...''तीनै तहका सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरेर विकास गर्नुपर्छ भन्ने हाम्रो माग हो ।''
‘कहिल्यै नसुत्ने बजार’को उपमा पाएको ठमेललाई सन् २०१९ को अन्त्यमा सुरु भएको विश्वव्यापी कोभिड-१९ महामारीले सुतेको सुत्यै बनायो । ठमेल सुतेको साढे दुई वर्ष बितिसक्यो । महामारी मत्थर हुँदै गएपछि बिउँझिन थालेपनि उठिसकेको भने छैन ठमेल । यसका लागि अझै केही वर्ष लाग्न सक्ने देखिन्छ ।
नेपालको सबैभन्दा व्यस्त पर्यटकीय नगरीको रूपमा स्थापित ठमेलमा पर्यटकीय गतिविधिहरू बिस्तारै बढ्दै गएका छन् । त्यहाँको पर्यटन पूर्ववत् अवस्थामा फर्किन अझै समय लाग्ने व्यवसायीहरू बताउँछन् ।
ठमेल क्षेत्रको पर्यटनको विकासमा ठमेल पर्यटन विकास परिषद् ले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । पर्यटनको विकासमा सहयोग पुर्याउने हेतुले सन् १९८९ मा स्थापना भएको परिषद्ले त्यस क्षेत्रको पर्यटनको विकास, व्यवस्थापन र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
परिषद्को हालै सम्पन्न भएको अधिवेशनबाट भविश्वर शर्मा अध्यक्षमा निर्वाचित भएका छन् । गत असार ३२ गते परिषद्को अधिवेशन भएको थियो । यसअघि परिषद्को उपाध्यक्ष भएर काम गरिसकेका शर्माले आफ्नो नेतृत्वमा ठमेलको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् ।
अध्यक्ष शर्मासँग सहकर्मी चन्द्र तामाङले ठमेलमा पर्यटनको अवस्था, त्यहाँको पर्यटन विकासका लागि शर्माका योजना र प्राथमिकता, शर्मा नेतृत्वको नयाँ कार्यसमितिले सुरु गरेका कार्यहरू, पर्यटनको विकासका लागि तीन वटै तहका सरकारले खेल्नुपर्ने भूमिका लगायत विषयमा केन्द्रित रहेर संवाद गरेका छन्:
१. ठमेलमा पर्यटनको अवस्था कस्तो छ अहिले ?
ठमेलमा पर्यटनको अवस्था सुस्त नै छ । कोभिड महामारीअघि जुन उत्साह थियो, त्यो अवस्था आउन निकै समय लाग्ने देखिन्छ । कोभिड अघि जुन चहलपहल थियो त्यो छँदै छैन अहिले । अहिले त अफ सिजन पनि हो । अब आउने सिजनमा चाहिँ अलि राम्रो होला कि भन्ने आशामा छौँ हामी पर्यटन व्यवसायीहरू ।
२. ठमेल क्षेत्रको पर्यटनलाई पूर्ववत् लयमा फर्काउँदै पर्यटनको विकास गर्न तपाईँका प्राथमिकताहरू के-के छन् ?
ठमेलमा मात्रै नभएर नेपालको पर्यटन क्षेत्र जता हेर्यो त्यस्तै लथालिङ्ग नै छ । पोखरा जस्ता पर्यटकीय नगरीहरू पनि सुनसान नै छन् । हामी चाहिँ विशेषगरी ठमेल क्षेत्रको पर्यटनको लागि काम गरिरहेको हुनाले स्वाभाविक रूपमा हाम्रो ध्यान यश क्षेत्रको पर्यटनलाई कसरी विकास गर्न सकिन्छ भन्नेमै केन्द्रित छ । हामीले हाम्रो घोषणा पत्रमा उल्लेख गरेका योजनाहरूलाई कार्यान्वयन गराउनमा नै हामी लागिपरेका छौँ । हाम्रा प्राथमिकताहरू के-के छन् भन्नुहुन्छ भने, ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउने, ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसिक्यामरा जडान गर्ने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने, ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबिच सुमधुर सम्बन्ध कायम गर्ने लगायतका कामहरूलाई हामीले प्राथमिकतामा राखेका छौँ ।
३. यी योजनाहरूलाई कार्यान्वयन गराउन केही थालनी गर्नुभयो ?
हाम्रो नयाँ कार्यसमिति अस्ति भर्खरै असार ३२ गतेको चुनावबाट निर्वाचित भएको हो। हामीले द्रुत गतिमा काम थालेका छौँ । हामीले पर्यटनसँग सम्बन्धित निकायहरूसँग छलफल अगाडि बढाएका छौँ । पर्यटन मन्त्रालय, बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेशका पर्यटन मन्त्री, पर्यटन विभाग , काठमाडौं महानगरका मेयर र वडाध्यक्षहरूसँग पनि पर्यटनको विकास, बजेट व्यवस्थापन लगायत विषयमा छलफल गरिसकेका छौँ । ठमेल क्षेत्रको पर्यटनका समस्याहरूको समाधान गराउन ११ बुँदे मागसहितको ज्ञापन पत्र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई बुझाएका छौँ । हामीले ठमेलका पर्यटन व्यवसायी, घरबेटीहरूसँग पनि संवाद गरिरहेका छौँ । कार्यसमितिका साथीहरूलाई कार्य विभाजन गरेका छौँ । उहाँहरूले पर्यटन क्षेत्रका यावत समस्याहरूको अध्ययन प्रतिवेदन तयार पार्दै हुनुहुन्छ । हामीले त्यसलाई सम्बन्धित निकायमा पुर्याउनेछौँ ।
४. फोहर व्यवस्थापन अहिले महानगरकै लागि पनि ठुलो चुनौतीको रूपमा देखा परेको छ । ठमेल क्षेत्रको फोहर व्यवस्थापनमा परिषद्को के योजना छ ?
पक्कै पनि तपाईँले अत्यन्तै सान्दर्भिक प्रश्न गर्नु भयो । यो सत्य पनि हो । हामी विदेशमा जाँदा त्यहाँका सहरहरू कति सफा र सुन्दर हुन्छन् । त्यहाँका मानिसहरू नेपाल आउँदा मुख्य सहरमै नाक थुनेर हिँड्नुपरेको अवस्था छ । यो हाम्रो लागि लज्जाको विषय हो । मैले अघि नै भने कि हामीले फोहर व्यवस्थापन लगायतका समस्याहरूको समाधान गर्न भन्दै मेयरसापलाई ज्ञापन पत्र बुझाएका छौँ । फेरि हामी ठमेल पर्यटन विकास परिषद् भनेको एउटा गैर सरकारी संस्था हो । हामीले सबै काम गर्न सक्दैनौँ । हामीले सम्बन्धित सरकारी निकायहरूको ढोका ढकढक्याउन मात्रै सक्छौँ । नीति निर्देशन गर्न सक्दैनौँ । तैपनि हामीले सकेजति, हाम्रो बजेटले भ्याए जति हामी गर्छौँ । विगतमा पनि हामी आफैँले ठाउँ ठाउँमा डस्टविनहरू राख्ने काम गरेका छौँ । आफैँ सडकमा गएर कुचो पनि लगाएका छौँ । सरसरफाईका लागि व्यवसायी र स्थानीयसँग छलफलहरू पनि चलाएका छौँ । महानगरसँग छलफल गर्दा बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म फोहर उठाउने, बिहान ५ बजेदेखि ७ बजेसम्म ठमेलका बाटाहरू सफा गरिदिने, सके पानीले पखाल्ने, सकिन्छ दैनिक गर्ने, होइन भने कम्तीमा फोहर हुन चाहिँ नदिने, प्रत्येक ५० मिटरको दूरीमा फोहरको डस्टविन राख्दिने जस्ता प्रोटोकलहरूको विषयमा छलफल भएको छ।
५. ट्राफिक व्यवस्थापन र पार्किङको समस्या समाधान गर्न केही योजना छ ?
तपाईँले भने जस्तै ट्राफिक व्यवस्थापन र पार्किङको समस्या ठमेलको ठुलो समस्या हो । यहाँ पर्यटकहरू आनन्दले हिँडडुल गर्न पाएका छैनन् । सवारीसाधनहरूको चाप उस्तै छ । ट्राफिक प्रहरीले मात्रै व्यवस्थापन गर्नसक्ने अवस्था नै छैन । यो क्षेत्र राति पनि उस्तै व्यस्त हुन्छ । दिउँसोमा भन्दा राति झनै ठुलो समस्या हुन थालेको छ । सवारीसाधनहरूले जथाभाबी हर्न बजाउँदा सहर नै कोलाहल बनेको छ । यसलाई व्यवस्थित बनाउन सरकारको पनि गम्भीर ध्यान जान जरुरी छ । अर्को पार्किङको समस्या छ, यसलाई पनि व्यवस्थापन गर्न आवश्यक छ । हामीले सहजीकरण गर्न मात्रै सक्छौँ तर नीतिगत निर्णय गरेर व्यवस्थापन गर्न सरकार अनि अघि सर्नुपर्दछ । हामीले ट्राफिक व्यवस्थापनको लागि छुट्टै विभाग गठन गरेर काम थालिसकेका छौँ । यहाँको ट्राफिक व्यवस्थापन युनिटसँग अत्यन्तै नजिक भएर सहकार्य गरिरहेका छौँ । हामीले खाली ट्याक्सीलाई ठमेल प्रवेश गर्न दिएका छैनौँ । एक हप्तामै परिणाम देखिन थालेको छ । यहाँ पार्किङको आवश्यकता, सवारी साधनको सङ्ख्या, जनघनत्व आदिलाई अध्ययन गर्दै छौँ । त्यसको प्रतिवेदन हामी चाँडै सार्वजनिक पनि गर्नेछौँ ।
६. ठमेल क्षेत्रमा व्यवसायी र घरबेटीबिच लडाइँ छ भन्छन् नि, यसको समाधान कसरी गर्न सकिन्छ ?
यो जुन ठमेलमा घरधनी र व्यवसायीबिच लडाइँ छ भन्ने कुरा छ, यो असत्य हो । घरधनी र व्यवसायीको सम्बन्ध नङ र मासुको जस्तै छ । बाहिर सञ्चारमाध्यममा आए जस्तो व्यवसायी र घरधनी बिचमा कुनै वैमनस्यता छैन । अत्यन्तै सौहार्द भएर काम गरिरहनु भएको छ । उहाँहरू एक अर्काका परिपूरक जस्तै हुन् । व्यवसायीहरूलाई व्यवसाय गर्न घर चाहिन्छ भने घरधनीहरूलाई पनि व्यवसायहरू चाहिन्छ । अहिले कोभिडका कारण खाली भएका घरहरू पनि पुनः भरिएका छन् । यश क्षेत्रको पर्यटन विकास गर्न स्थानीय घरधनी र व्यवसायीबिच सुमधुर सम्बन्ध हुन जरुरी छ । कहीँ कतै त्यस्ता घटनाहरू हुन सक्छन्, तिनलाई समाधान गर्न सकिन्छ र गर्नुपर्छ ।
७. देशकै सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने ठाउँ हो ठमेल। तैपनि यहाँ थुप्रै समस्याहरू छन् । यहाँको पर्यटनलाई थप व्यवस्थित बनाउन सरकारबाट कस्तो भूमिकाको अपेक्षा राख्नुभएको छ ?
तीनै तहका सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरेर विकास गर्नुपर्छ भन्ने हाम्रो माग हो । अहिलेसम्म नेपालमा कुनै पनि क्षेत्रलाई विशेष पर्यटन क्षेत्र घोषणा गरिएको छैन । यसको लागि उपयुक्त ठमेल नै हुन्छ । ठमेललाई किन पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्छ भने, ठमेल विशुद्ध पर्यटकीय गतिविधि हुने ठाउँ हो । यहाँका संरचनाहरूमा हेर्नुभयो भने शतप्रतिशत पर्यटन व्यवसायीहरू मात्रै भेट्नुहुन्छ । जुन अन्त छैन । नेपाल आउने अधिकांश पर्यटकहरू सबैभन्दा पहिला ठमेलमै आउनुहुन्छ । त्यसो हुनाले ठमेल सबै पर्यटकको आकर्षणको केन्द्र हो । यहाँका सबै संरचनाहरू पर्यटनकै लागि बनाएका छन् । पर्यटनमैत्री पनि छन् । त्यसो हुनाले यी कुराहरूलाई व्यवस्थित बनाई लैजानको लागि विशेष पर्यटकीय क्षेत्र घोषणा गरिनुपर्छ । तीन वटै सरकारको सामूहिक बजेट हुनुपर्यो र ठमेललाई गुरुयोजना बनाएर अगाडि बढाउनुपर्यो । करिब दुई वर्ग किलोमिटरमा फैलिएको यो ठमेललाई नमुना पर्यटकीय नगरी बनाउनुपर्यो । सरकारसँग सहकार्य गर्न हामी तयार छाैँ ।
चन्द्र तामाङ: हस्, व्यस्तताको बाबजुद पनि हामीलाई समय दिनु भयो, यहाँको अमूल्य समय र संवादको लागि धेरै धेरै
धन्यवाद ।
भविश्वर शर्मा : मेरा कुराहरू सबैमाझ पुर्याउने अवसर दिनुभएकोमा यहाँ र यहाँको टिमलाई पनि धेरै धेरै धन्यवाद ।
भिडियो