आइतबार , फागुण १३, २०८०

सरस्वती पूजा, बुनिया र बालापन

सरस्वती पूजाको गुलिया बुनियामय दिनहरू सम्झँदा अहिले पनि कुनै विद्यालयमा गएर हात थापौँ कि झैँ लाग्छ ।

image

सरस्वती पूजा भन्ने बित्तिकै तपाईँको दिमागमा सबैभन्दा पहिला आउने कुरा के हो ? केहीको दिमागमा पठनपाठन सुरुआत गर्नका लागि विशेष दिन भन्ने आउला । केहीको दिमागमा विद्याकी देवीलाई खुसी बनाई विद्या आर्जन गर्ने कुराहरू आउलान् । तर मेरो दिमागमा सरस्वती पूजा भन्ने बित्तिकै ‘बुनिया’ र बुनिया खानलाई बचपनमा गरिएका चकचकका दृश्यहरू छाउन थाल्छन् । ओठहरू एकाएक छुट्टिन्छन्, मन आनन्दित भएर आउँछ । कसरी एउटा धार्मिक दिन एउटा खानाको पर्याय जस्तै बन्यो भनेर म बेलाबेला सोचिरहन्छु । यो कसरी के कारणले सरस्वती पूजासँग जोडियो थाह छैन । तर म मेरो बचपनको बुनियामय सरस्वती पूजा देखाउँछु ल ।

वसन्त पञ्चमी आउनुभन्दा एकदुई महिना अघिबाटै गाउँमा एक किसिमको रौनक सुरु भइसकेको हुन्थ्यो । किशोर-किशोरी सरस्वती पूजा बारे खास-खास खुस्-खुस गर्न थाल्थे । थोरै-थोरै कुहिरो ओढिरहेको बिहान-साँझको समय, अलिअलि न्यानोपन बोकेको दिवा समयको मुटु रोटेपिङ चढेझैँ रोमाञ्चित रहन्थे ।

बबिया, भुटाहा, देवानगन्ज लगायत टाढा-टाढाका गाउँबाट कालिगढहरू आई आफ्नो व्यवसाय सुरु गर्ने जमर्को गर्थे । कोही कसैको जग्गा भाँडामा लिन्थे भने कोही सटर या कुनै कोठा लिन्थे । पराल, र बाँसका भाटा माथि माटोले लिपेर उनीहरू सरस्वतीको आकृति बनाउन तल्लीन रहन्थे । विद्यालय जाँदा-आउँदा देखिने आधा बनेका पराल र भाटाका आकृति, कतै माटो लिपेर सरस्वतीलाई उतार्दै गरेका कालिगढहरूको कलाकारिताले सरस्वती पूजालाई अझ हृदयभरि भरि बनाउँथे ।

स्कुलहरूमा मागिने सरस्वती पूजाको शुल्क पत्र या मौखिक अनुरोधले सरस्वती पूजा आयो है भनी जानकारी दिन्थे । ठाउँ-ठाउँमा, गल्लि-गल्लिमा, हटिया-गुद्रीमा ढाट राखेर पूजाको लागि चन्दा उठाउनेको जमात पनि कम थिएन । म स्वयम् आबद्ध रहेको समूह मिलेर ५/७ पटक पूजा आयोजना गरेका छौँ । यी सारा रोमाञ्चकता अलिकति सरस्वती पूजाका लागि हुन्थे भने धेरै छुट्टी र पाइने बुनियाका लागि हुन्थे ।

सरस्वती पूजाको रौनक केही महिना अघिबाटै सुरु भएर पूजा सकिएको एकदुई दिनसम्म रहन्थ्यो । आफैँले आयोजना गर्दा केही जिम्मेवारी त हुन्थे तर त्यसमा पनि कति बचपना थियो भनी सम्झिएर म घरि-घरि हाँस्ने गर्छु । पैसा/चन्दा उठाउनु, मूर्ति किन्नु, बुनिया आदि तयार गर्नु, पूजा गर्नु, पूजाको अघिल्लो दिनदेखि पछिल्लो दिनसम्म टिभी र डेक (सिडी हालेर चलचित्र हेर्ने उपकरण) जुटाउनु, नाचगान गर्नु, मूर्ति भसाउन जानु र यो सबैभन्दा मुख्य पेटभरि आँतभरि बुनिया खानु जस्ता कृयाकलापले सरस्वती पूजा हामी बालबालिकाका लागि ठुलो चाडकै महत्त्व राख्ने गर्थ्यो ।

वसन्त पञ्चमीको दिन हिन्दु धर्मावलम्बीहरूले विशेषगरि विद्यार्थी र शिक्षा क्षेत्रमा आबद्ध मानिसहरूले विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने दिन । तर हाम्रो ध्यान भने विद्यामा नभएर बुनियामा केन्द्रित हुने गर्थ्यो । जाडो याम आसपासमा पर्ने हुनाले यस दिन मौसम अलि जाडो-जाडो नै हुन्थ्यो । रै पनि नुहाउनु पर्ने बाध्यता रहन्थ्यो । यद्यपि बुनियाको लोभमा जाडो ‘छु मन्तर’ हुन्थ्यो । नुहाई-धुवाइ सकेपछि सफा लुगा लगाएर पहिला आफ्नो स्कुलबाट बुनिया आक्रमण सुरु गर्थ्यौँ । मानौँ सारा विद्यालयहरू बाइसे चौबिसे राज्य हुन् र हामी बुनिया एकीकरण गर्ने गोरखाली फौज ! नमान्न पनि पाइयो ।

समूह बनाएर एक ठाउँमा भेला हुने र सरासर विद्यालयतिर लम्किने । आफ्नो स्कुलमा राखिएको सरस्वतीको दर्शन झुलुक्क गरेपछि हात थाप्ने । अनि थाह छँदै छ नि ‘बुनिया!’ हजुर ‘बुनिया’ फेरी ‘बुनिया’ । यो स्कुल, त्यो स्कुल, यो वडा, त्यो वडा, चोक-गल्लिका थरिथरिका सरस्वती । होइन ब्यारे ! गोलो गरी केरा काटेर पोको बनाइएको बुनिया, उखु काटेर राखिएको बुनिया, सुन्तला हालेको बुनिया निम्की र बुनिया, बुनिया, अँ हौ बुनिया । भातको साटो बुनिया, भात खाएपछि बुनिया, खाजामा बुनिया, भोलिपल्ट सरस्वतीको मूर्ति सुनसरी खोलामा भसाएपछि उभ्रिएको बुनिया ।

एउटै विद्यालयमा या सरस्वती पूजा गरिएको स्थलमा बारम्बार बुनिया माग्न जानु र बाँड्नेले नधपाउन्जेल मागिरहनु वार्षिक नियम कानुन नै थियो भन्दा फरक नपर्ला । बुनियाले त्यति बेला दिएको सन्तुष्टि, खुसी र उटपट्याङ उत्साहले अहिले पनि सरस्वती पूजामा मन रमाउने गर्छ ।

बेसनमा पानी मिसाएर बाक्लो घोल बनाई केही समय राख्ने । घिउलाई राम्रोसँग तताएर तयार राखिएको बेसनको बाक्लो घोललाई प्वाल परेको पन्यू (झाँझर)बाट घिउमा खारी बुन्दी तयार गर्ने । उक्त बुन्दीलाई चास्नीमा डुबाउने र केही समयपछि निकाल्ने । यसरी तयार गरिएको बुनिया सायदै अरू बेला खाइन्थ्यो । सरस्वती पूजासँग यो कसरी र किन जोडियो भन्ने खोज्दा पनि अहिले सम्म केही तथ्य भने फेला परेन ।

सरस्वती पूजाको गुलिया बुनियामय दिनहरू सम्झँदा अहिले पनि कुनै विद्यालयमा गएर हात थापौँ कि झैँ लाग्छ ।

Tags:

सम्बन्धित समाचार