शुक्रबार , अषोज १४, २०७९

बाघले संरक्षण पायो, बाघ जात्राले कहिले पाउँला ?

बाघ संरक्षणमा चासो दिइरहेको सरकारले बाघ जात्रा संरक्षणमा भने चासो देखाएको पाइदैन ।

image

अत्तरिया । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आज बाघजात्रा निकालिएको छ । धनगढी उपनगरपालिका–४ स्थित धनगढीको मुख्य बजारमा बाघजात्रा हेर्न ठूलो जमघट लागेको थियो । डडेल्धुरावासीले हरेक वर्ष यसरी नै बाघजात्रा मनाउने गरेका छन् ।

जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले जात्रा आयोजना गरिएको विश्वशान्ति युवा सङ्गठनले जनाएको छ । जात्रामा बाघ, राजारानी, आर्मी, सिकारीलगायत अभिनय गरिएको छ । तत्कालीन वडाहाकिमलाई जाहेरी गर्ने र वडाहाकिमले बाघ मार्न आदेश दिनेजस्ता प्रसङ्गलाई समेटेर स्थानीयले रमाइलो बाघजात्रा प्रदर्शन भएका थिए ।

तत्कालीन समयमा डडेल्धुरा सदरमुकाममा बाघखोर तथा वरपरको बस्तीमा बाघको आतङ्क हुने र बाघको भयबाट बच्न बाघलाई खोरमा हाल्ने योजनाअनुरुप हालको बजार क्षेत्रमा खोर बनाइ बाघलाई थुन्ने गरेको सम्झनामा यो जात्रा मनाइँदै आएको छ । जात्रा हेर्नबाट आर्थिक सहयोग पनि जुटाइरहेको छ । अहिले सुदूरपश्चिम प्रदेशको डोटी, डडेल्धुरा र कैलालीमा गरी तीन जिल्लामा यो जात्रा मनाउँदै आइएकाे छ ।

मगर समुदायले बसालेको तनहुँको पर्यटकीय नगरी बन्दीपुर पनि बाघ जात्रा मनाउने गरीएको पाइन्छ । जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्यहरू देखाउने गरिन्छ ।

यसैगरी, पाल्पाको सदरमुकाम तानसेनमा प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट बाघजात्रा मनाएको देख्न पाइन्छ । परापूर्वकालमा बाघको आतङ्कले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन यता प्रचलित छ ।

 र्कीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिरले पनि बाघसँग जोडिएको किम्बदन्तीलाई अगाडि सार्दछ । भदौ १ गते सिंह संक्रान्तीका अवसरमा बाघ भैरव जात्रा मनाइने गरिन्छ । यस अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट पूजा गरि साँझ बाघभैरव मन्दिरमा रहेको मुल मूर्तिको प्रतिरुप सानो मूर्तिलाई खटमा राखेर कीर्तिपुर नगर परिक्रमा गराइन्छ । लिच्छवी राजा शिवदेव तृतीयले कीर्तिपुरको जंगलमा मानवबस्ती बसाएर नगर र्निमाण गरेको र राजा विष्णु मल्लले जात्रा व्यवस्थित गरी पुनः चलाएको इतिहासमा उल्लेख छ । खटजात्रा चलाउने परम्परा विसं २०१४ भदौ १ गतेदेखि सुरु गरिएको भनाइ छ । जात्राको अवसरमा बाघ भैरवको मूर्तिमा ३६० ओटा रोटी चढाउने र तान्त्रिक पूजा गर्ने गरिन्छ भने मन्दिरमा १०८ पटक परिक्रमा गरेमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ ।

परम्परागत रुपमा मनाईदै आइएको जात्रा पछिल्ला वर्षहरुमा हराउँदै जान थालेको पाइन्छ । ऐतिहासिक महत्त्व बोकेका यस्ता जात्राहरूको संरक्षण हुनु आवश्यक छ । पछिल्लो समय बाघ संरक्षणमा चासो दिइरहेको सरकारले बाघ जात्रा संरक्षणमा भने चासो देखाएको पाइदैन ।

 सन् २००८/२००९ मा १ सय २१ को संख्यामा रहेको बाघ पछिल्लो समय ३५५ पुगेको बताइन्छ । नेपालले बढीमा ५०० बाघ मात्रै राख्न सक्ने हुँदा बढ्दो बाघको संख्यालाई लिएर सरकारलाई प्रश्न गर्न थालिएको छ ।

सम्बन्धित समाचार