काठमाडौं । स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट एक महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । सिद्धार्थ राजमार्गबाट सजिलै पुग्न सकिने यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ ।
नेपालका बाइसे–चौबीसे राजाको समयदेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उदाहरण हो । प्राकृतिक तथा सांस्कृतिक रूपले सम्पन्न यस स्थलबाट हिमाली तथा पहाडी दृश्यावलोकनको आनन्द लिन सकिने स्थानीय पूर्णवीर गुरुङ बताउँछन् । विभिन्न मार्ग प्रयोग गरी फेदी खोला गाउँपालिका–५ मा रहेको यस स्थलसम्म पुग्न सकिन्छ ।
खड्केटारी पञ्चासे ग्रामीण सडकको छेउमा बाँगे मैदान पुग्नुअघि बाँगेकोट छ । बाँगे गाउँमा रहेको रङ्गुवा, बाँगेथुम कालाभैरवलाई प्राचीनकालदेखि बाँगेकोटका रूपमा लिने गरिएको हो ।
कोटको दक्षिण भागका रङ्गुवावासीले यसलाई रङ्गुवाकोट भन्ने गर्छन् । पूर्वी भाग भाटखोला, आरुखर्क र फेदीखोलाका बासिन्दाले बाँगेकोट नै भन्ने गरेको बाँगे पोखरा सामुदायिक मिलन चौतारीका कोषाध्यक्ष एवं बृहत् फेदी खोला पोखरा सम्पर्क समाजका सदस्य राजकुमार क्षेत्रीले बताए । उत्तर–पश्चिम भागका बाँगे, बाङ्सिङ, सरादीसम्मका बासिन्दाले पनि यसलाई बाँगेकोट नै भन्छन् ।
बाँगेकोट नजिकैको घिमिरे गाउँ यहाँको प्राचीन बस्ती हो । परापूर्वकालदेख नै सुरक्षाका दृष्टिले अग्लो पर्खालले घेरिएको यस कोटको बिचमा भैरवस्थान र पुजारी घर छ भने पर्खाल बाहिर बलि दिने मौलो रहेको छ ।
यो कोट आरुखर्कका रजौटाले बनाएको भन्ने किंवदन्ती छ । बुढापाकाका अनुसार प्राचीनकालमा आफ्नो भरणपोषणका लागि माना चामल र बिर्ता जग्गाका मोहीबाट उठेको रकम बुझाउन जम्मा हुने यो ठाउँबाट कटुवालले खबर प्रसारण गर्ने (घोक हाल्ने) र ज्योतिषीले भविष्यवाणी गर्ने गर्थे ।
यस कोटमा बडादशैँ र चैतेदशैँ गरी वर्षको दुईपटक धूमधामसँग पूजा जात्रा हुने गर्छ । उक्त पूजामा रङ्गुवा, बाँगे र भाटखोलाका तालुकदार मुखियाबाट बलि दिने पाठो, राँगो र माना घिउ ल्याउने प्रचलन थियो । पहिले–पहिले नुवाकोट कालाभैरव मन्दिरमा झैँ रङ्गुवा बाँगेथुम कालाभैरव स्थानमा पनि तिमल्सिना थरका बाहुन पुजारी राख्ने प्रचलन रहेको थियो । यद्यपि अहिले भने यी दुवै स्थानमा पुजारी यही थरको हुनुपर्ने भन्ने कुनै अनिवार्य छैन ।
दशैँको फूलपातीमा रङ्गुवाली तिमल्सिनाका घरबाट फूलपाती, आरुखर्के रजौटाका दरबारबाट दहीको ठेकी लगिने चलन रहेकामा फूलपाती यथावत् नै ल्याइने चलन छ ।
प्रत्येक जातजातिको भूमिका रहने गरेको पूजामा नवमीका दिनमा अरियाँले दमाईबाट बाजागाजा, रङ्गुवाली विश्वकर्माबाट हातहतियारमा साँध लगाउने तथा स्थानीय सार्कीबाट बलिको राँगो लैजाने, सफा गर्ने चलन रहेको थियो । पछिल्लो समय सबै मिलेर कोटको संरक्षण र रेखदेख गर्ने गरेका छन् ।
बाँगेकोटमा हाल नवनिर्मित मन्दिर, भवन तथा पर्खाल एवम् घना रुखवृक्ष छन्, बिर्ता प्रथाको उन्मूलन र तालुकदार परम्पराको खारेजी भएपछि अक्षयकोष स्थापनाबाट पनि यस कोटको विकासमा योगदान पुगेको छ । कोटमा रहेका पुराना खुँडा र खुकुरीले यहाँको प्राचीनतालाई झल्काउने गरेको छ ।
गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका अनुसार धार्मिक, प्राकृतिक र पर्यटकीय आकर्षणको केन्द्र बाँगेकोटको विकासलाई फेदी खोला गाउँपालिकाले प्राथमिकतामा राखेको छ । यस स्थललाई संरक्षण र विकाससँगै प्रवर्द्धन गर्न तथा बाँगेकोटको इतिहास तथा महत्वलाई जीवन्त राख्न गाउँपालिकाको स्थानीय पाठ्यक्रममा पनि यस स्थललाई समेटिएको उनले सुनाए । बाँगेकोटको महत्वलाई प्रकाशमा ल्याउन स्थानीय युवाको सक्रियतामा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रवर्द्धनात्मक कार्यक्रम पनि भइरहेका छन् ।
हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आगामी फागुन २७ गते बाँगेकोटमा हाइकिङ गराउन लागेको उक्त संस्थाका संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।
वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिर पुरातत्त्व विभागको सहयोगमा निर्माण भइरहेको छ ।