बिहिबार , भाद्र ११, २०८३

भीमफेदीवासीको इष्ट देवता भीमसेन महाराज !

महाभारतकालीन भीमसेनले हेडम्बा राक्षससँग युद्ध गरी मारेर हेडम्बाकी एक मात्र बहिनी भुटनदेवीसँग विवाह गरी सुहागरात मनाएको ठाउँलाई 'हेडम्बा' भन्ने नामले चिनिन्थ्यो तर ठाउँको नाम अपभ्रंश हुन गई 'हेटौँडा' रहन गएको कथन छ ।

image

  • सुभाषचन्द्र पौडेल, भीमफेदीया

भीमफेदी बजारको धानगोदाम भन्ने ठाउँमा भीमसेनको मन्दिर छ । भीमफेदीको एक मात्र सरकारी अस्पतालको ठीक सामुन्ने रहेको यस मन्दिरभित्र भीमसेन महाराज र द्रौपदी महारानीको ज्यादै आकर्षक एवम् कलात्मक धातुको मूर्ति उभिएर रहेको अवस्थामा छ ।

भीमफेदीवासीको इष्ट देवताको रूपमा रहेको यस मन्दिरको आफ्नै महत्त्व तथा ऐतिहासिक पृष्ठभूमि रहेको पाइन्छ । शुरुमा यो मन्दिर हाल रहेको स्थानमा नभई पारिबजार भन्ने ठाउँको सिरान तथा कोल डाँडामुनिको फेदीमा अवस्थित थियो । त्यही ठाउँमा नै भीमसेन महाराजले वास बसेको कारण भीनसेन बसेको फेदीबाट ‘भीमफेदी’ नाम बन्न पुगेको किंवदन्ती तथा जनश्रुति रहँदै आएको छ ।

किंवदन्ती तथा जनश्रुति:

महाभारतका एक प्रमुख पात्र कुन्ती पुत्र बलवान् श्री भीमसेन महाभारतको युद्ध समाप्तिपछि भारतबाट पैदल हिँडेर नेपालभित्र छिरेका र थकाइ मार्न विभिन्न ठाउँमा वास बस्दै जाने क्रममा भीमफेदी आइपुगेकाको बखत उनले राति वास बसेर भोलिपल्ट बिहान उठेर गडी देउराली हुँदै चितलाङ्गको बाटो भएर चन्द्रागिरि डाँडो काटेर काठमाडौं भित्रिने बेलाको ऐतिहासिक यात्राको कथन हो यो ।

भीमफेदी आइपुग्नु अघि भीमसेनले हालको हेटौँडामा एउटा राक्षसलाई मारेर उनकै बहिनीसँग गन्धर्व विवाह पनि गरेको किंवदन्ती सुन्न पाइन्छ । हेडम्बा भन्ने राक्षसको जगजगी रहेको हालको हेटौँडामा घना जङ्गल रहेको र मानव वस्ति ज्यादै न्यून भएको बेला त्यो हेडम्बा राक्षससँग युद्ध गरी मारेर हेडम्बाकी एक मात्र बहिनी भुटनदेवीसँग विवाह गरी सुहागरात मनाएको ठाउँलाई ‘हेडम्बा’ भन्ने नामले चिनिन्थ्यो तर ठाउँको नाम अपभ्रंश हुन गई ‘हेटौँडा’ रहन गएको कथन छ । तिनै भुटनदेवीलाई हाल हेटौँडाका स्थानीय वासिन्दाले आराध्य देवीको रूपमा पुज्दै आएका छन् ।

त्यसपछि भीमसेनले काठमाडौंका लागि हिँड्ने क्रममा सुपारीटारस्थित हालको आर्मी ब्यारेक भएको ठाउँमा विश्राम गरेको र त्यहाँ उनले खाना पकाएर खाएको छुट्टै कहावत पनि सुन्न पाइन्छ । खाना पकाउनुका लागि उनले तीन वटा ठूला ठूला ढुङ्गाहरू प्रयोग गरी बनाइएको चुल्हो पनि हालसम्म पनि सही सलाम यथावत् छन् भन्ने कुरा सुन्न पाइन्छ । त्यतिखेर काठमाडौं जाने मुख्य नाका भनेकै भीमफेदीको बाटो भएर पैदलै हिँड्नु बाहेक अरू विकल्प थिएन ।

सुपारीटारमा खाना पकाएर खाईवरी आराम गरेपछि पैदल आएका भीम कोलडाँडाको फेदीमा पुग्दा झमक्क साँझ परेको हुँदा त्यहीँ रहेको एक जना नेवार समुदायका व्यापारीको पसल रहेको घरमा पुगेछन् । एक रात वास माग्न पुगेका भीमलाई ती व्यापारीले घरभित्र ठाउँ नभएकोले पसल बाहिरको फलैँचामा बास बस्न दिएछन् । तिनै व्यापारीको पसलबाट चिउरा र सक्खर किनेर खाएपछि वृद्ध व्यापारीले दिएको करुवाको पानी टन्न पिएर फलैँचामा मस्तसँग सुतेछन् ।

बिहानीपख ब्राह्म मुहूर्तमा ती व्यापारीलाई लघुशङ्का लागेर ढोका खोली बाहिर निस्किनु लाग्दा साँझ वास बस्नु आइपुगेका साधारण मान्छेलाई अग्लो मोटो र जुँगामुठे मान्छेको भयङ्कर रूप देखेर आत्तिएछन् । ती व्यापारीले ‘यी कोही साधारण मान्छे होइननन्, पक्कै पनि भीम हुनुपर्छ’ भन्ने शङ्का गरेछन् । व्यापारीहरूले भीमसेनलाई पुज्दै आएकाले उनले भीमसेनको विशाल स्वरूप देखेपछि एक्लै बाहिर निस्कन डराइ घरभित्र रहेको झ्यालबाट निस्केर छरछिमेकीहरूलाई गुहार्न थालेछन् । छरछिमेकी नआइपुग्दै फेरि भीमलाई हेर्न जाँदा साधारण मानव आकृतिमा देखेपछि उनले भीमको गोडामा छाद हाल्न पुगेछन्- ‘भीमसेन महाराजकी जय’ भनेर ।

त्यति नै बेला कुखुरी काँ भनेर कुखुरो बासेछ । कुखुरो बास्नासाथ भीम अलप भएछन्। वृद्ध व्यापारीले समाइराखेको भीमको एउटा गोडा शिला भई जमेछ । त्यतिन्जेलसम्म गाउँले छर छिमेकीहरू समेत जम्मा भई हेर्दा त एउटा अजङको शिला जमिनमा गाडिइएको देखिएछ । सबैले ‘भीमसेन महाराजकी जय जय’ भनेर जयकार गर्न थालेछन् । त्यो शिला बनेर गाडिएको ढुङ्गाको गोडा जमिनबाट निकाल्न ती व्यापारीले धेरै कोसिस गर्दा पनि त्यो निस्कन सकेनछ । दिनभर खनेर माटो निकालेर फाल्दै गयो रात परेपछि ‘अब भोलि निकाल्नु प’र्छ भनेर छाड्यो । बिहान उठेर हेर्दा राति खनेको सबै माटो पुरिएर जस्ताको त्यस्तै हुने गर्दो रहेछ । धेरै दिनको प्रयत्नपछि पनि शिला डेग नचलेर जहाँको त्यहीँ गाडिएर रहेकोले ती व्यापारीले त्यही ठाउँमा भीमसेनको मूर्ति स्थापना गरी दैनिक पूजापाठ गर्न थालेछन् । व्यापारीको व्यापार व्यवसाय झन् झन् फस्टाउँदै गएछ । वृद्ध व्यापारीले वरिपरि धेरै ठाउँबाट खन्न लगाएर ठूलै खाल्टो बनि सकेको हुँदा भीमसेन र द्रौपदीको मूर्ति पनि खाल्टोमा राखिए ।

शुरूमा शिलाको मूर्ति बनाई पूजाआजा गर्दै आए पनि धेरै पछि आएर भीमसेन र द्रौपदीको धातुबाट बनेको सुन्दर मूर्ति प्रतिस्थापन गरी नित्य पूजापाठ र भजन कीर्तन गर्दै आएको पाइन्छ । सायद वि.सं.२०२२ सालको ठूलो बाढीले गर्दा त्यति बेलाको मन्दिर पुरिनु गयो । झन्डै डेढ वर्षपछि उत्खनन गर्दा भीमसेनको बायाँ हातको एउटा औँला काटिएको बाहेक अरू सबै सही सलामत भेटियो । त्यही भत्किएको ठाउँबाट एक जोडी कछुवा समेत जीवित अवस्थामा फेला परेपछि सबैले उदेक मानेका थिए । पारिबजारबाट वारि बजारमा मन्दिर धेरैपछि मात्र सारिएको हो । त्यति बेलाको बाढीले बगाएका पारि बजारका घरहरू फेरि जीर्णोद्धार हुन सकेन र अहिले पारिबजार बगरमा परिणत भएको छ । पारिबजार जाने बाटोको दुवै किनारामा लस्करै पसलहरू र घरहरू भएको सुन्दर वस्ति रहेको धमिलो सम्झना छ यो लेखकलाई । त्यति बेला यो लेखक सात आठ वर्षको थियो होला ।

भीमसेन जात्रा:

प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन भीमफेदीका सबै जात र समुदाय सम्प्रदायका व्यक्तिहरूले बिहानै भीमसेनस्थान गएर पूजापाठ गर्ने र बली चढाउने गर्दछन् भने घर घरमा भोज भतेर गरी रमाइलो गर्दछन् । अनि साँझ परेपछि सबै उमेरका व्यक्तिहरू मिलेर कलात्मक काठ र धातुले बनाइएको रथमा भीमसेनको प्रतिमा राखेर भीमसेन मन्दिरबाट बाजागाजा सहित रथ बोकेर भीमफेदीको बजार तथा टोल टोलमा पुर्‍याएर फेरि घर घरबाट पूजा अर्चना गराई पूरा भीमफेदीको गाउँ परिक्रमा गराएर भीमसेन मन्दिरमै लागि विराजमान गराइन्छ । यसरी त्यो दिनलाई भीमफेदीवासीले एउटा ठूलो स्थानीय चाडको रूपमा मनाउने गर्छन् ।

पारि बजारमा छँदा भीमको रथ यात्रा पारिबजार स्थित मन्दिरबाट शुरू गरी गाउँ परिक्रमापछि पुनः पारि बजारमै पुर्‍याएर विसर्जन गरिन्थ्यो । हाल भीमफेदी बजारस्थित मन्दिर बाट पूजा अर्चना सहित यात्रा शुरू गरी पहिले पारि बजारस्थित पुरानो ठाउँमा पुर्‍याइ त्यहाँ केहीबेर रथ अड्याएर पूजापाठ गरेर मात्र भीमफेदी गाउँ परिक्रमा गराइने गरिन्छ ।

बाढीले क्षतिग्रस्त गरेको साबिक ठाउँमा भत्किएको मन्दिर पुनर्निर्माण गर्न त्यति सम्भव नभएपछि सोही आकार र ढाँचामा बजारमा नयाँ मन्दिर स्थापना गरिएको थियो । पारि बजारमा रहेको भीमसेन र द्रौपदी विराजमान मूर्ति जमिनको सतहभन्दा मुनि रहेको थियो । तर हाल रहेको मन्दिरमा दुवै मूर्ति जमिन सतहमै रहेको छ । पुरानो ठाउँमा रहेको पारि बजारको मन्दिर परिक्रमा गर्दा हामी एउटा ठूलो लाम्चो ढुङ्गालाई पैतालोले कुल्चिएला कि भनेर अलि छेउ लागेर ढुङ्गालाई ढोगेर मात्र हिँड्ने गर्थ्यौँ । किन छेउ लागेर तथा ढोगेर हिँड्थ्यौँ भन्ने कुरा पछि आएर मात्र थाहा पाएका थियौँ – ढुङ्गा नै भीमसेनको एउटा गोडा रहेछ, जुन तिनै वृद्ध व्यापारीले समाएर ढोग्न लाग्दा शिला बनेको थियो ।

भीमसेन जात्राको दिन भीमफेदीबाट टाढा भएका सबै स्थानीयवासी घरमा आउँछन् । बिहानदेखि भीमसेन मन्दिरमा दर्शनका लागि घुइँचो लाग्ने गर्छ । घर घरमा मीठा पकवानहरू पाक्ने गर्छ।साँझ परेपछि भीमसेन मन्दिरमा भेला भई बाजागाजा सहित भीमसेन विराजमान रथलाई गाउँको परिक्रमा गराइन्छ । नेवार समुदायकै कुश्ले जातका व्यक्तिहरूले आफ्नै मौलिक तथा लोक बाजागाजा सहित मीठो सङ्गीतमय धुन बजाउँछन् ।रातभर दोहरी गीत गाउनेहरू र मनोरञ्जन कार्यक्रम हेर्न आउनेहरूका कारण भीमफेदीको रौनक बढ्छ । सच्चा मनले मागेको कुरा भीमसेनले पुर्‍याउँछन् भन्ने विश्वास गरिन्छ । भीमफेदीको ‘भीमसेन जात्रा’ भनेपछि सर्वत्र प्रख्यात छ ।

भीमसेन बास बसेकै ऐतिहासिक ठाउँमा एउटा स्मारक बनाउन सके भीमफेदीको नाम अझ सार्थक र जीवन्त हुन्छ कि भन्ने अपेक्षा गर्दै उक्त निर्माण कार्यमा देश विदेशमा छरिएर रहेका भीमफेदीवासी तथा उनका सन्ततिले आफ्नो गच्छे अनुसार आर्थिक तथा भौतिक सहयोग गरेको खण्डमा पक्कै पनि सम्भव हुने यो लेखकको ठम्याइ छ ।

भीमफेदीमा रहेको ऐतिहासिक हात्तीसार,चिसापानीगढीस्थित ऐतिहासिक सामरिक महत्त्वको नाका तथा कुलेखानीस्थित इन्द्र सरोवरको सौन्दर्यको उचित प्रचारप्रसार हुन सकेको खण्डमा पर्यटकहरूको आकर्षण बढ्न सक्ने हुँदा भीमसेन वास बसेको ऐतिहासिक ठाउँ र भीमसेनको गोडा भनिएको शिलाको संरक्षण गर्नु अति जरुरी छ । जय भीमद्यो !

यो पनि पढ्नुहोस्- बिजुली पानी अर्थात् इन्द्रसरोवर : काठमाडौंबाट फुत्केर दुई रात बिताउने उपयुक्त थलो

अन्तमा;
दुई स्थान एक परिचय शीर्षकमा यस लेखकले धेरै वर्षअघि नै भीमफेदी र हेटौँडाको नामकरण बारे छोटा छोटा कविता लेखेर राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रको शनिवासरीय परिशिष्टाङ्कमा छपाइसकेको छ । मेरा ती कविताहरूलाई उद्धृत गर्दै एक जना विद्वान् व्यक्तिद्वारा विभिन्न ठाउँको चिनारी सम्बन्धी आफ्नो पुस्तकमा साभार गरी छापिएको पनि धेरै पुरानो भइसकेको छ ।

सम्बन्धित समाचार