बुधबार , कार्तिक १२, २०८३

‘पर्यटक लुट्छु’ भन्दा आफैँ लुटियो नेपाली पर्यटन क्षेत्र !

पहिलेपहिले डाँडा-काँडा, भन्ज्याङमा देवीदेवताका मन्दिर, चैत्य आदि राखिन्थ्यो, अहिले भ्यू टावर बनाउने अनि त्यहाँ गरी रक्सी-मासु लुछ्ने, अनैतिक कार्य गर्न लालायित हुने, अनुशासनमा नरहने प्रवृति बढेको छ, अनि कुन श्रद्धा लिएर विदेशी नेपाल आउने ?

image

  • दीपक अर्याल

‘अतिथि देवो भव:’ ले पूर्वीय सभ्यताको संस्कृतिलाई झल्काउँछ। अझ भनौँ, दक्षिण एसिया र सँगै हाम्रो देश नेपालमा पाहुना लागि स्वागत र सत्कार गर्ने चलन परापूर्व कालदेखि नै चलिआएको परम्परा सर्वविदितै छ । ‘साँझको पाहुना देउता समान’ बाट ‘No tourist No money, If tourist money नै money’ सम्म आइपुग्न हामीले लामै कालखण्ड व्यतीत गरेका छौँ ।

बटुवालाई भगवान् मानेर सित्तैमा बस्न खान दिनेदेखि, अहिले बटुवाबाट  लिएको पैसाले राम्रो आयआर्जन गरी आफ्नो आर्थिक स्थिति मजबुत गराउनु, हाम्रो समाजमा ठूलै परिवर्तनको रूपमा लिन सकिन्छ । यही कारणले आज लाखौँ नेपाली को चुलो बाल्न अहम् भूमिका पर्यटन क्षेत्रले खेलेको देखिन्छ ।

धार्मिक पर्यटनको इतिहास धेरै लामो भए पनि पर्वतीय पर्यटन भने नेपालमा राणाकालदेखि सुरु भएको  मानिन्छ । अझ हाम्रो छिमेकी देश भारतमा ब्रिटिश शासनको समयदेखि जब अङ्ग्रेजसँग युद्ध विराम भयो, तब नै गोराहरूले काठमाडौँ भित्रने औपचारिक निमन्त्रणा पाएको देखिन्छ ।  काठमाडौं को नेवार संस्कृति, चाडबाड, कृषि अनि यहाँको मठ मन्दिर, दरबार जस्ता पुराना संरचना एवम् ललितकलाको प्रभावले गोराहरू मोहित भएको देखिन्छ । काठमाडौं उपत्यकाबाटै देखिने हिमालय पर्वतले मनोरम दृश्यले  जसलाई पनि एक पटक त्यहीँ पुगेर चरण स्पर्श गर्न कौतुहलता  जगाउँदछ/थ्यो। त्यही बेला गाँजाजन्य वस्तु (जुन अहिले लागुऔषध को रूपमा चित्रण गरिन्छ) जताततै खुल्लमखुल्ला विक्रीवितरण हुने र चाहेजति सेवन गर्न र ओसारपसार गर्न समेत पाइने भएकोले त्यतिबेलादेखि नै नेपाल भ्रमण गर्ने गोराहरूको सङ्ख्या वृद्धि हुँदै आएको कुरा आजको नयाँ पुस्ता लाई अलि नौलो लाग्न सक्छ ।

विदेशीले काठमाडौं बाहिर जाने अथवा हिमाल आरोहण गर्ने अनुमति पाएपछि नै नेपाली अन्य क्षेत्रको पर्यटनको विकास भएको देखिन्छ । जब गोराहरू हिमाल चढ्न जान्थे, तब बाटोमा पर्ने सबै रमणीय प्राकृतिक एवम् सांस्कृतिक कुराहरूले उनीहरू लोभिए । उनीहरूको प्रचार प्रसारले नै आजसम्म काठमाडौं बाट अग्लो अग्लो जुनसुकै हिमाल पुग्ने मार्ग एवम् आसपासका स्थान पर्यटकीय नगरीको रूपमा प्रसिद्ध भइरहेको छ । कतिपय त्यी ठाउँहरू आधुनिकीकरण भई आन्तरिक पर्यटकीय स्थलको रूपमा परिचित हुँदै गएको छ ।

वर्तमान परिप्रेक्ष्यमा विश्लेषण गर्दा नेपालको पर्यटन क्षेत्रलाई दुई कालखण्डमा विभाजन गर्न सकिन्छ । कोभिड महामारी पूर्वकाल र कोभिड महामारीपश्चात्को कालखण्ड । जानकारहरू कोरोनाकाल अघिको नेपालको पर्यटन निकै राम्रो भएको चित्रण पनि गर्छन्, पुरानो ढाँचामा पनि त्यतिको चलेको व्यवसाय नेपालको महाभूकम्प पछिको राष्ट्रलाई नै एक गन्तव्यमा पुराउने शक्तिशाली अस्त्र हो भन्दा फरक नपर्ला । २०७२ को भूकम्पमा देश पुनः निर्माण गर्न  विदेशी नागरिकको  साथ र समर्थन अतुलनीय भएको  देखिन्छ । कोरोना कालमा संसार नै पीडामा रहेको हुँदा हामीमा पर्यटक एवम् उनीहरूको साथ र समर्थन निकै कमै रह्यो । कोरोना  लहरको दुई वर्ष पछि फेरि नेपालको पर्यटन पुरानै अवस्थामा तर नयाँ तरिकाले फर्केको छ तर यहाँनेर काम गर्नुपर्ने कुराहरू यथेष्ट छन् ।

नेपालमा पर्यटकलाई आकर्षित गर्ने सम्पदाहरू के के छन् ?

नेपालमा पर्यटकलाई आकर्षित गर्ने सम्पदा क्षेत्रहरूको विश्लेषण गर्दा सर्वप्रथम आउने चीज हो- हिम शृङ्खला; आठ हजार मिटर भन्दा माथिको आठ ओटा,  १३०० मिटर भन्दा धेरै ६ हजार मिटरमाथिका हिम चुचुरा, हिमालय पर्वतलाई उद्गमस्थल बनाई बग्ने हिमनदी, हिमतालहरू  पर्यटक लागि निमन्त्रणा गरिरहने अलौकिक प्राकृतिक वरदान हुन् । त्यस्तै डाँडाकाँडा, उपत्यका, बेसी, टार, भन्ज्याङ, खोला, झरना, गल्छी, ठूला चट्टान , ताल, पोखरी जस्ता स्थलहरू पर्यटकको रोजाइमा पर्ने गर्दछन् । भौगोलिक मापनमा त्यति विशाल नरहे पनि सय भन्दा धेरै भाषा, सय भन्दा धेरै जाती जनजाति, यहाँको संस्कृति, रहनसहन, भेषभुषा, चाडपर्व, मेलमिलाप, आपसी सद्भाव र सहयोगले पर्यटकको मन मस्तिष्कमा सकारात्मक कम्पन पैदा गर्दछ ।  नेपालीको राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वनजङ्गल, रुखविरुवा, जडीबुटी,  जनावर, चरा चराचुरुङ्गी, पुतली, किरा फट्याङ्ग्राहरू पर्यटकलाई थप आकर्षण गर्ने अन्य वस्तुहरू हुन् ।

त्यस्तै, नेपालमा परापूर्वदेखि चलिआएको प्रकृति पूजा, सनातन हिन्दू परम्परा, बुद्ध मार्ग, किराँत संस्कृति आदी सम्पदा (जो अहिले कहलिएको वैज्ञानिक युग भन्दा पनि उच्च स्तरको ज्ञानका भण्डार हुन्) मठ मन्दिरहरू, गुम्बा, स्तुपा, पाटी सत्तल, चौतारी आदि मानव निर्मित सम्पदा, नेपाली वनस्पति वन्यजन्तु, ढुङ्गा माटो, खनिज प्रयोग गरी बनाइएको विविध लत्ताकपडा, भाँडाकुँडा, सजावटको सामग्री जस्ता हस्तकलाका सामग्री, पर्यटनलाई लोभ्याउने हाम्रा मौलिक चीजहरू हुन् ।

त्यस्तै, सूर्योदय सूर्यास्तको मनोरम दृश्य, सप्तरङ्गी इन्द्रेणी, रातिको समयमा  झिलिमिली देखिने नौलाख तारा, पूर्णिमाको पूर्ण चन्द्रले  पर्यटकलाई इन्द्रलोकमै पुगेको जस्तो आभास गराउँदछ ।

माथि उल्लेख गरिएका सम्पदाहरूलाई पहिचान गरी जानेर वा नजानी  पर्यटकको चाहना अनुरूप विभिन्न भागमा वर्गीकरण गरिएको छ, जसमा ट्रेकिङ, सिटी टूर, पर्वतारोहण, जङ्गल सफारी, र्याफ्टिङ, साइट सीइङ, बञ्जी, प्याराग्लाइडिङ, माउन्टेन फ्लाइट, चरा अवलोकन आदि प्रथम रोजाइमा पर्ने गर्दछन् । यसबाहेक विदेशीहरू नेपाल आउने भनेको व्यापार गर्न, तीर्थयात्रा गर्ने, शिक्षा-दीक्षा आर्जन गर्न, परिवार एवम् आफन्तजन भेट गर्न, योग, ध्यान एवम् तप गर्न, भोलेन्टियरको रूपमा समाज सेवा गर्न, खेलकुदमा भाग लिन वा हेर्न, विविध पक्ष खोज तथा अनुसन्धान गर्न  नै हो । पर्यटकको रोजाइमा माउन्टेन बाईकिङ, हनी हन्टिङ, स्काई ड्राइभिङ, फिशिङ, बोटिङ छोटो दूरीको हाइकिङ जस्ता थप साहसिक कार्य पनि पर्दछन् । कैलाश एवम् भुटान जाने पर्यटकको प्रस्थान बिन्दुसमेत रहने गरेको छ, हाम्रो देश नेपाल ।

जब हामी हाम्रो देशमा विद्यमान सम्पदाहरू र पर्यटकीय सम्भाव्यताको बारेको पढ्छौँ अथवा सम्झन्छौँ, लाग्छ हाम्रो देश नेपाल पर्यटक आकर्षण गर्नको निमित्त नै हिमालयको पर्खाल लगाई, वन पैदावारको बार बारेर नदीरूपी ममताकोको पुष्पगुच्छा हातमा लिएर बादलुको छत्री ओढेर घडारुपी मुस्कुराई रहेछ । हामीसँग यस्ता पर्यटनको अथाह सम्भावना रहेता पनि हामी यसलाई औजार बनाएर अत्यधिक आर्थिक सफलता प्राप्त गर्न कहीँ कतै चुकिरहेका छौँ । यसको प्रमूख जिम्मेवारी स्वयम् तपाईं हामी नै हौ ।

समस्या कहाँ छ ? 

पर्यटनले सोचेजस्तो उचाई नलिनुको प्रमुख कारणहरू- सरकारी एवम् उच्चस्तरमा यसको सम्भाव्यताबारे चासो नहुनु वा छलफल नहुनु नै हो ।  पर्यटन क्षेत्रको मन्त्री देखि सबै उच्च ओहोदामा राजनीतिक भर्ती केन्द्र हुनु, केही सकारात्मक कार्य गर्नु भन्दा पनि पैसै कमाउन वा मात्र नामको लागी पदमा  ओगटिरहनु, व्यवसायी एवम्  मजदुर सुरक्षाको  निमित्त भनेर खोलेको विविध छाता सङ्गठनहरू विभिन्न राजनीतिक दलको  भरौटे भई मात्र राजनीति गर्ने थलो र नाकाम नेताको चाकडी गर्ने कठपुतली संस्थाको रूपमा उपस्थित रहनू । पर्यटन प्रवर्द्धनको  निमित्त आवश्यक पूर्वाधारहरू जस्तै: सडक, गोरेटो बाटो, होटेल लज, एयरपोर्ट एवम् हवाई यात्राको अवस्था निकै नाजुक हुनु, सांस्कृतिक सम्पदाको उचित मर्मत-सम्भार एवम् सरसफाईमा कमी रहनु, अतिथि सत्कारमा हाम्रो मौलिक चीजहरूको कमी हुँदै जानु आज पर्यटन क्षेत्रले नयाँ फड्को मार्न नसक्नुको प्रमूख कारण हुन ।

राज्यले पर्यटन क्षेत्रबाट मनग्ये राजश्व सङ्कलन गरेको छ तर, सुधार र विकास गर्न कुनै गतिला नियम कानून अथवा कार्य योजना तयार पार्न कसरत गरेको देखिँदैन । पर्यटन क्षेत्रमा जुनसुकै विधामा पनि अस्वस्थ प्रतिस्पर्धा रहेको छ । होटेल, ट्राभल एजेन्सी, ट्रेकिङ  एजेन्सी, यातायात, र्याफ्टिङ एजेन्सी आदि सबै-सबैमा अरूले भन्दा कम मूल्यमा सेवा दिने होडबाजी नै रहेको छ । यसरी सेवामा भन्दा  मूल्यमा प्रतिस्पर्धी गर्दा मजदुरले निकै कम तलबमा काम गर्न बाध्य छन् र स्वयम् पर्यटकले चित्तबुझ्दो सर्भिस पाउनबाट वञ्चित छन् । यी कुरामा न कुनै छाता सङ्गठनको ध्यान गएको देखिन्छ, न कुनै सरकारी संयन्त्रको ।

हरेक क्षेत्रकाे मेरुदण्ड भनेकै मजदुरहरू हुन ।  पर्यटकले नेपाल चिन्ने अथवा महसुस गर्ने भनेकै मजदुरको कार्यशैली, अभिव्यक्ति र  प्रस्तुतिले हो । यसलाई यसरी पनि भन्न सकिन्छ, ‘पर्यटन मजदुर भनेका कुमाले हुन्, अनि हाम्रो देश नेपाल भनेको गिलो माटो । कुमाले रूपी मजदुरले गिलो माटोरूपी नेपाललाई जस्तो आकारमा देखाउँछन्, पर्यटकले त्यही बुझ्छ । उसको देशमा एवम् इन्टरनेटमा उसले जे देख्यो, त्यही फैलाउँछ ।’ यस्ता यस्ता सशक्त हतियारलाई राज्यले बुझ्न चाहेको देखिँदैन । फलस्वरूप: पर्यटनलाई झुक्काउने/फसाउने कार्य पनि दिनानुदिन बढ्दै भएको आभास हुन्छ ।

माथिल्लो अथवा सरकारी संयन्त्र त्यति चलायमान नभए पनि तल्लो दर्जा अथवा मजदुर वर्गमा पर्यटनको वर्तमान अवस्था, समस्या र सुधारको आवश्यकताबारे छलफल भइरहन्छ ।  हाम्रा दौँतरी राष्ट्रहरू  भुटान, थाइल्यान्ड, इजिप्ट जस्ता देशको नक्कल गरेर  पर्यटनको विकास र समृद्धि स्थापित गर्न सकिने चर्चा पनि गरिन्छ ।  हाम्रो जस्तो अथाह प्राकृतिक वरदान, सांस्कृतिक धरोहर र आफ्नै छुट्टै मौलिक पहिचान बोकेको राष्ट्रमा आयातित पर्यटकीय खाका भित्राउनु पक्कै पनि मुनासिब कदम हुने छैन ।

पर्यटन क्षेत्रलाई कसरी मजबुत बनाउने ? 

अब नेपालमा पर्यटन क्षेत्र मजबुत बनाउन गर्न सकिने कार्यबारे बताउन जाँदैछु । सर्वप्रथम पर्यटकको आगमन हुने भनेको विमानस्थलमा हो, त्यसैले नेपालका हरेक विमानस्थलको स्तरोन्नति हुनु जरुरी छ । साथै, विमानस्थलका कर्मचारीको कार्यशैली उत्कृष्ट हुन उत्तिकै जरुरी छ । त्रिभुवन विमानस्थलमा अवतरण हुने बित्तिकै ‘wow’ भन्ने हामीले बनाउनुपर्छ । अहिले त पर्यटकलाई बाटो कता, भिसा लिने/चेक गर्ने कता, झोला कता, झोला सही सलामत पो छ कि छैन भन्ने तनाव हुन थाल्दछ । त्यतिकैमा कर्मचारी वर्गबाटै गाडी बेच्ने, होटेल बेच्ने, टूर प्याकेज बेच्ने अझ चलिआएको शब्दमा भन्नुपर्दा पर्यटक लुट्ने प्रक्रिया सुरु हुन्छ। बाहिर निस्केपछि अर्को कोलाहल सुरु हुन्छ। झोला बाहिर निकालिदिने नाउँमा भरियाले लुट्ने ‘होटेल पुराइदिने’ नाउँमा ट्याक्सी डाईभरले लुट्ने, त्यसपछि ट्राफिक जाम, अस्वस्थ गाडी चलाई, सडकको अवस्था, धुवाँ धूलोले पर्यटकहरू थकित हुने गर्दछन् । यसलाई सुधार गर्नको लागि विमानस्थलका कर्मचारीलाई उचित ट्रेनिङको आवश्यकता छ । यस समस्या समाधानका नियम कानुन कडा बनाउनुपर्दछ।

यसैगरि, राजधानीको सडक स्तर उन्नति एवम् व्यवस्थित हुन जरुरी छ, साथै सरसफाईको  आवश्यकता रहेको छ । ठमेल जस्ता पर्यटकीय ठाउँमा पुगेपछि, अनैतिक कार्य जस्तै गाँजा बेच्ने, केटी मिलाइदिने, राम्रो मसाज एवम् डान्स रेस्टुरेन्ट लगिदिने नाममा पर्यटकलाई शोषण गरिन्छ। भर्खर नेपाल आएको त्यो पर्यटकले न कतै उजूरी दिनसक्छ, न प्रहरीले नै  यस विषयमा कुनै ठोस कदम चाल्दछ ।  काठमाडौंबाट अर्को  ठाउँमा जानको लागि बसपार्क एवम् राजमार्गहरू व्यवस्थित छैनन्, आन्तरिक जहाज, विमानस्थलको अवस्था कोलाहलपूर्ण छ । र्याफ्टिङ  गर्न जाँदा नदीको पानी सफा छैन । नदी किनारमा उचित सरसफाइ  छैन । बोटबिरुवा फडानी भइरहेका छन् ।

राष्ट्रिय निकुञ्ज जाँदा जनावर एवम् चराचुरुङ्गी देख्न नै गारो हुँदै गइरहेको छ । ट्रेकिङ एवम् पर्वतारोहण गर्न जाने बाटोको हालत बेहाल छ । ठाउँ ठाउँमा पहिरो गएको छ । गाउँमा पहिरो पन्छाउने युवा छैनन्, गाउँ अथवा केन्द्र सरकारलाई एक अर्काको खुट्टा तानातान गर्दा नै फुर्सद छैन । नियमित होटेल एवम् रेस्टुरेन्टको गुणस्तरको चेक जाँच, टूर अपरेटर र पुराना गाइडहरूलाई  नियमित तामिल आवश्यक छ । वनजङ्गल, जङ्गली जनावर एवम् चराहरूको संरक्षण आवश्यक रहेको छ ।

नेपालीले आफ्नो मातृभाषा बिर्सँदै छन्, आफ्ना चाडबाड रीतिरिवाज, परम्परा भुल्दै जाँदैछन् । आफ्ना बाउबाजेले मानेका धर्म त्यागेर आफूलाई आधुनिक ठानिरहेका छन् । यी हाम्रा मौलिक पहिचान नै नरहे पर्यटक के हेर्न आउने नेपाल ? त्यसैले आफ्ना परम्परा, धर्म संस्कृति, रीतिरिवाजको उचित संरक्षण हरेक वर्गबाट हुन आवश्यक छ ।  मन्दिरमा सरसफाइ छैन, गुम्बामा शान्ति छैन, धर्म एवम् धार्मिक सम्पदालाई व्यापार गर्ने थलो बनाएको छन्, अनुशासनमामा रही आफ्नो मौलिक धर्म अनुसरण गर्नाले नै नेपालमा धार्मिक पर्यटनको प्रवर्द्धन हुनसक्दछ ।

पहिलेपहिले डाँडा-काँडा, भन्ज्याङमा देवीदेवताका मन्दिर, चैत्य आदि राखिन्थ्यो, अहिले भ्यू टावर बनाउने अनि त्यहाँ गरी रक्सी-मासु लुछ्ने, अनैतिक कार्य गर्न लालायित हुने, अनुशासनमा नरहने प्रवृति बढेको छ, अनि कुन श्रद्धा लिएर विदेशी नेपाल आउने ? त्यसैले पर्यटक विस्तारको लागि हामी सबै नेपाली अनुशासनमा बस्न आवश्यक रहेको छ । महामानव बुद्ध र भगवान् कृष्णको उपदेश पालन गरेर नै हामी नेपालीहरू नेपाली रहिरहन सक्छौँ । जब हामी प्रकितिलाई पूजा गर्छौ, हाम्रो धर्म, संस्कृतिलाई शिरमा राख्छौँ । आफ्नो मातृभाषा, परम्परा, रीतिरिवाजलाई आफ्नो आदर्श मान्छौँ । अतिथिलाई देउता ठानी पुज्छौँ, नेपालमा पर्यटकको आगमन भइरहन्छ । भूगोलले मात्र होइन आर्थिक, सामाजिक जस्ता हरेक क्षेत्रमा हामी संसारमै सर्वोच्च भइरहने छौँ ।


 

अर्याल विगत १५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन् । धादिङ, नलाङ घर भएका उनी बी ट्रेकिङ नेपालका सञ्चालक हुन् ।

Tags:

सम्बन्धित समाचार