शुक्रबार , भाद्र १२, २०८३

दक्षिणकालीको महिमा र उत्पत्ति

पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृतिमा केही चोटहरू देखिन्छ ।

image

– इरिक टर्नर (Eric Turner)
दक्षिणकालीको महिमा र उत्पत्ति विभिन्न भाषा वंशावली ऐतिहासिक सांस्कृतिक अनुश्रृति हस्तलिखित शिलापत्र ताम्रपत्रहरू समेत अध्ययन गरी यथार्थ वाक्यहरूमा देखिएअनुसार श्री दक्षिणकाली माईको स्थापना राजा प्रताप मल्लले गरेका हुन् । स्वप्नविषे प्राप्त भएको ज्ञानलाई प्रताप मल्लले याद नगरी हिँड्दा दक्षिणकालीमाई कुमारी कन्यामा प्रवेश भई प्रत्यक्ष आज्ञा भयो, ‘मेरो स्वयम्भू मूर्ति अप्रकाशित छ, मलाई मूर्तिमान बनाइ स्थापना गर ।’ यसले ऐश्वर्य पाउनुका साथै माहामारी भएपनि निवारण होला भनेको शिलापत्रमा लेखिएको छ ।
त्यसपछि प्रतापमल्लले उनको मूर्ति निर्माण गर्न लगाएका हुन् । जब मूर्ति निर्माण कार्य पुरा भयो, तब दोस्रो पटक फेरि स्वप्नविषे प्रसन्न भयो । ‘यो मूर्ति त मेरो अप्रकाशित ध्यान हो’ भनी राजाले उक्त मूर्ति आफ्नो दरबार मोहन चोकमा स्थापना गर्न लगाए । त्यसपछि राजाले तान्त्रिक विद्यामा निपूर्ण गुरु नृसिंह लम्बकर्ण भट्ट डाकी उक्त मूर्ति देखाउँदा यो मूर्ति त प्राचीन कालमा उत्पत्ति भएको बताए ।
दक्षिणकोणको दक्षिणयात्मक पीठ शिखरापुर (फम्पी) फर्पिङ समीपमा रहेको गोरखनाथ म्हँगु पर्वतको माथिल्लो नगर्चो थुम्कोमा श्री दक्षिणकाली माई र उनका गणहरूको बासस्थन पीठको जस्तै भएकाले अझ तेज बढेर उक्त मूर्तिबाट जाज्वल्यमान जागृह भई मानिसलाई सम्हाल्न साह्रै गाह्रो भयो । आम्नायु सम्बन्ध उषाम्नाथ नाम्रिका सष्कमा पातिभीषण षड्भुजा चामुण्डाको शव वाहन आसन भएको मूर्तिमा तीन नेत्रको सट्टा दुई नेत्रमात्र राखी निर्माण गर्न लगाउन सल्लाह दिइयो । जब मूर्ति तयार भयो, राजा, मन्त्री (भिममल्ल) र गुरुका सल्लाह अनुसार कान्तिपुरको दक्षिणकोणको शिखरापुर नजिक नदीको संगम पूर्ववत्ती गंगा तथा उद्धारवती गंगाको दोभानमा मूर्ति राखी सो मूर्ति नगर्चोडाडाँको उक्त अप्रकाशित कोरा पाषणट जीवरुपम सट्टा निकाली तेज खिचेर साधना गरी मध्य रातमा महान् पूजाकोट्याहुति सहस्रवली तथा यज्ञ गरीकन प्रतिस्था कर्म र विधि विधान पूर्वक वैशाख शुक्ल ३ का दिनमा उद्घाटन गरी विराजमान गरिएको हो । राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो ।
यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो । यो ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् । उक्त स्थानमा श्री दक्षिणकाली माईको अष्टमातृका विहार गर्न स्थान बनाइएको हो । उनलाई दक्षिणकाली माईको आमा हुन् भनी पूजा आराधना गरिन्छ । पहिला निर्माण गरिएको तिन नेत्र भएको सुन्दरकाली राजाको राजकुल दरबार सुन्दरचोकमा षडाम्नाय, दशानाय, षोडशाम्नाय मूर्तिमा चौसठ्ठी योगिनी आवण देवता भएको स्थानमा स्थापना गरी विराजमान गरिएको हो । त्यसपछि नेपालका राजा श्री गीवार्णयुद्ध विक्रम शाहबाट श्री दक्षिणकाली माईको नित्य पूजा तथा महापूजाको लागि फर्पिङ इलाकाका भित्र परेको जग्गा ५ सय ४ मुरी खेत राजगुठीमा राखी त्यहाँको आयस्ताबाट उनको पूजाआजा चलाउन भनी १८५६ मा ताम्रपत्र समेत खडा गरी विधिपूर्वक सङ्कल्प गरी पूजा तथा महापूजा चलाइ राखिएको छ ।
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृतिमा केही चोटहरू देखिन्छ । महापूजा वर्षको दुई पटक गरिन्छ । वैशाख कृष्ण त्रयोदशी र भदौ कृष्णअष्टमीका दिनमा पूजा गर्ने चलन छ । क्रमशः शाह वंशीय राजा श्री ५ त्रिभुवन वीर विक्रम शाहको पालामा २००७ सालमा ईश्वरी मार्ग नामकरण गरी काठमाडौंदेखि फर्पिङसम्म मोटर सडकको स्थापना गरी उद्घाटन गरियो । श्री ५ महेन्द्रको पालामा दर्शनार्थीलाई सहज होस् भन्नका लागि माथिदेखि मन्दिरसम्म कोलो ढुङ्गाको सिँढी छाप्ने काम सम्पन्न भयो । राजा वीरेन्द्रको पालामा श्री दक्षिणकाली माईको प्राङ्गणमा मार्बल छाप्ने काम भयो । यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् ।
राजाहरू पनि यहाँ बसेर्नी वैशाखमा आफ्नो देवाली मनाउन जाने गर्दथे । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्ने प्रशस्त सम्भावना छ । यो मन्दिरमा बसेर्नी लाखौँ भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् । मूलतः दसैँको बेला यहाँ विशेष मेला लाग्छ । दसैँको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोणले धनी छ ।
एक किंवदन्तीअनुसार नेपालका तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् ।
‘दक्षिणकाली माई’लाई फर्पिङ स्थित नगर्चो डाँडाबाट नेवार राजा प्रताप मल्लले तान्त्रिक लम्बकर्ण भट लगाई माई सहित देव गण सार्ने क्रममा गौदामा (पुरानो दक्षिणकालीको नवनिर्मित द्वार) र पौच डाँडा (दक्षिणकाली मन्दिर भन्दा माथिको डाँडा) मा गणेश र केही भगवान् सूर्य उदाउने क्रममा भाले कराएको कारण त्यही अड्केको र रगत खान नपाएको भनाइ किम्बदन्तीमा उल्लेख छ।

सम्बन्धित समाचार