नेपाल मन्दिरै मन्दिरको देश भनेर विश्वमा चिनिन्छ । त्यसैले धार्मिक पर्यटनको विकासमा नेपालका मन्दिरहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । मनकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, भैरवस्थान आदि विविध मन्दिरहरूमध्ये मौलाकालिका मन्दिर पनि एउटा प्रसिद्ध मन्दिर मानिन्छ ।
विभिन्न ऋषिमुनिहरूको तपोभूमिका रुपमा सुपरिचित देवघाट क्षेत्र परिसर पनि नवलपरासी जिल्लाअन्तर्गत गैंडाकोट नगरपालिकामा पर्दछ । पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा समुद्र सतहदेखि ५६१ मिटर उचाइमा पहाडी वनको बीचमा सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिपीठका रुपमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।
मौलाकालिका मन्दिरको परिचय
मौलाकालिका मन्दिरको परिचय प्राप्त गर्नका लागि यसको ऐतिहासिक पृष्ठभूमि, धार्मिक सेवा समितिको संस्थागत विकास, मन्दिरमा पूजा सञ्चालनको व्यवस्था, यसको भौतिक संरचना र धार्मिक पर्यटन विकासको सम्भावनाका बारेमा परिचर्चा हुनु सान्दर्भिक देखिन्छ ।
ऐतिहासिक पृष्ठभूमि
विक्रम संवत् पन्ध्रौं शताब्दीको अन्त्यतिर पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकुडी राखेका थिए र सैनिक टुकुडीलाई शक्ति आराधनाका लागि मौलो गाडेर शक्तिपीठका रुपमा पूजाअर्चना गर्ने व्यवस्था गरेका थिए ।
उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले शक्तिपीठको पूजा गर्ने परम्परालाई निरन्तरता दिएका थिए भन्ने किंवदन्ती पाइन्छ । त्यसपछि स्थानीय गाउँलेहरू आफैले आलोपालो गरेर पूजा गर्ने व्यवस्था मिलाएका थिए । शक्तिपीठको नजिकै एउटा ठूलो रूख थियो, जुन रूख १९९० सालको भुइँचालोमा ढलेको थियो ।
रूख ढलेसँगै शक्तिपीठका ऐतिहासिक संरचनाहरू पनि भताभुङ्ग भएका थिए । कालान्तरमा गाउँका आदिवासी बासिन्दाहरू अन्यत्र बसाँई सर्न थालेका कारण पूजा गर्ने चलन पनि करिब करिब लोप हुन थालेको थियो । २०३२ सालमा गैंडाकोट–१ निवासी काशीनाथ पौडेलले सपनामा मौलाकालिकाको दर्शन पाएछन् ।
त्यसपछि तत्काल काशीनाथ पौडेल र कमानसिंह गुरुङ दुवै मिलेर उक्त ठाउँमा खनीखोस्री गर्दा धमिराले खाएको काठको मौलो, गोलाकारका शिला र घन्टीहरू फेला पारेछन् । त्यसपछि सोही स्थलमा स्थानीय बासिन्दाहरूले सानो मन्दिर निर्माण गरी बडादशैंमा र चैतेदशैंमा मात्र पूजापाठ गर्दै आएको ऐतिहासिक तथ्य पाइन्छ ।
धार्मिक सेवा समितिको संस्थागत विकास
२०३७ सालको श्रीकृष्ण जन्माष्टमीका दिन श्रीकृष्णको पूजाअर्चना र अखण्ड हरिकीर्तन सम्पन्न गरेपछि त्यतिबेला उपस्थित भेलाले मौलाकालिका मन्दिरको संस्थागत विकासका लागि एउटा कार्य समिति बनाउने सोच बनायो ।
तदनुसार २०३८ आश्विन २५ गते बडादशैंका अवसरमा गैंडाकोट वडा नं. १ र २ को जनभेलाले डिलाराम कँडेलको अध्यक्षतामा १५ सदस्यीय धार्मिक सेवा समितिको गठन गर्यो । त्यसपछि हालसम्म विभिन्न समयमा निर्वाचित समितिहरूले मन्दिरको संरक्षण र विकासमा सक्रिय योगदान दिँदै आएका छन् ।
हालसम्म नवलपरासी, चितवन, पर्सा, धादिङ, गोर्खा, काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, तनहुँ, अर्घाखाँची र बैतडी जिल्लाका ७७३ जना व्यक्तिले यस समितिको आजीवन सदस्यता प्राप्त गरिसकेका छन् ।
मन्दिरमा पूजा सञ्चालनको व्यवस्था
स्थापनाकालमा सैनिकहरूले र त्यसपछि मगरहरूले मन्दिरमा पूजाअर्चना गर्दै आए पनि २०३२ सालदेखि मन्दिरमा ब्राह्मणद्वारा पूजा हुन थालेको हो ।
२०३८ को बडादशैंदेखि समितिले संस्थागत रुपमा पूजा गर्न प्रारम्भ गरेको हो । २०४३ वैशाखदेखि हप्ताको दुईदिन मंगलबार र शनिबार पूजा गर्न थालिएको थियो भने २०४४ साल चैत्र छ गतेदेखि एकजना आवासीय पुजारीद्वारा दैनिक रुपमा पूजापाठ गर्न थालिएको हो ।
२०६४ सालदेखि हालसम्म यस मन्दिरमा तीनजना आवासीय ब्राह्मण पुजारीबाट वैदिक विधिअनुसार दैनिक पूजाअर्चना, हवन र पाठपारायण हुँदै आएको छ । सुरु-सुरुमा यस मन्दिरमा बलिप्रथा कायम रहे पनि पछि आएर क्रमशः त्यस प्रथाको अन्त्य हुँदै गएको छ ।
मौलाकालिका मन्दिरको भौतिक संरचना
२०३२ सालमा बनेको सानो कच्ची मन्दिर वर्षाका कारणले भत्किन पुग्यो । २०४२ सालमा पुनः एउटा ढोका भएको र टिनले छाएको सानो पक्की मन्दिर निर्माण गरियो । मौलाकालिका मन्दिरको दिनप्रतिदिन सर्वत्र महत्त्व र ख्याति विस्तार हुँदै गएपछि मन्दिरमा दर्शन गर्नका लागि श्रद्धालु भक्तजनहरूको भीड बढ्दै गयो ।
तत्कालीन प्रहरी उपरीक्षक ज्ञानेन्द्रविक्रम महतको प्रेरणाले धार्मिक सेवा समितिको सक्रियतामा श्रद्धालु जनता, विभिन्न सङ्घसंस्था र उद्योगव्यवसायीहरूको आर्थिक सहयोग तथा मध्यक्षेत्र प्रहरी तालिम केन्द्र परिवार र पशुपतिप्रसाद गण भरतपुर ब्यारेकको आर्थिक र शारीरिक श्रमसहयोगबाट दक्षिण, पश्चिम र उत्तरतिर फर्केका तीन ढोका र तीन तला भएको प्यागोडा शैलीमा नयाँ मन्दिर निर्माण भई २०५३ चैत्रमा ज्ञानेन्द्र विक्रम महतबाटै समुद्घाटन भएको थियो ।
मौलाकालिका मन्दिरको प्रवेशद्वार नजिकै रहेका सिद्धि गणेशको मन्दिर एवं राधाकृष्णको मन्दिर, देउराली भन्ज्याङ सिँढीमार्गमा अवस्थित देउराली देवीको खुला मन्दिर, मौलाकालिका मन्दिरको प्राङ्गणमा रहेको हवन कुण्ड, भैरव देवीको मन्दिर, ॐ नमः शिवाय मठ, शिवलिङ्ग मठ, तुलसी देवीको मठ, मन्दिरको प्राङ्गणमा अवस्थित मूल प्रवेशद्वारमा राखिएका गणेश र सरस्वतीका मूर्तिहरूले यस मन्दिरको शोभा बढाएका छन् ।
मूल राजमार्गदेखि मौलाकालिका फेदी प्रवेशद्वारसम्मको सडक कालोपत्रे भइसकेको छ । त्यसदेखि मन्दिरसम्म सिँढीमार्ग निर्माण गरिएको छ । बाटामा ठाउँ ठाउँमा खानेपानीका धारा, चौतारी र विश्रामगृहहरू पनि निर्माण गरिएका छन् ।
धार्मिक पर्यटन विकासको सम्भावना
नेपाल सरकारले पर्यटन वर्ष सन् २०११ मा मौलाकालिका मन्दिर तथा यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत गरेको थियो ।
नेपाल सरकारले मन्दिर वरिपरिको वनजङ्गल धार्मिक वनका रुपमा कार्ययोजना हस्तान्तरण गरी पर्यटन विकासमा सहयोग पुर्याएको छ । भोजनालय र १५० जनासम्म वास बस्न मिल्ने आवासीय भवनहरूको निर्माणले धार्मिक पर्यटकहरूलाई सहज भएको छ । आन्तरिक र बाह्य पर्यटकहरूसमेत यस मन्दिरको दर्शन गर्न आउने भएकाले मौलाकालिका मन्दिरमा धार्मिक पर्यटन विकासको सम्भावना बढ्दै गएको छ ।
यस मन्दिरबाट उत्तरतिर देखिने हिमालको सुन्दर दृश्य अनि दक्षिणतिर देखिने चितवन, नवलपुर र नारायणीको रमाइलो दृश्यले पर्यटकलाई लोभ्याउँदै आएको छ ।
उपसंहार
करिब पाँच सय वर्षको इतिहास बोकेको यस मौलाकालिका मन्दिरमा विशेषतः प्रत्येक शनिबारका दिन दर्शनार्थीहरूको बढ्ता भीड लाग्ने गर्दछ भने विजयादशमी र चैतेदशैंका बेलामा नौ दिन नै भक्तजनहरूको घुइँचो लाग्दछ ।
नारायणगढबाट मौलाकालिका मन्दिरको फेदी प्रवेशद्वारसम्मको सडक कालोपत्रे गरिएकाले यातायातको पर्याप्त सुविधा छ । फेदीको प्रवेशद्वारदेखि डाँडामा अवस्थित मौलाकालिका मन्दिरसम्म जानका लागि ढुङ्गाले चिनिएका १८८२ वटा सिँढीहरूको फराकिलो बाटो छ । फेदीबाट सिँढीमार्गको यात्रा गर्न सामान्यतया आधा घन्टादेखि पौने घन्टासम्मको समय लाग्दछ ।
मन्दिर पुगेर भगवती माताको दर्शन गरेपछि भने उकालो यात्राको थकानको अनुभूति पनि हुँदैन । मन्दिर परिसरबाट चारैतिर देखिने सुन्दरतम दृश्यले जोकोही दर्शनार्थीलाई पनि बारम्बार मन्दिरको दर्शन गर्न जाऊँ जाऊँ झैं लाग्ने बनाउँछ । यस मौलाकालिका मन्दिरले दर्शनार्थीहरूको मनोकामना मात्र पूरा गरेको छैन, स्थानीय बासिन्दाहरूको जीविकोपार्जनका लागि लघु व्यवसाय गर्ने अवसर पनि प्रदान गरिरहेको छ ।
स्थानीय जनचासो र प्रहरी श्रमदानजस्तै नेपाल सरकारबाट पनि यस मन्दिरको संरक्षण र विकासका लागि समय समयमा पर्याप्त सहयोग हुन सकेकाे खण्डमा मौलाकालिका मन्दिर स्वदेशमा मात्र होइन विश्वमा समेत प्रख्यात हुनेछ र धार्मिक पर्यटकीय आकर्षक गन्तव्य पनि बन्न सक्ने सम्भावना देखिन्छ ।