सामान्यतया अन्य ठाउँको खट् जात्रामा गजुर टुप्पोमा भएको मन्दिरको जात्रा गरिन्छ । तर यहाँ रथको गजुर भुईँतर्फ रहन्छ भने गर्भगृह र भगवानको मूर्ति माथि (आकाशतर्फ) राख्ने अनौठो प्रचलन छ ।
‘कहीँ नभएको जात्रा हाँडी गाउँमा।’
नेपालीहरू यस उखानबारे जति जानिफकार छन्, उति ‘हाडीगाउँ जात्रा’बारे छैनन् । उखानको अन्तर्य बुझ्ने र बुझाउने सवालमा हामी चुकेका छौँ ।
कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो । हरेक वर्ष नर दे: (हाडीगाउँ) मा ‘हाडीगाउँ जात्रा’ निकाल्ने गरिन्छ । ब्रह्मा, विष्णु र महेश्वरको खट् यात्रा गराइने यस जात्रालाई ‘चोक्ते: नारायण’ जात्रा पनि भनिन्छ । कतिं पुन्ही (कोजाग्रत पूर्णिमा) को भोलिपल्टदेखि तीन दिनसम्म मनाइने यस जात्रा काठमाडौंका अन्य जात्रा भन्दा निकै भिन्न छ ।

सामान्यतया अन्य ठाउँको खट् जात्रामा गजुर टुप्पोमा भएको मन्दिरको जात्रा गरिन्छ । तर यहाँ रथको गजुर भुईँतर्फ रहन्छ भने गर्भगृह र भगवानको मूर्ति माथि (आकाशतर्फ) राख्ने अनौठो प्रचलन छ । यी सबका बाबजुद, पृथ्वी जस्तो घुम्ने आकारको मन्दिरको जात्रा गरिने भएकाले पनि यस जात्रालाई ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भन्ने गरिएको हुनुपर्दछ । मुलुकमै कतै नदेखिएको प्रचलन देखिएकाले ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान जनबोलीमा बस्न आइपुगेको हो ।
खटको टुप्पोमा हिमालको प्रतीकका रूपमा बेतको गोलाकार चक्कालाई सेतो कपडाले बेरिन्छ । बीच भागमा पृथ्वीको प्रतीकका रूपमा घुमाउन मिल्ने गरी बाँस र बेतले कलात्मक ढङ्गले मन्दिर बनाउने गरिन्छ, जसको माथिपट्टि पृथ्वीको सृष्टि फूलका बगैँचाका रूपमा फूलैफूलले सजाइन्छ । सुनको धागोले उनेको मैनको फूल (सि स्वाँ) निकै आकर्षक देखिन्छ ।

सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई पूजा गर्दछन् । जात्रामा ब्रह्माको प्रतीकको खट कोतास् टोलका, विष्णुको खट न्याम्ह टोल र महेश्वरको थतु टोलका गुठियारले बोकेर जात्रा गर्ने चलन छ । खट यात्राका लागि पोङ्गा बाजा अनिवार्य बजाउने परम्परा छ । यस दिन हाडीगाउँका स्थानीय निराहार बसेर पुरुषले ‘म्हतुं दाय्गु’ भनी जीउले नापी प्रत्येक एक जीउ बराबर एक बत्ती चढाउँदै नगर परिक्रममा गर्छन् । तर केही वर्षदेखि यो परम्परा भने लोप हुँदै गएको छ । यो जात्रा विगतमा भने रातको समयमा मात्र मनाइने गरिन्थ्यो ।
जात्राका लागि कोजाग्रत पूर्णिमा (हिजो) को दिनमा कोता: गुठीका गुठियारहरू शिवपुरीमा विराजमान भगवान् विष्णुको आत्मा लिनका लागि बाँसबारीमा रातभर जाग्राम बस्ने गर्दछन्, जसलाई नेपाल भाषामा ‘द्य: कावनेगु’ भनिन्छ । भोलिपल्ट बेलुका विष्णु भगवानको आत्मा कोता: टोलस्थित पुजारीको घरमा राखिएको मूर्तिमा प्रतिस्थापन गरिन्छ । त्यस रातदेखि मूर्तिलाई विधिवत् रूपमा पूजाआजा गरि खट्मा विराजमान गराई नगर परिक्रममा गरि जात्रा मनाउने गरिन्छ । यी त्रिदेवको एकैपटक दर्शन, पूजाको साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहदै आएको छ ।

किम्बदन्ती:
मुलुकमै नभएको जात्रा कसरी सुरु भयो भन्ने पनि रोचक किम्बदन्ती छ । स्थानीय धिमे बाजा खालका गुरु टेकबहादुर डङ्गोलका अनुसार, ‘परापुर्वकालमा दिदीको बिहे धनी र बहिनीको गरिब परिवारमा भएछ । धनी दिदीले ‘राम्रो, स्वस्थ सन्तान जन्माउन सक्छु’ भनी घमन्ड गरिन् । बहिनीले आफूसँग धन सम्पत्ति नभए पनि भगवान् विष्णुप्रति आस्था भएकाले ‘आफ्नो पनि राम्रो सन्तान जन्मने’ विश्वास लिइन् ।
९ महिनामा बहिनीले स्वस्थ सुन्दर सन्तानको जन्म दिइन् । तर, घमन्ड गर्ने दिदीको गर्भमा रहेको सन्तान भने १२ वर्ष बित्दा पनि जन्मिएन । गर्भावस्थामै दाह्री जुँगा पलाएपछि ज्योतिषीलाई देखाउँदा ‘रिसाएर शिवपुरी जङ्गलमा बसेका विष्णुलाई मनाउन सके बच्चा जन्मिने’ दिदीलेले थाहा पाइछन् । त्यसपछि ज्योतिषकै सल्लाहमा दिदीले क्षमापूजा गरिन् ।
अन्यत्र कतै नपाइने खटमा राखेर जात्रा गर्ने, सुनको धागोले गाँसेको मैनको फूल र हिमालय पर्वतलाई ल्याएर जात्रा गर्ने प्रतिबद्धता उनले गरेपछि विष्णु खुसी भएछन् । यसरी १४ वर्षपछि जन्मिएको छोरालाई विष्णुको प्रतीकका रूपमा लिइयो । १४ वर्षमा जन्मिएको हुनाले नेपाल भाषामा नारायणलाई चोक्ते: नारायण भनिएको डङ्गोलको भनाइ छ ।’


फोटो : हाम्रो मठमन्दिर लगायत
भिडियो