भक्तपुर वडा नं ५ अन्तर्गत पर्ने एक टोलको नाम तुलाछें हो । भक्तपुर नगरको सबैभन्दा पुरानो दरवार एरियाको रुपमा यस टोललाई लिने गर्दछ । यक्ष मल्लकालिन दरवार क्षेत्र (दत्तात्रय स्क्वायर), भक्तपुर दरवार स्क्वायर भन्दा पनि पुरानो दरवार एरियाको रुपमा यस तुलाछेंलाई लिने गर्दछ ।
यस टोलको नाम किन तुलाछें रहन गयो भन्ने प्रश्नको उत्तरमा लिच्छविकालिन रानी तुला महारानीको घर (दरवार) यसै टोलमा रहेकै कारण यस टोलको नाम तुलाछें रहन गएको थियो भन्ने मान्यता रहेको छ । राजा आनन्ददेवले जब भक्तपुर नगरको निर्माण गरेका थिए, तब भक्तपुरलाई सुरक्षा प्रदान गर्न शक्तिको केन्द्र त्रिपुरसुन्दरीलाई मध्य पर्ने गरि भक्तपुरको वरिपरि अष्ट मातृका र दस महाविद्याको स्थापना गरेका थिए । यस अर्थले हामी यो भन्न सक्छौ कि नेपालमा तुलजा भवानी (तलेजु भवानी) ल्याउनु पुर्व नेपालका शक्तिको केन्द्रको रुपमा त्रिपुरसुन्दरी माई थिए ।
राजाले भक्तपुरलाई नेपाल मण्डलको राजधानी मानी यसै देवीको नामबाट यस टोलमा एक राजप्रासाद बनाएका थिए । त्यस दरवारलाई त्रिपुर दरवार भन्ने गरिन्छ । त्रिपुर दरवार रहेको यस टोलको नाम तुलाछें रहेतापनि यहाँ त्रिपुरसुन्दरी माई अवस्थित रहेकै कारण आजकल यस टोलको नाम त्रिपुरासुन्दरी भन्न थालिएको छ ।
यसका साथै यस टोलको अर्को बिशेषता भनेको जगन्नाथ धाम हो । यो धाम नेपालको पहिलो धामको रुपमा परिचित छन । वि.सं १९९० सालको भुकम्पले सम्पुर्ण रुपमा नष्ट भएको यस धाममा हाल सम्म पनि भगवान जगन्नाथको सानो मन्दिर रहेको छ भने यस मन्दिर अगाडि खम्बामा बसिरहेको गरुडको मुर्ती रहेको छ जुन राजा यक्ष मल्लले निर्माण गर्न लगाएका थिए ।