शुक्रबार , जेठ ८, २०८३

कुकुर पूजा किन गर्ने ? कुकुरबारे के छन् रोचक तथ्यहरू ?

पशुजगतका प्राणीहरुमध्ये मानिसँग सबैभन्दा नजिक हुने भनेको कुकुर हो । प्राचीन आदिम कालदेखि नै कुकुरसँग मानिसको सम्बन्ध रहेको तथ्यहरु छन् ।

image

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन आज कुकुर तिहार मनाईन्छ । कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरि माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मनपर्ने खानेकुरा खान दिइन्छ ।

हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान् भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।

अर्को पौराणिक प्रसंग अनुसार, यमलोकमा यमराजको द्वारपालका रूपमा रहने कुकुरलाई सम्मान गर्नाले मृत्युपश्चात् यमद्वारबाट मार्गप्रशस्त गरी स्वर्ग जाने बाटो देखाइदिने विश्वास गरिन्छ । द्वापरयुगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको बाटैमा देहावसान भएको र धर्मराज युधिष्ठिरलाई कुकुरले स्वर्गको ढोकासम्म पुर्याएको सन्दर्भ महाभारतमा उल्लेख छ ।

पशुजगतका प्राणीहरुमध्ये मानिसँग सबैभन्दा नजिक हुने भनेको कुकुर हो । प्राचीन आदिम कालदेखि नै कुकुरसँग मानिसको सम्बन्ध रहेको तथ्यहरू छन् । घरको सुरक्षा गर्न होस् अथवा सिकार खेल्न जाने बेलामा बाटो देखाउने, इसारा गर्नेमा कुकुर सबैभन्दा अगाडि छ । त्यसैले कुकुरको पूजा गरिन्छ भनिन्छ ।

कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन पौराणिक कथा अनुसार कृष्णले एक दैत्य नरकासुरको संहार गरेका थिए ।

यसैगरी, यस दिन मासको पात खाने चलन छ । लिङ्ग पुराण अनुसार यो दिन मासको पातको साग खाए मानिसका सबै पाप नाश हुन्छन् । त्यसैगरी यो दिन सबै पाप नाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ । नर्के नुहाइसकेपछि दीपदान गर्नुका साथै तथा तिलको बोट बालेर आगो तापिन्छ । यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ ।

कुकुरलाई खान दिँदा ‘द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ। ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ।’ अर्थात् ‘वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु । तिमीहरू अहिंसक बन’ भनिन्छ ।

वर्षको एकदिन सम्मान पाएर ३६४ दिन निकृष्ट व्यवहार खेप्ने कुकुरको पीडा एकातिर छ भने पश्चिमा संस्कृतिको नक्कल गर्दै शहरी भेगमा अचेल धेरैको परिवारको सदस्यकै सम्मान पाउन थालेको छ । सुत्नेकोठादेखि भान्सासम्म र बैठककोठादेखि पूजाकोठासम्म पहुँच बनाएको छ । एकाबिहानै कुकुरलाई शौच गराउन जाने सम्भ्रान्तहरूको नित्यकर्ममै पर्न थालेको छ ।

सनातन हिन्दु धर्ममा कुकुरको स्थान घर बाहिरै बताइएको छ । जति नै नुहाइधुवाइ गरेर राजसी ठाँटमा वा बाँधेरै राखे पनि मौका पाउने बित्तिकै फोहोरजन्य पदार्थ खानु कुकुरको गुण हो  । त्यसकारण धर्मशास्त्रहरूले कुकुरलाई घरभित्र निषेध गरेका छन् । खाना, पूजासामग्री कुकुरले छुँदा अपवित्र मानिन्छन् ।

वर्षौंदेखि कुकुरको रहस्यपूर्ण कथा खोतलिरहेका वैज्ञानिकले जंगली स्यालबाट घरपालुवा कुकुर विकास भएको समय कम्तीमा १५ हजार वर्ष अघिलाई मानेका छन् । संसारका विभिन्न देशबाट संकलन गरिएको कुकुरको डिएनए परीक्षणबाट वैज्ञानिकहरू के नतिजामा पुगेका छन् भने, घरपालुवा कुकुरको विकास नेपाल वा मंगोलियाबाट भएको हो ।

कुकुरबारे रोचक तथ्यहरू

  • औषत रुपमा कुकुरको बौद्धिक क्षमता दुई वर्षको बालकको जस्तै हुन्छ । अमेरिकन साइकोलोजिकल एसोसिएसनका अनुसार कुकुरले २५० शब्दसम्म सिक्न सक्ने र त्यसअनुसारका हावभाव प्रस्तुत गर्न सक्छ ।
  • कुकुरले आफ्नो शरीरको सामान्यतया पृथ्वीको चुम्बकीय क्षेत्रसँग भएपछि मात्रै दिसा गर्छ ।
  • कुकुरका तीन परेला हुन्छन् । दुईवटा सहज रुपमा देखिने हुन्छन् भने एउटा कुकुरका आँखाको भित्री भागमा रहन्छ ।
  • विश्वको पहिलो कुकुर ३१ हजार ७०० वर्ष पहिले जीवित थियो र त्यो साइबेरियन हस्की जस्तो देखिन्थ्यो ।
  • कुकुरले जिब्रोको पछाडिको भागको सहयोगमा पानी पिउँछन् । कुकुरको गाला नहुने भएकाले मानिसले जसरी पानी पिउन सक्दैनन् ।
  • कुकुरको सुन्ने शक्तिमा सहयोग पुर्‍याउने १८ वटा मसल हुन्छन । मानिसमा यस्ता मसल मात्रै ६ वटा हुन्छन् ।
  • कुकुरको सुँघ्ने क्षमता मानिसको तुलनामा १० हजारदेखि एक लाख गुणा बलियो हुन्छ ।
  • कुकुरको पसिना उनीहरुको खुट्टाको पञ्जाबाट बाहिरिन्छ ।
  • कुकुरमा कुनै पनि व्यक्तिको श्वासको गन्धबाटै पनि क्यान्सर सेलबारे जानकारी पाउन सक्ने क्षमता हुन्छ ।
  • तालिम प्राप्त कुकुरले २५ जना खालि हात बराबरका मानिसले दिने सुरक्षा दिन सक्छ ।
  • सुगन्धित रसायनलाई अवशोषण गर्नका लागि कुकुरको नाक जहिले पनि भिजेको जस्तो हुन्छ । यस्तै भिजेको नाकले उनीहरुको शरीरको तापक्रम व्यवस्थित गर्नलाई पनि सहयोग गर्छ ।
  • कुकुरले आफ्नो क्षेत्र निर्धारण गर्न पिसाब फेरेर छोड्ने गर्छ ।
  • कुकुरको शरीरको सामान्य तापक्रम १०१ देखि १०२.५ डिग्री फरेनहाइटसम्म हुन्छ ।
  • मानिसले जस्तै कुकुरले पनि सपना देख्छन् ।

सम्बन्धित समाचार