केही नौलो गर्ने उनको एउटा हुटहुटीले नजानिँदो गरी कृषिमा एक किसिमको क्रान्ति नै ल्यायो ।
हेटौँडाको चुच्चेखोलामा दर्जनौँ पसलहरूले हामीलाई झुक्याइरहेका छन् । त्यहाँका पसलहरूमा र्याईं-र्याईं दूध घोटेर खुवा बनाइरहेको दृश्यको सुवास लिन सकिन्छ । हो ! दृश्यको सुवास । चुच्चेखोलाका दर्जनौँ खुवा पसलहरू हाम्रा इन्द्रियलाई भ्रमित पार्न कसरत गरिरहेका हुन्छन् । मन्त्रमुग्ध पार्न मिहिनेत गरिरहेका हुन्छन् । दूध घोटिरहेका दृश्य नै स्वादिष्ट लाग्छ ।

खुवा तयार पार्न कराहीमा दूध घोट्ने प्रक्रिया

तिनै दर्जनौँ पसलमध्ये एक पसलमा कृष्ण प्रसाद सापकोटा, उनका छोरा-बुहारी र कर्मचारीमध्ये कोही न कोही कराहीमा र्याईं-र्याईं पारेर दूधिलो वातावरणलाई खुवामय बनाउन तल्लिन भेटिन्छन् । ‘श्री कृष्ण खुवा बिक्री भण्डार’ नामक उक्त खुवा पसलको लहरो तान्दा एउटा कथाको पहरो खस्यो । त्यही पहरो म यहाँ बिसाउन गइरहेको छु ।
वि.सं. २०२४ सालमा आफ्नो जन्मस्थल काभ्रे छोडेर कृष्ण प्रसाद हिँडे । वाक्क भएर, आजित भएर, झ्याउ लागेर उनी जीवनको उद्देश्य खोज्न निस्किए । यात्रा सजिलो थिएन किनभने कहाँ जाने भन्ने थाहा थिएन । दूध घोटिँदा-घोटिँदा मिठो खुवा बनेझैँ सायद घोटिनु थियो उनले पनि । समयको कराहीमा कृष्ण प्रसादका दिन-हप्ता-महिना-वर्षहरू घोटेर नियतिलाई सायद एउटा मिठो जीवन पकाउनु थियो । उनीसँग यस्तै, सायदैसायद मात्र थिए, घरबाट निस्किँदा ।
हिँड्दा-हिँड्दै उनी छिमेकीकहाँ पुगे । नेपाल छोडेर भारत पसे । कलकत्तालगायत भारतका विभिन्न स्थानमा रुमलिए । त्यहाँ ४/५ वर्ष बिताइसक्दा पनि केही महत्त्वपूर्ण हात नलागेको उनलाई लाग्यो । त्यतिबेला उनलाई लाग्यो उनी घर र स्वदेश छोडेर सन्तुष्टि खोज्न हिँडेका रहेछन् जुन सन्तुष्टि परदेशमा पनि फेला परेन । तब उनी आफ्नै देश फर्किए । के उनी घर फर्किए ? होइन, त्यहाँ आफूले खोजेको कुरा नपाएरै उनी निस्किएका थिए । उनी घर फर्किएनन् ।
समयको डुङ्गामा उमेरको बहना खियाउँदै अनिश्चितताको समुद्रमा उनले आखिर के खोजिरहेका थिए ? उनलाई कुन गन्तव्यमा, के चिजले पर्खिरहेको थियो ? उनलाई तब पनि थाहा थिएन । तर, एकपटक राजधानीको पानीमा डुबुल्की मार्ने उनले हठात निर्णय गरे । उनलाई पर्खिरहेको कुरा सायद काठमाडौँमा पो कतै लुकेको थियो कि ?
‘सपनाको शहर काठमाडौँ ’, ‘राजाको गाउँ काठमाडौँ’ यस्तै धेरैले भनेको उनले सुनेका थिए । आफैले नचिनेको आफ्नै सपना यही सपनाको शहरमा पो राज गरी बसेको छ कि ? तिनै सपनाहरूको भिडमा उनलाई पनि आफ्नो भागको सपना खोज्नु थियो । भेट्ने-नभेट्ने निश्चित त थिएन नै, रै पनि खोतल्नै थियो राजधानीले बोकेको सपनाको झोला । सपना खोज्ने मेसोमा आफ्नो जीवनको करिब ५ वर्ष उनले काठमाडौँलाई दिए । उनले त्यहाँ एकजना साहुकोमा पापडीको काम गरे । पाँचौँ वर्षपछि हठात एकदिन उनलाई पापडीको काम चाकडीभन्दा बढी केही लागेन । उनी पापडी साहुलाई यसरी सम्झिन्छन्, ‘हामीले काम सुरु गर्दा ऊ धेरै ऋणमा थियो । हाम्रो मिहिनेतबाट उसले राम्रो पैसा कमायो ।’
एकदिनको कुरा हो, काम गर्ने क्रममा ४/५ सय रुपैयाँ बराबरको क्षति भयो । साहुले गाली मात्र गरेनन्, निकै नमिठो वचन पनि लगाए । त्यसपछि उनी झस्किए । अर्काको काम गरेर नहुनेरहेछ ! यति बुझ्न उनलाई एक दशक लाग्यो ।
आफूजस्ता कामदारको मिहिनेतले राशि र रबाफ दुवै कमाएको साहु तब मैमत्त भयो । उतिबेला साहु मैमत्त भइदिएकोमा उनी यतिबेला धन्य छन् । हिजोको दिनमा नराम्रो मान्थे तर अहिले उनी पापडी साहुलाई राम्रो मान्छन् । मैमत्त साहुलाई कृष्ण प्रसाद गुरू ठान्छन् । साहुकै नमिठो वचनले कृष्ण प्रसादलाई थाहा भयो ‘जहाँ नहुनुपर्थ्यो म त्यहीँ छु’ । त्यसैले, आज उनी जहाँ हुनुपर्ने त्यहाँ छन् । उनी स्वीकार्छन्, साहुको नमिठो वचनले आफूलाई मिठो वर्तमानसम्म डोहोर्याएकै हो ।
साहुको वचन ! यही बहानामा उनले जिन्दगीमा अबउपरान्त अरूको काम नगर्ने दृढ सङ्कल्प गरे । ‘नोकरी भनेको जिन्दगीमा गर्दिनँ भनेर कान समाएँ ।’, यो भनिरहँदा उनको आवाज खाली मुखबाट मात्र होइन, भित्रैबाट आएझैँ सुनिन्छ । सायद काठमाडौँको पानीमा तैरिरहेको डुङ्गाले अब उनलाई आवाज दियो । अब बहना खियाउँदै नयाँ गन्तव्यतर्फ लाग्ने समय आइपुग्यो । उता बहनाले बोलायो, यता बहानाले ढकेल्यो । काठमाडौँलाई उनले बिदाइको हात हल्लाए ।
पापडीको चाकडी छोडेपछि उनी अन्योलमा परे । समयको डुङ्गामा बसेर उनी टोलाए अब कता ? मानिसलाई मिठो खुवा खुवाउने उनी मनको तितो यसरी पोख्छन्, ‘अलि लेखी पढ्या गरेको भए ‘सर्खारी’ जागिर हुन्थ्यो होला, केही हुन्थ्यो होला । लेखापढी पनि थिएन ।’ जीवनको सबैभन्दा अप्ठ्यारो प्रश्न उनको अघि तेर्सियो ‘अब के गर्ने त ?’
घर बस्न मन थिएन । भन्छन्, ‘७/८ जना दाजुभाइ थियौँ । केही गर्नैपर्ने जिम्मेवारी थियो । तर, सल्लाह दिने मान्छे कोही थिएन, पैसा पनि पर्याप्त थिएन ।’ गोजी छामछाम छुमछुम गर्दा ४ सय रुपैयाँ फेला पर्यो । यद्यपि, कता जाने ? के गर्ने ? अन्योल थियो, अनिश्चय थियो । केही नजानेको अबोध बालकझैँ भए उनी । तब उनले झट्ट मामाघर सम्झिए । समयको डुङ्गाले उनलाई मकवानपुर, हेटौँडास्थित आफ्नो मामाघर पुर्यायो ।
हेटौँडा मामाघर पुगेका उनी केही दिन यसै बसे तर आरामले होइन, अब के गर्ने भन्ने छटपटाहटमा । त्यतिबेला वरपर झुप्रा घर मात्र थिए । अहिलेजस्तो ठूलो शहर थिएन हेटौँडा । पाँच वर्ष कलकत्ता र पाँच वर्ष काठमाडौँको संगत गरेर पुगेका उनलाई हेटौँडा अझै गाउँ नै लाग्यो । गाउँमा गाउँकै खेती गर्नुपर्छ भन्ने उनलाई लाग्यो । नोकरी गर्नु थिएन । आफ्नो कारोबारको चाबी आफ्नै हातमा उनलाई चाहिएको थियो ।
सपनाको खोजी व्यर्थ रहेछ भन्ने काठमाडौँले उनलाई बुझाइसकेको थियो । उनलाई अब सपना खोज्नु थिएन । अब उनी अवसरको खोजीमा निस्किए । मामाघर घुम्ने चक्करमा उनी गाउँका गल्लीगल्लीमा अवसर खोज्दै भौँतारिए । एकदिन मामागाउँको गल्लीमा उनी घरगाउँका मान्छेसँग ठोक्किए ।
काभ्रेका ती मान्छेले कृष्ण प्रसादका सारा वृत्तान्त अन्तसम्म विस्तारमा सुने । त्यसपछि ती मान्छेले आफूले हेटौँडामा गरिरहेको चिया पसल कृष्ण प्रसादलाई सुम्पिदिए । तिनले उनलाई जिम्मा मात्र होइन केही सल्लाह पनि दिए । उनको दैनिकीले अब जग पाएको थियो । तर, त्यो जगमा उनको चित्त भने अडिन मानिरहेको थिएन । कारोबारको चाबी आफ्नो हातमा थियो । कमाइरहेका पनि थिए । तर, आत्मसन्तुष्टि मिलेको थिएन । आत्मसन्तुष्टिका लागि पाउनु मात्र पर्याप्त नहुँदोरहेछ । चिया पसलबाट उनले सिकेको कुरा यही थियो । करिब ८ महिनाभन्दा बढी उनी त्यसमा बाँधिन सकेनन् ।
उनलाई केही नौलो काम गर्नु थियो । समाजलाई केही नयाँ, केही फरक कुरा दिने हुटहुटीले उनले मान्छेहरूलाई चिया खुवाइरहन सकेननन् । समाजलाई केही नौलो स्वाद चखाउने हुटहुटी थियो उनीभित्र । त्यो हुटहुटीलाई उनी यसरी ओकल्छन्, ‘अरूले नगरेको कुनै भिन्दै या भनौँ फरक किसिमको काम थाल्नु थियो । अरूले गरेकै काम गर्दा देखासिकी जस्तो हुने थियो ।’ उनलाई ‘कमन म्यान’ हुन मञ्जुर भएन । धेरै समय आफैसँग अन्तरसंवाद गरेपछि उनले अन्ततः ‘खुवाको व्यापार’ गर्ने निर्णय लिए ।
उनले तब गाउँका गल्ली होइन गाउँका पसल चहारे । त्यस ठाउँ वरपर कसैले पनि खुवाको व्यापार गरेका पाएनन् ।सम्भवतः मकवानपुर जिल्लाभरि नै त्यसबेला कसैको खुवाको व्यापार नभएको दाबी गर्छन् कृष्ण प्रसाद । सानैमा गाउँतिर बेलामौकामा खुवा बनाएको उनले देखेका थिए । त्यसबेला उनलाई थाहा थिएन भविष्यमा उनी आफूले पनि त्यसैगरी खुवा बनाउनेछन् । खुवामै आफ्नो व्यवसाय र आत्मसन्तुष्टि खोज्ने काम उनले जिन्दगीको आधा-उधीतिर मात्र सोच्न थाले । कतिबेला कुन कुराले जिन्दगीमा कत्रो अर्थ राख्छ भन्ने समय नआई थाहा नहुनेरहेछ । यसका लागि धैर्य चाहिनेरहेछ । ठिक समय आएपछि अर्थको गाँठो फुक्नेरहेछ ।
खुवाको व्यापार गर्ने अठोट त उनले लिए तर, त्यो समयमा हेटौँडा वरपर दूध पाउन समस्या थियो । त्यहाँका मानिसहरू पशुपालन उति गर्दैन थिए । उनी आफै भैँसी पाल्न पनि सक्ने थिएनन् । भैँसी स्याहार्ने कि दूध घोट्ने ? यद्यपि, यो योजनालाई अभ्यासमा जसै उतार्न थियो उनलाई । खुवाजस्तै मिठो बोल्न जानेका उनले आफ्नै गाउँका एकजनालाई भैँसी किन्नलाई खुवा लगाए । उनी ‘मखन चोर कृष्ण’ नभएर ‘खुवा व्यापारी कृष्ण’ भएकाले ‘मखन लाउनु’लाई ‘खुवा लाउनु’ भन्न उनी रुचाउँदा रहेछन् । काभ्रेका ती मान्छेलाई खुवा लगाएको सम्झिँदै उनी भन्छन्,
‘मैले उनलाई भने ‘तपाई भैँसी किन्नू, म कराही किन्छु र खुवाको व्यवसाय थालौँ ।’
उनको खुवाले काम गर्यो, काभ्रेलीले भैँसी किने, उनले कराही ! इच्छाशक्ति भए जे पनि हुनेरहेछ । मान्छेको जिब्रोलाई लत बसिसकेको चिया बेच्न छोडेर उनले त्यहाँ कसैले नजानेको ‘खुवा’ बेच्ने जोखिम मोले । व्यवसाय सुरु भयो । दुईवटा भैँसीबाट बिहान-बेलुका दूध निकाली घोटेर खुवा बनाई कचौरामा प्रदर्शन गर्न थाले । तर, उनको ‘खुवा’लाई कसैले चिनेनन् । त्यहाँका स्थानीयले त्यतिञ्जेल ‘कुराउनी’ चिनेका थिएनन् । ‘खुवा’ त परको कुरा थियो । उनले व्यवसाय त सुरु गरे । उत्पादन गरेर बेच्न राख्दैमा उनको ‘खुवा’ बिकेन । ‘खुवा यात्रा’ त्यति सहज हुने लक्षण उनले देखेनन् । अक्सर मानिसहरू यस्तै अफ्ठ्यारोमा हतोत्साहित हुन्छन् । उनलाई भने यही अफ्ठ्यारोले उत्साहित बनायो । उनले चुनौतीको सामना गरे । चुनौतीमा खरो उत्रिन सक्दा आत्मसन्तुष्टि मिल्नेरहेछ । खुवा व्यवसायले उनलाई यो कुरा सिकायो ।
त्यतिबेला उनको पसल रहेको स्थानअघि हिँड्ने बाटो थियो । तर, गाडीहरू भने गुड्दैन थिए । मान्छेहरूले उक्त स्थानलाई थकाई मेट्ने/बिसाउने सङ्गम बनाए । जसले गर्दा चिया नास्ता र खानाको राम्रो व्यापार हुन थाल्यो । तर, खुवा नचिनेकाले उनको खुवालाई कसैले सोधेनन् । उनले अब घाटाको जोखिम मोलेरै मान्छेहरूलाई खुवा चखाउन थाले । उनको तर्क छ, ‘नबिके पनि घाटा त हुन्थ्यो नै । सित्तैमा चखाउँदा नाफा हुने एउटा सम्भावना त हुन्थ्यो । खुवा यो रहेछ भनेर पहिले मान्छेलाई चिनाउन मैले एक-एक चम्चा खुवा सित्तैमा खुवाउन थालेँ ।’
नभन्दै, एक-एक चम्चा चाख्दाचाख्दै मानिसहरू खुवाप्रति आकर्षित हुन थाले । अब उनीहरूलाई चम्चामा खुवा खाएर पुगेन । खुवा उनीहरूको नयाँ लत बन्यो । उनी भन्छन्, ‘हात्तीको पाइलाजस्तै बिस्तारै खुवाको स्वादको चर्चा-परिचर्चा परपरसम्म पुग्न थाल्यो ।’
त्यसपछि त, मानिसहरूले खुवा खान मात्र होइन अरूलाई खुवाउन पनि थाले । मान्छेहरूले कोसेली लैजान पनि अब ‘खुवा’ नै रोज्न थाले । आफ्नो खुवा कर्मप्रति गर्व गर्दै उनी भन्छन्, ‘ एकपटक खाइसकेपछि त सबैले मिठो मानिहाल्छन् नि । एक चम्चामै स्वाद थाहा भइहाल्छ ।’ एक रुपैयाँमा पनि किनेर खान सकिने खुवा उतिबेला १५ रुपैयाँ किलो पर्थ्यो ।
मुखमा राख्नासाथ बिलाइजाने कृष्ण प्रसादको खुवा वास्तवमै मिठो थियो । आँखाले चाख्दा आकर्षण र जिब्रोले चाख्दा तृप्ति मिल्ने ! बिस्तारै उनको खुवाले काठमाडौँसम्म चर्चा कमायो । वरपरका जिल्लामा पनि खुवाको कुरा हुन थाल्यो । उनको खुवा व्यापार दिन दुगुणा, रात चौगुणा बढ्न थाल्यो ।
उनी भर्खरै पुग्दा हेटौँडामा गाउँलेहरूले पशुपालन गर्दैन थिए । एकादुई बाहेक दूधको व्यवसाय नै थिएन भन्दा पनि हुन्छ । तर, उनले खुवा पसल सञ्चालन गरेपछि कृषकहरूले दूध नियमित बेच्न सकिने स्थान भेट्टाए । ‘खुवा बेच्ने ठाउँमा दूध दिने’ भन्दै पशुपालन गर्न थाले । हेटौँडामा तब व्यवसायिक रूपमा पशुपालन भित्रियो । त्यसैले उनको व्यवसाय मात्र बढेन, कृषकहरूले बजार र बेरोजगारले रोजगारी पाउन थाले ।
एउटा मान्छेले जोखिम मोलेर बाटो खन्दा सिङ्गो गाउँलाई अगाडि हिँड्न सहज भयो । कृष्ण प्रसादको खुवा बेच्ने फरक सोचले चुच्चेखोला र बिस्तारै हेटौँडा र मकवानपुमै रोजगारी सिर्जना गर्यो । कृषकहरूको सङ्ख्या बढ्यो, व्यापारीहरू पनि बढे । डेरी, चिया पसल, खुवा पसल थपिए । केही नौलो गर्ने उनको एउटा हुटहुटीले नजानिँदो गरी कृषिमा एक किसिमको क्रान्ति नै ल्यायो ।
उनको पसलमा अहिले ३०० लिटर दूध खपत हुन्छ । जसको परिपूर्ति गर्न किसानहरूले बिहान-बेलुका पसलमा दूध पुर्याउने गर्छन् । व्यवसाय फस्टाउँदै जाँदा उनको काममा हात बटाउन अहिले उनको परिवार पनि छ । उनकी बुहारी अनिता तिमल्सिना भन्छिन्, ‘बिहान ल्याएको दूध साँझ ५ बजेसम्म सकिन्छ र बेलुका ल्याएको दूध पनि बिहानको ९ बजेसम्म सक्किसक्छ ।’

अहिले कृष्ण प्रसादको बिँडो माहिला छोरा-बुहारीले थामेका छन् । सो पसल छोरा-बुहारी मिलेर सम्हालेपछि सोही नाम गरेको त्यसैको शाखा हेटौँडा बजारमा पनि खुलेको छ । चुच्चेखोलाको पसल अहिले ४३ वर्ष कटेर ४४ वर्षमा हिँड्दैछ । ३६ सालदेखि थालिएको उक्त पसलको शाखा खोलेकै पनि २२ वर्ष जति भइसकेको छ । हेटौँडा बजारमा खुलेको शाखा सङ्गम चोक, ज्ञानोदय बोर्डिङअगाडि रहेको छ । जीवनको पूर्वार्धमा दःख-कष्ट, उकाला-ओरालाहरूसँग संघर्ष गरेपनि कृष्ण प्रसादले जीवनको उत्तरार्धमा गरेको एउटै सही निर्णयले उनका विगतका सबै गुनासाहरू बिलाएका छन् । अहिले फर्किएर हेर्दा ७४ वर्षीय उनी आफूले सन्तुष्टिका साथ जीवन बिताएको सम्झिन्छन् ।
व्यापारको सुरुवाती दिन सम्झिँदा उनी त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक हजार रुपैयाँ पुर्याउन समेत मुस्किल भएको अनुभव सुनाउँछन् । एक डेढ किलो खुवा मात्र बिक्री हुन्थ्यो । सुरु-सुरुमा पसल नचल्दा यो पेसाले पार नलागे एक हल गोरु किनेर जीविकोपार्जन गर्ने विचार पनि उनलाई नआएको होइन रहेछ । तर, आफ्नो परिश्रममा विश्वास राख्ने र मिहिनेतमा भरोसा गर्नेले एकदिन अवश्य सुख पाउने रहेछन् । उनले आफ्नो बुवाको सम्पत्ति पनि लिएनन् र लिने चाहना पनि कहिल्यै राखेनन् । छोराहरूलाई पनि आफ्नो पसिनामा विश्वास दिलाउन, आफ्नो पाखुरा चलाउन सिकाउन उनले छोराहरूको लागि समेत सम्पत्ति जोडिदिएका छैनन् । १३ जना सदस्य रहेको परिवारलाई उनी दसैँमा टीका लगाइदिन्छन् र परिश्रम गर्ने आशिष दिन्छन् ।

७४ वर्षको उमेरमा पनि खुवा घोट्दै गरेका कृष्ण प्रसाद सापकोटा
छोराबुहारीले खुवा राम्रो बनाउने कि तपाईंले भनी सोध्दा उनी, ‘नेपालमा वृद्धभत्ताको सुरुवात मनमोहन अधिकारीले गरे ।मैले यसको सुरुवात गरेँ । यसको सदुपयोग उनीहरूले गरुन् ।’ भन्छन् । हुन पनि कसले मिठो बनाउँछ भन्दा महत्त्वपूर्ण प्रश्न कसले सुरुवात गर्यो भन्ने नै हो । सुरुवात भए परिष्कार त हुँदै जान्छ नै । तर, सुरुवात नै नभए ? भइगो, यसरी पनि के सोच्नु ! कृष्ण प्रसाद बुवासँगको केही क्षणको बसाइँले मात्र पनि सोचाइमा समेत ऊर्जा खोज्ने बनाइसकेछ ।
खुवाबाटै आफूलाई, आफ्नो वरिपरिका कृषकहरूलाई राम्रो भएको देख्दा कृष्ण प्रसाद सन्तुष्ट छन् । उनले कृषकलाई भैँसी किन्नका लागि सहुलियतमा ऋण उपलब्ध गराउने समेत गर्छन् । उनले पसल थापेर राम्रो व्यवसाय गरेपछि अन्य पसलहरू पनि थपिए । सरल व्यवहारका उनले कसैको कुभलो चिताउँदैनन् । ‘मलाई कसैको नराम्रो सोच्न आउँदैन । मानिसभित्रै भगवान र राक्षस हुन्छन्, आफूले कसलाई हाबी हुन दिने भन्ने प्रमुख कुरा हो ।’ सायद, कृष्ण प्रसादले आफूभित्रका कृष्ण भेटे ।
उनी कलकत्तामै रुमलिएको भए पनि यो कथा अर्कै हुनेथियो । काठमाडौँमै रोकिएको भए नलेखिएका लाखौँ कथामाझ उनको जीवनकथा पनि पापड बेलिएझैँ बेलिने थियो । तर, हेटौँडाले बोलाएको उनले बेलैमा सुने । कुँजिएर नबस्नु र यात्रा गर्नुले उनले आफूले खोजेको मार्ग भेट्टाए । आखिर यात्रा गर्नेहरूले नै त आफ्नो बाटो पहिल्याउने हुन् । आफ्नो जीवनको उदेश्य भेट्न जीवन जिउनैपर्छ । र जीवन एउटा यात्रा हो ।
तपाईं पनि आफू बसिरहेको स्थानमा आफूले खोजेको कुरा भेटिरहनुभएको छैन भने, भएन भनेर गुनासो गर्नुभन्दा यात्रामा निस्किनुहोस् । के थाहा तपाईंलाई कुन शहरले पर्खिरहेको छ । कुन गाउँले बोलाइरहेको छ । कहिलेकाहीँ कृष्ण प्रसादको जस्तै जन्मथलो एउटा र कर्मथलो अर्को हुन लेखेको पनि हुनसक्छ । तर, लेखेको कुरा यसै पाइँदैन । जन्मथलो पाउन तपाईंले जन्मिदिए पुग्छ तर, कर्मथलो पाउन तपाईंले कर्म गर्नैपर्छ । जन्मिएकै ठाउँलाई पनि कर्मथलो बनाउन तपाईंले कर्म त गर्नैपर्छ ।
अन्त्यमा,
कृष्ण प्रसादले खुवाको कर्ममा आफूलाई भेट्टाए । हेटौँडामा खुवा भित्र्याउने उनी ‘खुवा मानव’ बने । तपाईं कहाँ पुगेर कुन कर्ममा आफूलाई भेट्टाउनुहुनेछ ? त्यसका लागि समयको कराहीमा घोट्टिनै पर्छ । पोखिएमा संगाल्नै नमिल्ने दूध घोट्टिएरै बाक्लो र स्वादिलो खुवा बन्ने न हो ।
एउटा मान्छेको फरक सोचले वास्तवमै क्रान्ति ल्याउन सक्छ भन्ने उदाहरण हुन् कृष्ण प्रसाद । यस्ता कृष्णप्रसाद हाम्रै वरिपरि अरू पनि छन् । कृष्ण प्रसादहरूको माझमा बसेर हामी अझैपनि आफैलाई झुक्याएर भनिरहन्छौँ, ‘म एक्लैले गरेर के हुन्छ र ?’