शुक्रबार , फागुण १८, २०८०

सम्झनाहरूको सँगालो : राष्ट्रिय अभिलेखालय

पुरातत्त्व विभागअन्तर्गत अभिलेखालय वीर पुस्तकालयको सामग्री लगायत अन्य दस्ताबेज सुरक्षित राख्ने उद्देश्यले स्थापना भएको थियो । २०२० सालदेखि भवन निर्माण थालेको राष्ट्रिय अभिलेखालयले २०२४ साल असोज १७ गते ( सन् १९६७ अक्टोबर ३) बाट आफ्नो कार्य थालनी गर्‍यो ।

image

काठमाडौंको राम शाह पथमा रहेको राष्ट्रिय अभिलेखालयमा कार्यालय जाने-आउने क्रममा मेरा आँखा ठोक्कीरहन्थे । उसले धेरै पटक इशाराले बोलाएपनि म जान भने सकेको थिइनँ । तर, केहिदिन अघि म ‘ह्या जान्छु’ भनेर हिँडे र हाम्रो भेट भयो ।

‘देशको एउटा महत्वपूर्ण संस्था भएपनि यसमा मान्छेहरूको चासो किन नगएको होला ?’ भन्ने प्रश्नमा उसले मलाई ‘तिम्रो किन नगएको नि ?’ भन्ने प्रतिप्रश्न गर्‍यो । पुराण, दर्शन, तन्त्र, साहित्य, व्याकरण र इतिहासका धेरै महत्वपूर्ण दस्ताबेज लगायत विभिन्न लिपि र पत्रहरू संरक्षित गरेको सम्झनाहरूको सँगालो अभिलेखालयसँग मैले पहिला परिचय गरेँ ।

अभिलेखालय भनेको परापूर्वकालको पुस्तकालय हो । पाँचौँ या छैटौँ शताब्दीमा यो रोमन एम्पायरबाट सुरु भएको अवधारणा हो । सो समयमा चर्चहरूमा पुस्तक थुपारेर राख्ने प्रचलन रहेको थियो, जहाँ सर्वसाधारण मान्छेहरू पढ्न जाने गर्थे । र, चर्चको कुनै एक भाग पुस्तकालयको स्वरूपमा आयो । त्यसरी सुरु भएको पुस्तकालय १९ औँ शताब्दीसम्म अभिलेखालयको स्वरूपमा आउन भने सकेको थिएन । केही समयपछि ‘सरकारी कागजात संरक्षण गर्नुपर्छ, ग्रन्थहरू जोगाउनु पर्छ’ भन्ने विचार जन्मिएपछि अभिलेखालयको उदय भएको पाइन्छ । वास्तवमा अभिलेखालय एकप्रति मात्र भएका सरकारी कागजात संरक्षण गर्ने उद्देश्यले नै स्थापना भएको हो । पश्चिमी देशबाट सुरु भएको अभिलेखालयको धारणा नेपालमा जनचासोको विषय बन्न नसकेको दु:खद अवस्था छ ।

१९२३ तथा १९३७ बाट अमेरिकनहरूले अनुसन्धान गरेर यसबारे लेख्न थालेपछि युनेस्कोले यसमा रुचि देखायो । विस्तारै ‘इन्टरनेशनल काउन्सिल अफ आर्काइभ्स’ जस्ता संस्थाहरूको जन्म भयो । त्यसपछि संसारको जुनसुकै देशमा एउटा अभिलेखालय चाहिँ हुनुपर्छ भन्ने धारणा तयार भयो । १९६० को दशकतिरबाट हरेक देशमा अरू संस्था प्रधानमन्त्री कार्यालय, न्यायालय आदि भए जस्तै अभिलेखालय हुनुपर्ने र अभिलेखालयमा सरकारी कार्यालयहरूले सिर्जना गरेका दस्ताबेजको महत्त्व विचार गरेर सबैखाले दस्ताबेजलाई प्रमाणको रूपमा रेकर्डहरू राख्ने र अनावश्यकलाई डिस्पोज गरिनु पर्ने कन्सेप्टमा अभिलेखालयको अवधारणा सबैतिर फैलँदै गयो ।

नेपालमा अभिलेखालयको स्थापना

सबै देशमा फैलिरहेको अभिलेखालय नेपालमा १९६७ मा स्थापना भएको हो । लिच्छवी तथा मल्ल कालमा पुस्तकालयहरू खोजेर पुस्तकहरू सार्न लगाउने काम गरिन्थ्यो । सो समयमा छापाखाना विकास नभइसकेकाले विद्यार्थीले पढ्ने पुस्तक पनि सारेर लिनु पर्ने हुन्थ्यो । सम्बन्धित एक पुस्तक गुरुलाई दिइन्थ्यो र, गुरुले भनेअनुसार अन्य विद्यार्थीले सार्ने गर्थे । त्यसरी नै एउटै पुस्तकको धेरैप्रति तयार हुन्थे । राजा महाराजाहरूले जागिर नै दिएर यस्तो कामका लागि लेखान्दासहरू समेत राख्ने गर्थे । उनीहरूले महत्वपूर्ण पुस्तक तथा ग्रन्थहरू सार्ने काम गर्थे । राजाले ती पुस्तक पूजा कोठामा राख्ने, दान गर्ने आदि गर्थे । सोही कारणले नेपालमा धेरै दस्ताबेज तथा पाण्डुलिपिहरू तयार भएका हुन् ।

पृथ्वीनारायण शाहले अन्य राज्यहरूमा आक्रमण गरेर जितेपछि त्यहाँ भेटिएका ग्रन्थ तथा दस्ताबेजहरू पनि सङ्कलन गरे । विभिन्न ठाउँबाट सङ्कलन भएका ती दस्ताबेज उनले हनुमानढोका दरबारमा राखे । त्यसरी सङ्कलन गर्दै गर्दै दस्ताबेजहरूको थुप्रो बढ्दै गएपछि त्यसलाई व्यवस्थित गर्नु पर्छ भन्ने उद्देश्यले गिर्वाणयुद्ध विक्रम शाहको पालामा एउटा आदेश (लाल मोहर) जारी गरियो । वि.सं १८६९ भदौ १५ (सन् १८१२ अगस्ट २८) गते ‘पुस्तक चिताइ तहविल’ सम्बन्धी नीति नियमको उक्त लालमोहर जारी गरिएको थियो । जसमा ‘चिताइ’ भन्नाले रेखदेख र ‘तहविल’ को अर्थ सङ्ग्रह हुन्छ ।  यसै लालमोहरबाट नेपालको इतिहासमै पुस्तकालयले सर्वप्रथम कानुनी मान्यता पाएको जानकारहरू बताउँछन् ।

सो पुस्तकालयमा लिच्छवी तथा मल्ल कालदेखिका ऐतिहासिक, धार्मिक तथा भौगोलिक दस्ताबेजहरू राखिएका थिए । केही समयपछि राणा प्रधानमन्त्री जङ्गबहादुरले थापाथली दरबारमा उक्त पुस्तकालय सारे भने वीर शमशेरले सो पुस्तकालयलाई पहिला दरबार स्कुलमा र पछि घण्टाघरमा सारे । इतिहासमा ‘वीर पुस्तकालय’ नामले चिनिएको उक्त पुस्तकालय व्यवस्थित ढङ्गले सञ्चालन गरिएको थियो ।

२००८ सालमा पुरातत्त्व विभागको स्थापना भयो र सो पुस्तकालय पुरातत्त्व विभागको स्वामित्वमा आयो । तर, केही समयमा पुरातत्त्वले सो कुराको जिम्मा दिनका लागि बेग्लै निकाय बनाउनुपर्छ भन्ने विचार गर्‍यो । साथै, त्यतीबेला विश्वभरि अभिलेखालय स्थापना गर्ने होड पनि चलिरहेको थियो । पुरातत्त्व विभागअन्तर्गत अभिलेखालय वीर पुस्तकालयको सामग्री लगायत अन्य दस्ताबेज सुरक्षित राख्ने उद्देश्यले स्थापना भएको थियो । २०२० सालदेखि भवन निर्माण थालेको राष्ट्रिय अभिलेखालयले २०२४ साल असोज १७ गते ( सन् १९६७ अक्टोबर ३) बाट आफ्नो कार्य थालनी गर्‍यो ।

स्थापनाको समयमा अभिलेखालयसँग ‘वीर पुस्तकालय’का सामाग्री मात्र थिए । केही समयपछि अभिलेखालयले सरकारी कागजात पनि संरक्षण गर्नुपर्छ भन्ने भएपछि २०२७ सालमा ‘सरकारी कागजात धुल्याउने नियमहरू’ तत्कालीन सरकारले जारी गर्‍यो । जसअन्तर्गत कागजातलाई विभिन्न श्रेणीमा विभाजन गरियो, जसमा कुनै १ वर्षमा डिस्पोज गरिनुपर्ने, कुनै ३ वर्ष र कुनै कहिल्यै गरिनु नहुने कुरा उल्लेख गरिएको थियो । ती नष्ट गर्न नहुने कागजात अभिलेखालयको संरक्षणमा आउन थालेका हुन् । नेपाल सरकारले युनेस्कोसँग परामर्श गरेपछि अभिलेख संरक्षण ऐन तयार भयो । तर उक्त ऐन २०४६ सालमा मात्र आयो । जसअन्तर्गत २५ वर्षभन्दा पुराना कागजात अभिलेखालयमा पठाउनु पर्ने लगायतका नियमहरू रहेका छन् ।

अभिलेखालयले पुरानो सभ्यतालाई टुट्न दिँदैन, निरन्तरताका लागि मदत गर्छ । साथै विभिन्न ऐतिहासिक प्रमाणलाई सुरक्षित गर्ने काम गरिन्छ, जसले भविष्यमा कुनै किसिमका प्रमाण खोज्दा भेट्न सजिलो हुनेछ । अनुसन्धानकर्ता तथा विद्यार्थीहरूलाई सम्बन्धित विषयसम्बन्धी खोज तथा अनुसन्धान गर्न मदत गर्छ ।

उत्तर लिच्छवी लिपिबद्ध ग्रन्थहरू

अभिलेखालयमा उत्तर लिच्छवी लिपिबद्ध ग्रन्थहरू छन् । उत्तर लिच्छवी लिपि भनेको आठौँ देखि दसौँ शताब्दीसम्म चलेको लिपि हो, जसलाई भारतमा ‘गुप्त लिपि’ भनिन्छ । त्यसपछि काठमाडौं उपत्यका छेउछाउ रञ्जना लिपिको विकास भयो, जससँग सम्बन्धित प्रामाणहरु अभिलेखालयले सुरक्षित राखेको छ । त्यसैगरि, सोही समयतिरको तराईको मैथिली लिपि र पश्चिमको देवनागरी लिपि तथा नेवारी लिपिका दस्ताबेज समेत भेट्न सकिन्छ । भारततिर युद्ध चलेको समयमा त्यहाँबाट भागेका मान्छेहरूले त्यहाँको ग्रन्थहरू बोकेर ल्याएको हुँदा हाल दक्षिण भारतको लिपि भएको दस्ताबेज समेत अभिलेखालयमा उपलब्ध छ ।

ताडी (तराईतिर पाइने एक वृक्ष) को पातबाट तयार गरिएको ‘ताडपत्र’मा लेखिएका दस्ताबेज अभिलेखालयको संरक्षणमा छ । भोजको रुखको बोक्रामा लेखिएको ‘भोजपत्र’ लगायत किराबाट जोगाउन निलो चुथ्रो लगाएको निलपत्र, थ्यासफू आदि पनि छन् । त्यसैगरि राजाहरूको पन्जापत्र, लालमोहर, पृथ्वीनारायण शाहको हस्तलिखित दिव्योपदेश आदि पनि अभिलेखालयमा सुरक्षित छन् ।


प्रस्तुत लेख राजु रिमाल (अनुसन्धान अधिकृत’ राष्ट्रिय अभिलेखालय)सँग गरिएको कुराकानीको आधारमा लेखिएको हो ।

(यहाँ प्रयोग गरिएका तस्बीरहरू अन्नपूर्ण टाइम्सको अर्काइभबाट लिइएको हो ।)

सम्बन्धित समाचार