बुधबार , साउन ९, २०८१

आधुनिक तीज कि खस्कँदो तीज

आजको पुस्ताले तीज पर्वलाई लिएर गम्भीर रूपमा सोच्नु पर्ने आवश्यकता देखिएको छ ।

image

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । भनिन्छ, पार्वतीले महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेकी थिइन् अरे । १०८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने गर्दछन् ।

पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एकदिन भए पनि मीठो–मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्ने गर्दथे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले  रमाउने दिनका रूपमा उपभोग गर्थे ।

सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व बनेको थियो जसको पर्खाइमा उनीहरू सधैं व्यग्र हुन्थे । तर अहिले तीजका नाममा गरगहना र महँगा सारीको प्रदर्शन बढ्दो छ । तीज आउनुभन्दा महिना दिन अघि देखि दर खाने भनेर पार्टी प्यालेस धाउने संस्कृतिको विकास पनि बढ्दो छ ।

जेठीमा भाउजूले सुकाएको बिस्कुन
भँगेरी चरीले मैदानमा लरी लरर…
जेठामा दाजीले टक्क बचन लाउँदा
घर मेरो छैन र रुन्छ नि मन धरी धरर..

तीज आयो भन्छन् सबै माइत जान्छन्
मै चेली अभागी कसको माइत जाम्
फाटिदे बादलु म हेर्छु माइतीको देश

अहिलेको तीजमा माइत जानी हो
आमाले पकाको दर खानी हो…

 लगायत पहिले पहिले हामी सानो छँदा गाउँघरमा आमा, दिदी, भाउजूहरुले तीजमा यस्तै गीतहरु गाउनुहुन्थ्यो । जुन गीतमा माइतीका गुनगान अनि गुनासो हुन्थे । बिहे गरेर श्रीमान्को घर गएपछि भोग्नुपरेका बुहार्तन, दुःख कष्ट लगायतका कुराहरु समेटिएका हुन्थे । वर्षायामको झरीमा रुझ्दै घाँस काट्दा होस् वा संगीसाथी मिलेर मेलापात गर्दा, तीजमा यस्ता मौलिक गीतहरु गाइन्थे, सुनिन्थे र नाचिन्थे ।

तीजमा चेलीलाई माइतीबाट दाजुभाइ लिन जान्थे । बाबुआमा, दाजुभाइ छैनन् भने काका-काकी, मामा-माइजू वा अन्य कुनै दाजुभाइ लिन आउँछन् कि भनी बाटो हेरिरहेकी हुन्थे । यसको मतलब उनीहरू भेट भएपछि चेली र माइतीबीचको सम्बन्ध र सुख-दु:ख साटासाट हुन्थ्यो । पारिवारिक सम्बन्ध जोडिएको हुन्थ्यो ।

गाउँभरिका दिदी-बहिनी भेला भएर नवविवाहिता नारीका दु:ख, पीडा गीत मार्फत् सुन्थे । आँखा रसाउने भाकाले छोरीको दु:ख बाआमालाई बुझ्न मद्दत गर्थ्यो । सोहीअनुसार सम्झाउने, बुझाउने र पारिवारिक सम्बन्ध जोड्ने काम हुन्थ्यो । महिलाहरूले स्वतन्त्र रूपमा आफ्नो पीडा पोख्‍ने र उत्साहका साथ तीज पर्व मनाउने चलन थियो ।

तर अहिले तीज निकै भडि्कलो बन्दैछ । सामान्य हैसियत भएका महिला दिदी-बहिनी, आमाहरु बाट तीज बिस्तारै टाढिँदैछ । आधुनिकताको नाममा तीजमा उछृंखलता र छाडापन बढिरहेका छ । सस्तो लोकप्रियता र व्यवसायिक लाभका लागि तीजका गीतहरूको मर्म र सार हराई रहेको छ । यसरी तीजको नाममा बिकृति फैलाएर कतै हामीले गलत त गरिरहेका छैनौं ? कतै हामीले चाडपर्वका नाममा गरिरहेका गतिविधिले अब आउने पुस्तालाई गलत मेसेज त दिइरहेको छैनौं ? पक्कै पनि आजको पुस्ताले तीज पर्वलाई लिएर गम्भीर रूपमा सोच्नु पर्ने आवश्यकता देखिएको छ ।

सम्बन्धित समाचार