था छ । बिजुली नभएको बेला उज्यालोका लागि सोलार बत्तीको व्यवस्था गरिएको छ । होमस्टेमा बस्न प्याकेजमा जाँदा प्रतिव्यक्ति ९८० रुपैँया लाग्छ । उक्त प्याकेजमा बेलुकाको खाना (मासुसहित), बिहानको नास्ता, बिहानको खाना र सुत्ने कोठाको सुविधा गराइएको छ ।

थारु परिकार, Photos: Khashing Chadra Rai/Prashata Khanal

होमस्टेमा एकैरातमा एक सय २४ जनासम्म राख्न सक्ने क्षमता छ । होमस्टेले गर्दा स्थानियको दैनिकी फेरिएको छ । होमस्टेमात्र हैन बाघखोरका पर्यटकीय केन्द्र अमलटारीमा मझौला रेस्टुरेन्टदेखि ठूल्ठूला होटलसमेत खुल्ने क्रम बढेको छ ।

सम्बन्धित समाचार