शुक्रबार , फागुण १८, २०८०

भिंद्य:, नासद्य: र भैंलद्य: को उत्पत्ति

सातौँ शताब्दी भन्दा पहिले देखि नै भीमेश्वर शिवलिंग को स्थल काठमाडौं उपत्यकाको व्यापारीहरू को लागि तिब्बत सँगको व्यापारिक मार्गमा एक महत्त्वपूर्ण स्थान बनेको थियो ।

image

नेवा समुदायमा जहिले पनि आफ्नो व्यवसाय, व्यापार, कृषि वा अन्य व्यवसायमा कुनै पनि खालको विघ्नबाधा, नाफानोक्सान, कठिनाइहरू पर्न गएमा भिंद्यलाइ सम्झने, पूजा-स्तोत्र पाठ गर्ने, भजनहरू गर्ने परम्परा परापूर्वकाल देखि चलिआएको छ ।

त्यस्तै कुनै पनि मनोरञ्जनात्मक कार्यहरू गर्दा, वाद्यवादन, गीत सङ्गीत, राग भजनहरू, नृत्य, नाटक र नाचहरू गर्दा नासद्य: लाई सम्झेर पूजाहरू गर्ने प्रचलन पनि परापूर्वकाल देखि नै चलिआएको हो । त्यस्तै देशमा आपतविपत पर्दा, भैरवको र क्षेत्रमा क्षेत्रपाको सम्झना गरेर पूजाहरू गर्ने प्रचलन हाल आएर धेरै नै कम भएको पाइन्छ । आज म यिनै कुराहरूको सम्झना गर्दै ती भिंद्य:, नासद्य: र भैलद्य: को बारेमा सोचिरहेको छु ।

हामीलाई चौसट्ठी कलाहरूको जानकारी पार्वती द्वारा प्रदर्शित चौसट्ठी शिवलिंको तीर्थ भ्रमणबाट भएको मान्यता छ । तीर्थ भ्रमण गरी कला प्राप्त गर्न सकिन्छ भन्ने जानकारी पनि पार्वती बाट नै शिवलिंगहरुको पूजा, पाठ स्तोत्र, आराधना, तपस्या र साधना गरी प्राप्त गर्न सकिने कुरा प्रत्यक्ष देखाउनु भएको मान्यता छ । पुराना नेपाल भाषामा लेखिएको श्री स्वस्थानी परमेश्वरी को व्रत कथा मा पनि यी चौसट्ठी शिवलिंग र चौसट्ठी कलाहरू बारेमा प्राथमिकता का साथ उल्लेख भएको पढ्न पाइन्छ । यी चौसट्ठी शिवलिंगहरू चौसट्ठी कलायुक्त छन् भन्ने उल्लेख भएको छ । सोही कुराहरू प्रत्यक्ष रूपमा देखाउन माता पार्वती आफैले यी चौसट्ठी शिवलिंग को तीर्थ भ्रमण गरी यी शिवलिंगहरू को बारेमा पूर्ण जानकारी दिनु भएको मान्यता छ ।त्यस्कारण उपत्यकामा चौसट्ठी शिवलिंग तीर्थ भ्रमण परापूर्व काल देखि गरिआएको र यसको विशेष महत्त्व भएको दर्शाएको पाइन्छ ।यो तीर्थ भ्रमण पार्वती ले देखाएको मार्ग दर्शन मा गरिँदै आएको पाइन्छ । आज म यिनै चौसट्ठी कलाहरू मध्येको तीन कलाहरूयुक्त भिंद्य, नासद्य , र भैलद्य जुन नेवा समुदाय मा प्रसिद्धि पाएको छ त्यसैको विषयमा चर्चा गर्न गइरहेको छु ।

भिंद्य (भीम रूप भैरव) बाट बल र ताक़त शक्ति कला प्राप्त भई कुनै पनि व्यवसाय गर्न शत्रु को भय नभई आफ्नू व्यापार व्यवसाय , कृषि व्यवसाय, वा अन्य व्यवसाय सफलताका साथ सम्पन्न गर्न कला प्राप्त भएको मान्यता छ ।

नासद्य (नट्टेश्वर वा नाट्टेश्वर) बाट वाद्यवादन, नृत्य नाटक र नाचहरू र गीत सङ्गीत राग र भजनहरू को कला प्राप्त गरी महादेव लाई सन्तोष पार्नको साथ साथै सबैलाई सुख शान्ति र मनोरञ्जन दिन सफल कला प्राप्त भएको मान्यता छ ।

भैलद्य (भैरव) बाट शक्ति र शान्ति सुरक्षा को कला प्राप्त गरी आफूलाई आफ्नू क्षेत्रलाई र देशलाई संरक्षण दिने र शत्रुनाश गर्ने कला प्राप्त भएको मान्यता छ ।

१.

चौसट्ठी शिवलिंगहरू मध्येको दोस्रो भीमेश्वर शिवलिंग बाट उत्पत्ति भएको भीम रूप भैरव जुन नेवा समुदायमा भिंद्य को नामबाट प्रसिद्धि पाएको छ । सोही भिंद्यलाइ पूजा आराधना गरी व्यापारीहरू, कृषकहरू, र अन्य व्यवसाय गर्नेहरूले हरप्रकारको सहयोग पाइआएको मान्यता र किम्बदन्तीहरू धेरै छन् ।यसरी भीमेश्वर शिवलिंग एक स्वयम्भू शिवलिंग भएको र लिङ्ग विशेष कलाहरू भक्तजनहरू लाई प्रदान गरिआएको मान्यता छ । सोही बमोजिम भक्तजनहरू को चाहना बमोजिम भीमेश्वर शिवलिंग मा भीम रूप धारण गर्ने कला भएको र भिंद्य को रूपमा सहयोग गरिआएको मान्यता छ ।सोही प्रावधान अनुसार भयङ्कर भीम रूप भैरव धारण गरी भिंद्य को रूपमा स्थापित भएका हुन् ।

भीमेश्वर शिवलिंग को एउटा किम्बदन्ती अनुसार सत्ययुग मा शुम्भासुर नामको एक भीष्म शरीर भएको बलवान दैत्य थियो । सो शुम्भासुर दैत्य धेरै वीर र बलवान भएको कारण स्वर्गमा हमला गरेर देवताहरू लाई युद्ध मा हराएर स्वर्गबाट लखेटेर पठाएका थिए । यसरी देवताहरू स्वर्गबाट भागेर आएर देवतीर्थमा स्नान गरी भीमेश्वर शिवलिंग को शरणमा आएका थिए । तर शुम्भासुर दैत्यलाई स्वर्गको इन्द्रासन जितेर मात्र नपुगेर भागेको इन्द्रादि देवताहरू लाई पछ्याउँदै यही स्थानमा आइपुगे । यसरी देवताहरू स्वर्ग छोडेर भागेर शरणमा आउँदा पनि शुम्भासुर दैत्यले लखेटेर बद्ध नै गर्ने उद्यम गरेको देखेर भीमेश्वर शिवलिंग रिसाए भयङ्कर बृहत् ठूलो भीम रूप को भैरव उत्पत्ति गराई देवी साथ पाएर ठूलो ठूलो ऑंखा खोलेर ज्वाला रुपी आगोको ज्वाला निकालेर क्रोधित भएर शुम्भासुर दैत्यको बृहत् शरीर भष्म गरिदिनु भयो ।देवताहरू र मनुष्यहरू ले सो बृहत् भयङ्कर भीम रूप भैरव लाई देखेर पूजा र प्रार्थना गरे ।महादेव ले देवताहरू लाई पुन स्वर्गमा राज्य गर्न वरदान दिएर हामी लाई सहयोग पुर्‍याउन भीम रूप भैरव को रूपमा त्यहीँ स्थापित भएर भीमेश्वर को नामबाट प्रसिद्ध भए ।

भीमेश्वर शिवलिंग को अर्को किम्बदन्ति अनुसार, सातौँ शताब्दी भन्दा पहिले देखि नै भीमेश्वर शिवलिंग को स्थल काठमाडौं उपत्यकाको व्यापारीहरू को लागि तिब्बत सँगको व्यापारिक मार्गमा एक महत्त्वपूर्ण स्थान बनेको थियो । सो क्षेत्र व्यापारीहरू र व्यापारिक सामान ढुवानी गर्ने भरियाहरू को लागि आराम गर्ने र भरिया फेरबदल गर्ने थलोको रूपमा विकसित भएको थियो ।त्यस्तै भारत को पटना सँगको व्यापारिक मार्गको रूपमा पनि विकसित भएको थियो ।

सोही कारण ले गर्दा सो स्थानमा खाना बनाएर खाने क्रममा भरियाहरूले त्यहाँ एउटा बलियो रूपमा ठडिएको ढुंगा देखेर त्यसैलाइ आधार बनाई अर्को दुई वटा ढुङ्गाहरू गाडेर खाना पकाउन बसेछन् । खाना पकाएर हेर्दा सो ठडिएको ढुंगा को साइडमा खाना काँचै रहेको पाए । पुन पकाएर हेर्दा पनि खाना नपाकेको देखेर पकाउने भाँडो को साइड फेरेर हेरेछ । त्यसो गर्दा पनि ठडिएको ढुङ्गातिरको पाकेको खाना पनि काँचै रहेको देखेर रिसले भरियाले ठडिएको ढुङ्गालाई प्रहार गर्दा सो ढुङ्गाको एक टुकडा खसेछ । सो खसेको टुकडा बाट दूध र रगत बग्न थालेछ । त्यसरी ढुङ्गाको टुकडाबाट दूध र रगत बगेको देखेर भरियाहरू डराएर यताउता हेर्न र खोज्न थालेछन् । केही नभेट्टाए पछि देवता हो भनी डराई डराई क्षमा मागेर मन्दिर बनाई प्रत्येक वर्ष १२ बोकाहरू बली चढाएर पूजा गर्ने भाकल गरेछन् । सोही अनुसार यो मन्दिर को स्थापना भएको र सोही ठडिएको ढुङ्गालाई भीमेश्वर शिवलिंग भनिएको किम्बदन्ति सुनिन्छ ।

त्यसबाहेक उपत्यकाको व्यापारीहरू बाट अन्य धेरै सहायता पूर्ण किम्बदन्तीहरू सुनिन्छ । त्यसमा सबभन्दा महत्त्वपूर्ण र प्रसिद्ध किम्बदन्तीहरू मध्यमा कसरी भीम भैरव ले कला प्रदान गरी बलवान बनाएको र सहयोगी को रूप धारण गरी उपत्यकाको व्यापारीहरू लाई सजिलै व्यापारिक सामानहरू पुर्‍याउन मद्दत गरेका थिए । त्यस्कारण व्यापारीहरू ले भीम भैरव लाई हृदय देखि नै मनपराएर भिंद्य भनेर प्रसिद्ध बनाए । यस प्रकार को किम्बदन्तीहरू धेरै प्रकारका छन् । यसबाट के प्रस्ट देखिन आएको छ भने भीम भैरव रूप धारण गरेर स्थानीय स्तरमा भिंद्य को नामबाट प्रसिद्ध भएर भीमेश्वर शिवलिंग ले व्यापारीहरूको लागि आफ्नू कला प्रदान गरेको पाइन्छ । यसमा व्यापारीहरूको र भिंद्य को एक विशेष सम्बन्ध सोही कलाको आधारमा भएको प्रस्ट देखिन्छ

२.

चौसट्ठी शिवलिंगहरू मध्येको सोह्रौँ नतारम्भेश्वर शिवलिंग बाट उत्पत्ति भएको नट्टेश्वर वा नाट्टेश्वर भैरव को रूपमा उफ्रेर निस्केर नाचेर वाद्यवादन, गीत सङ्गीत , नृत्य आदि कलाहरूको प्रदर्शन गर्नु भएको र सबैलाई सिक्न सहुलियत दिनु भएको किम्बदन्तीहरू छन् । त्यसमा सबभन्दा महत्त्वपूर्ण ब्रह्मा विष्णु लगायत सम्पूर्ण देवताहरू दुःख पाएर बसेको बेलामा ब्रह्माले ताल बजाउन थालेछ र विष्णुले भक्तिले मङ्गल गीतहरू पाठ गर्न थालेछ । हाहा र हूहू गीत गाउन थालेछ । तुम्बरु आदि गन्धर्व र किन्नरहरू वाद्यवादनहरू बजाउन थालेछन् । यसरी सबै मिलेर वाद्यवादन र गीत सङ्गीत बजाउन थालेपछि महादेव खुसी भएर नाच्दै उफ्रेर निस्केर नाच्न सुरु गरेछन् । यसरी महादेव नट्टेश्वर को रूपमा प्रकट भएपछि सबै देवताहरूले खुसी साथ बाजाहरू बजाएर, गाना गाएर, नट्टेश्वर सँग नाचेर सेवा गरेछन् । यो देखेर महादेव ले सबै देवताहरू लाई भनेछन् कि जसले मलाई बाजा बजाएर, गाना गाएर, नाँचेर सेवा गर्दछन् तिनीहरू लाई दुःख कष्ट बाट उद्धार गरी दिन्छु भनेर सबै देवताहरूको दुःख कष्ट नष्ट भएको र देवताहरू आआफ्नु स्थानहरूमा आनन्दले बस्न पाएका थिए ।

यसपछि नटारम्भेश्वर शिवलिंग मा पूजाहरू र तपस्या गरी सेवा गरी देवताहरू र मनुष्यहरू ले यो वाद्यवादन , गीत सङ्गीत, र नृत्य कला यस शिवलिंग बाट प्राप्त गरी महादेव लाई सन्तोष पार्ने र सबैलाई मनोरञ्जन प्रदान गर्न सफल भए । यसलाई नेवा समुदाय ले नासद्य को रूपमा ठाउँ ठाउँमा तान्त्रिक विधि अनुसार पशुवलि चढाएर शक्ति पूजाहरू गरी स्थापना गरी यो नाचगान को कला प्राप्त गरी दैविक नाचहरू र अन्य नाचहरू सिक्न सक्षम भए । त्यस्तै विभिन्न बाजाहरू पनि सिक्न सक्षम भए । अझ सबभन्दा महत्त्वपूर्ण देवी देवताहरूको राग , भजनहरू , स्तुति सिक्न सक्षम भए । त्यस्कारण आज आएर पनि यो नासद्य को पूजाहरू र आराधनाहरू भई आएको पाइन्छ ।

३.

चौसट्ठी शिवलिंगहरू मध्येको छब्बीसौं शिवलिंग भैरवेश्वर बाट भैरव (भैलद्य:) उत्पत्ति भएर देशको संरक्षण गर्न र सुरक्षित राख्न सहयोग पुर्‍याएको धेरै किम्बदन्तीहरू छन् । यसरी पूर्व दिशामा अवस्थित भीमेश्वर शिवलिंग बाट भिंद्य उत्पत्ति भएर व्यवसाय सफलताका साथ सञ्चालन गर्न सहयोग गरिआएको किम्बदन्तीहरू छन् । त्यस्तै दक्षिण दिशामा अवस्थित नतारम्भेश्वर शिवलिंग बाट नट्टेश्वर उत्पत्ति भएर नाचगानको माध्यमबाट महादेव लाई सन्तोष गर्नु को साथ साथै देवी देवताहरू र आआफू लाई पनि मनोरञ्जन गर्न सक्षम भए । त्यसपछि आफ्नू देश र क्षेत्रको संरक्षण र शान्ति सुरक्षा कायम राख्न भैरवेश्वर शिवलिंग बाट उत्पत्ति भएको भैरव को पूजाहरू र सेवाहरू गरी विशेष उपलब्धि भएको किम्बदन्तीहरू त्यत्ति सुनिँदैन । कारण यसको महत्त्व को बारेमा चर्चा भएन र यसलाई देश रक्षक भैरव र क्षेत्रपाल को रूपमा शक्ति पूजाहरू र सेवाहरू गरी कलाहरू प्राप्त गर्ने कमी भएको भान हुन्छ । यस बारेमा पनि थप चर्चा हुन आवश्यक देखिन्छ ।

यसरी यी भीमेश्वर, नतारम्भेश्वर, भैरवेश्वर चौसट्ठी शिवलिंग मध्येको तीन शिवलिंगहरू बाट भिंद्य, नासद्य र भैलद्य उत्पत्ति भएर हाम्रो व्यवसाय, मनोरञ्जन, र देशको शान्ति सुरक्षा कला को सफलता मा सहभागिता भएर हामीलाई सहयोग पुर्याई आउनु भएको छ ।

Tags:

सम्बन्धित समाचार