पालुङ उपत्यकामा नेवारी र तामाङ समुदायका विभिन्न चाखलाग्दा मौलिक स्वादका खानामा भुल्दै इन्द्रसरोवरमा रमाउन तपाइँ पनि कुलेखानी पुग्नुस् है !
इन्द्रसरोवर काठमाडौंदेखि करिब ४७ कि.मी. टाढा दक्षिण पश्चिम मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने नेपालकै विशाल मानव निर्मित जलाशय हो । पहाडका कछाडहरूलाई बुनेर निर्माण गरिएको यो सरोवर लोभलाग्दो छ ।
तत्कालीन राजा श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेवको कार्यकालमा काठमाडौँ नजिकैबाट विद्युत् उत्पादन गर्ने हेतुले पानी सञ्चय गर्ने जलाशय निर्माण गरिएको थियो । सानो आकारको जलाशय बनाउने भनिएता पनि यस सरोवरको स्वरूप विराट हुन पुगेको देखिन्छ । सरोवरको नाम श्री ५ युवराज्ञी इन्द्र राज्यलक्ष्मीको सम्झनामा इन्द्रसरोवर राखिएको मानक भेटिन्छ ।
हाल नेपालमा विद्युत् उत्पादनको ठूलो भार थेग्दै आएको यो जलाशय मकवानपुर सिस्नेरीदेखि मार्खुसम्म करिब ७ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाई क्षेत्रफलमा फैलिएको छ । विराट क्षेत्रमा फैलिएको यो जलाशयमा करिब ८ करोड ५३ लाख घनमिटर पानी सञ्चित हुने गरेको छ । सरोवरको छेउ तिरको गहिराई करिब २४ मिटर र मध्य भागतिरको गहिराई करिब १९० मिटर रहेको सरोवरमा ढुङ्गा सञ्चालन गर्ने स्थानीयहरू बताउँछन् । यति धेरै पानी जम्मा गरिएता पनि इन्द्रसरोवरको ७ करोड ३३ लाख घनमिटर पानी मात्र विद्युत् उत्पादन गर्न प्रयोग गरिन्छ भने सरोवरमा १५३० मिटरसम्म पानी सञ्चित गर्न सकिन्छ (भण्डारी: १२ पुस; इन्द्रसरोवरको प्रकृति सुन्दरतामा भुल्दा: नेपाल पत्र) । इन्द्रसरोवर कुलेखानी जलविद्युत आयोजनाको नामले पनि परिचित छ । जहाँ कुलेखानी पहिलो र दोस्रो जलविद्युत आयोजना सञ्चालित छन् ।
इन्द्रसरोवर पुग्ने बाटो:
हामी इन्द्रसरोवर पुग्नका लागि का.म.न.पा बाट काठमाडौँ हेटौँडा जोड्ने बाटो पछ्याउँदै बल्खु, चोभार, भन्ज्याङ, दक्षिणकाली, फर्पिङ सिस्नेरी हुँदै कुलेखानी पुगेका थियौँ। यो दुरी करिब ४८ कि.मि रहेको छ। साँघुरो बाटोमा कतै पिच त कतै अफ रोडको आनन्द लिँदै हिँड्न सकिन्छ । कुलेखानी पुगेपछि फर्किनका लागि एक गएकै बाटो पछ्याउन सकिन्छ भने अर्को कुलेखानी-चित्लाङ-चन्द्रागिरि-सतुङ्गल हुँदै कलङ्की निस्किन सकिन्छ, यो बाटोको दुरी करिब ३५ किलोमिटर रहेको छ ।
यसरी हेर्दा इन्द्रसरोवर पुग्ने विशेषत: तीन बाटो देख्न सकिन्छ ।
हेटौँडा-भिमफेदी-कुलेखानी हुँदै इन्द्रसरोवर।
बल्खु-फर्पिङ-कुलेखानी हुँदै इन्द्रसरोवर।
चन्द्रागिरि-चित्लाङ हुँदै कुलेखानी।
आन्तरिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो इन्द्रसरोवर । इन्द्रसरोवरमा जलचरको अवस्थिति अध्ययन, ग्रामीण जीवनसँगै अर्धसहरिकरणको अवस्था अध्ययन, प्राकृतिटन, कोणधारी जङ्गलहरूको मनोरम दृश्य अवलोकनका साथै अध्ययन गर्न सकिन्छ । यो घुम्न र मन बहलाउनका लागि उत्कृष्ट गन्तव्य हो ।
इन्द्रसरोवरको प्राकृतिक क्रीडा:
७ किलोमिटर क्षेत्रमा फैलिएको यस सरोवरमा सदियौँदेखि अडिक चट्टान र त्यसमाथि अडिएको ढलानयुक्त अवस्थितिले मन बहलाउँछ । नागबेली रूपमा रहेको सरोवरमा पानीको मनमोहन क्रीडा रहन्छ । मौसम अनुसार सरोवरको रङ्ग फेरिने स्थानीय जानकारहरू बताउँदछन् । वर्षा याममा बाढी र भेलको स्पर्शले धमिलो देखिने पानी हिउँदमा निलो बनेर जमिदिन्छ । शरद ऋतुमा लेउ बढ्नाले हरियो पानी बन्नु सरोवरको विशेषता हो।
सरोवरको आँगनमा रहेको भिरालो जमिनमा अडिएका सल्लाका, गुराँस, चिलाउने, पलाँस जस्ता बोटबिरुवाको सुसेली मनमोहक लाग्दछ । सरोवरमा मिसिने स-साना खोलाहरूको सङ्गीत मीठो लाग्दछ ।
जलचर अध्ययन केन्द्र:
इन्द्रसरोवर विशेषतः मत्स्ये अध्ययन केन्द्रका लागि परिचित छ । नेपाल सरकारको मातहतमा सरोवरमा माछा अध्ययन केन्द्र स्थापना गरिएको छ । यहाँ माछाका विभिन्न प्रजातिको अध्ययन गरिनुको साथै माछा उत्पादन पनि गरिन्छ । रहु, नैनी, कमन क्राप, ग्रास क्राप, सिल्भर क्राप जस्ता माछाका प्रजातिको अध्ययन गरिनुका साथै यिनीहरूको उत्पादन पनि गरिन्छ।
पर्यटनको केन्द्र इन्द्रसरोवर:
इन्द्रसरोवर कोलाहल भन्दा पर घुम्न जान चाहनेका लागि विशेष ठाउँ हो। ग्रामीण जनजीवन, पुराना घरहरू खेतीयोग्य जमिनको अवलोकन हुनुका साथै इन्द्रसरोवरमा हुने डुङ्गा सयरले छुट्टै रौनकता थप्दछ । डुङ्गा सयरका लागि पर्यटकले काठको डुङ्गा वा स्टिमर बोटको प्रयोग गर्न सक्दछन् । लामो समय पानीमा रहन र पानी छुन चाहनेहरूको पहिलो रोजाइ हुन्छ, काठको डुङ्गा । सरोवरमा हावाको झोक्कासँगै आउने छालले डुङ्गा हल्लाउँदा हुने रौनकता व्याख्या गर्न नै सकिँदैन । स्टिमर बोटले पानीमा छाल ल्याउँदै उफार्दाको रौनक बेग्लै हुन्छ । काठको डुङ्गा सयरका लागि प्रतिव्यक्ति ११० टिकट दर राखिएको छ । लाइफ जकेट प्रयोग गरी डुङ्गा सयर गरिन्छ भने यात्रु बिमा रु एकलाख सुरक्षित गरिएको छ ।
इन्द्रसरोवरको अवलोकन गरेर नजिकै चित्लाङको भेडीगोठ तथा बाख्रा विकास फार्म हेर्न जान सकिन्छ । साथै, चित्लाङको रमणीय वातावरणमा हराउँदो मन बहलाउन सकिन्छ । अफ रोडको आनन्द लिँदै पद यात्राका लागि एक उचित गन्तव्य हो, मार्खु कुलेखानी ।
इन्द्रसरोवर गाउँपालिकाले आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गरी विभिन्न गुरु योजना अगाडि सारेको छ । पदयात्रा पथ, साइक्लिङ रोड, ध्यान केन्द्र स्थापन आदि यो गाउँपालिकाका गुरुयोजना हुन् । इन्द्रसरोवर वरपर ग्रामीण जनजीवन जीवन्त रहेको हुँदा उक्त जनजीवन र स्थानीय कला, संस्कृति, खानपिन, भेषभुषा, बाजा जस्ता अनेक क्षेत्रको संरक्षण र प्रवर्द्धन गरी यो क्षेत्रलाई आकर्षित बनाउने प्रयास गरिँदैछ ।
स्थानीय जनजीवन, घना जङ्गल ,प्राकृतिक क्रीडा, अर्धसहरिकरणको मीठो आभास लिन पुग्नु पर्ने ठाउँ हो, मार्खु कुलेखानी । पालुङ उपत्यकामा नेवारी र तामाङ समुदायका विभिन्न चाखलाग्दा मौलिक स्वादका खानामा भुल्दै इन्द्रसरोवरमा रमाउन तपाइँ पनि कुलेखानी पुग्नुस् है !