मंगलबार , असार २, २०८३

हिमालमै मर्न जन्मिएकी हिलारीको ज्यान गयो हिमालमै

बाल्यकालदेखि नै साहसिक खेलमा रूची भएकी हिलारीले तीन वर्षको उमेरदेखि नै स्कीमा पाइला राखेकी थिइन् ।

image

काठमाडौँ । ‘म हिमाल चढ्न एकदमै उत्सकु छु । मेरो जन्म हिमालमै मर्नका निम्ति भएको हुनुपर्छ,’ विश्वका अधिकांश उच्च हिम हिमश्रृंखलामा कीर्तिमान राखेकी ४९ वर्षिया हिलारी नेल्सनले फ्रान्सको मन्ट ब्ल्यांकबाट फर्किएपछि द ग्याजेटसँग भनेकी थिइन् ।

बाल्यकालदेखि नै साहसिक खेलमा रूची भएकी हिलारीले तीन वर्षको उमेरदेखि नै स्कीमा पाइला राखेकी थिइन् ।

सन् २०१८ मै आफ्नो मृत्युबारे उनको कल्पना सत्य साबित भएको छ । मनास्लु हिमालमा स्की गर्ने क्रममा आएको हिम पहिरोले उनको ज्यान गएको छ । बुधबार उनको पार्थीव शरीर नेपालको मनास्लु हिमालको आधार क्षेत्रमा भेटिएको थियो ।

कलेज पढ्दा बिदा मनाउन युरोप पुगेपछि उनले स्कीलाई नै आफ्नो भविश्य बनाउने अठोट गरेकी थिइन् ।  त्यसपछि उनले अमेरिका र युरोपका हिमालमा मात्र होइन, संसारकै अग्ला ‍हिमालहरूमा स्की गर्ने अठोट गरेकी हुन् ।

यसबारे एक अन्तरवार्तामा उनले भनेकी छिन् । ‘कलेज सकेपछि स्कीमा भविष्य खोज्दै म अल्प्स पुगेकी थिएँ । त्यो क्षेत्र मेरा निम्ति अर्को विश्वविद्यालय बन्यो । पाँच वर्ष त्यहाँ बिताएपछि म कुशल स्की प्लेयर बनेर फर्किएँ ।’

स्कीमा अमेरिकाको प्रतिनिधित्व गरेकी उनले सन् १९९६ देखि राष्ट्रलाई पदक दिलाउन थालिन् । उनी युरोपियन वुमन एक्सट्रिम स्किइङ च्याम्पियनसमेत बनेकी थिइन् ।

अमेरिकाको स्की टिममा १४ वर्षको उमेरदेखि नै प्रवेश गरेकी उनले १६ वर्षको उमेरमा युएस डाउनहीलको उपाधि जितेकी थिइन् । त्यसपछि पछाडि फर्केर हेर्नु नपरेकी उनले सन् १९९७ को विश्व डाउन हिल च्याम्पियनसिपमा स्वर्ण पदक समेत जितेकी छिन् ।

स्कीको विश्वकपमा उनी तीन पटक च्याम्पियन बनिन् भने २७ पटक उत्कृष्ट १० मा परिन् । नेशनल जियोग्राफिकका अनुसार उनी ८ हजार मिटर भन्दा अग्ला हिमालमा स्कि गर्ने एक मात्र महिला हुन् । नेपालका अधिकांश ८ हजार माथिका हिमालमा सफल आरोहण र स्की गरेकी उनी २४ घण्टाभित्र  सगरमाथा र ल्होत्से चढ्ने पहिलो महिला बनेकी थिइन् ।

सन् २०१२ मा उनले २४ घण्टाभित्र ८ हजार मिटर भन्दा अग्ला दुई हिमाल सगरमाथा र लोत्से हिमाल आरोहण गरेर उनले कीर्तिमान बनाएकी थिइन् ।

होली पिक्सका नामले परिचिति मंगोलियाको पाँच वटा चुलीमा पनि उनले सफलतापूर्वक स्की गरेकी थिइन् । विश्वका १६ मुलुकका ४० वटा हिमाल आरोहण गरेकी उनी नर्थ फेस टिमको पहिलो महिला क्याप्टेन समेत हुन् ।

सन् १९७२ मा जन्मेकी उनी स्की माउन्टेनर हुन् । दुई सन्तानकी आमा समेत रहेकी नेल्सन आफ्ना सन्तानलाई पनि हिमाल आरोहण गर्न सिकाउँथिन् । हिमालमै मर्न जन्मिएको भन्ने इच्छा गरेकी हिलारीको प्राण नभन्दै हिमालमै गएको छ ।

(यो लेख विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको हो ।)

सम्बन्धित समाचार