सभ्यता र संस्कृति बुझ्न एक पटक हेर्नू पर्ने नाटक बनेको छ खुवालुङ ।
नि:वर्तमान प्रधानमन्त्री के.पि शर्मा ओलीले ‘खुवालुङ फुटाएर कोशीमा ठूला स्टिमर जहाज चलाउँछु’ भन्ने वक्तव्य दिए लगत्तै कोशीको पानीमा डुबिरहेको खुवालुङ किरात सभ्यतासँग जडित व्यक्ति, समाजको मुटुमा उफ्रिन थाल्यो । दन्त्यकथा हुँदै जनजिब्रोमा सुनिँदै र बोलिँदै आएको खुवालुङ सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाइनमा विद्रोह बोकेर देखिन थाल्यो ।
नदीको बीचमा रहेको एक ढुङ्गा किन यसरी विद्रोहको मानक बनिरहेछ ? आफ्नै काम, क्षेत्रमा मग्न किरात सभ्याताले सन्चित मनहरू एकीकृत गरिरहेछ ? किन सभ्यता मासिनु हुँदैन भन्दै उफ्रिरहेछ ? यो प्रश्नले हल्लाइरहन्थ्यो । खुवालुङको विषय तातो रहँदै गर्दा, काठमाडौं जस्तो काकाकुल सहरमा खुवालुङ आइपुग्यो । कोशीको पानीमा रमाइरहेको खुवालुङ काठमाडौंमा सभ्यताको बिगुल बजाइरहेको छ । यही खुवालुङको बिगुलको कुरा गरौँ आज ।

किराँत सभ्यातासँग जोडिएको एक ढुङ्गा जो कोशीको माझमा उभिइरहेको छ । अरुण, तमोर र दुधकोशीको त्रिवेणीमा सम्झनाको प्रतीकको रूपमा उभिरहेको छ- खुवालुङ । समाज विकासको क्रममा समूहमा बस्ने किराँती समुदायहरू आफू बसेको थलो भूमिमा कुनै आपतविपत्, रोगव्यादी आएमा पहिला जडिबुटी प्रयोग तथा विभिन्न पूजाआजा गरेर शान्त बनाउन खोज्थे । यसरी शान्त नभएर विपतले आफ्नो राप बढाँउदै गएपछि किराँतीहरू बसेको थलो छोडेर अर्कै थलो/भूमिमा सर्दछन् । किराँतको यही थलो छोड्ने सभ्यता जस्तै सभ्यता केही वर्ष अघिसम्म पश्चिम नेपालको आदिवासी र लोपोन्मूख जाती राउटेमा पनि थियो । उनिहरूको सामुहिक व्यवस्थापनसँगै यो सभ्यता लोप भएर गयो ।
यसरी सर्ने क्रममा किराँती सभ्यता अनुसार त्यहाँका जान्ने/सुन्नेले गरेको पूजा र भविष्यवाणीका आधारमा भूमि छनोट गरिन्छ । तराइको फाँटतिर बसिरहेका किराँतहरूमा शत्रु राज्यको आक्रमण सकिए लगत्तै रोगको आक्रमण पर्दछ । शत्रु राज्यलाई जितेका किराँतीहरूले रोगलाई भने जित्न सक्दैनन् र सो ठाउँ छोड्न विवश हुन्छन् । यसरी ठाउँ छोड्दा कुन ठाउँ जाने भन्ने निधो जान्ने/सुन्ने (किराँतका पुजारी) ले गर्छ । फाँटमा बसिरहेका किराँतीहरूको नयाँ गन्तव्य खुवालुङ तरेर माथि जाने हुन्छ । किराँतीहरू बसाईं सर्छन् ।
खुवालुङनीर पुगेर कोशी तर्न साँघु बनाउँछन् । साँघु तर्दै गर्दा बीचमै साँघु भाचिन्छ । जसले गर्दा केही आफन्त कोशीवारि र केही कोशीपारि हुन्छन् । अझ भनौँ, एक भाइ कोशीवारि र अर्को भाइ कोशीपारि हुन्छ । अब कोशी तरेर एकै तिर जान सम्भव देखिदैन । त्यसपछि कोशीको खुवालुङलाई सम्झनाको प्रतीक बनाइन्छ । कोशी तर्दा साघु भाँचिदा बगेका चेलिहरूको सम्झनाको प्रतीक बन्न पुग्छ, खुवालुङ । आफुहरू एकअर्कासँग अन्तरनिहित रहेको प्रमाण स्वरूप खुवालुङलाई छोडेर उनीहरूमध्ये कोही दुधकोशीको तिरै-तिर, कोही अरुणको लय पछ्याउँदै, कोही तमोरको सुसेलि सुन्दै खोलाको मुल खोज्न हिँड्छन् र आ-आफ्नो तरिकाले गरी खान्छन् ।
आफूहरू आफ्नो थलोमा सकुशल रहेको, छुटेकाहरूले एक अर्कालाई नबिर्सिएको बुझाउन र कोशीमा बगेर गएका चेली तथा मान्छेहरू आफूलाई खोज्दै खुवालुङसम्म आउने विश्वास र प्रेममा अडिएको खुवालुङ किराँत सभ्यता र विकासको साँची बसेको छ । जसले किराँतीहरूको विकसित स्वरूपको सुरुवातको प्रतिबिम्ब प्रदान गर्छ । हेर्दा ढुङ्गा जस्तो देखिए पनि प्रेम र सभ्यताको प्रतीक रहेको छ, खुवालुङ ।
पूर्वको आस्था बोक्ने खुवालुङ जस्तै धार्मिक आस्थाका र मानव सभ्यता विकासका आस्था बोक्ने ढुङ्गाहरू पश्चिम नेपाल विशेषत कर्नाली प्रदेशमा भेटिन्छन् । यस्ता ढुङ्गालाई ‘गाथ’ भन्ने गरिन्छ, जो देवि देउताको प्रतीकको रूपमा रहेका हुन्छन् । विशेषत मष्टो परम्पराको जग रहेका यस्ता गाथहरू कर्नालीको सभ्यता र संस्कृतीसँग जोडिएका छन् । कर्नालीको मानव विकास र प्रेमसँग गाथहरू पूर्व किरातको खुवालुङ जस्तै जोडिएका छन् । यी विविध साँस्कृतिक पक्षको कुरा पछि गरौँला । अब पुगौँ काठमाडौंमा आएको खुवालुङसम्म ।
काठमाडौंमा खुवालुङ : नाटकको रूपमा

काठमाडौं थापागाउँस्थित मण्डला नाटकघरमा अहिले कोशीको ‘खुवालुङ, ढुङ्गाको बाटो’ चलिरहेको छ । राजन मुकारुङ्गको कथामा बनेको खुवालुङमा किरण चाम्लिङ राईको निर्देशन रहेको छ । पर्दा अगाडि र पछाडि गरि २५ भन्दा बढी कलाकारहरूको अभिनय रहेको यस नाटकले किराँती सभ्यताको सचित्र शाब्दिक बयान गर्छ । किराँत सभ्यतामै पुगेको आभास गराउँदछ ।
चेपाको रङ्ग बगाउँदै आएको कथा किराँती सभ्यता सिकाउँदै खुवालुङको अस्तित्व बताएर बग्छ । एक घण्टा पचास मिनेट नाटकको अवधि तोकिए पनि व्यवस्थापकीय र संवाद प्रवाहको ‘पेरिफेरि’मा अल्झिदा दुई घण्टा कट्न पुग्दछ । चेपाको कथा हुँदै बग्दै गर्दा किराँती सभ्यता र किराँती सभ्यताको प्रमुख क्रियाकलाप बताउँदै गर्दा नाटकले एक घण्टा कटाइसकेको हुन्छ ।
नाटकको व्यस्थापकीय पक्ष उत्तम छ । नाटकमा प्रयोग हुने प्रकाश संयोजन गजबको लाग्दछ । संगीत मीठो र नौलो लाग्दछ तर ध्वनिको प्रवाह कतैकतै अलि बढी भइदिँदा केही अप्ठेरो भने बनाइदिन्छ । किराँती सभ्यतासँग जोडिएका पोसाकहरूको उचित प्रयोगले तत्कालीन किराँती परिवेशको झल्को भने सहजै गराउँदछ ।

नाटकको मुल उद्देश्य खुवालुङबारे किराँती समुदायलाई खुवालुङको महत्व बुझाउनु रहेको देखिन्छ । नाटकमा प्रयोग भएका केही बिम्ब र संवादहरू पश्चिमी समुदायका मानिसहरू बुझ्न सक्दैनन् । जस्तैः चेपा बगाउन जान थालेको बुढोलाई बुढीले चुलो फुटेको कुरा गर्छिन्, बुढा आत्तिन्छ्न् । चुलो फुट्नुको अर्थ के हो ? किराँत समुदाय बाहिरको मान्छेलाई बुझ्न गाह्रो हुन्छ ।
नाटकमा एक संवाद छ- ह्वाङ्गोको तिरै-तिर लाग्दा यहाँ पुग्यौँ, ह्वाङ्गोदेखि कोशीसम्म कसरी ? यो प्रसंगले सोचमग्न बनाउँछ तर जवाफ आउँदिन ।
नाटकमा भाषा:
नाटकमा प्रयोग भएको किराँती सभ्यताको भाषा लययुक्त र सुन्दा मीठो लाग्छ ।
“ए याम्बा हामीले बोली पठाएको थियुम ।
हे सिमे भुमे हामीले तिमीलाइ पुजी पठायौँ”
यी संवादहरू कर्णप्रिय लाग्छन् । पूर्वेली भूगोल दर्शाउँदछ । तर जब नाटकमा कुवँरको आगमन हुन्छ तब भाषाले विभिन्न आरोह अवरोह लिन्छ । कुवँर नाम उसको पहिरन सुन्दा, हेर्दा मुगल सैनिक हो कि लाग्छ तर भाषा कहीँ गोर्खाली जस्तो, कहीँ गडुवाली जस्तो, कहीँ पश्चिम नेपालको विभिन्न भाषा टिपे जस्तो गरी प्रस्तुत गर्नाले कुँवर को हो ? यो कताबाट आक्रमण गर्न आयो भन्ने भेउ पाउनै सकिँदैन । नाटको बीचमा प्रयोग हुने वान्तवा/राई भाषाले भने मीठो आन्चालिकता थप्दछ ।
कथा र निर्देशन:
खुवालुङको गरीमा बुझाउने गरी लेखिएको यो नाटकको कथा समय सान्दर्भिक र उत्तम छ । कथाले किराँतहरूलाई खुवलुङको माध्यमबाट एकीकृत गर्न सफल भएको छ । अझ भनौँ, किराँत सभ्यतासँग जोडिएका मान्छेहरूको मेला नै लागेको छ । कथामा प्रयोग भएको भाषा, आन्चलिकता सरल र मीठो छ । नाटक किराँत समुदायलाई खुवालुङबारे जोड्न सफल छ ।

निर्देशनका हिसाबले राम्रो र सबल छ नाटक । मिथकहरूका आधारमा प्रयोग गरिएको संवाद तथा यसका विषय वस्तुलाई प्रस्तुत गर्ने सरल पक्ष उल्लेखनीय कुरा हो । यति हुँदा हुँदै पनि केही कुराको अन्तरसम्बन्ध नभेटिँदा यो दृश्य किन राखिएको भन्ने भेउ पाउनै सकिँदैन । जस्तै: कोशीमा बगाइने चेपाबाट सुरु भएको कथा तर त्यही चेपाको खुवालुङसँगको सम्बन्ध के बुझाउन सक्दैन ।
युद्धका दृश्यहरूलाई साघुरो ठाउँबाट केही फराकिलो बनाउन सकिने थियो र छोट्याउन सकिने थियो, यसो नहुँदा नाटक पट्यारिलो लाग्दछ । नाटकमा कुवँरको भाषा र भेषभुषा सम्बन्धि केही अध्ययन गरेको भए उत्तम हुने थियो । स्टिमर जहाजको सवारीको दृश्यले बुझाउन खोजेको कुरा के भन्ने कौतूहलता जगाउँछ, यो कौतूहलता निर्देशकले बुझाउन सक्नु पर्दथ्यो ।
केही समय नाटकको घटाउन सकिने थुप्रै ठाउँहरू छन् यदि यसो गर्न सकेको भए, नाटकको मुलभाव आउने बेलासम्म नाटक पट्यारिलो बन्ने थिएन । समग्रमा नाटकले दिन खोजेको उद्देश्य भने पूरा गरेको छ । युवा पुस्ताको लागि खुवालुङ र यसको महत्व बुझाउन सक्षम रहेको छ । सभ्यता र संस्कृति बुझ्न एक पटक हेर्नूपर्ने नाटक बनेको छ- खुवालुङ ।