भक्तपुर वडा नं ५, भेलुखेलमा यस भैरव अवस्थित रहेको छ । झट्ट हेर्दा गहितीमा अवस्थित सांभुङ्ग भैरवको स्वरुपमा रहेको यस भैरवनाथको स्थापना स्व. बुद्धि नारां रंजितकारद्वारा गर्नु भएको थियो ।
मल्लकालिन नगर क्षेत्र भन्दा बाहिरको क्षेत्रलाई ध्वाकां पिने (ध्वाका भन्दा बाहिर) भन्ने चलन रहेकोले यस भैरवनाथलाई ध्वाकां पिने भैरव पनि भन्ने चलन रहेको छ । आज भन्दा करिब १५० वर्ष पहिले यस भैरवनाथको स्थापना गर्नु भएको थियो ।
आस्था र विश्वास सामु कुनैपनि तर्क शक्ति फिका पर्दछ भने झै यस भैरवनाथको स्थापना पनि आस्थाका कारण नै भएको थियो । एकदिन बुद्धि नारां जि ले आफ्नो घर निर्माण गर्नका लागि ढुङ्गा ल्याएर थुपारेको थियो । यसै रात उहाँले सपना देख्नु भएछ । उक्त सपनामा श्री भैरवनाथले प्रत्यक्ष दर्शन दिई भन्नू भएछ कि “म तिमीले थुपारेको ढुङ्गाको थुप्रोमा ठूलो, वृत्त आकार जसको धर भागमा तीन रेशा रहेको आकारमा छु ।”
भोलि बिहान उक्त ढुङ्गाको थुप्रोमा गै हेर्दा साच्चिकै उहीँ आकारमा रहनु भएपछि सोही स्थानमा स्थापना गर्नु भएको भन्ने जनश्रूति रहेको छ । यसरी स्थापना भएको श्री भैरवनाथको मुर्तीलाई उहाँकै छोरा स्व. जगत रंजितकारले संरक्षण एवं सम्बर्द्धन गर्नु भएको थियो ।
स्रोत: Chanda Rj, Nanu Ranjit