बुधबार , कार्तिक १२, २०८३

यमपञ्चकको चौंथो दिन : गाई, गोरु र गोवर्द्धन पूजा गरिनुका किम्बदन्तीहरू

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौंथो दिन गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ ।

image

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौंथो दिन गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ।

गाई पूजा

कार्तिक कृष्ण ‌औ‌ंशीको दिन अथवा तिहारको चौंथो दिन गाईको पूजा गरिन्छ । गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

यस दिन गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

हलि एवं गोरु पूजा

गोरु कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर हो । गोरु भगवान् शिवको वाहन हो । गोपाल शब्दले गाई पाल्ने व्यक्ति, गाईको धनी, ग्लावा, गोठाला आदिको पनि बोध हुन्छ । गोपाल भगवान् श्रीकृष्णको पर्यायवाची नाम पनि हो । द्वापरयुगमा नै इन्द्रले पानी नपारि दिएकाले कृषि पेसामा संलग्न कर्मयोगी गोपालहरू अत्यन्त चिन्तित थिए । यो अवस्थामा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वतको पूजा गर्ने सल्लाह दिएको पनि भनिन्छ । गोपालहरूले त्यसै गरे, फलस्वरूप वर्षा भयो । सबै अन्न र ऐश्वर्यबाट समृद्ध भए । गाई र गोरुको संख्यामा पनि वृद्धि हुन पुग्यो । यसरी गोरुतिहार पर्व गोवर्द्धन पर्वतसँग गाँसिन पुगेको छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन पनि रहेको छ । यस दिन गोरुतिहारका रूपमा गोरुको पूजा गर्ने, गाईको गोबरबाट पहाड निर्माण गरी गोवर्द्धनको कामना गर्दै गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहिआएको छ । गोरु पूजा गर्दा चामलको पिठोमा विभिन्न खालका रंग मिसाएर रंगिचंगी बनाई ढाडमा बुट्टावाला छाप बनाईदिने पनि गरिन्छ ।

गोवर्द्धन पूजा

गोवर्द्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो । गोबरलाई गोवर्द्धन पर्वतको प्रतीकका रुपमा गोवर्द्धन पूजा गरिन्छ । गोवर्द्धन पूजा तिहार चाडभित्रको एउटा प्रमुख पर्व हो । पौराणिक कथा अनुसार गोवर्द्धन पर्वतमा ग्वालाहरूसँगै भगवान् कृष्ण पनि बस्दथे । ग्वालाहरू देवराज इन्द्रको पूजा गर्दथे, तर जति भक्ति गरेपनि उनीहरूले इन्द्रबाट केहि पाउँदैन थिए । गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा किन गर्नु भनि श्रीकृष्णले एकदिन गोकुलवासीहरूलाई भनेपछि उनीहरुले पनि पूजा गर्न छाडे । बरु इन्द्रको साटो उनीहरुले खनिज, घाँस, पानी र दाउरा दिने गोवर्द्धन पर्वतको पूजा गर्न थाले ।

आफ्नो सट्टा गोवर्द्धन पर्वतको पूजा हुन थालेपछि इन्द्रले पनि रिस थाम्न नसकि गोकुलमा भिषण असिना पानीको वर्षा गराईदिए । गोपालहरू असिना पानीले त्राहित्राही बनेको देखेर कृष्णले गोवर्द्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीको कल्याण गरी आश्रय दिए । अन्त्यमा इन्द्रले आफ्नो हार स्विकार गरी कृष्ण समक्ष क्षमा मागे । भनिन्छ, उक्त दिन कार्तिक शुक्ल प्रतिपदाको दिन भएको र त्यसै समयदेखि गोवर्द्धन पूजाको आरम्भ भएको हो ।

हिन्दु मान्यताअनुसार भगवान कृष्णले दिनमा आठ पटक खाना खान्छन् । इन्द्रको क्रोधबाट सबै प्रजालाई बचाउनका लागि भगवान् कृष्णले गोवर्द्धन पर्वत उठाएपछि भगवानले लगातार सात दिनसम्म भोजन र पानी लिन पाएका थिएनन् । त्यसैले, ७ दिन ८ पटकको दरमा ५६ भोग चढाउने चलन छ । त्यसयता गोवर्द्धन पूजाको दिन कृष्णलाई ५६ वटा भोग अर्पण गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले हिन्दु धर्ममा गोवर्द्धन पूजाको विशेष महत्व रहेको र यस दिन ५६ वटा भोग अर्पण गर्नु फलदायी मानिन्छ ।

THE RITUAL OF GOVARDHAN PUJA IN VRINDAVAN – ISKCON Kolkata

गोवर्द्धन पूजा कसरी गर्ने? यस्तो छ विधि;

  • सूर्योदय अघि उठेर नित्य दैनिक कार्यहरु सक्काउनुहोस् । अब शरीरमा शुद्ध तोरीको तेल मलेर स्नान गर्नुहोस् ।
  • घरलाई गौमूत्र अथवा गंगाजल छर्किएर शुद्ध गर्नुहोस् ।
  • स्वच्छ वस्त्र (पहिरण) धारण गरी आफ्नो इष्टदेव तथा पितृहरुको ध्यान गर्नुहोस्, तत्पश्चात् अब गोवर्द्धन पूजाका लागि तयार हुनुहोस् ।
  • आफू बस्ने घरको पूजाकोठाको ढोकामा गाइको गोबरबाट गोवर्द्धनपर्वत जस्तो आकृती बनाउनुहोस् । यस कार्यमा परिवारका सदस्यहरुलाई पनि संलग्न गराउनुहोस् ।
  • यसरी तयार पारिएको गोवर्द्धन पर्वतमाथी रुखहरु जस्तो आकृतीका लागि, रुखको हाङ्गाविङ्गा तथा फूलहरु आदिले सजाउनुहोस् ।
  • यसपछि गोवर्द्धन पर्वतलाई अविर, केसरी, अक्षता तथा फूल आदिले विधिवत पूजा गर्नुहोस् ।
  • फूल अक्षेताले पूजा गरिसकेपछि अब हातमा फूल अविर र अक्षता लिएर यस मन्त्रको पाठ गर्नुहोस् ।

(विभिन्न स्रोत सामग्रीमा आधारित)

सम्बन्धित समाचार