शुक्रबार , मंग्सिर २३, २०७९

पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटेल अत्यावश्यक छ- विजय झुनझुनवाला (अन्तर्वार्ता)

धार्मिक किम्बदन्ती, इतिहासविद्, संस्कृतिप्रेमी र भाषा-साहित्यप्रेमी माथि लगानी गर्न सरकारले हात कमाउँदा मिथिलाको ऐतिहासिक र सांस्कृतिक सम्पत्तिहरू बिलाइजाने जोखिम देख्दछु । यसबाट होटल व्यवसायलाई पनि घाटा पुग्छ ।

image

मधेस प्रदेशका राजमार्ग र आसपासका सहरमा सुविधायुक्त तारे होटेल निर्माण गर्ने होड चलेको छ । राजमार्ग भएर आउजाउ गर्ने यात्रु र पर्यटकलाई केन्द्रमा राखेर व्यवसायीले करोडौँ लगानीमा नयाँ होटेल निर्माण गरिरहेका छन् । होटेलको सङ्ख्या निरन्तर थपिनुले मधेस प्रदेशको पर्यटन प्रवर्द्धन भइरहेकोतर्फ सङ्केत गर्छ वा गर्दैन ? होटेलको मेनुमा रैथाने स्वादहरू परेका छन् कि छैनन् ? नयाँ खुलेका होटेलहरू पूर्णरूपमा स्वच्छ र सुरक्षित छन् कि छैनन् ? कोभिड–१९ बाट थला परेको पर्यटनलाई क्षेत्रलाई उठाउन होटेल व्यवसायको के-कस्तो भूमिका रहनुपर्दछ ? होटेल व्यवसाय र पर्यटन क्षेत्रलाई समान्तररूपमा हिँडाउन के-कस्ता कार्यहरू गर्नु आवश्यक छ ? मिथिला क्षेत्रको पर्यटकीय सम्भावना आधारहरू के-के हुन् ? लगायतका विषयमा होटेल व्यवसायी सङ्घ (HAAN) का मधेस प्रदेश प्रमुख विजय झूनझुनवालासँग गरिएको कुराकानीको संक्षिप्त अंश :

पर्यटन सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक प्रक्रिया हो । पर्यटनको माध्यमबाट एक ठाउँको सामाजिक, सांस्कृतिक प्रक्रियाहरू आदानप्रदान हुने गर्दछन् । पर्यटनले अन्तर्राष्ट्रिय मेलमिलाप बढाउनुका अतिरिक्त संसारका मानवहरूबिच सामाजिक र सांस्कृतिक समझदारीको वृद्धि गर्ने काम प्रत्यक्ष भेटघाट गराएर गर्दछ । यसर्थ, पर्यटन प्रवर्द्धनका लागि होटेल व्यवसाय प्रमुख तत्त्व हो ।

पर्यटनका लागि सुरक्षा ग्यारेन्टीका साथै गुणस्तरीय सेवा आवश्यक पर्छ । घुमफिरमा आउनेहरूलाई सत्कार तथा पर्यटकमैत्री वातावरण चाहिन्छ । त्यसका लागि पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्छ । संस्कृति र प्रकृतिको खोजीमा यहाँ आइपुगेका पर्यटकहरूलाई उनीहरूको खर्चअनुसारकै सुविधा दिन सक्नुपर्दछ ।

मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटेल अपरिहार्य तत्त्व हो । एकपटक घुमेर फर्केकाहरू दोहोर्‍याई–तेहर्‍याइ आउने बनाउन होटेल व्यवसायीहरूको यथेष्ट भूमिका रहन्छ । पर्यटन विकासका लागि होटेल व्यवस्थापन एवम् आतिथ्यता तालिममा ध्यान दिन पनि उत्तिकै जरुरी छ । राम्रो खाना र आतिथ्यता पर्यटनका लागि अपरिहार्य आवश्यकता हो भने आफ्ना होटेलमा पाहुना लाग्न आइपुगेका पर्यटकहरूलाई स्थानीय संस्कार, भाषा, धर्म, आस्थासँग समन्वय गराइदिनु होटेल व्यवसायीको दायित्व हो ।

झुनझुनवालाले २०४२ सालदेखि जनकपुरस्थित शिव चोकमा होटल वेलकम सुरु गरेका हुन्, होटेल वेलकम जनकपुरको स्टार होटलहरूको सूचीमा पहिलो नम्बरतर्फ पर्दछ, तस्बीर : राजु झल्लु प्रसाद । 

जनकपुरधामको होटेलका कुरा गर्नुपर्दा, भारतीय सरकारद्वारा निर्मित जानकी वृहत् परियोजना (दशरथ तलाउसँगै रहेको) अन्तर्गत रहेको ३५ कोठे ‘यात्री निवास’ लाई काठमाडौंको सोल्टी होटेलको रूपमा ‘मिथिला यात्री निवास’मा रूपान्तरण गरिएको छ । स्ट्रीम पीक इन्टरनेशनलले परियोजनासँग २० वर्षका लागि यो प्रोपोर्टी लिजमा लिएको हो । जनकपुरधाम दर्शन गर्न आउने धार्मिक पर्यटकलाई मध्यनजर गर्दै यस्ता लक्जरियस होटेलहरू होटेलहरूमा सञ्चालनमा आउने क्रम जारी छ । जनकपुरधाममा १ हजार देखि लिएर ८/९ हजार सम्मका होटेलहरू र सोअनुसारको सुविधा उपलब्ध छन् । तर, नेपाल सरकारले बनाउने नीतिनियमबाट जनकपुरलाई सञ्चालन गर्न कठिनाइ छ । बोर्डर एरियामा क्यासिनो लाइसेन्स महत्त्वपूर्ण छ तर, सरकारले सो प्रावधान दिइरहेको छैन । मेची क्राउन प्लाजाजस्ता ठुलो लगानी भएका होटेलहरू क्यासिनोसम्बन्धि प्रावधानका कारण धारासायी हुँदै गएको देखिन्छ ।

नेपालको पर्यटन क्षेत्र मध्यमाञ्चल क्षेत्र केन्द्रित रहनु र सम्भावनाको दृष्टिकोणले प्रचुर सम्भावना रहेको मिथिला क्षेत्रको पर्यटनलाई सम्बोधन, प्रवर्द्धन र व्यवस्थापनमा सरकार मात्र होइन, सहयोगी निकायको योगदान नदेखिनु निकै चिन्ताको विषय हो । यहाँको मिथिला खाना नेवारी खाना र थकाली खानाभन्दा कुनै पनि किसिमले कम छैन, तर मिथिला थालीको ब्रान्डिङ हुन् सकेको छैन । यहाँ चिकेन स्टेसन, चिया अड्डा, थकाली भान्छाघर देखिन थालेका छन्, जुन दुर्भाग्यपूर्ण कुरा हो । व्यवसायीहरूले आफ्नो लगानी सुरक्षित गर्न यसो गरेका हुँदा हुन्, तर तिनलाई होटेल व्यवसाय पर्यटन प्रवर्द्धनको मुख्य आधार हो भनेर बुझाउन सकिएन । हामी अनुगमन बढी गर्छौँ, अनुसरण गर्दैनौँ । पालिकाले यसको जिम्मेवारी लिनुपर्दछ ।

yatri hotel, jankapurdham

मिथिला यात्री निवास

जनकपुरमा उत्तर भारतबाट आउने भक्तजनहरूले यहाँ आएर कम खर्च गर्छन् भन्ने गरेको पाइन्छ, तर उनीहरूलाई राजदूत (एम्बेसडर) को रूपमा बुझ्नुपर्दछ । धर्मशाला जनकपुरको संस्कृति हो । धर्मशालाबाट हामी होटेल व्यवसायमा आइपुगेका हौँ । हामीले यस कुरालाई गलत तरिकाले प्रचारप्रसार गर्नु हुँदैन ।

मिथिलाको सांस्कृतिक विशिष्टता बताइरहेको झिझिया नृत्यलाई नै हामीले लिन सक्छौँ । मिथिला आइपुगेका पर्यटकलाई झिझिया डान्स देखाउने मात्रै होइन, नृत्यमा सरिक पनि गराउनुपर्छ । यसो गर्दा उसले झिझिया नृत्य आफ्नो देशवासीलाई बताउँदछ । मिथिलाको पोसाक, मिथिलाको भोजन जस्ता कुराहरूलाई मन्दिरको छेउछाउमा बेच्नै पर्ने अनिवार्य नियम बसाउन आवश्यक छ । भौतिक संरचना, पर्यटक फ्रेन्डली भन्सारको स्थापना पनि पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण कुरा हो । यसैगरी, पर्यटन व्यवसायमा आबद्ध होटेल व्यवसायीले पनि आफ्नो कामलाई ‘स्वार्थ कम, सेवा बढी’ ठान्नुपर्छ । सबैले यो क्षेत्रको विकास गर्न होस्टेमा हैँसे गर्नैपर्छ । अनि मात्र नेपालको उन्नति पथमा पर्यटन व्यवसाय मेरुदण्ड बन्न सक्छ ।

हाम्रो सौभाग्य के छ भने हाल भारतमा रहेको सरकार हिन्दूवादी सरकार हो, उसले हिन्दुत्वका लागि जति स्रोतसाधनहरू परिचालन गरेको छ, त्यसको केही अंश मात्रै यहाँ सरकारले गर्दियो भने ती पर्यटकहरू नेपाल छाडेर कहीँ जाँदैनन् । ठूलो भारतीय रुपैयाँ एवं डलरमार्फत देशको अर्थव्यवस्थालाई मजबुत बनाउने दिगो तरिका अविलम्ब गर्न सरकारले ढिलाइ गर्नु हुँदैन । साथै, यहाँ बैङ्किङ प्रणालीको सुधारको पनि आवश्यकता देख्दछु । २,००० हजारसम्मको नोट ल्याउन दिने प्रावधान मिलाउँदा सरकारलाई कुनै हानी छैन । भारतीय ‘रूपे कार्ड’ एसबीआइ बैङ्कबाहेक अन्यत्रबाट एसेप्ट नहुनु ठुलो चुनौती बनेर रहेको छ, यसको सम्बोधन यथासक्य हुनु आवश्यक छ । प्रकृति, संस्कृति र सम्पदा मधेस (अझ नेपालकै) असीम पर्यटकीय उपहार हुन्, आजकै प्रचारशैली अपनाएर यिनको प्रचारप्रसार गर्नु उत्तिकै महत्त्वपूर्ण पक्ष हो । यसभन्दा पनि महत्त्वपूर्ण हाम्रा धार्मिक किम्बदन्तीहरूको गहनतालाई बुझी त्यसअनुरूप उचित व्यवस्थापन गर्न सकेमा भारतीय पर्यटकले गर्ने खर्चले हामी पालिन्छौँ ।

जनकपुरकै हकमा कुरा गर्नुपर्दा, जनकपुरधामलाई ट्रस्टमा लैजानु पनि उत्तिकै आवश्यक देख्दछु किनभने नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ (४) ले ‘राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रस्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’ भन्ने व्यवस्था गरेको छ । यसो हुन् सकेमा जानकी मन्दिरको सम्पत्तिको दुरुपयोगमार्फत यस क्षेत्रको गलत प्रचारप्रसार रोकिन्छ, पर्यटन प्रवर्द्धनमा जोड पुग्दछ ।

जानकी मन्दिरको भित्रि भाग, तस्बीर : राजु झल्लु प्रसाद

यता, दक्षिण भारतीयहरू नेपाल बढी आइरहेका छन्, तर किन आइरहेका छन् भनेर हामीले मूल्याङ्कन गर्न सकेका छैनौँ ।

यसको कारण छ-  ‘दक्षिण भारतको त्रिमाला बालाजी विष्णुको अवतार हो । ऋषि भृगुको कहानीसँग जोडिएको यस मन्दिरको कहानी अनुसार विष्णु एक गरिब ब्राह्मणको रूपमा त्यहाँ जन्मिए । माता लक्ष्मी पनि राजकुमारीको रूपमा त्यही जन्मिइन । दुवैको विवाह हुने भयो । विवाहको लागि पैसा जम्मा गर्नु विष्णुको लागि गाह्रो थियो । कुबेरले ऋण दिएपश्चात् विष्णु र लक्ष्मीको विवाह सम्पन्न भयो । यसपश्चात् माता लक्ष्मीले ‘जो व्यक्तिले यहाँ पैसा चढाउँछ, उसलाई म पैसा दिन्छु’ भनिन् भन्ने किम्बदन्ती त्यहाँ प्रचार गरियो । त्रिमुला बालाजीमा प्रसादको रूपमा आज पनि पैसा मात्रै चढ्ने गरिआएकै छ । विश्वको सबैभन्दा धनी मन्दिर हो यो ।  विष्णुले अहिल्या, वृन्दामाथि गरेका अत्याचारबाट मुक्ति पाउनको लागि मुक्तिनाथमा आएर तपस्या गरे र मुक्ति पाए । मुक्तिनाथ पश्चात् विष्णु मर्यादा पुरुषोत्तम रामको रूपमा अयोध्यामा जन्मिए ।’

अतः तीन काल तीन विष्णुको अवतारको दर्शन गर्न भारतीयको इच्छुक छन्, तर सरकारले हाम्रो धार्मिक किम्बदन्तीहरूको महत्त्व बुझ्न सकेको छैन । जनकपुरले नेपाल, भारत र श्रीलङ्कालाई समेत जनकपुरले नै सेतुझैँ जोडेको छ । तर, हामीले हाम्रा धार्मिक किम्बदन्तीहरू हामीलाई बताउन नसक्नु झनै दुःखद कुरा हो । धार्मिक किम्बदन्ती, इतिहासविद्, संस्कृतिप्रेमी र भाषा-साहित्यप्रेमी माथि लगानी गर्न सरकारले हात कमाउँदा यस्ता सम्पत्तिहरू इतिहासको गर्तमा बिलाइजाने जोखिम देख्दछु । यसो भएको खण्डमा नेपालको पर्यटनको दुई आधार स्तम्भमध्ये एक संस्कृति (अर्को हिमाल) लुलो हुन् पुग्दछ । अझ अर्को कुरा पनि भनौँ, राम मन्दिरमा रामेश्वरमको रामको मूर्ति छ, तर यसबारे चर्चा नै देखिँदैन ।

मधेसको पर्यटन कहिले पनि नसकिने अनि कसैसँगै पनि प्रतिस्पर्धा गर्नु नपर्ने गरी वृहत् छ । जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर, धनुषाधामको शिव धनुष र बन जङ्गल तथा ताल, जलेश्वरको जलेश्वरनाथ, वीरगन्जको घरिअर्वा पोखरी, बाराको गढीमाई मन्दिर र सिमरौनगढ, सर्लाहीको नाढी ताल र जङ्गबहादुर राणाले बिताएका स्थान, सुनसरीको वराहक्षेत्र, सुनसरीकै जल्पापुरमा रहेको मदिना मस्जिद, सुनसरी–सप्तरीको सयूंक्त कोशी तट, सुनसरीको कोशीटप्पु, सप्तरीको छिन्नमस्ता, कंकालनी र शम्भुनाथ, राजदेवी मन्दिर, सिराहाको सलहेसधाम लगायतका क्षेत्रहरू, मोरङको विराट क्षेत्र यस्ता छन्,जसमार्फत मधेश पर्यटन क्षेत्र अझ वृहत् र विराट हुन् पुग्दछ ।

होटल वेलकमको फेसबुक पेजबाट

सम्बन्धित समाचार