बुधबार , भाद्र ३१, २०८३

नेपाली रङ्गमञ्चको चौथो आयाम ‘अन्जान प्रदीप’

नाटकबाट सर्भाइभ हुन गाह्रो छ भन्नेहरूलाई ऊ ठाडो स्वरमा भन्छ, ‘कलाकार मात्र भएर मलाई कसैले काम देला भनेर सोचेर बस्यो भने सर्भाइभ हुन गाह्रो नै छ । काम आफैँले निर्माण गर्छु भनेर सोच्यो भने गाह्रो छैन ।'

image

नेपालमा पहिलो अनुवादित नाटक ‘हास्यकदम्ब’ देखि लिएर अहिलेको समयसम्ममा विभिन्न थरिका नाटकहरू प्रस्तुत गरिए । हाँसो/रोदन, हिंसा/युद्ध, मानसिक/यौनिक विभिन्न कथा बोकेका नाटकहरू मञ्चन भए । सडक नाटकदेखि रङ्गमञ्चसम्म अनेक किसिमका विचार बोकेका नाटकहरू समाजमा आए/आउँदैछन् ।

‘जिन्दगी भनेकै नाटक हो’ मान्नेहरूको भिडमा ‘नाटक भनेकै जिन्दगी हो’ भन्नेहरू पनि जन्मिए । बाग्लुङका जैदी ७ बेलबगरबाट यस्तै एक जीवनरूपी नाटकको/ नाटकरूपी जीवनको मञ्चन सुरुआत भयो । नाम हो- अन्जान प्रदीप

anjan pradip

सिन १

जीवनको सबैभन्दा सुन्दरकाल- बाल्यकाल । जीवनमा सबैभन्दा धेरै सम्झिने काल या भनौँ सबै फर्किएर पुग्न चाहने एक काल, बाल्यकाल । यतिबेला पात्र ‘अन्जान प्रदीप’ आफ्नो अजिबोगरिब बाल्यकालमा रमाइरहेको छ । कहिले प्रकृतिसँग बात मारिरहेको छ । कहिले खोलालाई जित्न दौडिरहेको छ । धेरै साथीहरू छैनन् उसका, उसले आफूलाई नै आफ्नो साथी बनाएको छ । आफ्ना अचम्मका व्यवहारहरूबाट ऊ अनभिज्ञ छ । कहिले म्याक्सिम गोर्कीको ‘आमा’ पुस्तक झोलामा बोकेर त कहिले ‘शिरीषको फूल’ पुस्तक बोकेर ऊ फरक किसिमको बाल्यकाल बाँचिरहेको छ ।

विभिन्न प्रतियोगितामा पाएको डायरीमा दैनिकी लेख्छ । दैनिकी पनि अरूले लेख्ने भन्दा फरक, ऊ दिनभरि आफ्नो मनमा उब्जिएका भावहरू, उत्पन्न भएका विचारहरू उतार्छ ।

सिन २

सहर देख्ने हुटहुटीले उसलाई गिजोल्दै लागिरहेको छ । मामाको उसलाई गुरुकुल पढाउने इच्छाले त्यसलाई थप मलजल गरिदिएको छ । पात्र हानिन्छ चितवन र देवघाटको महेश संस्कृत गुरुकुलमा अध्ययन गर्न थाल्छ । देवघाटमा एक सार्वजनिक पुस्तकालय पनि छ, जहाँ कक्षाको पठनपाठन छोडेर उ बिग्रिरहेको छ । गुरुकुलका अनुशासन र नियमहरू नमान्ने छाडा भएको छ । तर सूक्ष्म रूपमा ऊभित्र एउटा बौद्धिकताको विकास भइरहेको छ । गुरुकुलमा आफू बाँधिएको महसुस गरेर ऊ हरसम्भव गुरुकुल त्याग्ने प्रयास गरिरहेको छ ।

अन्ततः उसले गुरुकुलको भयबाट टाढिने निर्णय लिन्छ । कसैलाई केही नभनी, बिना सर्टिफिकेट २/४ झोला पुस्तक बोकेर ऊ गाउँ फर्कन्छ । चितवन बसे अभिभावकले गुरुकुलमै पठाउने त्रासले उसलाई पुनः बाग्लुङ पठाउँछ । नाटकमा एउटा डोरी प्रयोग गरेर बाग्लुङले उसलाई चितवनबाट तान्दै गरेको दृश्य मिठो ढङ्गले प्रस्तुत गरिन्छ ।  गाउँमा केही समय बिताएपछि अभिभावकले ‘आइज बरु गुरुकुल नपढ्लास्’ भन्ने आश्वासनमा उसका पाइला फेरी चितवनतिर मोडिन्छन् । चितवनले ठुलो झट्काका साथ डोरी आफू तिर तान्छ र पात्र चितवनमा पछारिन्छ ।

सिन ३

उसलाई थाह छैन ऊ किन यसो गरिरहेको छ । त्यही गुरुकुलको त्रासले भागेको ऊ, फेरी त्यसमै जोडिन्छ ।  गुरुकुल पढ्ने क्रममै काठमाडौंको डीएभि स्कुलमा अन्तर विद्यालय स्तरको प्रतियोगितात्मक महोत्सवमा उसले जीवनकै पहिलो एउटा संस्कृत नाटक खेल्छ । र, नाटकले सर्वोत्कृष्ट उपाधि पाउँछ । नाटकभित्र देखाइएको अर्को नाटकको यो अनुभव गजबको थियो ।

सिन ४

अबको सिनमा ऊ नाटकसँग जोडिएको कथा प्रस्तुत गरिँदैछ । ब्याकग्राउण्डमा बजेको मधुर सङ्गीतमा पात्र आफ्नो अभिनयको कौशलता देखाएर हरेक कुरा प्रमाणित गर्छ । घरभन्दा बढी होस्टेल बस्ने बानी भएको उसको भेट अर्को पात्र मुकुन्द खलपात्रसँग हुन्छ । एक पुस्तक पसलसम्म दिनदिनै भइरहेको यात्राका दौरान यी दुई पात्रको भेट हुन्छ र नाटक अघि बढ्छ । दुईबिच पुस्तकहरू आदानप्रदान हुन थाल्छन् र सम्बन्धको धागो बाटिँदै जान्छ । कपासबाट बाती कात्न फुरुरु निकालिएको धागोले बिम्बात्मक रूपमा यो कुरा बताउँछ ।

दुवैले काठमाडौं गएर पढ्नु भन्दा पैसा हालेर एउटा वर्कसप बनाऊ भन्ने योजना बनाउँछन् । र, घुम्न थाल्छन् काठमाडौं, सुमसुम्याउँछन् त्यहाँका नाटक र नाटकघरलाई ।

र, एक समय आफ्नो गोजीबाट सकेजति जुटाएर उनीहरू सर्वनाम थिएटरलाई चितवन डाक्छन् । यो नै पात्रको रङ्गमञ्च प्रवेशको पहिलो खुड्किला हुन्छ ।

सिन ५

यो सिनमा मुख्य पात्रसँग अन्य पात्रहरू पनि जोडिन्छन् । सो समूहले सुरु गर्छ एक अभियान कर्मी चौतारी’ जसलाई पहिला उनीहरू ‘कर्मी नाट्य समूह’ भन्छन् ।  तर, पछि साहित्यको सबै विधा अटाओस् भन्ने ध्येयले त्यसलाई कर्मी चौतारी’ नामकरण गर्छन् । नाटकलाई जीवन ठान्नेहरूको यो समूह लगातार सङ्घर्ष गर्छ । ‘श्रीमान् वीरबहादुर’, ‘बौलाहा काजीको सपना’, ‘चरणदास चोर’ र फाट्टफुट्ट सडक नाटकहरूले उनीहरूले चितवन नाटकमय बनाउन थाल्छन् । पछाडि सेतो पर्दामा प्रोजेक्टर प्रयोग गरेर क्रमिक रूपमा परिवर्तन भइरहेको दृश्य र पात्रहरूको संवादबाट ती कुरा बुझ्न सकिन्थ्यो ।

सिन ६

‘बाहिरबाट हेर्दा काठमाडौं धेरै रमाइलो छ, यहाँ आएर बसिसकेपछि यहाँ सङ्घर्षका अनेक आयामहरू छन् । काठमाडौंबाट आएको मान्छेले पढाउँदा पनि कस्तो खत्रा स्कुलिङ होला ?’ भन्दै मुख्य पात्र बेला-बेला बर्बराइरहन्छ । कहिलेकाहीँ नाटक हेर्नकै लागि भनेर काठमाडौंतिर दौडन्छ ।

केही समयको काठमाडौं-चितवनपछी पात्र थिएटर गरिरहेका कलाकारहरूको जत्था ‘तत्स मार्स’ मा मिसिन्छ । कुनै एउटा ठुलो दहमा सानो खोल्सो मिसिएको प्रोजेक्टरको दृश्यले बिम्बात्मक रूपमा यो कुरा बुझाइरहेको थियो । दह बगेर गोरखासम्म पुग्छ, पात्रहरू सडक नाटक देखाउँछन् । नाटकमा प्रविधिको युगले मुख्य पात्रको अन्य पात्रसँग सजिलै सम्बन्ध बनेको पनि देखाइन्छ ।

राम्रोसँग नाटकबारे आफूले शिक्षा नपाएको कुरा उसको मनमा खिल बन्न थाल्छ । अध्ययनको कुराले बेला-बेला ऊ रोकिन पनि खोज्छ तर सक्दैन । नाटकको मोहले उसलाई एक प्रकारले मोहनी नै लगाएको हुन्छ । पात्र काठमाडौँ पढ्न आएको बेला कोरोनाका कारण लकडाउन भएको माहौल पनि संवाद, अभिनय र बिम्बात्मक प्रयोग गरेर देखाइन्छ ।

लकडाउनले पिरोलिरहेको बेला पात्रको हातमा आइपुग्छ ड्रामा स्कुलको फर्म । ‘मण्डला ड्रामा स्कुल’ भन्ने डेढ वर्षे कोर्सले उसलाई बुरुक्कै उचाल्छ । किनकि त्यो नि:शुल्क पूर्ण आवासीय सुविधासहितको कोर्स थियो । बाँसुरीको मधुर धुनले दृश्यमा अझै मनमोहकता थप्छ ।

सिभि समेत बनाउन नआउने उसले साथीको भूमिका निभाइरहेको पात्रको मदतले अङ्ग्रेजी सिभि बनाउँछ र पठाउँछ ।  १६१ वटा परेका निवेदनमा ४२ जना सर्टलिस्टमा परेको त्यसमा उनको नाम पनि परेको पनि पात्रले बताउँछ । र, ४२ जनाको लिइएको अन्तर्वार्तामा उसले चितवनमा रहेर स्थानीय रूपमा कसरी काम गर्न सक्छु भन्ने योजना सुनाउँछ । अन्तर्वार्तामा उसलाई केही वर्षदेखिको उसको अनुभव र मिहिनेतले पनि मदत गर्छ ।

केही समयपछि उसले आफ्नो नाम निस्किएको थाह पाउँछ र पढाइ छोडेर मण्डला प्रवेश गरेपछि आफू केही न केही बनेर निस्किन्छु भन्ने भावसहित पात्र काठमाडौँ प्रवेश गर्छ । तर, उसलाई त्यहीँ बाँधिएर बस्नु थिएन । उड्नु थियो । र, ऊ गोप्य रूपमा बनाउन थाल्छ, आफ्ना लागि पखेटाहरू ।

मण्डला प्रवेश गरेपछि पात्र कहिले पुस्तक पढ्ने, कहिले चलचित्र हेर्ने र काठमाडौँका ठाउँ-ठाउँमा मञ्चन भएका नाटक हेर्ने गरेर कलामा डुबुल्की मारिरहेको नाटक हेर्दै जाँदा बुझिन्थ्यो । नाटकको मोहले तिर्खाएको उसको घाँटी स्वदेशी तथा विदेशी अध्यापकबाट नाटककै विभिन्न पक्ष पिएर भिज्न थाल्छ ।

सुनाउनुपर्ने/देखाउनुपर्ने या देखाउनलाई काल्पनिक रूपमा लादिएको दुःख यो नाटकमा देखिँदैन । उसले काठमाडौँ बसाइँप्रति कुनै गुनासो तथा चित्त दुखाई राख्दैन ।

सिन ७

‘रङ्गमञ्च भनेको वैचारिक प्रोसेस हो’ भन्ने ऊ विश्वास गर्छ । ब्रेक्थलाई खोज्छ, बुझ्न चाहन्छ । कताकता ऊबाट प्रभावित भए जस्तो पनि लाग्छ । आफ्नो निर्देशनतर्फको झुकावको पक्षमा बोल्दै ऊ भन्छ  “अभिनय पनि गर्ने हो, तर म कलाकार भएर काम गर्दैछु भने म किन गर्दैछु भन्ने वैचारिकी निर्माण भने हुनुपर्छ । त्यही भएर मेरो झुकाव लेखन तथा निर्देशनतिर भएको हो जस्तो लाग्छ । निर्देशनसँग सबै आयामहरू जोडिने भएकाले मजा लाग्छ ।“

(दृश्यमा मौनता छाउँछ..)

“निर्देशित हुनु पनि कलात्मक कुरा हो । निर्देशन पनि कहीँ न कहीँबाट निर्देशित रहेको हुन्छ । निर्देशन गर्नु भनेको आफ्नो चेतनाद्वारा, कल्पनाद्वारा निर्देशित हुनु हो नि त । कलाकार निर्देशकको निर्देशनमा रहेको हुन्छ भने निर्देशक आफ्नो विचारद्वारा निर्देशित भइरहेको हुन्छ ।“ ऊ फेरी बोल्छ ।

नाटकबाट सर्भाइभ हुन गाह्रो छ भन्नेहरूलाई ऊ ठाडो स्वरमा भन्छ ‘कलाकार मात्र भएर सोच्यो भने, मलाई कसैले काम देला भनेर सोचेर बस्यो भने सर्भाइभ हुन गाह्रो नै छ । काम आफैँले निर्माण गर्छु भनेर सोच्यो भने त्यति गाह्रो पर्दैन ।’

ऊ अहिले धमाधम नाटकघर खुल्नुलाई समयको माग बताउँदै देशको कुनाकाप्चासम्म रङ्गमञ्च पुग्नुपर्ने जिद्दी गर्छ । समाजमा गएर समाजबाट समाजकै कथा नाटकमा देखाउनु पर्छ भन्छ ।

सिन ८

उसले अन्य नाट्यप्रेमी पात्रसँग मिलेर एउटा समूह ‘चौथो आयाम’ बनाउँछ । र, त्यसलाई नेपाली रङ्गमञ्चको पछिल्लो पुस्ताले गरेको एउटा अभ्यासको रूपमा प्रस्ट्याउँछ ।

मण्डला छोड्नुपर्ने अन्तिम समयमा उत्पन्न भएको दुबिधाबाट यो सुरु भएको हुन्छ ।

सिन ९

ऊ थिएटर मल (नाटकघर)सँग र केदार दाइको भूमिकामा देखिएका पात्रसँग कुरा गर्छ, भेटघाट गर्छ । अहिलेको युवाहरूले केही कलात्मक काम गर्ने ठाउँ आफ्नो थिएटर बनोस् भन्ने इच्छा राखेका केदारबाट सहयोग लिन्छ र थाल्छ- आफ्नो निर्देशनमा नाटक ‘शिरीषको फुल’को तयारी ।

अन्य पुस्तकभन्दा शिरीषको फुल उसलाई बडो गजबको लाग्ने उपन्यास हो ।  जीवनको विभिन्न समयमा पढ्दा भिन्नभिन्न खालको चेतना दिएको पुस्तक हो ।

ऊ बर्बराउँदै भन्छ ‘नेपाली साहित्य जगतकै कथालाई नेपाली नाटकमा किन नगर्ने किन सधैँ बाहिरी नाटक मात्र गर्ने?’

शिरीषको फुलले लैङ्गिकता, हिंसा सम्बन्धी धेरै कुराहरूले समसामयिक मुद्दामा केही प्रभाव होस् भन्ने तरिकाले सुहाउँछ जस्तो लागेर उक्त नाटक थालेको पनि बताउँछ । र, सफलता पूर्वक उक्त नाटक मञ्चन पनि गर्छ ।

सिन १०

नेपाली रङ्गमञ्चमा आफ्नो सङ्घर्ष देखाउने एक किसिमको रोग लागेको बताउँदै ऊ भन्छ “आफ्नो धरातल मान्छेले बिर्सिनु हुँदैन तर हामीलाई सफल हुन अरूको आँसु/हाँसो चाहिनु पर्ने कुराले वितृष्णा लाग्छ ।‘

पुराना पुस्ताले गरे जति सङ्घर्ष भोग्नु नपरेता पनि त्यो सुन्दा आफूलाई गजब लागेको ऊ बताउँछ ।

नाटक भित्र अर्को नाटक ‘शिरीषको फुल’ गर्दा ब्याक स्टेजमै भात पकाएर खाएको/जहाँ मनलाग्छ त्यहीँ सुतेको देखाउँदै पात्र त्यसलाई सङ्घर्ष मान्ने कि काम प्रतिको लगाव मान्ने भन्ने कुरा गर्छ ।

अग्रज पुस्ताले खानलाई जीवन धान्नलाई गरेको सङ्घर्ष थियो भने अहिलेको युवा/ नयाँ पुस्ताले गर्ने सङ्घर्ष झन् जटिल वैचारिक सङ्घर्ष रहेको प्रस्ट्याउँछ ।

बेला-बेला पुरानो पुस्ताले अझै पनि नयाँ पुस्तालाई एक हिसाबले सीमान्तकृत बनाउन खोजिरहेको जस्तो लागेर ऊ टोलाउँछ ।

उसले भोगेको सङ्घर्ष अविश्वास र सिमान्तताको रहेको उसका डाइलगबाट प्रस्ट हुन्छ ।

‘शिरीषको फुल’ गर्दा कति अग्रजबाट प्रतिक्रिया लिने क्रममा उनीहरूले दिशानिर्देश गर्नुहुनेछ भन्ने अपेक्षा ऊभित्र थियो तर, नाटकमा उल्टै दिग्भ्रमित बनाउन खोजेको उसले भेट्यो । हामीले देख्यौँ/सुन्यौँ ।

अग्रजहरूको कथन सम्झिँदै ऊ कराउँछ ‘तिमीहरू आफ्नो उमेरको काम गर, आफ्नो उमेरको कथा भन, अथवा तिमीहरू किन यति गम्भीर नाटक गरिरहेका छौ ? भन्छन् तिमीहरू हास खेल रमाऊ तिमीहरूको उमेर छ भन्छन् ।’

‘अग्रजहरूले तिमीहरू थिएटरमा आएर गुच्चा खेल नै भने जस्तो लाग्यो, आखिर यो अविश्वास किन?’ ऊ चिच्याउँछ । नेपाली रङ्गमञ्च अझैपनि कुनै निश्चित वर्गको कब्जामा रहेको बताउँदै ऊ दु:खी हुन्छ ।

सिन ११

रङ्गमञ्चमै रुमलिरहने सपना देख्ने ऊ काठमाडौँमा काम गरेपनि काठमाडौँमुखी भएर बस्न सक्दैन । उसले चितवनमा आफ्नै नाटकघर होस् भन्ने चाहना राखेको छ ।

घरीघरी ऊ आजसम्म आफूलाई ढुङ्गा माटोले बनेको बत्ताउँछ । र, आफूलाई यत्रो संरचना बनाइदिनुहुने सबैप्रति धन्यवाद पनि व्यक्त गर्छ ।

सिन १२
मञ्चन हुँदै…..

सिन १३
मञ्चन हुँदै…

सिन १४ १५१६१७१८ ………….
मञ्चन हुँदै

भिडियो

सम्बन्धित समाचार