यलम्बर भनेर पनि चिनिने आकाश भैरवले आधा राज्य र उनका भाइ बाकादेय् भैरवले आधा राज्यमा राज गरेको मानिन्छ।
– सन्दीप महर्जन
काठमाडौंको इन्द्रचोक (वंघ:) मा रहेको आकाश भैरवको बारेमा त सबैलाई थाहा नै छ तर बाकादेय् भैरवको बारेमा भने कमैलाई थाहा होला ।
इन्द्रचोकबाट महाबौद्ध निस्किने वटु गल्लीमा श्री बाकादेय् भैरवको घर रहेको छ । इन्द्रजात्राको समयमा आकाश भैरव जसरी नै बाकादेय् भैरव पनि निकालिन्छ । टाउको मात्रै पूजा गरिने श्री बाकादेय् भैरवलाई सोही आकाश भैरवको आफ्नै भाइ मानिन्छ ।
यलम्बर भनेर पनि चिनिने आकाश भैरवले आधा राज्य र उनका भाइ बाकादेय् भैरवले आधा राज्यमा राज गरेको मानिन्छ । यसै कारण उनको नाम नै बाकादेय् आजु अर्थात् आधा राज्यको मालिक अथवा आधा राज्यको राजा भनी सम्बोधन गरिन्छ ।
बाकादेय् भैरवलाई काठमाडौको मानन्धर समूदायको पूर्खा देवताको रुपमा पनि पूज्ने गरिन्छ । झट्ट हेर्दा आकाश भैरवजस्तै देखिएता पनि बाकादेय् भैरव गुमनाम छन् – धेरैलाई उनको बारेमा थाहा नै छैन ।