काठमाडौं । आज पनि काठमाडौं उपत्यकाका सडकहरुमा सवारी आवागमन प्रभावित हुने भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना नै निकालेर बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको छ । सूचनामा सवारी आवागमन प्रभावित हुनुको कारण भने नखुलाई ‘विशेष कारणबश’ मात्र लेखिएको छ ।
यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोधसमेत गरेको छ । चिनियाँ प्रतिनिधिमण्डल आउ-जाउ गर्दा हिजो पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको थियो ।