बिहिबार , भाद्र ११, २०८३

बाह्रौँ शताब्दितिरका गोरक्षनाथ र पृथ्वीनारायणको भेट कसरी भयो ?

महायोगी मत्सेन्द्रनाथले गोरखनाथलाई आफुसँगै राखेर हठयोगको साधना गर्न सिकाएका थिए । यसैक्रममा गोरखनाथ पनि महायोगी मत्सेन्द्रनाथसँगै सम्पूर्ण भारतवर्षको भ्रमण गरेका थिए ।

image

गकारो गुणस्सम्युक्तो रकारो गुणः लक्षणः ।
क्षकारेणाक्षय ब्रह्म श्रीगोरक्ष नमोस्तुते ।

राजगुह्य नामक स्तोत्रमा भगवान श्रीकृष्णले गोरक्षनाथको (गोरखनाथ) अनेकौं स्तुतिगान गरेका छन् । जसमा श्रीकृष्णले गोरक्षनाथलाई समस्त गुणहरूको आश्रयस्थल र अक्षय ब्रहमका रूपमा स्थापित गरेका छन् । अन्य श्लोकहरूले निजलाई गुणहरूको निर्गुण तथा सगुण ब्रहमकै रूपमा आराधना गरिएको छ भने आफ्नो श्रोत पनि अक्षय ब्रह्म गोरक्ष नै भएको जिकिर गरिएको छ ।

उपरोक्त श्लोक उल्लेख गर्नुको कारण- नेपालसँग गोरखनाथको निकै प्राचीन तथा गहिरो सम्बन्ध रहेको कुरालाई प्रकाशित गर्नु हो । महान सन्त गोरखनाथ (जुन गोरक्ष कै प्रचलित भाषा हो)- नेपालका राष्ट्रगुरू हुन् । यिनी नेपाल राष्ट्रका निर्माता बडामहाराज पृथ्वीनारायण शाहका कुलगुरू थिए । राजा पृथ्वीनारायण शाहकाको राज्य रहेको गोरखा जिल्ला पनि महात्मा गोरखनाथकै नाममा राखिएको भन्ने पनि अनुमान गरिन्छ । हाल गोरखाको सदरमुकाममा गोरखनाथले तपस्या गरेको भनिएको गुफा र त्यससभित्र उन्को चरणचिह्न देख्न सकिन्छ ।

आज विश्वभरी नेपालीहरू दुई नामले चिनिन्छन्: नेपाली र गोरखा । नेपालमा नाथ सम्प्रदाय निकै प्राचीन र लोकप्रिय थियो भन्ने कुरा ‘गोरखा’ नामबाट नै थाहा हुन्छ भने केही विद्वानहरूले ‘नाथ’ उपनाम नै नाथसम्प्रदायको परिचय हो भन्ने जिकिर पनि गरेका छन् । यसअर्थमा पशुपतिनाथ, स्वयम्भूनाथ, मत्सेन्द्रनाथ पनि ‘नाथी’ नै ठहरिन्छन् ।

हिन्दू सनातन धर्ममा अनेकौँ सम्प्रदायहरू छन्, ती मध्ये नाथ पन्थ पनि एउटा हो । यस पन्थका अनुयायीहरू नाथ परम्पराका आदिगुरू भगवान शिव आँफै भएको विश्वास गर्छन् । अर्कातर बौद्ध, जैन तथा शैव परम्परामा पनि नाथ परम्पराको राम्रो उपस्थिति देखिन्छ । बौद्धको बज्रयानी परम्परामा त झन् १२ वटा नाथ सिद्धहरूलाई साझा गरिएको छ, जुन नाथ तथा बौद्ध दूबैले ८४ सिद्ध सन्त अन्तर्गत राखेका छन् । बज्रयानी बौद्ध साहित्यमा उड्डियान (भारत) का राजा इन्द्रभूति र उनकी बहिनी लक्ष्मीकराको नाम प्रसिद्ध छ । उनीहरू पनि ८४ सिद्धमा गनिन्छन् ।

नाथ परम्परा मूलतः हठयोगी साधना पद्धतिका अनुयायी हुन् र भगवान् शिवको निराकार स्वरूपका उपासक हुन् । नाथ परम्पराको विस्तार हेर्ने हो भने यो समस्त भारतवर्ष सहित तिब्बत र अफगानिस्तानसम्म फैलिएको छ । नेपाल त झन् नाथ परम्परामैं आधारित देश हो किनभने नेपालको पूर्वदेखि पश्चिमासम्म अनेकौं नाथ मन्दिरहरू फैलिएर रहेका छन् ।

सामान्यतया हामी नेपालीहरूले भगवान् श्रीकृष्णको नाम निकै आदर सँग लिन्छौँ तर, उनै भगवान्ले महागुरू गोरक्षनाथको स्तुति गरेपछि गोरक्षनाथको अझैँ बढी यशोवर्धन हुन्छ । हामी नेपालीहरूले महायोगी गोरक्षनाथलाई राष्ट्रगुरूका रूपमा सम्मान गर्छौं । तर उन्को विषयमा आधुनिक प्रणाली अङ्गिकार गर्दै अनुसन्धान गरिएको पुस्तक ‘गोरखनाथ एंड कनफटायोगीज’ ले गोरखनाथका विषयमा निकै तत्थ्यहरू प्रकाशित गरेको छ । यो पुस्तक अंग्रेज अनुसन्धाता जर्ज वेस्टन बिग्सले लेखेका हुन् । यस बाहेक भारतीय विद्वान प्रा. बलदेव उपाध्याय, प्रा. जदुनाथ सिन्हा, राधाकृष्णन्, आदि दार्शनिकहरूले पनि कलम चलाएका छन् । धेरैजसो पुस्तकहरू सिद्ध सम्प्रदायका योगी र भक्तहरूले लेखेका स्तुतिगान छन् । सनातन वैदिक परम्परामा श्रद्धाको इतिहासलाई नकार्न मिल्दैन ।

संस्कृतका विद्वानहरूले गोरक्षा शब्द नै अपभ्रंश भएर ‘गोरख’ भएको हो भन्ने मान्यता राख्छन् । संस्कृतमा गोरखका अनेकौं अर्थ छन् । गोरक्षति गोरक्ष, रक्षनीति रक्षः, ग्वाम् रक्ष गोरक्षः । स्वर्ग, वाण, पशु, वाणी, बज्र, दिशा, नेत्र, किरण, पशु, पृथ्वी, जल, सूर्य, यज्ञ, सुरभि, गाई इत्यादि गो अर्थक हुन्छन् । उपरोक्त सबै विषयको ज्ञाता, पालक नै ‘गोरक्ष’ हो र यस्ता गोरक्षक सिद्धहरूको विषयमा सबैभन्दा पहिलो पटक ब्रह्माण्डपुराण अन्तर्गत हयग्रीव ललितपुर संवादमा ‘तस्य चोत्तरकोणे तु वायुलोको महाद्युतिः । तत्र वायुशरिराश्च सदानन्द महोदयाःसिद्धा दिव्यवर्षच्चैव, पवनाभ्यासिनाऽपरे । गोरक्ष प्रमुखाश्चान्ये योगिन योगतत्पराः’ अर्थात् त्यसको उत्तरकोणमा प्रकाशले भरिपूर्ण वायुलोक छ । त्यहाँ अजरअमर सधैँ आनन्दयुक्त वायुको भोजन गर्ने असंख्य सिद्धहरूको निवास छ । गोरखनाथ सँगै अन्य ऋषिहरू त्यहाँ योगरत छन् भनेर लेखिएको छ । यहाँ ‘अत्यन्त प्रकाशित उत्तरदिशा’ भनेर स्वर्णझैँ चम्किलो हिमालयलाई नै भनिएको हो भन्ने तथ्य प्रमाणित हुन्छ, त्यो ऊतरदिशाको हिमालय नेपालमा (सम्भवतः गोरखा) कै पनि हुनसक्छ ।

नाथ सम्प्रदायका संस्थापक मत्स्येन्द्रनाथ

नाथ सम्प्रदायका संस्थापक मत्स्येन्द्रनाथ भएको विश्वास गरिन्छ । गोरखनाथ यिनै मत्स्येन्द्रनाथका शिष्य थिए भन्ने जनश्रुति रहेको छ । काश्मिरी शैव परम्पराका महान् आचार्य श्री अभिनव गुप्तले महात्मा मत्स्येन्द्रनाथलाई ‘मच्छंद विभु’ भनेर नमस्कार गरेको हुँदा निश्चय नै मत्स्येन्द्रनाथको समय ई.पू. ९०० भन्दा अघि भएको निर्विवाद सिद्ध हुन्छ । यो तत्थ्यलाई भारतीय विद्वान राहुल संस्कृत्यायनले पनि स्वीकार गरेको गरेका छन् ।

अर्कातिर, ई.स. ९०० तथा १,१०० का बीचमा दक्षिण भारत र मध्यप्रदेशमा लेखिएका पुस्तकहरू: शैललिपि तथा प्रबन्ध चिन्तामणि नामक ग्रन्थहरूमा पनि सिद्धहरूको उल्लेख भएको हुँदा नाथ परम्पराको आरम्भ सन् ९०० भन्दा पहिले नै भएको बुझ्न सकिन्छ ।

गोरखनाथको जन्मसम्बन्धि विवाद

मत्स्येन्द्रनाथको इतिहास नबुझिकन गोरखनाथको इतिहास बुझ्न सकिन्न । बेलायती विद्वान बिग्सले आफ्नो प्रसिद्ध सोधग्रन्थ ‘गोरखनाथ एण्ड कानफटा योगिज’ मा गोरखनाथको समय निर्धारण गर्नका लागि चारवटा उपायहरू अवलम्वन गरेका छन्;

(१) कवीर तथा नानकसँग गोरखनाथको संवाद पढ्दा निजको समय सन् १६०० तिर रहेको अनुमान हुन्छ ।
(२) नाथअनुश्रुति, बङ्गाली शैव परम्परा, काश्मिरी शैवागम, दक्षिण भारतीय नाथ परम्परा, ज्ञानेश्वर परम्पराआदिमा सिद्धहरूको उपस्थिति पढ्दा निजको समय सन् १,००० देखि १,२०० बीच रहेको अनुमान गर्नुपर्छ ।
(३) नेपालको शैव–बौद्ध परम्पराका नरेन्द्रदेव, बाप्पाराव, उत्तर–पश्चिमका रसालू तथा होदो, नेपालमा शंकराचार्य सँग भेट आदि जनश्रुतिले गोरखनाथको समय सन् ८०० देखि ९०० का बीचमा भएको अनुमान हुन्छ ।
(४) बिक्सले केही नाथ परम्पराका मान्यताहरू र पूर्ववर्ति तथा उत्तरवर्ति अभिलेखहरूका आधारमा महात्मा गोरखनाथको जन्म सन् १,१०० तिर बङ्गालको कुनै एउटा गाउँमा भएको अनुमान गरेका छन् ।

तर, नेपालको उत्तरीभागमा नै गोरखनाथको जन्म भएको र त्यहाँ नै तिनले तपस्या गरेर सिद्धि प्राप्त गरेको हुँदा गोरक्षको सम्मानमा त्यस ठाउँको नाम नै गोरखा रहेको हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । मेरो मान्यता निरापद छैन किनभने आज पनि लोकप्रिय र मान्यजनहरूका नाममा वा उनीहरूको सम्झनामा नगर, सडकआदिको नाम राखिने चलन छँदैछ ।

यहाँ मैले निवेदन गर्नुपर्छ कि नाथपरम्परामा गोरखनाथको समयलाई राजा भर्तहरि सँग पनि जोडेर हेरिन्छ र यिनै राजालाई गोरखनाथका रूपमा उपासना गरिन्छ । तर अन्य जनश्रुतिका अनुसार महायोगी गोरखनाथको जन्म हाल पाकिस्तानको रावलपिन्डीमा भएको हो ।

श्रुतिअनुसार रावलपिन्डीको कुनै गाउँमा जोगीले भिक्षा मागेको आवाज आउँछ । भिक्षा दानका लागि एकजना महिला घर बाहिर निस्किन्छिन्, जुन बाँझी भएकोले आफन्त र छिमेकीबाट निकै अपहेलित थिइन् । प्रार्थनापछि सन्तले निज महिलालाई एउटा बूटी दिन्छन् तर, ती महिलाले अविश्वास गर्दै त्यो बूटी मलखातोमा मिल्क्याइदिन्छिन् । बाह्रवर्षपछि ती महात्मा पुनः त्यसै घरमा भिक्षापात्र लिएर आउँछन् र महिलासँग बूटीका विषयमा सोधनी गर्छन् । महिलाले मलखातो देखाएपछि महात्माले मलखातोलाई नै पुकारेर बोलाउँछन् । पुकार सुनेर त्यस मलखातोबाट एउटा सुन्दर गौरवर्णको बालक सहसा निस्केर आउँछ र महात्मालाई प्रणाम गर्छ । महिलाले प्रणाम गर्न लाग्दा ती सन्त र बालक सहसा अन्तर्ध्यान हुन्छन् र महिलाले केही बोल्न पनि पाउन्नन् । असलमा, ती गुरू मत्सेस्न्द्रनाथ थिए भने बालकचाहिं भगवान शिवका अवतार महागुरू गोरखनाथ भन्ने नाथपरम्पराका ग्रन्थहरू तथा जनश्रुतिमा उल्लेख पाइन्छ ।

तर नेपाली परम्परालाई आधार मानेर लेखिएको लेखमा महिलालाई गुरूले भष्म दिएको तर, महिलाले त्यो गोबरमा फालेको भन्ने उल्लेख छ भने अर्को श्रुतिअनुसार गोबरबाट प्रकट भएको बालकलाई भगवान् शिवले नै बालकको नाम ‘गोरखनाथ वा गोरक्षनाथ’ राखेको भन्ने उल्लेख छ । जे होस्- महागुरू गोरखनाथ भगवान् शिवका अवतार मानिन्छन् ।  उनीहठयोगका संस्थापक हुन् । भारतवर्षीय ऋषिमुनिहरूले आफ्नो जन्म, समयका विषयमा केही उल्लेख नगरेझैँ महात्मा गुरू गोरखनाथले पनि आफ्नो बारेमा उल्लेख नगरेको हुँदा इनको इतिहास सधैं विवादित रहेको छ ।

जनश्रुतिअनुसार महायोगी मत्सेन्द्रनाथले गोरखनाथलाई आफुसँगै राखेर हठयोगको साधना गर्न सिकाएका थिए । यसैक्रममा गोरखनाथ पनि महायोगी मत्सेन्द्रनाथसँगै सम्पूर्ण भारतवर्षको भ्रमण गरेका थिए । महायोगी मत्सेन्द्रनाथले समाधि स्वीकार गरेपछि नाथ परम्परालाई भारतवर्षीयस्तरमा विकसित गर्ने कार्यको श्रेय महायोगी गोरखनाथलाई नै जान्छ ।

महायोगी गोरखनाथले असंख्य सावरमन्त्रहरू (संस्कृत तथा प्रचालित भाषा मिश्रित मन्त्रहरू) रचना गरेको विश्वास गरिन्छ भने आज पनि नेपालका कुनाकुनामा झारफुक गर्दा पण्डितहरूले सावरमन्त्रकै बढी प्रयोग गर्छन् भने झाक्रीहरूले सावरमन्त्र नै पाठ गर्छन् । महायोगी गोरखनाथले आफ्नो जीवनकालमा (गोरखनाथ पन्थीहरू महायोगी गोरखनाथलाई अजरअमर मान्छन्) भारतवर्षका सबै स्थानहरू भ्रमण गरेका र निजले निम्न कृतिहरू प्रणयन गरेको उल्लेख छ:

गोरक्षशतक चतुरशीत्यासन, ज्ञानामृत, योगचिन्तामणि, योग महिमा, योगमार्तण्ड, योगसिद्धान्त पद्धति, अवधूतगीता, गोरक्षकल्प, गोरक्षकौमुदी, गोरक्षगीता, गोरक्ष चिकित्सा, गोरक्ष पंचम, नाडीज्ञान प्रदीपिका, योगसिद्धासनपद्धति, हठसंहिता, शिवसंहिता, शिवयोगदर्पण, शिवयोग सार, शिवयोग सारावली, योग सारावली, योगबीज, अमनस्कमहायोगी, षटचक्र चिन्तामणि, महार्थमञ्जरी परिमलभाष्य, विवेक मार्तण्ड, गोरक्षपद्धति, सद्धसिद्धान्तपद्धति, गोरक्षबोध, नृपबोध, अमरौधशासन, हठयोग प्रदीपिका, विवेक मार्तण्ड, आत्मबोध, गोरक्ष सहस्रनाम, सप्ताङ्ग योग विद्या, अष्टाङ्ग योग धारण, कायाबोध, गोरक्षसिद्धान्त आदि ।

सद्गुरुको इशा फाउन्डेसनलाई यस आसनलाई ‘गोरख आसन ‘बताएको छ

नेपालका सन्दर्भमा नाथ सम्प्रदायको इतिहास

नेपालका सन्दर्भमा नाथ सम्प्रदायको इतिहास खोतल्ने हो भने सन् १४३६ मा जयस्थिति मल्लको ताम्रपत्रमा ‘देव गोरक्ष’ भन्ने उल्लेख पाइन्छ भने १४४८ को फर्पिङ अभिलेखमा ‘गोरख पादुकाभ्यां नमः’ उल्लेख छ । यसैगरी ‘भष्मेस्वर’ तथा राजा रामदेवको पालामा ‘नाथेश्वर’ आदि उल्लेख भएको पाइन्छ । यी इतिहासका तथ्यहरू केलाउँदा नेपालमा नाथ सम्प्रदायको लामो इतिहास रहेको भन्ने सिद्ध हुन्छ ।

नेपालका विभिन्न जिल्लाहरूमा नाथ सम्प्रदायका अनेकौँ सिद्धपीठहरू छन् । काष्ठमण्डप, मृगस्थली, गोरखाको गोरख गुफा, बैतडीको जगन्नाथ देवल, दार्चुलाको लरिनाथ, जुम्लाको चन्दननाथ, दांगको रतननाथ, दीपायलको दीलिपेस्वरनाथ, पाल्पाको भैरवनाथआदि अनेकौँ नाथमठहरू छन् भने आज पनि अनेकौँ नाथपन्थीहरू नेपालभित्र तपस्यारत छन् भने प्रसिद्ध सन्त योगी नरहरिनाथ नाथसम्प्रदायका अनुयायी थिए ।

योगी नरहरीनाथ, तस्बीर : मदन पुरस्कार पुस्ताकालय

बाह्रौँ शताब्दितिरका गोरक्षनाथ र  पृथ्वीनारायणको भेट कसरी भयो ?

अब प्रश्न उठ्छ कि बाह्रौँ शताब्दितिरका गोरक्षनाथ र गोरखाका राजा पृथ्वीनारायण शाहको भेट कसरी भयो ? यस प्रसंगमा जनश्रुतिअनुसार महागुरू गोरक्षनाथले गोरखा मै एउटा बूढो जोगीका रूपमा राजा पृथ्वीनारायण शाहलाई दर्शन दिएर दही खान दिँदै नेपाल विजयको आशिर्वाद दिएको भन्ने छ । आज पनि नेपालका मुद्राहरूमा महागुरू गोरखनाथका चरण अङ्कित गरेर छापिन्छ ।

महागुरू गोरखनाथ एकजना ऐतिहासिक व्यक्ति थिए तर उनले अरू निराभिमानी ऋषिहरूलेझैँ आफ्ना विषयमा केही पनि नलेखेको हुँदा समय, स्थान र उहाँका कृतिहरू विवादित छन् । महायोगीको यो निराभिमानलाई हामीले सम्मान गर्नुपर्छ । यस्तो निराभिमानिता नै ऋषिकुलहरूको धन, शक्ति तथा तपस्या हो ।

यदि उपरोक्त संस्कृतको कथनलाई स्वीकार्ने हो भने, सत्यलाई स्वीकार गर्ने हो भने महागुरू गोरखनाथको जन्म नै गौधनको रक्षाका खातिर भएको र उनी आफ्ना गौमण्डलीसँग हालको गोरखामा आएर तपस्या गरेको सिद्ध हुन्छ । भारत र इंग्ल्यान्डमा काम गर्ने नेपाली फौजीहरूको कम्पनिलाई ‘गोर्खा’ भनिन्छ, नेपाली होइन । गोरखा अर्थात् नेपालीहरूले गुरु गोरखनाथलाई गौरक्षा गर्ने वाचा दिएको हुनुपर्छ ।

अन्त्यमा, नेपाल र नेपालीको पहिचान नै महागुरू गोरखनाथसँग जोडिएको हुँदा नेपाली जनता तथा सरकारले समेत नाथपन्थको इतिहास, संस्कृति, साहित्य, परम्परा, मठमन्दिर आदिको व्यवस्थित अध्ययन अनुसन्धान गराएर भौतिक तथा विद्युतीय माध्यमबाट सुरक्षित गर्नुपर्छ । साथै, नेपाल सरकारले देश विदेशबाट आउने पाहुनाहरूलाई समेत नाथ तीर्थस्थल, मठहरूको दर्शन गर्न उत्प्रेरित गर्नुपर्छ । (जरोकिलो प्रस्तिष्ठानद्वारा लिखित यस लेखलाई युगपात्रले प्रकाशित गरेको छ)

ग्रन्थस्रोत
१. ब्रिग्स, जर्ज वेस्टन (१९३८) गोरखनाथ एंड द कानफटा योगीज, अक्सफोर्ड युनिभर्सिटी प्रेस, लन्डन, कलकत्ता ।
२. बेनर्जी, ए. के. (१९८३) गोरखनाथको दर्शन र गोरखबचन सङ्ग्रह, गोरखपुर भारत ।
३. जेम्स मिलियनसन (२०११) योग एंड योगिज, जर्नल अफ रोयल एसियाटीक सोसाइटी, लन्डन ।
४. आदित्यनाथ योगी (२००५) गोरखनाथ, गोरखनाथ मठ, गोरखपुर ।
५. गोरख निखिलवाणी (वि.स. २०६७), अंक १०, सिद्धाश्रम शक्ति केन्द्र, काठमाडौँ ।


‘गोरखा नामको वृत्तान्त’ नामाक यादव देवकोटाको लेख पनि पढ्न सक्नुहुन्छ, जसले ‘गोरखनाथ’बाट ‘गोरखा’ बनेको कुरालाई नकारेको छ । (सम्पादक)

सम्बन्धित समाचार