सरील शिल्प केही भावुक छ, विभक्त छ, आक्रोशित जस्तो छ, शान्त जस्तो छ, र छ केही व्यङ्ग्यले भरिएको !
/ मन्तव्य /
कविको मात्र रचना कविता हुन्छ भन्दा कस्तो कस्तो कुरा गरेजस्तो कविले अरू रचना पनि गर्न सक्छ । गर्छ । गरेका छन् । गरेका थिए । गरिरहेका छन् । तर दृष्टि र चिन्तन शैलीको एक आफ्नै र समान आधारशिला हुन्छन् । कवि दृष्टि र चिन्तनले कविताको भाव र गहनताको सम्पुर्ण आधार बोक्छन् ।
कवि दृष्टि कविको कवितामा देखिन्छ त्यो देखिने नै भयो ! कवि दृष्टि कविताको शिर्षकमा देखिन्छ, यो कमै देखिन्छ या भनौँ बुझिन्छ । कवि दृष्टि कविताको हरफहरूमा / वाक्यहरूमा र अझ एकै शब्दमा देखिन्छ । बिम्ब निर्माण कवि दृष्टिको एक स्तर होला ! नयाँ चिन्तन कवि दृष्टिको वैशिष्ट्य/विशेष स्तर होला !
चिन्तनको यात्रा कवितामा कुन हदसम्म हुन सक्छ त्यो कवि पनि अन्भिग्य नै होलान् ! यसो हुनु कवि र कवितालाई अहिलेका दिनसम्म सर्वोत्कृष्ट घटनाक्रम या यात्रा हो । कम्तिमा मेरो विचारमा ।
यो कुरा आजको कविता कृतिको समिक्षाको लागि सानो पृष्ठभूमि ।
——————————————————————-
मन्तव्यलाई मनन गर्दै Flashback तिर लागौँ र समीक्षा यात्रामा …
———————————————————————
~ सरील राजु फ्ल्यासब्याक ~
प्रिय कवि (सन्तोष दाइ) ,
तपाईं विजेता हुनुहुन्थ्यो । म पनि प्रतियोगी थिएँ । तपाईंको कविता सबैभन्दा मन परेको थियो । विजेता मन परेको कविता हुनु मेरा लागि हर्षकै बात थियो । सायद प्रतियोगीलाई अर्को प्रतियोगी विजेता हुँदा हर्ष नहुनु पर्थ्यो भयो ! कविता विद्रोहको थियो विद्रोहको कविता सबै प्रिय हुँदैनन् भनौँ न एकोहोरोपनाले चित्त बुझ्दैन तर तपाईंको कविता मन परेको थियो / शिर्षक भुल्नु मेरो यादहरूको कोषिकाहरू कम्जोर हुनु हो ।
तपाईंको सङ्ग्रह आएको छ भनेर प्रतियोगिताको ०.८-१ वर्षपछि चाल पाएँ खुस भएँ र सन्देशबाहक मार्फत सन्देश तपाईंतिरउडाइदिएँ “तपाईंको कविता सङ्ग्रह कता पाइन्छ ?”
सङ्ग्रह उपलब्ध गराइदिनु भयो धन्यवाद दिनु सायद जरुरत छैन दाजुभाइमा चल्छ … भलै यो लेख सम्बन्धको आँगनबाट टाढै हुनेछ ।
अनि शिर्षक भुलेका कविताको भाव मैले सबै कवितामा खोजेँ दुःखद कुरा भेटिनँ तर निराश भइनँ … कारण कविताहरूमा उत्सव थियो । मैले तपाईंको कविताहरू सँग उत्सव मनाएँ तपाईं उत्सव मिलेँ । मैले पनि “मृत्यु उत्सव” मनाएँ । यस्तै अरू थुप्रै कविताहरूसँग / सङ्ग्रहहरूसँग उत्सव मनाउने अवसर जुराइरहनु है त …
तपाईंको भाइ/पाठक/ त्यही हर्षित प्रतियोगी ।
( नोट* – कवि र पाठक दुवैमा जानकारी : प्रतियोगीको कुन्ठामा केही लेखिने छैन ! कोसिस समीक्षा कै हुनेछ भलै सैद्धान्तिक कुरा जान्दिनँ… 🙂 )
————————————————————————
~ कविता सङ्ग्रह : “मृत्यु उत्सव” ~
कवि = सन्तोष सरील
कविले मृत्युको कविता लेख्नु नयाँ होइन अब कविले मृत्युु उत्सव मनाउनु पनि नयाँ हुनेछैन ।
गुण विशेषता आदिका कुरा त भूमिकामा आइगएका छन् अब म के लेख्नु ? मेरालागि अब भने कठिनाइ …
ल अब जसोतसो यात्रामा लागौँ ।
“फुङ्फुङ्” पहिलो कविता हो । शिर्षक आफैंमा एक दृश्य हो कविता पढ्दा ठाउँ जस्तो लागेको हो र नदी हो भन्ने पक्कापक्की पनि भएको हुँ । कवि सुरुमै लेख्छन् :
“मलाई कसैले सोध्यो :
आमाको काख, जूनको शीतलता
र फुङ्फुङ्को अङ्गालो कुन प्रिय लाग्छ तिमीलाई ?
मैले प्रश्नको जवाफ प्रश्न नै फर्काएँ,
आँखा, नाक र कान कुन चाहिँदैन तिमीलाई ?”
यसरी यात्रा सुरु हुन्छ उत्सवहरूको । अब तलमाथि हुने त छ न तलमाथि भएको कुरा त गरिनेछ नै त्यही त यो लेखको यात्रा हो । “फुङ्फुङ्” लेख्नु कविले र प्रिय मलाई यो संयोग हो र कविले एक भूगोल बोक्नु राम्रो सायद अति राम्रो ।
“मान्छे सांसारिकताको भ्रमले बिटोलिएपछि
जान्नुपर्ने सत्य फुङ्फुङ्को गर्भको
जुठो खुड्किला जस्तै दबिरहनेछ
बगिरहनेछ आत्मा भ्रम नचोखिएसम्म
जन्म र मृत्युको किनारै किनार भएर ।”
कविको विश्वास र आस्थाको र बुझाइको निष्कर्ष यसरी आउँछ फुङ्फुङ् प्रतिको प्रेम र समर्पणको साथमा ।
“निरमाया” कविता नारीको अन्तरद्वन्द्वको दृश्यमा लेखिएको छ । समय र आवश्यकताको र आफ्नो स्वाभिमानसँगको द्वन्द्व ।
कवि विचार्छन् :
“सजिलो त कहाँ छ र
कोपिलालाई फक्रख नदिन !
फक्रिएकी निरमाया
हेर्दिन फर्किएर चोर नजरहरू !
वर्षौँदेखि उनको पाइला पछ्याइरहेछु
र पछ्याइरहनेछु जति नदेखेझैँ गरेपनि
मलाई थाहा छ निरमाया
तिमीभित्र पनि एउटी आमा छिन् । “
कविले यो कवितामा पात्रलाई बोल्न दिएको भए कविता अझै उत्कृष्ट हुन्थ्यो र नयाँ पाटो पनि आउँथ्यो कि यस्तै लागेको हो यद्यपि यसरी नै पनि कविता सुन्दर छँदैछ ।
| ~ उत्सवमा तलमाथि ~ |
सङ्ग्रहको नाम भएको कविता “मृत्यु उत्सव ” । कवि विचार्छन् :
“भौतिक रुपमा
उभिनु मात्रै जीवित रहनु हुँदैहोइन
कसैको अस्तित्व पनि उसको उपस्थिति हो ।
प्रत्यक्ष नहुनु, हुँदैनहुनु होइन
नदेखिनु नै मृत्युु हो भने
भन त , एकदिनमा कतिपटक मर्छ मान्छे !”
कवि प्रश्न गर्छन् मृत्युको उत्सव किन छैन ? यहाँ छ कवि दृष्टि सानो कुरा तर गहन :
“बिदाइको हात हल्लाऊ उसैगरि
ऊ जाँदैछ केही पर !
भ्रमको हरेक खुड्किला उक्लिएपछि
जसरी बाँडेका थियौ उमङ्गका मिठाई
जसरी हप्तौंसम्म बनाएका थियौ कुराको प्रमुख विषय
यो त त्योभन्दा पनि ठूलो सफलता हो जीवनको
के उत्सव मनाउन पर्दैन ? “
अन्तिमको हरफले बोल्छ :
“आऊ ,
कामना गरौँ उसको आत्माको चिर शान्तिको ।”
यो हरफले मलाई मनमा लाग्छ कविको विश्वास र आस्थाको धरातलमा कुन विश्वासको आधार हो ? कुन दर्शनको आधारमा आत्मा अशान्त हुन्छ ? म प्रश्न गर्दैछु यो कविताको आधार मै ! कारण कविले नयाँ दृष्टि र चिन्तन कवितामा ल्याएनन् या भनौँ ल्याउन सकेनन् ! सङ्ग्रहको भार बोकेको कविताबाट कम्तीमा मलाई धेरै आश थियो ।
“स्मृतिको दोसाँध” कवितामा भएको केही जीवन्त वाक्य बिम्ब कविता हेरौँ :
– पोखिँदैछन् शरीरबाट उमेरका थोपाहरू
– फुर्वादाइ, खुसी त आफैँभित्र हुनेरहेछ नि हगि !
– समयले दिएका अनन्त आनन्दहरू किन्छु भन्दा पाइएनन्
– छिप्पिएको शरीर
मालाकोट घाटमा धुवाँ बन्न
सुस्तरी झरिरहेछ भट्टीडाँडाबाट
वियोगको नमीठो धुन बजाउँदै ।
“असार लागेपछि” कविता सरीलको सलल्ल बगेको शिल्पको अझै सुन्दर रुप देखाउँछ ।
[ ~ केही तिता कुरा …~]
कविताको विषयमा धेरै लेखिएको विषयमा नै कविता लेख्दा खासै प्रभाव पर्दैन पाठकमा र मलाई लाग्दैन कविलाई पनि सन्तुष्टि हुन्छ । त्यस्तो कविता लेख्दा कवि सन्तोष सरीललाई सन्तोष भएको हो ? भनेर प्रश्न गर्न मन लाग्छ यो स्तम्भकारलाई :):
यति दोष लगाएपछि प्रमाण पेस गर कविलाई पनि मनमनै लागेको होला । तपाईं जो पढ्दै हुनुहुन्छ तपाईंलाई पनि लागेको होला । लु प्रमाण पेस : केही कविता जस्तो – “असुरक्षित भलाई”, “देऊ आशीर्वाद आमा”, “एक छापे”, “औँठाछाप”, “चेतना भया” आदि ।
यो दोषको भरपाइ सायद कविताहरूमा भएको तरिकाले र मिठासले मजाले गर्छन भनौँ न एक प्रकारको आवरण बनाउँछन् र सरीलमय शिल्पले बाँधिरहन्छ पाठकलाई यो कविको राम्रो सफलता हो ।
|~ सरील शिल्पका उद्गारहरू ~|
सरील शिल्प केही भावुक छ, विभक्त छ, आक्रोशित जस्तो छ, शान्त जस्तो छ, र छ केही व्यङ्ग्यले भरिएको । यो शिल्पमा भएको समस्या कविकै जिम्मेवारीमा र खुट्याउने जिम्मा पनि …
केही उद्गारहरू हेरौँ …
“तिमी … (३)
जवाफ देऊ मलाई
तिमी आफन्त – आ फ न त
आफन कि अन्तको ?
फनको को कि आपतको ? “
[~ आफन्त ~ कविताबाट ]
” मैदानको गरिमा बढाउन
उत्कृष्ट प्रदर्शनका लागि मिल्छन्
मिलेर नै त चुम्छन् गन्तव्य
नियम एउटा आधार हो “
[~ खेलाडी ~ कविताबाट ]
” सामान्यभित्रका
शान्त समीरलाई
विशालता लुकेको बिजलाई
सुनौलो सपना सूत्रलाई
असामान्य आसपास घुमिरहेका
– पत्रिकाहरूले लेख्न चाहेनन्
– रेडियोहरूले सुनाउन चाहेनन्
– टेलिभिजनहरूले देखाउ खोजेनन् ।”
[~ चर्चित ~ कविताबाट ]
“प्रश्न गर्छिन् सारा जनावरलाई –
के तिमीहरूका स्तन र योनि सुरक्षित छन् ?”
[~ प्रार्थना ~ कविताबाट ]
यो शिल्पमा कवि कतै सुक्ष्मदर्शी त कतै चिन्तनशील देखिन्छन् । उनका यस्तै धेरै उद्गार पढ्न त अब सङ्ग्रह तिर कै बाटो तसाउँदा राम्रो 🙂
। ~ सरीलको व्यङ्ग्य ~ ।
सरीलको व्यङ्ग्य कतै सतही लाग्छ कतै फरक दृष्टिको कतै गहन लाग्छ त्यस्तै गहन सहितको व्यङ्ग्य कविता “चर्चित” पनि हो । व्यङ्ग्यमा समस्या भन्दा कहिँकतै अलि समयसँगै नभएको हो कि !
अब लागौँ व्यङ्ग्य वाणका उद्गार हेर्न …
” हर कोहीलाई हलक्क बढ्नु छ
उम्रन नपाई फल्नु छ
बोली नफुट्दैमा कराउनु छ
अरे यार !
दुधे दाँत आएको छैन
दुनियाँले चिनिने बन्नु छ ! “ [~ ब्रोइलर ~ कविताबाट ]
” तिमीलाई थाहा छ ?
संसारको शक्तिशाली हतियार
भोको पेट हो ! “ [~ भोक ~ कविताबाट ]
यो उद्गार वादको प्रयोग र सत्तारूढलाई प्रहार हो भनौँ ।
एक प्रहार छ जसलाई मैले तितो उत्सव नाम दिएको छु । हेर्नुस् तितो उत्सव :
“याद गरेका छौ कि छैनौ
कुनै दिन घिउले तिमीलाई खानेछ ।
किनकि चित्ता छिटो सल्काउने पनि घिउले नै हो !” [~ तितो सत्य ~ कविताबाट ]
अर्को व्यङ्ग्य वाण मान्छे चर्चाको लागि जे नि गर्छको मनोवृत्तिको उद्गार :
“इज्जत कमाएर
या कालो पोतेर मुहारमा
जे होस् मलाई एकपटक चर्चित हुनुछ जसरी पनि !” [~ चर्चित ~ कविताबाट ]
यो स्तम्भको लागिअन्तिम व्यङ्ग्य वाण सहरको वृत्ति प्रति :
“उसले हेर्दाहेर्दै
शहरले पर्वहरूलाई
आकर्षक खोलभित्र प्याकिङ गरिरहेछ ।
खुशीका पराग बोक्ने पर्वहरू
धनीका ब्राण्ड बनिरहेछन् ।” [~ पर्व ~ कविताबाट ]
अब यसो केही समस्याका कुरा गरौँ लाग्यो। समस्या नितान्त मेरो दृष्टिले मात्र देखिएको पनि हुन सक्छ अरू पाठकले पढ्दा नलाग्ला । मेरो दृष्टिले देखेको समस्या …
~। समस्या स्तम्भकारको दृष्टिबाट ।~
कविताहरूमा मिठास हुँदाहुँदै पनि सरीलको शिल्प हुँदा हुँदैपनि केहीकेही कवितामा एकोहोरोपना छ कवि मात्र बोल्छ त्यो त कवितामा हुन्छ नै तर दृष्टिकोण पनि एकोहोरो हुनुले समस्या बनाउँछ ! त्यस्तै कविताहरू हुन् : “डर”, “छ, तर छैन”, “के त्यो तिमी नै हौ ?”, “भविष्यवाणी”, “सामा” आदि यस्तै यस्तै !
प्रमाण त दिनु पर्छ दोष लगाएपछि कम्तीमा आफूतिर फर्किन सक्ने औँलालाई लु है यो हो कारण भन्न सक्नुपर्छ । ल है त प्रमाण –
“डर” कवितामा कविमा आत्मविश्वास नभएको जस्तो देखिन्छ :
“अचेल डर लाग्छ
तिमीले गरेजस्तो प्रेम
गर्न सक्छु या सक्दिनँ “
यसो बुझिल्याउँ यो कविता मनोबैज्ञानिक खत्रै हुन सक्थ्यो जस्तो लाग्छ तर कवि माथि नै अड्किएको हो कि जस्तो र खास डरको कारण खुल्दैन । प्रेम यति उति भन्ने हुन्छ कि हुँदैन थाहा नभएर पनि हो मलाई !
“छ, तर छैन ” कविता र भविष्यवाणी कवितामा खास फरक स्तम्भकारले पाएन । “छ, तर छैन ” कविता कै कुरा गरौँ । कविले चित्रणमा आधा मात्र गरेका छन् कविता पूर्ण लाग्छ तर एकोहोरोपनले गर्दा । कविताको भावसार : सन्तान छन् घरमै छन् तर साथ भएर पनि साथ छैनन् भनौँ न आधुनिक समस्या मोबाइलमा छ आँखा मस्तिष्कमा अरू नै कोही छोराको उनी , छोरीको ऊ । यसो कवितालाई राम्रो त भन्नै पर्ने हो तर स्तम्भकारको मन मानेन । कारण कविले आधुनिक अभिभावकलाई चिनेका छैनन् जस्तो छ ! (?) अभिभावकहरू पनि आधुनिक छन् छोराछोरी भन्दा धेरै व्यस्त पनि छन् र कहानी Vice Vesra जस्तो कविले यो लेख्न सकेनन् या लेख्न चाहेनन् !
“के त्यो तिमी नै हौ ?” कविता प्रति चाहिँ जिज्ञासा मात्र । ए ! दाजु प्रेम हुन यस्तो खोज्नुपर्छ हो ? कस्तो भन्दा कविताको हरफ बोल्छ :
” मसँग मिल्दोजुल्दो
– विचार
– दृष्टिकोण
– सपना
– जिन्दगीको परिभाषा “
——————————————————————-
सङ्ग्रह प्रतिको समीक्षा कर्मलाई यतै इति । अब पाठकलाई केही उपहार जस्तो …
प्रिय पाठक,
तपाईंले यति पढेपछि सोच्नु भयो होला सङ्ग्रहको उत्कृष्ट हरफ पढ्ज पाए । नसोच्नु भएको भएपनि राख्ने योजना छ । तपाईंको जानकारीको लागि मलाई मन परेको कविता शिर्ष कविता त भइगयो माथि भनेँ पनि त्यसमा आश धेरै थियो अनि “फुङ्फुङ् “, “द्रोणाचार्य आँखा”, “लास” , “शुभयात्रा”, “शून्य”, “तितो सत्य”, “अन्तिम फैसला”, “सह-अस्तित्व” आदि । हुन त यस्तो कुरा कविले थाहा पाउनु नहुने हो तपाईंको लागि जानकारी त दिनु परो ।
ल अब केही हरफ तिर आँखा लगाउनुस् अझ धेरैतिर लगाउने भए सङ्ग्रह तिर लाग्नुस् ।
“खोज्नु छ सत्यको मार्ग
पुग्नु छ परमात्माको प्रेमको राज्यमा
चुम्नुछ अस्तित्वको चरण !” [~ उदेश्य-एक इच्छा ~ कविताबाट ]
” मनको मान्छेलाई छुनु
र आँखाको मान्छेबाट छोइनु
कति फरक पर्छ ।” [~ द्रोणाचार्य आँखा ~ कविताबाट ]
” पहिरोले पुरेपछि
बाढीले बस्ती सलक्क निलेपछि
बगर बनेका बचेराका सपनाहरू
कारुणिक देखिन्छन् ।” [~ पहिरो ~ कविताबाट ]
“एउटा भ्रम
विचारको बचेराहरूको दृष्टिले
नियाली रहेछ संसारलाई !” [~ रुचि ~ कविताबाट ]
“समय सधैँ सोचेजस्तो त कहाँ हुन्छ र
केहीछिन्को लागि हिँडेको मान्छे
बर्षौँ लाग्न सक्छ फर्कन ।” [~ शुभयात्रा ~ कविताबाट ]
“हात समाएर हिँड्न सिकाएको
छोराको हातले त जलाउँ भने
अरु को नै छ र आफ्नो भन्ने ?” [~ तितो सत्य ~ कविताबाट ]
“प्रेम फुलेपछि नै
ऊ प्रेम खोज्न हिँडेको हो ।” [~ प्रेमको खोजी ~ कविताबाट ]
यत्रो कविता सङ्ग्रह दिएको कविलाई स्तम्भकार पनि कविता भेट दिन चाहन्छ ।
~ मृत्यु उत्सव ~
निरमाया ! सह-अस्तित्वको यात्रामा
तिमी र म समयको आदेशमा औँठाछाप लगार
धर्तीलाई : ” देऊ आशीर्वाद आमा ”
भनेर प्रार्थना गर्दै प्रेमको खोजीमा हिँडेको फुङ्फुङ् ।
सायद म बगर-किनार तिमी जल प्रवाह
म जल प्रवाह तिमी बगर-किनार …
तिमी खेलाडी समयको / म खेलाडी समयको
पर्व छ अचेल असार लागेपछि स्मृतिको दोसाँधमा
जहाँ एक यात्री तिमी या म रुझ्दै रुन्छ
उदेश्य तिमी – एक इच्छाका लागि
छ तर छैन आँसु चार्लिच्याप्लेनको उद्गार सरि …
कहिलेकाहीँ सोच्छु युग एउटा नायक खोजी रहेको बेला
म कुन रुचिले कस्तो शुभयात्रामा छु ?
म चर्चित नेताको एक छापे मात्र भइरहेको छु
हाम्रा सपनाको गुँडमा जीवनको कोपिला हुन नपाउँदै
र प्रिय रुखको सृष्टि देख्न नपाउँदै
शून्यको लास देखिँदैछ
– सामा जस्तै क्रय-विक्रयको सेतो दरबारमा !
एउटा प्रतिक्षाको अन्तिम फैसलामा देखिएको छ
हाम्रो प्रेम विजातीय रहेछ ! सायद म बगर-किनार
तिमी जल प्रवाह
म जल प्रवाह तिमी बगर-किनार …
प्रेमको बालीमा तिमी/म फूलको पत्थर
म/तिमी बाटोमुनिको फूल
उत्ताउला फूलहरू !
डर लागिरहेछ बोइलर समय देखि !
म के गरौँ ? के त्यो तिमी नै हौ ?
जो तयारी गरिरहेकी छन्
दृढता सहित भोकको नियतिसँग लड्न !
द्रोणाचार्य आँखा देखि भाग्न
समय-समयको पुल जोडेर
मक्किएको मगजका जन्जिर तोडेर
भत्काइदिउँ समयको आवरण यो मास्क
र पर्खाल बुर्काको तिमी र म फुङ्फुङ्को पहिरो भएर …
भलै म बगर-किनार तिमी जल प्रवाह
म जल प्रवाह तिमी बगर-किनार …
ॐ । इतिस्तु । ॐ