चितवन। राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा पहिलो भएका छन् । उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको १४औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा बाराका स्रस्टा अभिषेक ओझा दोस्रो एवम् कास्कीका स्रस्टा रोशन तिमिल्सिना तेस्रो भएका छन् ।
‘एक भेट भरियासँग’ शीर्षकको कविता वाचन गरेका विश्वकर्माले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । ‘वृद्धाश्रमबाट आएको चिठी’ शीर्षकको कविता वाचन गरेर दोस्रो भएका ओझाले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने ‘लिलामीको सूचना’ शीर्षकको कविता सुनाएर तेस्रो भएका तिमिल्सिनाले १० हजार रुपैयाँ पुरसकार प्राप्त गरेका छन् ।

यसैगरि, श्रष्टाद्वय सप्तरीकी रोमा लम्साल ‘नुरा’ र धादिङका लालकाजी श्रेष्ठले प्रोत्साहन पुरस्कारस्वरूप नगद रु. पाँच/पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । नुराले ‘पसिनाको अक्षरमा देश’ शीर्षकको कविता वाचन गरेकी थिइन् भने श्रेष्ठले ‘विश्वास’ शीर्षकको कविता वाचन गरेका थिए ।
प्रतियोगिताको निर्णयकमा समालोचक डा धनेश्वर भट्टराई, डा केशवराज चालिसे र साहित्यकार सुरेन्द्र अस्तफल रहेका थिए ।

उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको १४औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरबाट कविता स्रष्टाहरुलाई भाग लिन आह्वान गरिएको थियो । देशभरबाट प्राप्त ८७ वटा कवितामध्ये उत्कृष्ट १२ कवितालाई छनौट गरि वाचनको लागि बोलाइएको आयोजकले बतायो ।



