मंगलबार , कार्तिक ११, २०८३

जलमूखी मन्दिरको ऐतिहासिक विवेचना

राजघरानासँग सम्बन्ध भएको र छिमेकी स्थान (गोरखा) का व्यक्ति जनरल भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएको बेला गरिएका देशव्यापी पाटीपौवा, मठमन्दिर निर्माणको क्रममा जलमुखी मन्दिर पनि निर्माण भएको अनुमान गरिन्छ, यसको तथ्यजाँच हुन् भने बाँकी नै छ ।

image

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थल जलमूखी मन्दिरलाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा अगाडि सर्ने जमर्कोस्वरूप प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव-२०७९ यहि फाल्गुन २१ गतेदेखि २३ गते चल्दैछ । महोत्सव चलिरहँदा मन्दिरको ऐतिहासिक, सांस्कृतिक एवम् धार्मिक महत्त्वबारे चर्चा गर्नु मुनासिव लाग्यो ।

त, सोही गरौँ ।

थुम्कोमा रहेको जलमुखी मन्दिर परिसर उभिएर आँखु र बुढीगण्डकीको काखमा लम्पसार परेर सुतेको सल्यानटार, धावा सहित गोरखाका कैयन उत्तरपश्चिमी भूभागहरू देख्न सकिन्छ । यहाँबाट धादिङको सुनौलाबजार, कुम्पुर, नीलकण्ठ, खाल्टे, ढोला, चैनपुर, धुवाँकोटदेखि उत्तरका विभिन्न ठाउँ देखिन्छ । यहाँबाट काठमाडौंको चन्द्रागिरी समेत देखिने विश्वास गरिन्छ । मन्दिरको परिसरमा उभिँदा हिमाच्छादित मुस्कानले चम्किरहेका गणेश हिमाल, लाङटाङ हिमाल तथा अन्नपूर्ण हिमशृंखलाहरूले मनमा काउकुती लगाउँछ ।

मन्दिरबाट देखिएको गणेश हिमाल, लाङटाङ हिमाल तथा अन्नपूर्ण हिमशृंखलाहरू

जलमुखी मन्दिर पुग्नुपूर्व गोलादेवी मन्दिरलाई पार गर्नुपर्दछ । भन्ज्याङमा रहेको गोलो शिला अर्थात् गोलढुंगालाई गोलदेवी भन्ने गरिन्छ ।  यो शिला उचाल्दा गानोगोला कम हुने तथा धर्म मिल्ने विश्वास गरिन्छ । हाल यस ढुंगालाई गाडेर राखिएपश्चात् पूजाआजा गर्ने कामले निरन्तरता पाएको छ ।

जलमुखीको मन्दिर परिसरमा नित्य पूजाआजा चल्छ । यसबाहेक दसैँको बेला गरिने नवरात्री पाठ, महाअष्टमीमा गरिने बली पनि यहाँको अर्को विशेषता रहेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन तथा फागु पुर्णिमाका साँझ मेला लाग्दछ । यी मेलाका दिनमा भने गोरखा र नुवाकोटसम्मका श्रद्धालुहरू यहाँ आउने गर्दछन् ।

कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन श्रद्धालु भक्तजनहरूले बाबियोले बनेको डोरीमा रङ्गीचङ्गी फूल उनेर त्यसलाई डोलीमा राखी पञ्चैबाजा बजाउँदै, गाउँदै र नाच्दै मन्दिरमा ल्याउँछन् र मन्दिरको वरिपरि फूलको डोली बाँधेर बडाँ दिने गर्दछन् । अन्य श्रद्धालु गृहिणीहरू रातभरि जाग्राम बसेर तेलको बत्ती बाल्दछन्, कतिपयले महाद्विप पनि बाल्दछन् । मानिसहरूले भजन, कीर्तन, नाचगान गर्दछन्, जलमुखी देवीको नाममा पूजाआजा तथा गौदान गरेपछिमात्र फूल बिसर्जन गरी घर जाने चलन अब पुरानो भइसकेको छ ।

नवनिर्मित जलमुखी मन्दिर

मन्दिर उत्पति सम्बन्धि किम्वदन्ती:

‘स्थानीय बुढापाकाहरूका भनाइअनुसार आजभन्दा लगभग ४०० वर्ष पहिले (हाल मन्दिर रहेको डाँडाभन्दा पश्चिमतर्फ) चैनपुर गाविस, सुनखानी गाउँका एकजना कामी अरूबेलाजस्तै गरी पानी भर्न कुवामा गएका थिए । बिहान सबेरै पानी भर्न गएका उनले गाग्री कुवामा डुबाएर पानी भर्न प्रयत्न गरे । गाग्री कुनै कडा चट्टानसँग ठोकिन पुग्यो र गाग्रीको मुखले एउटा शिला बाहिर निकाल्यो । उनले त्यस शिलालाई कुवाबाट बाहिर निकाली कुवाको माथितिर फालिदिए र पानी लिएर घरमा गए ।

अर्को बिहान पनि कामी बुढा पानी भर्न गए तर त्यही घटना दोहोरियो । कोही गोठाला वा उपद्रवी मान्छेले कुवामा ढुड्गा फालिदिएछ, भनेर पुनः त्यस शिलालाई उनले निकै टाढा फालिदिए र घर गए । त्यो प्रक्रिया तेस्रो दिनमा पनि दोहोरियो । उनी आश्चर्यचकित भए र त्यस शिलालाई कुवाको माथिपटि राखेर पानी लिई फर्किए ।

त्यस साँझ उनले सपना देखे (सपनामा देवीले दर्शन दिइन् र भनिन् – म जलमुखी हुँ, तिमीले पटकपटक निकालेर फालेको शिला मै हुँ । मलाई उच्च स्थानमा राखेर पूजाआजा गरे म यहाँका सबैको कल्याण गर्नेछु । ) देवी अन्तरध्यान भइन् । कामी बुढाको सपना टुट्यो । उनी पहिलेजस्तै गरी कुवामा गए । उनले अघिल्लो दिन कुवामाथि राखेको शिला कुवामा नै भेटियो । उनले त्यस दिन शिलालाई दर्शन गरे र पानी भरेर फर्केपछि गाउँका ठूलाबडाहरूलाई भेला गरी विगत तीन दिनदेखि भएको घटना र सपनासमेतको वर्णन गरे । सबै गाउँलेहरू जम्मा भए र कुवामा गए । उनीहरूले वेदमन्त्रोच्चारणसहित शिलालाई डोलीमा राखेर पञ्चेबाजा बजाउँदै माथिको डाँडामा लगे र एउटा विशाल साल वृक्षको फेदमा स्थापना गरी नित्य पूजाआजा गर्न थाले ।

पुरानो मन्दिरको स्वरूप, यसले ज्यादा मौलिकता झल्काइरहेको छ

मन्दिर उत्पतिको किंवदन्ती अनुसार प्राप्त शिलालाई एउटा सालको रूखमुनि स्थापन गरिएको थियो । मन्दिर बनाएर हालको स्वरूपमा ल्याउने कार्य भने उनै दैवज्ञ केशरी अयार्ल सुनखानी (हालको चैनपुर) आएपछि भएको अनुमान गरिएको छ (स्रोत: मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, पर्यटकीय विम्बचित्रमा धादिङ)।

जलमुखी मन्दिरको इतिहास बताउने घण्ट चोरी भयो !

राजघरानासँग सम्बन्ध भएको र छिमेकी स्थान (गोरखा) का व्यक्ति जनरल भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएको बेला गरिएका देशव्यापी पाटीपौवा, मठमन्दिर निर्माणको क्रममा जलमुखी मन्दिर पनि निर्माण भएको अनुमान गरिन्छ, यसको तथ्यजाँच हुन् भने बाँकी नै छ ।

ज्ञात इतिहास अनुसार, एकीकरणकर्ता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा सहयोग गर्ने पं. चक्रपाणी अर्यालले सुनखानीमा बिर्ता पाएका थिए । पछी, अर्यालका कान्छा छोरा दैवज्ञ केशरी अर्याल त्यहाँ आई बसे । उनै दैवज्ञ केशरी अर्याल अर्यालले वि.सं. १८५७ को दशहरा तिथिका दिन यहाँ एक घण्टा चढाएका थिए, जसको व्यहोरा यसप्रकार छ,

वि. सं.. १८५७ मा दैवज्ञ केशरीले चढाएको घण्टको घण्टाभिषेक-

श्री मुनिबाणाष्ट विनिम्मिते विक्रमवत्सरे ।
ज्वालामुखी प्रीतिहेतो पुण्ये दशहरा तिथौ ।। १
स्तम्भद्वयाद्वारशोभां श्रृखला कुटलम्विनीम् ।
समर्पयेदिमां घण्टा द्विजो दैवज्ञ केशरी ।। २
शुभमस्तु ।। धानि ३२ सेर १ ।। तोला ।। ४ ॥

(स्रोत: रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण (०३२ साल),  पुरातत्त्व विभाग )।’

सो  घण्टको घेरोमा लेखिएको माथिको श्लोकको अर्थ ल्याउँदै इतिहास अध्येता हरि खनालले लेखेका छन्, “स्थानीय अर्यालहरूका अनुसार (नोदराज र नर्मराज), देवज्ञ केशरी अर्याल वि.सं. १८५० पछि नै त्यस स्थानमा आएका थिए भन्ने भनाइले यस कुरालाई पुष्टि गर्न आधार दिन्छ । घण्ट मन्दिरको निर्माण सकिएपछि चढाइएकोले मन्दिर निर्माण पनि वि.सं. १८५६/ ५७ मा सम्पन्न भएको अनुमान गर्न सकिन्छ र यसको निर्माणमा प्रधानमन्त्री भीमसेन थापासँग सहयोग लिने कार्य दैवज्ञ केशरीबाट नै सम्भव भएको अनुमान गर्न सकिन्छ (स्रोत: मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, पर्यटकीय विम्बचित्रमा धादिङ) । खनालले सो घण्ट चोरी हुनु दुई वर्ष अगाडी आफू जलमुखीको अध्ययनको लागि पुगेका थिए ।

मन्दिर बनिसकेपछी घण्टा चढाइने हुनाले वि. सं. १८५७ अघि नै जलमुखी माईको मन्दिर बनेको अनुमान गर्न सकिन्छ । हाल सो घण्ट चोरी भइसकेको (२०६० कार्तिक आसपास) र नयाँ घण्ट स्थापना गरिएको अवस्था छ ।

नयाँ घण्ट

 ढलौटको सिंह पनि रहेन !

पहिले रहेको मन्दिरमा ढलौटको एक विशाल सिंहको मूर्ति थियो । हाल सिमेन्टले कुँदेर सिंह राखिएको छ, तर यसलाई ढलौटकै राख्दा उपयुक्त हुन्थ्यो । यस सिंह कसले चढाएको हो भन्नेबारेमा सिंह चढाई समर्पण गर्दाको ताम्रपत्रले यस्तो बताउँदछ;

सिंह चढाई समर्पण गर्दाको ताम्रपत्र

 ज्वालामायिको
श्री मद्गंगा बहादुर इति सुकृतिना चीक कर्णेल नाम्ना
मासेस्मिन्विक्रमाSव्दे रसवसुनव भू (१९८६) सम्मिते
                                                                           ह्याश्विनेहा/धा
भक्त्यासिंहोन्यवेदि त्रिभुवन नमिते ज्वालिके प्रीतयेते
भक्त दीनं वरेप्सुं चरण शरणगं पाहिमानमस्ते ||१||

चीफ कर्णेल भनी वडा भगत श्री गङ्गावहादुरले ।
उण्डैस्सौं र छ्यासि सम्वत् महां अर्पण गरें प्रीतिले
हे ज्वालामुखी मायि यो हजुरका सिंह चरणमा रहोस्
वर इच्छा गरी भक्त छू चरणमा रक्षा सदा गर्नु होस् ॥२॥
(स्रोत: रसुवा र धादिङ जिल्लामा गरिएको अनुसन्धान भ्रमण (०३२ साल),  पुरातत्त्व विभाग )।’

चिफ कर्णेल गङ्गाबहादुरले वि.सं. १९८६ सालमा ढलौटको सिंह देवीको शरणमा चढाएको व्यहोरा यस ताम्रपत्रले बोल्दछ ।अध्येता हरि खनालका अनुसार हाल नित्य पूजा चलाइरहेका लक्ष्मण शाक्यसँग सो ताम्रपत्र रहेको छ ।

माथि उल्लेखित गरियो, हाल चिफ कर्णेल गङ्गाबहादुरले चढाएको सिंहको मूर्ति छैन । सिंह सँगसँगै जल स्वर्णमुकुट पनि चोरी भएको छ । वि.सं २०३८ तिर करिब प्रन्ध्र दिनको अन्तारलमा ती दुवै अमुल्य वस्तु चोरिएको पुजारी लक्ष्मणको हवाला दिँदै खनालले उल्लेख गरेका छन् । ढलौटको सिंह चोरिएर विदीर्ण भएको मन्दिरमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य श्री हरिबहादुर थापाले हालको सिमेन्ट निर्मित सिंह राख्न लगाएका हुन् ।

 

ज्वालामुखी माईको नित्यपूजाको व्यवस्थाका लागि भएको लालमोहर-

१८४९ साल वैशाष सुदी १५ रोज
आगे नीगालपानीका श्री ज्वालामुखी देवीलाई अघीका उभाउले पानी मुणी माथिका वेहोरोनु समेत मुरी । २० गुठी खेत वहाको रहेछ । तसमाथि आसी खोला पारी साङकोसेले विराएको वेहोरौटको मुरी । २० समेत जम्मा मुरी । ४० खेत हठो आफ्नी खोलो सावारी भित्रमा पुरुवेसी  ३ जन्याको उनारी समेत मुरी गरी चढाएको तस्को पुजा-हारी वैद देवधरज वाडालाई बकस नीत्यनैनीले पूजा गर्नु तसको सेखि वाहीरह पाको गुठी भोगगरे”

यो लालमोहर वैद्य धनराज वाँडालाई श्री ५ महाराजाधिराज रणवहादुर शाहबाट वक्सेको हो । (स्रोत: ऐ.)

२०७६ को फागु पूर्णिमा दिन मन्दिरमा लागेको भीड

कसरी पुग्ने ? 

जिल्लाको सदरमुकाम धादिङबेँसीबाट करिब दुई घण्टाको पैदलयात्रा अथवा सवाघण्टाको बसयात्रापछि करिब ३० मिनेटको पैदलयात्रा वा साना सवारी साधनमा मन्दिरसम्म नै पुग्न सकिन्छ । बाटोको स्तरोन्नतिको काम भने यद्यपि बाँकी छ ।


राजु झल्लु प्रसाद ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेका धार्मिक,सांस्कृतिक क्षेत्रहरूबारे लेख्दै आइरहेका छन् ।

Tags:

सम्बन्धित समाचार